site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
धरानका मेयर–उपमेयरबीच विवाद चुलियो, भएको के ?

विराटनगर । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ र उपप्रमुख अइन्द्रविक्रम बेघाबीच विवाद चुलिएको छ । प्रमुख–उपप्रमुखबीचको विवादका कारण नीति तथा कार्यक्रम र बजेट तयारीको कार्यमा समेत बाधा परेको छ । 

पछिल्लो समय श्रमदानका नाममा गरिएका कामको हाजिरी देखाएर बजेट माग गरिएको रकम उपप्रमुख बेघाले रोकेपछि विवादले उग्र रूप लिएको हो । मंगलबार उपमहानगर परिसरमै प्रमुख र उपप्रमुखबीच भनाभन भएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सोमबार प्रमुख साम्पाङका समर्थकहरूले उपप्रमुख बेघामाथि हातपात प्रयास गरेका थिए । त्यसको भोलिपल्ट मंगलबार फेरि उपप्रमुखको कार्यकक्ष घेराउ गर्न पुगेपछि थप बखेडा भएको हो । त्यहाँ उनीहरू र बेघा पक्षमा रहेका नेकपा माओवादीका कार्यकर्ताबीच वादविवाद भएको थियो । बेखाले अनधिकृत रूपमा गरिएको खर्च रोक्ने बताएका छन् । 

उपमहागनर परिसरमै विवाद हुँदा स्थिति बिग्रन नदिन इलाका प्रहरी कार्यालय धरानको टोली तत्कालै पुगेको थियो । त्यसपछि झडपको अवस्था भने टरेको थियो । यो घटनाको सामाजिक सञ्जाल युट्युब र फेसबुकमार्फत प्रत्यक्ष प्रसारण भएपछि नगरपालिकाको परिसरमा ठूलो भिड जम्मा भएको थियो ।

नेकपा (माओवादी केन्द्र) धरान नगर अध्यक्ष उद्धव लिम्बूका अनुसार, मेयर समर्थकहरू स्काभेटर र डोजरको चाबी माग्ने बहानामा उपप्रमुखको कार्यकक्षमा पुगेका थिए । “उनीहरूलाई मेयर साम्पाङकै निर्देशनमा उपप्रमुखको कार्यकक्षमा पठाइएको हो,” उनले भने ।

उपप्रमुख बेघाका अनुसार, स्काभेटर र डोजरको चाबी तीनवटा स्थान– नगर प्रमुख, उपप्रमुख र कार्यालय स्टोरमा राखिएको छ । नगर प्रमुख पक्षले डोजर र स्काभेटरको अनियमित प्रयोग गर्न थालेपछि आफूले केही दिनदेखि चाबी नदिएको बेघाले बताए । 

उनले भने, “आज बिहान एक्कासि श्रमदाता समूह स्काभेटर प्रयोग गर्न भन्दै मेरो कार्यकक्षमा आएका थिए । मैले ‘मेयरसाब’ सँग पनि चाबी छ मागेर दिन्छु भनेर सम्झाएँ ।” 

घटनाको जानकारी पाएपछि माओवादीका कार्यकर्ताहरू पनि नगरपालिका परिसरमा पुगेका थिए । त्यसक्रममा दुवै समूहबीच भनाभन भएको थियो । केही समय तनावपूर्ण अवस्था सिर्जना भए पनि प्रहरीको उपस्थितिले अवस्था नियन्त्रणमा आएको थियो ।

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  १९:३२
प्रतिक्रिया दिनुहोस्