site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
ऊ अर्थात् एक नेपाली
Sarbottam CementSarbottam Cement

मनोज अधिकारी


घर छाडेर कमाउन गएको ऊ आज धमाधम गाउँतर्फ उकालो लम्किँदै छ । ऊ दाम पाउने काम खोज्दै गाउँबाट पहिले बजार झरेको थियो । पछि अलि परको सहर पसेको थियो । त्यसपछि विदेश । 

अहिले विदेशबाट, सहरबाट र बजारबाट हुलका हुल ऊजस्तै हजारौं–हजार मानिस गाउँतिर सोझिएका छन् । ऊ पनि त्यही हुलमा सामेल छ । ऊ आफ्नो थातथलो छोडेर सुखको आश, सुविधाको लोभ र अवसर खोज्दै हिँड्नेहरूको एक प्रतिनिधि पात्र हो । 

Prabhu Bank
Agni Group
NIC Asia

विकट गाउँको गरिबीमा हातमुख जोड्नु उसको प्रमुख सवाल थियो । भोकै नाङ्गै हुने जहान परिवारको पेट भर्ने अभिलाषा थियो । आङ ढाक्ने एकसरो सपना थियो । दयनीय गरिबी मेट्ने एउटै रहर थियो । दुई–चार पैसा कमाएर आफ्नो परिवार सुखी बनाउने दृढ इच्छा थियो । 

एउटा अकल्पनीय विश्व महामारीमा अरूअरू जस्तै ऊ पनि प्रताडित नहुने कुरै भएन । ऊ पनि कुनै रहर या सपना पूरा नहुँदै रित्तो हात गाउँ फर्किरहेछ । ऊजस्तै हजारौं, लाखौं गरिब, मजदुर र पिछडिएको वर्ग यो घर फिर्तीको लाममा छन् । तावाको माछो भुङ्ग्र्रोमा भनेझैं उनीहरूको पीडा छ । गरिबी, बेरोजगारी, विभेद, अन्यायबाट पीडितहरू कोरोना महामारीबाट झन् पीडामा पर्नु दैवकै लीलाबाहेक अरू के होला ? 

Global Ime bank

ऊसँगै अन्य दौंतरी, समकक्षी, समकालीन र सहयात्री घर फिर्तीको एउटै बाटोमा भेटिएका हुन् । यो विपत्तिमा सबैको हाल एकै छ । ती सबै लामो न लामो यात्रा गरेर आफ्नो पुरानै थलो फर्किरहेका छन् । 

ऊ पनि अरूजस्तै आफ्नै गाउँ फर्किएको छ । न कुनै चाड, न कुनै उत्सव । न कुनै रौनक, न कुनै उमङ्ग । केवल ज्यान जोगाउने एक बाध्यात्मक फिर्ती सबैको साझा नियति बनेको छ ।

ऊ पनि यही नियतिको एक पात्र हो । वैशाख–जेठको गर्मीले कसैलाई छेकेको छैन । गर्मीको रापले कसैलाई पोलेको छैन । पसिनाको धारोले भिजेको शरीर निरन्तर हिँडाइको वेगसँगै बहने हावाले सुकाएर कट्कटिएको छ । फेरि भिजेको छ । र, फेरि सुकेको छ । 

ऊ आप्mनो घर फर्कन नपाएर दशगजामा कैयौं दिनरात अलपत्र परेको छ । जन्मभूमि टेक्ने अभिलाषा पूरा गर्न उसले असहनीय दुःख भोगेको छ । बल्लतल्ल सीमाबाट छुटेर ऊ भर्खर अघि बढेको छ । 

बाटोमा प्रहरीको लाठीको चुटाइ भेटेको छ । ढाड र पिँडुलामा सुम्ला बोकेर ऊ हिँडिरहेको छ । आफ्नै देशमा तिरस्कार र तथानाम वचनको घोचाइले मन छियाछिया बनाएको छ । वरपर हेर्ने, देख्नेको नजरमा ऊ आफ्नै जन्मभूमिमा दया र हेयको पात्र बनेको छ । ऊ आफूजस्तै हजारौं युवाको लस्करमा कहीं कतै छ ।

सातौं दिन हिँड्यो । अहँ, घर पुगेन । दशौं दिन हिँडेपछि बल्ल पहाड उक्लियो । उकाली चढ्यो । ओराली झर्यो । अनि खोला र खोंच तर्दै घर नामको झुपडीमा पुग्यो । 

जुत्ताका तलुवा प्वाल परे । चप्पलका लोती छिने । तैपनि पाइला कसैको रोकिएन । पैताला फुटाउँदै हजारौं हजार सहयात्री ऊजस्तै आ–आफ्ना घर र झुपडी पुगे । अरू कैयन् पुग्दै होलान् । अझै कैयन् बीच बाटोमै हिँड्दै होलान् । उजस्तै आफ्नो घर सम्झेर गाउँ फर्कनेहरू बाटोमा हजारौं थिए । 

उसले बाटोमा सबैलाई भेट्यो । सबैलाई नजिकबाट देख्यो । सबैका उस्तैउस्तै जीवन कथा सुन्यो । सबैका उस्तै व्यथा छामेर हिँड्यो । अरूका पनि उस्तै कथा र व्यथा देखेर आफूलाई सम्हाल्यो । उसले आफूभन्दा भिन्न कोही देखेन । किनकि ऊ पनि अरूभन्दा भिन्न थिएन । 

घरसम्म जान कुनै साधन छैन । कसैसँग सहारा माग्ने सवारी छैन । बाटोमा न कसैले पेटभरी खाए । न कसैले न्यानो बास पाए । उसले पनि खाएन र पाएन । कसैले भोको पेटको गुनासो गरेनन् । उसले पनि आफू भोको ठानेन । 

किनकि यो चुनावी मौसम थिएन । उनीहरू नेताका चिल्लो भाषण सुन्न आमसभामा हिँडेका मतदाता थिएनन् । दलको जुलुस र र्यालीमा परिचालित कार्यकर्ता पनि होइनन् । नेता, सांसद् र मन्त्रीका आसेपासे हुँदै होइनन् । नातेदार पनि पक्कै होइनन् । यी आखिर कोही होइनन् भने यिनले सुविधाले घर जान किन पाउनु ? गास र बासको आश किन गर्नु ? 

उनीहरू त सम्भ्रान्त वर्गभन्दा धेरै फरक दुनियाँका दीनदुःखी थिए । यो यात्रा, यो लस्कर, यो घर फिर्तीको क्याराभान ती सम्भ्रान्तहरूको होइन । कथित उपल्लो वर्ग र धनाड्यको हुँदै होइन । यो त दैनिक ज्याला मजदुरी गरेर बाँच्ने आमदुःखीको लस्कर हो । 

उनीहरूका लागि सयौं किलोमिटर लुरुलुरु हिँड्नु बरु जायज हो । नागरिक हैसियतमा आवश्यक सुविधा र व्यवस्था हुनुचाहिँ जायज होइन । उनीहरूका लागि लकडाउन जारी छ । त्यसैले ऊ र उसका सहयात्रीलाई थाहा थियो, पैदलै हिँड्नुको विकल्प छैन । मात्र सास बोकेर उनीहरूसँगै ऊ पनि अथक लम्किरहेछ । 

त्यो यात्रामा वृद्धवृद्धा हिँडे । ऊ बेलाबेला लड्खडाउने वृद्धहरूलाई हात समाएर डोर्याउँदै अघि बढ्यो । भर्खरका बालबालिका सँगसँगै हिँडे । तिनलाई थुप्थुप्याउँदै, हौस्याउँदै हिँड्यो । गर्भवती महिलाहरू खोच्याउँदै हिँडे । उनीहरूलाई भविष्यको सुन्दर तस्बिर सम्झाउँदै ऊ अघि बढ्यो । सुत्केरीहरू सकिनसकी हिँडे । ऊ काखे नानीको मुस्कान देखाएर आशाको किरणमा भुलाउँदै हिँड्यो । 

उसले बुझेको थियो, गरिब र निमुखाले यस्तो कष्टमा राज्यबाट कुनै सुविधा खोज्नु वा आशा गर्नु हुँदैन । उच्च तह र पदमा आसिन नेता, सांसद्, मन्त्री र तिनका आसेपासेको एकछत्र हकमाथि आफूहरूले आँखा लगाउनु हुँदैन । ऊ जान्दथ्यो, राज्य व्यवस्था र यसका नाइकेहरूको इतिवृतान्त । ऊ पूर्ण भुक्तभोगी थियो राजनीतिक दाउपेच र सत्ता लुछाचुँडीको । 

उसलाई थाहै थियो, यो सर्वहारावर्गको उत्थानका लागि राजनीति गर्ने दलको बहुमते सरकार हो । केन्द्र, प्रदेश र स्थानीय सरकारमा बसेकाहरू अहिले आ आफ्नो उत्थानमा व्यस्त भएको बेला हो । उनीहरू घर, घडेरी, गाडी, जिमखाना र अन्य सर–सुविधा जोड्न पूरै बेफुर्सदी भएको क्षण हो । 

यस्तो लोक कल्याणकारी सपना र आत्म कल्याणकारी योजनाको सरकारमाथि अनेकन् शंका र उपशंका गर्नु पनि भएन । बरु आफूजस्तै सोझा, निमुखा जनताले जतिसुकै दुःख सहनुपर्छ भनेर उसले यस्तो बेलामा झन् बुझ्यो । सबैलाई यस्तै बुझाउँदै ऊ अघिअघि हिँड्यो । हिँड्दा–हिँड्दै आफूजस्तै धेरैको पैताला पट्पटी फुटेर रगत बगेको देखेर पनि उसले नदेखेझैं गरिदियो । सायद् सोच्यो होला, यस्तै कयैन् रगत बगेर आएको यो लोकतन्त्र हो, गणतन्त्र हो । 

यसरी उसँगै कैयौं असक्त हिँडे, बिरामी हिँडे । ती सबै भोकभोकै हिँडे । तिनीहरू रुँदै हिँडे । उसले सबैका आँखु पुछ्दै हिँड्यो । र ऊ बल्ल घर पुग्यो ।

यस्तो महापीडामा पनि ऊ घर फर्किन पाएर औधी रमायो । खुसीले घरको आँगनमा बसेर मुस्कुराउन खोज्यो । लखतरान ज्यानबाट मुस्कुराउने एक चिम्टी शक्ति निस्कन सकेन । 

कैयौं दिनको लामो हिँडाइ, थकाइ, दुखाइ र घामपानीको चुटाइले ऊ भोलिपल्टै शिथिल भयो । आफन्त, छिमेकी र गाउँले उसको नजिक पर्न डराए । उसको हालत देखेर घरकै जहान परिवारले होस् हराए । 

ऊ गाउँ फर्किएकामा धेरैजना बेखुसी देखिए । हिजो पर्दाका जन्ती र मर्दाका मलामी भन्ने आफन्त र छरछिमेकी आँगन टेक्नै हच्किए । उसले कोरोना लिएर आयो कि भन्ने आशंकाले सबै तर्किएर हिँडे । 

घर पुग्नुअघि ऊ क्वारेन्टिनमा बसेकै हो । ऊजस्तै अरू पनि थुप्रै बसे । क्वारेन्टिन भन्नु मात्रको । भैंसी गोठजस्तो । आधारभूत सुविधाविहीन । पूरै अव्यवस्थित । मापदण्डअनुरूप पूर्वाधार नभएको । आवश्यक स्वास्थ्य सेवा पनि नरहेको । सामूहिक बसाइ । एउटै शौचालय । अव्यवस्थित भान्छा । अस्वस्थ्य खाना । सामाजिक दूरीको सट्टा भीडभाड । क्वारेन्टिनको प्रस्ट तस्बिर यस्तो थियो । 

यस्ता क्वारेन्टिन झन् कोरोना संक्रमण फैलाउने केन्द्र बन्यो । यी क्वारेन्टिनमा थोरै संक्रमितबाट झन् अरू धेरैमा संक्रमण फैलियो । कोरोनाबाट सबैभन्दा धेरै मृत्यु क्वारेन्टिनमै हुन थाल्यो । मृत्युअघि उनीहरूले सुने, सरकारले यसकै लागि सरकारले १० अर्ब रुपैयाँ खर्च गरेछ । उनीहरू धन्य भए । ऊ पनि त्यही क्वारेन्टिनमा केही दिन बसेर घर पुगेको थियो । 

भोलिपल्टै ऊ आँगनमा लडेको देखेर गाउँलेले चौकीमा खबर गरे । खबर सुनेर एकैपटक स्वास्थ्यचौकी र प्रहरी चौकीबाट दुई हुल गाउँमा उक्लिनुपर्ने थियो । उसको स्वास्थ्य परीक्षण गर्नुपर्ने थियो । उसको यात्रा विवरण टिपोट गर्नुपर्ने थियो । 

यहीबेला देशमा नयाँ नक्साको चर्चा र बहस जारी थियो । नक्साको वितरण धुमधाम चलिरहेको थियो । स्थानीय प्रशासन र अधिकारीको ध्यान महामारीतर्फ पुग्नै बाँकी थियो । महामारीमा ज्यानभन्दा राष्ट्रवादको नक्सा ठूलो कुरा बनेको थियो । 

त्यसैले कोसौं कोसको दूरी पैदल हिंँडेर घर फर्किएका अरूजस्तै ऊ पनि राज्यको प्राथमिकतामा होइन पूरै ओझेलमा थियो । भारतको गुजरातबाट अनेक दुःखकष्ट झेल्दै १० दिनअघि घर फर्किएको ऊ अर्काे दिन आँगनमै बित्यो । गाउँलेले फेरि उसको शव छुने हिम्मत गरेनन् । कोही वरिपरि पर्नै चाहेनन् । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २४, २०७७  १२:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC