
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) लाई राष्ट्रिय टोलीको प्रशिक्षणका लागि कार्यविधि बनाउन राष्ट्रिय खेलकुद परिषद्का (राखेप) सदस्य-सचिव रमेशकुमार सिलवालले निर्देशन दिएका छन् ।
एन्फाले पछिल्लो समय विश्वकप छनोटदेखि मैत्रीपूर्ण खेलाडीको प्रशिक्षण गराउने वातावरण मिलाउन सदस्य-सचिव सिलवालसँग अनुरोध गरेको थियो । बुधबार एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र सदस्य-सचिव सिलवालबीच राष्ट्रिय टोलीको प्रशिक्षणका विषयमा छलफल भएको थियो । छलफलमा सदस्य-सचिव सिलवालले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र फिफाको स्वास्थ्य प्रोटोकलअनुसारको लिखित कार्यविधि बनाएर आउन आग्रह गरेका थिए ।
“राष्ट्रिय टोलीको प्रशिक्षणका लागि एन्फा अध्यक्ष र मेरो भेट भयो । मैले कुनै पनि खेलाडीलाई असर नपरोस् भन्ने हिसाबले (डब्लूएचओ) र फिफाको स्वास्थ्य प्रोटोकलबमोजिम लिखित कार्यविधि बनाएर आउन निर्देशन दिएको छु । अब एन्फाले कस्तोखाले कार्यविधि ल्याएर अउनेछ । सोहीअनुसार राखेपले जवाफ दिनेछ,” सदस्य-सचिव सिलवालले बाह्रखरीसँगको कुराकानीमा भने ।
एन्फा अध्यक्ष शेर्पाले अब (डब्लूएचओ) र फिफाको स्वास्थ्य प्रोटोकलअनुसार कार्यविधि बनाएर राखेपबाट स्वीकृत लिएर प्रशिक्षण सुरु गर्ने योजना भएको बताए । नेपालले फिफा विश्वकप छनोटको खेलभन्दा पहिले केही मैत्रीपूर्ण खेल खेल्ने योजना बनाएको छ ।