site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
क्रान्तद्रष्टा कवि माधवप्रसाद घिमिरे
Sarbottam CementSarbottam Cement

राष्ट्रकवि माधव घिमिरेजीसँग मेरो सम्बन्ध मूलतः साहित्यकारको नाताले नै भएको हो । म त्यसबेला ‘रचना’ साहित्यिक पत्रिकाको प्रकाशनमा सक्रिय थिएँ । त्यही समयमा हास्यव्यङ्ग्यकार भैरव अर्यालको माध्यमबाट उहाँसँग मेरो परिचय भएको हो । 

त्यो परिचय पछि मैले कविवर माधव घिमिरेजीसँग उहाँको कविता ‘रचना’का लागि मागेको थिएँ । जुन कविता २०१८ सालमा रचनाको पूर्णांक २ मा छापिएको थियो । 

‘रचना’को पहिलो अंक प्रकाशित भइसकेको थियो । पहिलो अंक माधव घिमिरेजीलाई दिइसकेको थिएँ । उहाँले मसँग भेट हुँदा ‘रचना’ साहित्यिक पत्रिका स्तरीय लागेको बताउनुभयो । अनि ‘मलाई आफै मन परेको कविता हो यो’ भन्दै कविता दिनु भयो । 

Prabhu Bank
Agni Group
NIC Asia

कविताको शीर्षक हो ‘सुख र दुःख सञ्चित गर्छु’ । कविता यस्तो छ :
यो छाया छवि क्यै हैन भन्न सक्दछु मै पनि 
सुख र दुःख सञ्चित गर्छु यत्नले त्यै पनि 

टिपुँ त भनि शीतको थोपा तर्केर खस्छ कि
नटिपुँ भने प्रभाती किरण चर्केर सोस्छ कि 
यै दुविधामा समाधिमग्न बन्दछु त्यै पनि 
सिर्जनाजस्तो सुन्दर मैले देखिनँ क्यै पनि
 
सहस्र पत्र कसरी धान्छ फूलको बन्धन
त्योभन्दा अझ हलुको होला दिलको बन्धन
पहिलै प्यारले जीवन भरी बाँधिन्छु त्यै पनि
हृदय जस्तो मधुर मैले देखिन क्यै पनि 

Global Ime bank

ताराले भन्दा विश्वमा बढी के देख्न सक्छु म
किरणले भन्दा रङ्गमा नौलो के लेख्न सक्छु म 
अमरावती शून्यमा रच्न चाहन्छु त्यै पनि
मनुष्य जस्तो अमर मैले देखिनँ क्यै पनि ।

त्यसपछि उहाँका धेरै कविताहरू मैले रचनामा छापेको छु । यसरी उहाँसँग मेरो सम्बन्ध विस्तार हुँदै गयो । घिमिरे भएकाले पनि उहाँले मलाई भाइ भन्नुहुन्थ्यो । म उहाँलाई दाइ भन्थेँ । घिमिरेहरू भारतको उज्जैनबाट आएको भन्ने भनाइ छ । भारतको उज्जैनमा डा. सूर्यनारायण व्यास नामका एकजना विद्वान् हुनुहुन्थ्यो । त्यसैबेला शिवमंगलसिंह सुमन नामका एकजना भारतीय कवि भारतीय दूतावासमा कल्चरल ऐट्याची हुनुहुन्थ्यो ।

त्यसैबेला डा. सूर्यनारायण व्यासजीहरू उज्जैनबाट काठमाडौं आउनुभएको थियो । उहाँहरू हाम्रो घरमा नै बस्नु भएको थियो । घिमिरेहरू पनि ‘शान्दिपनी ऋषि’का सन्तान भएकाले उहाँले काठमाडौंका घिमिरेहरूसित भेट गर्ने चाहना राख्नुभयो । र मेरा बुवा पण्डित सोमनाथ घिमिरे व्यासले काठमाडौंका केही घिमिरेहरूसित उहाँको भेटघाट गराउने बन्दोबस्त मिलाउनुभयो ।

त्यसबखत मेरो बुवाले भरतमणि घिमिरे, महाकवि देवकोटाका भिनाजु लोकनाथ जोशी घिमिरे, कृष्णप्रसाद घिमिरे, माधव घिमिरेलगायत धेरै घिमिरेलाई हाम्रो घरमा बोलाउनुभयो । र सूर्यनारायण व्यासजीसँग घिमिरेहरूको भेटघाट गराउनुभयो । 

त्यहाँ कवि शिवमंगलसिंह सुमन पनि आउनुभएको थियो ।

मेरो बुवालाई माधव घिमिरे दाइ भन्नुहुन्थ्यो र मलाई भने भाइ भन्नु हुन्थ्यो । यसरी घरमा आउनेजाने क्रम बढेपछि माधव घिमिरेसँग मेरो सम्बन्ध गाढा हुँदै गयो । त्यसपछि माधव घिमिरेसँग मेरो निरन्तर भेटघाट हुँदै गयो । उहाँले पनि ‘रचना’का लागि आफ्ना कविताहरू प्रकाशनका लागि दिँदै जानुभयो ।

पछि माधव घिमिरे ८५ वर्षको हुनु हुँदा उहाँको अभिनन्दन गर्ने भनेर मदनमणि दीक्षित माडसाबको नेतृत्वमा एउटा समिति गठन गरिएको थियो । अभिनन्दन समितिको केन्द्रीय कमिटिमा म पनि थिएँ । साथै नगेन्द्रराज शर्मा, रामजी उपाध्याय, हेमराज ज्ञवाली, मोदनाथ प्रश्रित, कमलमणि दीक्षितलगायत व्यक्तिहरू पनि हुनुहुन्थ्यो । उहाँको अभिनन्दनको तयारीका लागि हामीले देशव्यापी भ्रमण पनि गर्‍यौँ । हामी भारत प्रवासतिर पनि गयौं, उहाँकै अभिनन्दनको सिलसिलामा ।

त्यसपछि भव्य रूपमा उहाँको अभिनन्दन गरियो । अभिनन्दन गरिसकेपछि उहाँलाई राज्यले राष्ट्रकविको उपाधिबाट सम्मानित पनि गर्‍यो । यसरी राष्ट्रकवि माधव घिमिरेको काव्य योगदानको कदर भयो । 

तर पछि एउटा कुराले नमीठो गरी घोच्यो ! उहाँलाई नेपाली सेनाले मानार्थ सहायक रथीले सम्मानित गरेको थियो । उहाँलाई सायद कर्णेल सरहको दर्जाले सम्मान गर्‍यो । तर त्यो उहाँको गरिमाअनुसारको सम्मान नभएको मलाई लाग्यो । उहाँलाई त्योभन्दा उच्च तहको पदीय सम्मानद्वारा सम्मानित गरिनु पर्थ्यो भन्ने मलाई लाग्छ । 

 

 

उहाँ उमेर भइसकेको मानिस । सायद उहाँ पनि भ्रममा पर्नुभयो । उहाँले पनि त्यसलाई स्वीकार गर्नुभयो । तर राज्यले राष्ट्रकविको सम्मान दिएको व्यक्तित्वलाई सेनाले सहायक रथी दर्जाको सम्मान दिँदा उहाँको अपमान भएको अनुभूति मलाई भयो ।

एकपटक माधव घिमिरेजीसँग भेट हुँदा मैले यो कुरो उठाएको थिएँ । भनेँ- “दाइ, तपाईंले यो सम्मान लिन नहुने । हामीलाई त यो अनादर गरेकोजस्तो लाग्यो ।” उहाँले पनि “के गर्ने भाइ । अब दिइहाले । दिएको सम्मान किन तिरस्कार गर्नु भनेर स्वीकार गरिहालेँ । तर पछि मात्रै यो त ठीक रहेनछ भन्ने थाहा भयो” भन्नुभयो ।

मलाई के लाग्छ भने यो गल्तीलाई राज्यले सच्याउनै पर्छ । त्यो गल्ती सच्याएर उहाँलाई मरणोपरान्त भए पनि नेपाली सेनाको अहिलेको मानार्थ पदभन्दा उच्च पदले सम्मान गरिनुपर्छ । किनभने राज्यले दिएको राष्ट्रकविको सम्मान सेनाले दिएको सम्मानभन्दा धेरै माथिको सम्मान हो । 

कविवर माधव घिमिरेको साहित्यिक योगदानको चर्चा जति नै गरे पनि कम हुन्छ भन्ने मलाई लाग्छ । उहाँका रचनाहरू कालजयी रचनाहरू हुन् । ‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे, चुलिन्छ कहाँ उचाइँ हाम्रो हिमालै नरहे....’, हेर्नुस् त, कस्तो राष्ट्रिय भावनाले ओतप्रोत गीत छ यो ! त्यस्तै ‘गाउँछ गीत नेपाली....’ पनि कालजयी रचना भएको मैले भनिरहनु पर्दैन । ‘आजै र राति के देखेँ सपना मै मरि गएको...’, यी यस्ता सयौँ कालजयी गीत माधव घिमिरेबाटै लेखिन्थ्यो । अरूहरूबाट यस्तो रचना लेखिन्छ भन्ने सम्भावना म देख्दिनँ ।

लमजुङको पुस्तुनका कवि माधव घिमिरेको प्रारम्भ त संघर्षमै बित्यो । उहाँले लमजुङबाट आएर काठमाडौंमा संस्कृत पाकशालामा बसेर, पढेर, पछि गोरखापत्रमा जागिर खाएर आफ्नो काव्य क्षमता सर्वत्र देखाउँदै जानुभयो । 

उहाँका केही रचनाहरू त अजम्बरी छन् । कला, शिल्प, भाव र सौन्दर्यले परिपूर्ण भएका उहाँका रचनाहरू पढ्दा कोही पनि संवेदनशील पाठकलाई कुनै चमत्कारिक काव्य गङ्‍गामा गोता लगाएको हो कि भन्ने अनुभव हुन्छ ।

माधव घिमिर प्रखर राष्ट्रवादी, मानवतावादी, प्रकृत्तिवादी मात्रै हैन, उहाँ क्रान्तद्रष्टा कवि पनि हो । उहाँका हरेकजसो रचना नेपाली माटोको सुभाषले मगमगाएका हुन्छन् । नेपाली हिमचुलीको शीतल बतासले गम्किएको जस्तो लाग्छन् । नेपाली लेक, बेंसी, पाखा, पखेराहरूमा झुल्किएको न्यानो कलिलो घामको स्पर्शले चम्किएका हुन् कि भन्ने लाग्छन्, उहाँका रचनाहरू । अनि नेपाली छाँगा छहराले कुँदिएर छिल्लिएका हुन् कि भन्ने जस्ता लाग्छन् उहाँका कविता ।

वास्तवमा माधव घिमिरे निर्माण र प्रगतितर्फ अग्रसर भएका कवि हुनुहुन्छ । उहाँको विशेषता के हो भने उहाँ ताल-तलाउ जस्तो एकै ठाउँमा जमेर मात्रै बस्नुभएन । बरू उहाँ नदी झैं नयाँ नयाँ गन्तव्य पहिल्याएर, नदीझै छङ्छङ् गर्दै उत्ताल तरङ्गमा निरन्तर बगिरहनु भयो, गतिशील भएर । यस्तो नदी, जसले हरेक ठाउँमा आफ्नो चौडाइ र गहिराइ आफैँ बनाउँदै जान्छ । अरूले बनाइदिएकोमा बग्ने होइन, उहाँ ।

अतीतको अँध्यारो युगको मान्छेका कवि नभएर आजको २१औँ शताब्दीको चेतनशील मान्छेहरूका कवि हुनुहुन्छ, माधव घिमिरे । त्यसैले आजको मान्छेको पौरख र परिचयको प्रखर पक्षधर हो माधव घिमिरे । वर्तमान विश्वलाई भित्री हृदयदेखि आत्मसात् गरेर आफ्ना कृतिहरूद्वारा मानवकल्याण र विश्वशान्तिको आह्‍वान गर्ने युगचेत भएका कवि पनि हुनुहुन्छ, माधव घिमिरे । आफ्नो कृतित्व र व्यक्तित्वमा त्यस्तो महान् गरिमा बोकेका कविवर घिमिरेको महाप्रस्थान, राष्ट्रका लागि ठूलो क्षतिको विषय हो । यो क्षतिको पूर्ति हुन वर्षौं वर्ष त के, युग नै लाग्ला ।

महाकवि देवकोटाको अवसानले जुन क्षति नेपाली साहित्यलाई भएको थियो त्यस्तै क्षति राष्ट्रकवि माधव घिमिरेको अवसानले नेपाली साहित्यमा पारेको छ ।
(‘रचना’ द्वैमासिक साहित्यिक पत्रिकाका सम्पादक तथा साहित्यकार घिमिरेसँग बाह्रखरीका राजेश खनालले गरेको कुराकानीमा आधारित ।)

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ३, २०७७  १५:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC