site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
नयाँ मान्छे
Sarbottam CementSarbottam Cement

पारिजात


यसलाई मैले धेरैपल्ट आफूसँग दाँजेर हेरेको छु । हामी दुवैजना अँध्यारो रङका छौँ, एउटा ‘खास’ विशेषता । यो मान्छे मलाई त्यति मन पर्दैन भन्दाभन्दै घृणाको छेउछाउ पुगेर फर्कन्छ यससँगको मेरो व्यवहारको डोरी, तर यो सम्बन्धविच्छेद हुनुको निष्कर्ष होइन । निष्कर्ष त्यस दिन पनि हुन सकेको थिएन जुन दिन यसलाई मैले आफ्नो मान्छे स्वीकार गरेँ । पछिबाट थाहा पाएँ यो निकै पापी मान्छे भइसकेको थियो (यसले आफूलाई अहिले पश्चातापको आगामा डढाएर मारिसकेको किन नहोस्) । हुन सक्छ यसमा पश्चाताप नै जम्दैन । एकपल्ट अनायास मैले यसलाई सोधेको थिएँ– “स्वास्नी मरेको कति भयो ?”

“गोडाबीसेक वर्ष ।”

Prabhu Bank
Agni Group
NIC Asia

“छोरा मरेको ?”

“मर्याे भन्छन्, कागत आएको छैन ।”

Global Ime bank

त्यसपछि यसलाई म कुनै पनि प्रश्नले उदाङ्गो पार्न सक्दिनँ । लाग्छ म धेरै कमजोर छु आफूजस्तै रङरोगन, ढाँचाकाँचा मिल्ने मान्छेको अघि पनि । म कसैलाई घात गर्न सक्दिनँ चाहेर पनि । कहिलेकाहीँ अनुभव हुन्छ निकै लाछी छु, नपुंशक छु त्यसैले यस्ता कैयन् पापी बूढाहरूका अघि परास्त हुन कर लाग्छ । संकेत मेरो आफ्नो बाबुप्रति छ (ऊ अपराधी थियो, हाम्रो समाजमा यस्ता कुराहरूलाई निर्धक्क लुकाइन्छ) । म बाबुको विपरीत मानसिकता लिएर हुर्किरहेको मान्छे, एकाएक म उसको अनुकूल नै भइदिएँ । यसमा सधैँ मेरो बाबु जुँगा मुसार्ने गथ्र्यो र म आत्मग्लानिले पानीपानी हुने गर्थे । सान्त्वना यही नै थियो कि मसँग एक जमात अरूका छोराहरूले पनि आफ्नो निर्देशन गर्न सक्दैनन्, निर्णयात्मक धारणा राख्न सक्दैनन् । एकपल्ट अर्को मान्छेको स्वास्नीलाई उसले हातपात गरिदियो र मैले पाँचजनाको अघि घाम र आगोको किरिया खाएर उसको सत्चरित्र हुनुलाई बढावा दिएँ । हुन सक्छ मैले झुट बोलेँ तर उसले मलाई बनाएकै यस्तै थियो । ऊ मर्दा मेरो निम्ति एउटा पापी बूढो मरेको थियो । कता आफूभित्र हुने रिलिफको अनुभूतिलाई पनि मैले एउटा गोपनीय सुखजस्तै आफैँले मात्र भोगेर हिँडे । निःसन्देह ऊ नभएर अहिले म सुखी छु । अब मलाई रगतको नातामाथि विश्वास छैन । तर यो मेरो मनहुस भान्छे । यसको छोरालाई यसले के बनाउन खोजेथ्यो कुन्नी ? सायद एउटा लाहुरेभन्दा बढी होइन । 

होइन यसको छोरो पनि यसलाई विरोध गर्दागर्दै यसको अनुकूल नै बाँचेको हुनुपर्छ ।

प्रत्येकपल्ट जब यो मेरो अघि छर्लङ देखिने गरी घाम ताप्छ अथवा देखापर्छ, म आफूलाई त्यसको आयतनभरि गाभ्न र त्यसको मान्छेपनभरि कहीँकतै कम–बेसी नभएर फिट हुन खोज्छु । मलाई जान्न मन लाग्छ म कति अमल र कति बित्ताले फराकिलो छु अथवा सानो छु योभन्दा पनि । एउटा निष्कर्षको भयले म यसको टुंगोमा पुग्न खोज्दा नै परास्त भएर फर्किदिन्छु । सम्भव छ यो मभन्दा सानो छ र छोटो छ अनि सम्भव छ म योभन्दा सानो र छोटो छु । सम्भवतः मेरो उच्च मानसिकताका निम्ति यो भान्छे बूढो मलाई एकदम नहुने मान्छे तर यसलाई त्यसरी नै अस्वीकार गर्न सक्दिनँ जसरी म आजका बूढा पुस्ताका असंख्य अपराधीहरूलाई अस्वीकार गर्न सक्दिनँ, म आफूलाई कहिल्यै पनि नयाँ मान्छे घोषित गर्न सक्दिनँ । एउटा क्षुद्र सन्तुष्टि के भने म यो निसास्सिने वातावरणमा डिसइल्युजन्ड भएको छु ।

विचार गर्छु यति हुनु मात्र कुनै सन्तोषप्रद परिणति होइन कि यो एक्लो धारणाले मलाई पृथक् गरिदिन्छ भिडदेखि !

आजभोलि म प्रत्येकसित शंका गर्छु । आक्रान्त छु यस भयले कि आफैंसँग पनि म शंका गरेर बाँच्छु । लाग्छ म निकै नै शंकास्पद छु । यसको मात्र एउटै उपचार छ । मैले निर्वासित भइदिन पर्छ एउटा निर्जन टापुमा नत्र एउटा निर्बोध मृत्युको अघि आफैँलाई समाप्त गरिदिनुपर्छ ।

म यसरी बाँच्दै छु र खिइँदै छु । स्थितिबाट अघोरी हुन अथवा बनाइन मलाई आफूभित्र पनि नयाँ निर्माण चाहिन्छ । यस्तो अवस्थामा एउटा निरीह हाँसोभन्दा बढी मलाई केही पनि अनुभव हुँदैन । बिहान दूध पुर्याउन एउटी तरुनी आउँछे ।

नचाहेरै म सतर्क भएर सुन्छु उनीहरू के गर्छन् । चुरा बजेको सुन्छु, भान्छे बूढो घोक्रे स्वरमा हाँस्छ । त्यो तरुनी भर्खर बिहे गरेर आएकी एउटा ज्यापूको मन परेकी स्वास्नी हो । उसमा बिहेप्रति एवनर्मलिटी हुनै सक्दैन । त्यो बेला मेरो स्थितिबोध एउटा कंगाल खिन्नता भइदिन्छ ।

सोचाइमा (एउटा विशेष, जो कायम भएर बितेको छ) अँधेरी रात बग्छ । भान्से बूढाको सशंकित बुहारी (विधवा घोषित हुने) आफ्नो एकलास ओछ्यानमा नर्भस भएर पल्टेकी हुन्छे । जान्दै छ अब उसको जबरस्वाँठ ससुरा बाहिरबाटै ढोकाको आग्लो खोलेर कोठामा आउँछ र उसलाई पैतालादेखि चलाउन थाल्छ । उसलाई स्वीकार गर्नुपर्छ बूढोको भद्र आक्रमण । यो बलात्कार हो भनी ऊ कहिल्यै पनि परिभाषा लाउन सक्दिनँ । यसरी अभ्यस्त भएर उसले खुलेआम तर लुकाएर बुहारीलाई स्वास्नी राख्छ । दिउँसो चुरा र काइँयो उपहार दिन ल्याउँछ र उसकी बुहारीमा जीवनको वीभत्स भोगाइलाई नियति हो भनी ठम्याउने क्षमता पनि हुँदैन । ऊ ससुरालाई लिइदिनेछ र सहिदिन्छे मात्र । अहँ उसलाई घृणाबोध कहिल्यै हुँदैन । एक दिन बूढो आँगनमा निस्केर कुर्लन्छ “छोराको पो स्वास्नी मेरो को हो र ?” अनायास बूढो कटु सत्य बोल्छ र सधैँका निम्ति थाकिदिन्छ । तरुनी गइसकेकी हुन्छे, बूढो चिया लिएर पस्दा मलाई उसको आकृति एउटा ठूलो ओडारजस्तो लाग्छ, जहाँ मेरो पनि मौलिकताको सम्बन्ध छ र जसलाई हत्या गर्न–गराउनमा म तेस्रो दर्जाका एजेन्ट पनि हुन सक्दिनँ ।

कहिले कस्तो लाग्छ भने एकपल्ट डरलाग्दो आक्रमण गरिदिऊँ यो अपराधीलाई । तर पछि हट्छु, शंका लाग्छ त्यो पहिलो आक्रमण आफैंप्रति हुन जान्छ । सय विन्दुमा आएर जीवन औधी नै विसंगतिपूर्ण भइदिन्छ । प्रत्येक मनस्थितिसँग विश्वासको कुनै नाता नै हुँदैन आफूमा मान्छेपनको रहलपहल प्रकृति बाँचिरहन्छ र यसमा रोइदिन पनि चरम निरर्थक ।

एक दिन त्यो बूढो मर्छ यसमा ग्यारेन्टी छैन, योभन्दा पहिले म पनि मर्न सक्छु । विचार गर्छु, हामीभित्रको भयानक जिजीविषा छिन्नभिन्न हुनुमा सोचाइको के कुनै पनि हात हुन सक्दैन ?

हामी बोध हुनुबाट बच्ने कसरी ? र सोचाइबाट भाग्ने कसरी ? हुन सक्छ अबको पन्ध्र वर्ष यो बूढो र म समानान्तर रूपले बाँच्छौँ तर पन्ध्र वर्ष बित्न ? मलाई हिसाबले अँचेट्छ । तुरुन्त आश्वस्त हुन्छु, जसरी आज तीस वर्षहरू निर्धक्क बितिसकेका छन् ।

कत्राकत्रा शताब्दी बित्छन् के भो र ? तर यसरी परिणतिहीन बित्न ? म आफूभित्र नयाँपनको अभाव खोज्न थाल्छु । मभित्र केही छैन । सिवाय एउटा आक्रोश । 

रातमा बूढो पानी राख्न आउँछ, भएभरको आक्रोशको एउटा नग्न रूप देखाऊँ भन्ठान्छु तर असमर्थ भइदिन्छु, जसरी यहाँका सबै असमर्थ छन् । बोध पनि एउट बोध मात्र भएर रहिदिन्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ३१, २०७७  ०६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC