site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
गीतमा लफडा ! कलाकारलाई सधैँ तर्साएरै राख्ने ?
Sarbottam CementSarbottam Cement

घटना नं. १ : गतवर्ष पशुपति शर्माको गीतमा ठूलै लफडा भयो । ‘लुट्न सके लुट कान्छा...’ गीतको बोल थियो । गीतको सारांश थियो– राजनीतिज्ञ तथा प्रशाकसकहरुले सक्दो देशको ढुकुटी लुटिरहेका छन् । र कहीँ नभएको यो छुट् नेपालमा मात्रै छ ।  गीतले राजनीतिज्ञको धज्जी उडाएको नेता तथा सांसदहरुले अर्थ लगाए । गीतले व्यवस्थापिका संसद्मा प्रवेश पायो । सांसदहरु पक्ष–विपक्षमा विभाजित भए । सत्तारुढ दलको भ्रातृ संस्थाहरुले पशुपतिलाई गीत युट्युबबाट तत्काल हटाउन धम्की दिए । 

उनका कार्यक्रम बहिष्कार गर्ने चेतावनी आयो । पशुपतिले फोन अफ गरेर बस्ने अवस्था मात्रै सिर्जना भएन युट्युबबाट गीत नै हटाउनु पर्‍यो । विद्यमान बेथितिविरुद्ध व्यङ्ग्य गरेको व्यङ्ग्यात्मक सिर्जनाको हत्या भयो ।

घटना नं. २ : गतवर्षकै तिहारमा दुर्गेश थापाको तीज गीत सार्वजनिक भयो । गीतको बोल थियो, ‘ह्यापी तिहार चिसो बियर...’ । तिज गीत ‘बिच्च बिच्चमा...’ बाट ठूलो प्रशंसा बटुलेका दुर्गेशले यो गीतबाट चर्को आलोचना मात्रै खेप्नु परेन, प्रहरीको सोधपुछ कै सामना गर्नुपर्‍यो ।

Prabhu Bank
Agni Group
NIC Asia

हिन्दु धर्मवाबलम्बीको संस्कृतिमा विकृति फैल्याएको भन्दै प्रहरीले गीतमा केही परिमार्जन गर्न निर्देशन दियो ।  युट्युबमा अपलोड गरिएको गीत हटाएर उनले प्रहरीले आपत्ति जनाएका शब्द निकालेर पुनः अर्को गीत अपलोड गर्नुपर्‍यो । उनकै शब्दमा सिर्जना खुम्चियो ।  

घटना नं. ३ : र्‍यापर समिर घिसिङ अर्थात भिटेन ‘हामी यस्तै त हो नि ब्रो...’ गीत गाएर चर्चामा आएका थिए । त्यही चर्चा नै उनका लागि अभिसाप बन्यो । 

Global Ime bank

गीतमा प्रहरीलाई खिसी गरेको र गाँजालाई सकारात्मक रुपमा लिइएको तथा प्रहरीको बर्दीको दुरूपयोग गरेको भन्दै उनलाई प्रहरीले पक्राउ गर्‍यो । युट्युबबाट गीत हटाउन लगाइयो । भिटेनबिरुद्ध अभद्र व्यवहार गरेको अपराधमा मुद्दा चलाइयो । र सचेत गराउँदै तारिखमा छोडियो । 

घटना नं. ४ : गत सोमबार साँझ गायिका सोफिया थापाले एउटा गीत सार्वजनिक गरिन् । हाइलाइट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीत तिजसँग सम्बन्धित थियो । गीतको बोल थियो– अबको तिज नो व्रत प्लिज । गीतको आशय थियो, तिजमा व्रत नबसौं । महिला पुरुष बराबर भएको भन्दै श्रीमतीले श्रीमान्को खुट्टाको पानी खानै पर्छ भन्ने छैन ।  

अक्सर रातो साडी, चुरामा तिज गीतको भिडियो तयार गर्ने चलन रहेकोमा सोफियाले मोडर्न डान्स राखेकी थिइन् । गीत सार्वजनिक भएलगत्तै हिन्दु जागरण नेपालले सोफियालाई तत्काल गीत हटाउन दबाब दियो ।  हिन्दु जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्यायले गीत हिन्दु धर्म बिरोधी भएको भन्दै तत्काल हटाउन भने । 

उनले सोफिया मात्रै होइन उनका श्रीमान् मनोज पण्डितलाई पनि फोन गरेर गीत तत्काल हटाउन भन्दै अन्यथा विरोधमा प्रदर्शन अथवा कानुनी उपचार खोज्ने चेतावनी दिए ।

अध्यक्ष उपाध्यायले हाइलाइट्स नेपालमा पनि फोन गरेर गीत नहटाए जस्तो सुकै अवस्थाको सामना गर्न तयार रहन चेतावनी दिए ।  यी त भए केही उदाहरण । यस्ता थुप्रै गीत छन् जो युट्युबबाट जबर्जस्त हटाइएका छन् । विरोध र विवाद झेल्ने त थुप्रै गीत छन् ।  ज्योती मगरको तीज गीत ‘यसपालीको तिजमा दरको साटो रक्सी खाइन्छ..’, कोमल वलीको ‘पोइल जान पाम...’ लगायत थुप्रै गीतले चर्को आलोचना झेले । 

यी गीतमा प्रतिवन्ध नै लगाउनुपर्ने विभिन्न संघसंस्थाले माग गरे ।  अहिले सोफियाको गीतको विरोध गर्दा हिन्दु जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्यायले कोमल र ज्योतीको गीतको उदाहरण पनि दिए ।  गीतकार कृष्णहरी बराल गणतन्त्रमा वाक स्वतन्त्रता सबैलाई रहेको तर अभिव्यक्ति स्वतन्त्रताका नाममा संस्कार, संस्कृति र समाजलाई भने बिर्सिन नहुने बताउँछन् । 

“अभिव्यक्ति स्वतन्त्रता छ भन्दैमा जसलाई जे मन लाग्यो त्यही लेख्न, बोल्न र गाउन पाइन्छ भन्ने संसारका जस्तो सुकै प्रजातान्त्रिक मुलुकमा पनि छैन,” बराल भन्छन्, “अदालतमा मानहानी र गाली बेइजतीको मुद्दा पर्छ ।” 

कानुनले बन्देज लगाएका कुराहरु लेख्न र बोल्न पाइँदैन । उनी अगाडि थप्छन्, “२० वर्ष नपुगी विवाह गर्न पाइँदैन । तर कसैले १० वर्षको उमेरको बालक वा बालिकासँग विवाह गर्नुपर्छ भनेर भन्छ भने त्यसमा कानुनले नै बन्द गर्छ । यसको अर्थ वाक स्वतन्त्रता भए पनि सामाजिक मर्यादाभित्र बस्नुपर्यो ।”

समाजलाई अधोगतितर्फ लैजाने लेख्न नपाइने तर समाजलाई परिस्कृत गर्दै लैजाने सन्दर्भ भने लेख्न पाइन्छ । त्यसैले सर्जक स्वयंंले सेल्फ सेन्सरसिप लगाउनुपर्ने गीतकार बराल बताउँछन् । समाजमा रहेका विकृति र विसंगतीलाई हटाउन साहित्यको ठूलो भूमिका हुने तर यसमा सामाजिक मर्यादामा रहेर कलम चलाउनुपर्नेमा उनको जोड छ । 

गीतकार संघका अध्यक्ष चुडामणि देवकोटा समाज सुधारक गीतको विरोध गर्नुको अर्थ नरहेको बताउँछन् ।  व्यङ्ग्यात्मक चेत र पथपदर्शक गीतको विरोध गर्नुपर्ने कुनै कारण नरेहेको उनी बताउँछन् ।  “समाजले पचाउनै नसक्ने मनपरी शब्द भएका गीत सर्जक लेख्ने नलेख्ने स्वयंले आफू रहेको समाजको मूल्यांकन गर्नुपर्छ । तर समाज सुधारका लागि आलोचनात्मक चेतलसहितका व्यङ्गय मिश्रित गीतको विरोध गरिनुहुँदैन,” संघका अध्यक्ष तथा गीतकार देवकोटा भन्छन्, “नेताहरुले देश लुटिरहेका छन् भनेर पशुपति शर्माले गीत गाएर के अपराध गरेका थिए ? साहित्यमार्फत खबरदारी गर्नु अपराध होइन दायित्व हो ।”

उनी अघिल्लो साता हटाउन लगाइएको सोफिया थापाको गीत हटाउन लगाउनु अतिवादी प्रवत्ति भएको टिप्पणी गर्छन् । उक्त गीतमा हिन्दु धर्मको विरोध आफूले नदेखेको उनी बताउँछन् । 

“सोफियाले तिज नमनाउ कतै भनेकी छैनन् । तिजविरुद्ध कुनै सन्देश प्रवाह गर्न खोजेकी पनि छैनन् । र पनि गीत हटाउन लगाउनु आफैंमा अतिवादी प्रवृत्ति हो,” उनी भन्छन्, “जसले विरोध गरे त्यो पाखण्डी पन हो । विरोध गर्दै आएका महिलाको सिउँदोमा सिन्दुर र गलामा पोते थिएन । हिन्दु विवाहिता महिलाको सौभाग्यको प्रतीक सिन्दुर पोते किन नलगाएको ? यो पाखण्डी पन हो । जसले विरोध गरे उनीहरु श्रीमान्को खुट्टाको पानी खान्छन् जस्तो मलाई लाग्दैन ।”

समाज तथा संस्कृति समयानुकूल परिमार्जित हुँदै जानुपर्छ भन्नु साहित्यको दायित्व भएको भन्दै यसलाई नजरअन्दाज गर्न नहुने उनी बताउँछन् ।  विभिन्न संस्थाका नाममा शक्ति प्रयोग गरेर गीत संगीतमाथि बन्देज लगाउँदै सर्जकको मुख थुन्ने काम भइरहेको लेखक तथा समीक्षक मनोज पण्डित बताउँछन् ।  विभिन्न समयमा विभिन्न बहानामा गीतसंगीतमाथि बन्देज लगाउने काम भइरहेको भन्दै उनी भन्छन्, “बाहुबलको प्रयोग गरेर जे पनि गर्न सकिन्छ भन्ने यो गलत नजिर बसाइँदैछ । भारतमा जुन खालको अतिवाद छ, त्यो नेपालमा पनि देखिन थालेको छ ।” 

धर्मको आडमा फस्टाउँदो गलत प्रवृत्तिले नेपाली समाज कता जाँदैछ भन्ने प्रष्ट संकेत गरेको उनी बताउँछन् । 

सर्जक र सिर्जनाको मुख थुन्ने प्रयास गर्दा त्यो झन् आम जनमानसमा पुग्ने तथ्यलाई भुलेर अतिवादलाई प्रश्रय दिने प्रवृत्ति मौलाएको भन्दै पण्डित सिर्जना र सर्जकको मुख थुन्ने गलत प्रवृत्तिप्रति राज्यको ध्यान तत्काल आकृष्ट हुनुपर्नेमा जोड दिन्छन् ।   

साहित्यको काम मनोरञ्जन प्रदान गर्ने मात्रै नभएर नकारात्मकताबाट समाजलाई सकारात्मकतर्फ लैजाने भएको भन्दै गीतकार संघका अध्यक्ष देवकोटा भन्छन्, “नाङ्गो यौन कुण्ठा र अतिरञ्जना फैलाउन पाइँदैन तर समाजमा रहेका विद्यमान विक्रिति, विसंगती र परिमार्जन आवश्यक रहेका सामाजिक विषयमा पनि आवाज उठाउन पाइन्छ ।”

० ० ० 

सोफियाको गीतले राजनीतिज्ञको पनि ध्यानाकर्षण गरेको छ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेपाली कांग्रेसका नेता गगन थापा, साझा पार्टीका संयोजक रवीन्द्र मिश्रलगायत सोफियाको गीतका पक्षमा उभिएका छन् ।  

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक चेतना जगाउने गीतमा अरिंगाल सेनाहरु खनिएको भन्दै त्यसको प्रतिवाद गर्नुपर्ने बताएका छन् । उनी गीत धर्म विरोधी नभएको उल्लेख गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, “सामाजिक चेतना जगाउने यो गीत कुनै धर्मरसंस्कृति विरूद्ध छैन । सबैले सुनौं र सुनाऔं ।  विभिन्न भेषका अरिंगाल सेनाहरूको प्रतिवाद गरौं ।”

कांग्रेस नेता थापाले ‪समस्या गीत वा पहिरनमा नभएर डराउने मानसिकतामा रहेको बताएका छन् । गीतले विभेद बिरुद्ध बोलेको भन्दै विभेदकारी मानक भत्काउनु पर्नेमा जोड दिएका छन् । ‬

सोफियाको गीतका पक्षमा थापा लेख्छन्, “महिलाको गीतबाट धर्म मासिने डर । ‪महिलाको पहिरनबाट सामाजिक मर्यादा भत्कने डर । ‪महिलाले सिन्दूर पोते नलगाउँदा पुरुष झुक्किने डर । ‪यो डर सामाजिक रोग हो । ‪समस्या गीत वा पहिरनमा हैन, डराउनेमा छ त्यसैले उपचार पनि डराउनेहरूकै गर्नुपर्छ र यस्ता विभेदकारी मानक भत्काउनुपर्छ ।”‬‬‬‬

समाजमा रहेका संकुचित मानसिकता नत्यागेसम्म समाज समान, सहनशील र सुसंस्कृत नबन्ने भन्दै साझा पार्टीका संयोजक रवीन्द्र मिश्र बताउँछन् । भद्र विद्रोहले संस्कारका चोट नपुग्ने भन्दै उनी लेख्छन्, “महिलाले भद्र गिती विद्रोह गर्दा संस्कारमा चोट पुग्ने ? ढाड देखिने लुगा लाउँदा अमर्यादित हुने ? विवाहित भएको जनाउ दिन श्रृंगार गर्नु पर्ने ? यस्तो संकुचित मानसिकता नत्यागेसम्म न समाज समान, सहनशील र सुसंस्कृत बन्छ, न लोकतन्त्र फस्टाउँछ । नबिर्सिउँ, हाम्रा दिदीबहिनी, आमा सबै महिला हुन् ।”

सोफियाको गीत युट्युब कम्पनीले आफ्नो युट्युब च्यानलबाट हटायो । त्यसको बिरोधमा नेताहरु बोलो तर सर्जकहरु मौन रहे । आफ्नो गीत हटाउन दबाब दिँदा वा विरोधमा खैलाबैला गर्दा रोइकराई गर्ने सर्जक तथा श्रष्ठाहरु नै ‘तैं चुप मै चुप’ अथवा मौन बसे । 

संगीतकार संघ नेपालले सोफिया आफ्नो संस्थाको सदस्य नभएकाले संघले आधिकारिक धारणा नराखेको बताउँछ । आफ्ना सदस्यलाई अफ्ठ्यारो परेको अवस्थामा मात्रै सहयोग गर्ने भन्ने संघको विधानका कारण आधिकारिक धारणा राख्न नसकिएको संगीतकार संघका अध्यक्ष शान्तिराम राई बताउँछन् । 

“संघको विधानका कारण हामीले संस्थागत रुपमा बोल्न सकेनौं । तर मेरो व्यक्तिगत धारणा उहाँलाई अन्याय भयो भन्ने नै हो । मनोरञ्जन र केही समाज सुधारका लागि सन्देश दिएको गीतमा त्यति धेरै आपत्ति कसैले जनाउनु पर्छ भन्ने छैन,” अध्यक्ष राई भन्छन्, “ज्यान मार्ने धम्की आएको र पुलिस केस भएको अवस्थामा अब मुद्दा प्रहरीकोमा पुगेकाले सरकारले निर्णय गर्ने हो । तर व्यक्तिगत रुपमा मेरो समर्थन उहाँलाई छ ।”

उनी एउटा श्रष्टालाई पर्दा अर्को श्रष्टा चुप लागेर बस्ने प्रवृत्ति देखिएको भन्दै यो गलत भएको बताउँछन् । “हामी सबै एक हौं भन्ने संस्कार हामीमा छैन । एकलाई पर्दा अर्कोले रमिता हेर्ने होइन सहयोग गर्नुपर्छ यो संस्कार हामीले विकास गर्दै लैजानुपर्छ,” उनी भन्छन् ।  गायिका सोफिया थापाले गीतकै कारण धम्की आएपछि बुधबार इलाका प्रहरी कार्यालय बुटवलमा सुरक्षाको माग गर्दै धम्की दिनेविरुद्ध उजुरी दिएकी छिन् ।  ‬

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ११, २०७७  ०९:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement