site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

सरकारी अधिकारीहरूको अहंकार, अज्ञान, निषेध, बदनियत र अदूरदर्शिता कारण कोभिड—१९ को संक्रमण नियन्त्रणमा नेपालको प्रयास विफल भएको हो । तर, यसको सजाय भने महामारी नियन्त्रणका विभिन्न काममा ज्यान जोखिममा राखेर अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले पाएका छन् । संक्रमण नियन्त्रणको अग्रपंक्तिमा खटिएका मूलतः स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई सरकारले उपलब्ध गराउने भनिएको जोखिम भत्ता अहिलेसम्म नदिइएको समाचार प्राप्त भएको छ । सरकारले २०७६ सालको चैत ११ गतेबाट देशभर बन्दाबन्दी (लकडाउन) लागू गरेको थियो । सोही मितिदेखि कोभिड—१९ संक्रमितको उपचार, प्रयोगशाला, बिरामी ओसारपसार, सुरक्षा व्यवस्थापनलगायतकाच काममा संलग्न हुने सरकारी कर्मचारीलाई विशेष भत्ता दिने निर्णय गरिएको थियो । तर, त्यसरी खटिने जनशक्तिलाई दिनुपर्ने भत्ता भने सरकारले अहिलेसम्म नदिएको तिनको गुनासो छ । 

संक्रमण नियन्त्रण र व्यवस्थापन तथा संक्रमितको उपचारमा संलग्न हुनेहरू आफैँ संक्रमित हुने जोखिम बढी नै हुन्छ । नेपालमा सात हजारभन्दा बढी सुरक्षाकर्मी संक्रमित भइसकेका छन् । संक्रमित स्वास्थ्यकर्मीहरूको संख्या पनि अनुपातका दृष्टिमा निकै ठूलो हुनुपर्छ । तैपनि, दैनिक तीनसय रुपियाँ बराबरको रकम दिने भनेर पनि उनीहरूलाई सात महिनासम्म नदिनु सरकारी अधिकारीहरूको संवेदनहीनताको उदाहरण हो । आवश्यक सबै कागजपत्र बुझाए पनि कोभिड—१९ जोखिम भत्ता निकासा नहुँदा उनीहरू निराश हुनु स्वाभाविकै हो ।  कोभिड —१९ को संक्रमण नियन्त्रण र व्यवस्थापनका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी गरी ९० हजारको हाराहारीमा जनशक्ति खटाइएको बताइएको छ । संक्रमणको जोखिम भएका ठाउँमा अग्रपंक्तिमा खटिनेमा प्रायः तल्लो दर्जाका सुरक्षाकर्मी हुने भएकाले उनीहरूको मर्का सरकारका उच्च अधिकारीको प्राथमिकतामा नपरेको हुनुपर्छ ।

सुरुको बन्दाबन्दी र त्यसपछिको निषेधाज्ञा संकटकालीन व्यवस्था हुन् । यस्तो अवस्थामा खटाइएकालाई पनि यसरी रकमी शैलीमा अलमल्याउने र झुक्याउने कार्य गर्नु उचित हुँदैन । अर्थ मन्त्रालयले निकासा नदिएकाले भत्ता उपलब्ध नभएको जानकारी सम्बन्धित अधिकारीले दिएका छन् । अर्थ मन्त्रालय अहिले प्रधानमन्त्री केपी शर्मा ओलीमातहत छ । पूर्व अर्थमन्त्री अहिले प्रधानमन्त्रीका आर्थिक सल्लाहकार बनाइएका छन् । यसैले मन्त्रालय राजनीतिक नेतृत्वविहीन भएको भन्न मिल्दैन । अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई जोखिम भत्ता दिँदा उत्पन्न हुने व्ययभार राज्यको ढुकुटीले धान्न नसक्ने थियो भने पहिले नै विचार गर्नुपथ्र्याे । अब तल्ला तहका कर्मचारीलाई अलमल्याउने कार्य गर्नु झन् बढी प्रत्युत्पादक हुनसक्छ  । यसैले दसैं खर्चसँगै उनीहरूले पाउने जोखिम भत्ता पनि उपलब्ध गराएर अग्रपंक्तिमा खटिनेहरूको मनोबल उच्च बनाउनुपर्छ । सरकारी नीतिको विफलताको सजाय कार्यान्वयन गर्न खटिएका कर्मचारीलाई दिनु अन्याय हुनेछ ।     
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १३, २०७७  १४:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC