site stats
बाह्रखरी :: Baahrakhari
कला
लाउड नभए त क्लियर नै भइने रहेछ नि !

काठमाडौं । अभिनेता सौगात मल्लले आफूले लाउड एक्टिङ गर्नुको कारण रहेको बताएका छन् । आफूलाई सटल अभिनय मन पर्ने भए पनि लाउड अभिनय गरिरहेको उनले प्रस्ट पारेका छन् ।

सौगातसँग शान्त तरिकाले गरेको अभिनयले नोटिस नहुने गरेको तितो अनुभव छ । यसको उदाहरण उनी ‘कागबेनी’ चलचित्रलाई दिन्छन् । पछिल्लो उदाहरण त ‘द रेड सुटकेस’ पनि हो ।

“मलाई कागबेनीमा मैले गरेको जस्तो अभिनय मन पर्छ, जहाँ म शान्त छु । म त्यस्तै सिनेमा हेर्ने र मन पराउने भएकाले पनि आफैँलाई कागबेनीको अभिनय मन परेको थियो,” सौगात भन्छन्, “मैले पनि कागबेनीमा काम गरेको छु भन्दा मलाई धेरैले सिनेमा होइन डकुमेन्ट्रीमा काम गरेको छु भन न भन्नुभयो ।”

Argakhachi Cement Island Ad

सटल अभिनय गरेर दर्शकमा नोटिस हुन कठिन हुने उनको भनाइ छ । सौगात आफैँलाई पछिल्लो समय गरेका सिनेमामध्ये मन परेको काम ‘द रेड सुटकेस’को हो । तर, त्यसमा गरेको अभिनय कसैले नोटिस नगरेको उनको गुनासो छ । “शान्त अभिनय गर्‍यो भने त क्लियर अथवा वासआउट नै हुने रहेछ नि !,” उनले भने । 

राजेश हमालले ‘हे... हे... हे...’ गरेको र सुनील थापाको ‘राते काइँला’जस्ता लाउड अभिनय नै उनीहरूलाई चिनाउने पात्र र संवाद बनेको उनी बताउँछन् । लाउड भएकै कारण दर्शकले नोटिस गर्दा दशकौँपछि पनि त्यही अभिनय र संवाद रुचाइएको सौगातको बुझाइ छ ।

त्यसैले आफूले चलचित्रको कथा हेरेर त्यहीअनुसारको चरित्र निर्माण गर्ने गरेको उनी सुनाउँछन् । यद्यपि, चलचित्र निर्देशकको माध्यम भएकाले ऊ नै चरित्र कस्तो बनाउने भन्नेमा निर्णायक हुने उनी स्पष्ट पार्छन् ।

प्रायः सौगातलाई लाउड अभिनय गर्ने गरेको आरोप लगाइन्छ । रंगमञ्चमा जस्तै लाउड अभिनय सिनेमामा पनि गर्ने गरेको भन्दै उनको आलोचना हुने गरेको छ । विशेष गरी उनीमाथि समीक्षकबाट यस्तो टिप्पणी गरिन्छ । सौगात मात्र होइन, थिएटरबाट सिनेमामा गएका अरू केही कलाकारले पनि यो आरोप खेपेका छन् ।

यसको कारण भीडमा हराइने डर नै रहेको सौगात बताउँछन् । यस्तो आरोप लगाइँदा सौगात प्रायः तीन चलचित्र सझिन्छन् । पहिलो, ‘कागबेनी’ – जसबाट तारिफको अपेक्षा गरिरहेका बेला उनले डकुमेन्ट्री भएको प्रतिक्रिया पाए ।

लामो समयपछि काम गर्दा आफैँलाई चित्त बुझेको ‘द रेड सुटकेस’ धेरै दर्शकले हेर्दै हेरेनन् । धेरैले नहेरेपछि आमदर्शकले त्यसमा प्रतिक्रिया जनाउने कुरै भएन ।

रह्यो, ‘लुट’को प्रसंग । धेरैलाई थाहा छ, ‘लुट’मा सौगात ‘हाकु काले’को चरित्रमा छन् । यही चलचित्रबाट उनी सिनेनगरीसँगै आमदर्शकमाझ चिनिए । उनलाई चलचित्रमा अफरको ओइरो लाग्यो । नेपाली चलचित्रले धार नै बदल्यो । क्यारेक्टर आर्टिस्टहरू धमाधम मुख्य भूमिका अथवा हिरो हुन थाले ।

‘लुट’मा सौगात जसरी देखिए र जे देखिए, त्यो उनले ‘कागबेनी’बाट पाठ सिकेर बनाएको क्यारेक्टर थियो । सौगात निर्देशक निश्चल बस्नेतले ‘लुट’का लागि आफ्नो चरित्र लिएर आएको क्षणतर्फ फर्किए ।

सौगातलाई निश्चलले भनेका थिए, ‘दाइ, तपाईंको क्यारेक्टर शान्त । चिटिक्क पारेर लुगा लगाउने, तेल लगाएर कपाल चिटिक्क पारेर कोरेर बस्ने छ ।’

निश्चलले आफ्नो क्यारेक्टर सुनाएपछि सौगातले सोचे– अहिलेको समाजले के खोजिरहेको छ ? के मन पराइरहेको छ ? विगत फर्किएर हेरे, ‘कागबेनी’को आफ्नो क्यारेक्टर त ‘वासआउट’ नै भइसकेको थियो । ‘डकुमेन्ट्रीमा काम गरेँ भन न’ भनिसकेका थिए ।

हिट त राजेशको ‘हेऽऽऽ शंकर !’ र सुनील थापाको ‘काइँला’ नै थिए, वर्षौं बिते पनि दर्शकले बिर्सिएका थिएनन् ।

क्यारेक्टर सौगातले थोरै परिवर्तन गरे । किनभने, उनलाई लाग्यो– दर्शकले लाउड तर अझै रियल क्यारेक्टर मन पराउँछन् ।

निश्चलले तेल लगाएर कपाल कोरेर चिटिक्क पर्ने भनेकामा सौगातले ठिकविपरीत कपाल थप जिङरिङ्ङ पारे । शरीर पनि थप मोटो हुनुपर्छ भन्ने लागेपछि ज्यान बनाएर हृष्टपुष्ट भए ।

काठमाडौंको नेवार समुदायको क्यारेक्टर थियो । उनलाई टिपिकल नेवारी टोनमा बोल्न आउँदैन थियो । किनभने, उनी नवलपरासीका हुन् । उनले नेवारी टोनका निम्ति साढे तीन महिना अभ्यास गरे । यसका पछाडि एउटै कारण र उद्देश्य थियो, फेरि हराउनु हुँदैन । आफ्नो सन्दर्भमा ‘कागबेनी’ दोहोरिनु हुँदैन । मुख्य अथवा चुरो कुरा म हराउनु हुँदैन ।

जसै चलचित्र ‘लुट’ रिलिज भयो, सौगात त्यसैगरी चम्किए – जसरी उनले सिनेमा ‘हाकु काले’लाई चम्काएका थिए । थोरै लाउड गरेका थिए ।

तर, उनी यसलाई लाउडभन्दा पनि ‘इनह्यान्स’ भन्न रुचाउँछन् । यही ‘हाकु काले’ उनको पहिचान बन्यो । आमदर्शकमाझ चिनाउने पात्र बन्यो । त्यसयता उनले दर्जनौँ चलचित्रमा काम गरे । तर, ‘हाकु काले’लाई चुनौती दिने अर्को चरित्र आउन सकेन । ‘हाकु काले’लाई पनि बिर्साउने अर्को क्यारेक्टर जन्मिएन ।

‘बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन’ भनेजस्तै समाजले जस्तो रुचाउँछ, स्क्रिप्टले माग्छ भने त्यस्तै गर्नुपर्ने उनको धारणा छ । समयानुसार कथाभित्र बसेर चल्न सक्नुपर्ने उनी बताउँछन् ।

“सायद मैले लुटमा गरेको डिसिजन राइट थियो होला । किनभने, त्यही नै दर्शकले मन पराइदिनुभयो । जुन स्क्रिप्टले जस्तो क्यारेक्टर माग्छ, म त्यस्तै गर्छु,” उनले भने, “दर्शक मलाई जस्तो क्यारेक्टरमा देख्न चाहनुहुन्छ, त्यस्तै गर्छु । निर्देशकले लाउड क्यारेक्टरमा देख्न चाहनुहुन्छ भने त्यस्तै, शान्त क्यारेक्टरमा देख्न चाहनुहुन्छ भने पनि त्यस्तै क्यारेक्टर गर्छु ।”

स्क्रिप्टमा रहेअनुसारको जस्तोसुकै चरित्रमा काम गर्न सकिने उनी बताउँछन् । तर, सधैँ एकै खालको क्यारेक्टर नहुने उनी सुनाउँछन् । चलचित्रानुसारको क्यारेक्टर आउने सौगात प्रस्ट पार्छन् ।

“लाउड गर्छु भनेर गर्ने होइन । जस्तो क्यारेक्टर आउँछ, त्यस्तै गर्ने हो । यो गर्छु र यो गर्दिनँ भन्ने हुँदैन,” उनी भन्छन्, “मेरो क्यारेक्टरचाहिँ राम्रो भएन, अर्कोलाई दिएको राम्रो छ, त्योचाहिँ मलाई दिनुस् भनेर निर्देशकलाई भन्ने मेरो बानी पनि छैन ।”

आफूलाई दिएको क्यारेक्टरलाई नै राम्रो बनाउँदै जानुपर्नेमा उनी जोड दिन्छन् । आफूले त्यही नै गरेको उनी बताउँछन् ।

भोक लागेको बेला जे खान दिइन्छ, त्यही नै खानुपर्ने अवस्था रहने उनी टिप्पणी गर्छन् । “जस्तै, जन्ते बाख्रोमा शान्त क्यारेक्टर छ, यसमा थोरै लाउड गर्छु भनेर हुँदैन,” सौगात प्रस्ट पार्छन्, “स्क्रिप्टले जे भन्छ, त्यस्तै गर्ने हो । स्क्रिप्ट हेरेर यसले यस्तो भन्छ भनेर १५/२० दिनमा ग्रो गर्दै जाने हो । स्क्रिप्टले लाउड मागे त्यस्तै बनाउँदै जाने हो । शान्त क्यारेक्टर माग्यो भने त्यसलाई बिस्तारै कमडाउन बनाउँदै जानुपर्छ ।”

काँचबाट सेतो पर्दामा उक्लिएका कलाकारले अक्सर लाउड एक्टिङ गर्ने गरेको आरोप खेप्छन् । जसरी उनीहरू रंगमञ्चमा अभिनय गर्छन्, त्यसैलाई सेतो पर्दामा निरन्तरता दिँदा लाउड हुने टिप्पणी गरिँदै आएको छ ।

विशेष गरी नयाँ निर्देशक – जोसँग अनुभवको कमी छ, उसले सेटमा थिएटरको स्कुलिङबाट आएका सिनियर कलाकारलाई रोक्न नसक्दा अभिनय अस्वाभाविक रूपमा लाउड देखिने स्वयं निर्देशकले बताउने गरेका छन् ।

प्रकाशित मिति: शनिबार, जेठ २४, २०८२  १०:१४
प्रतिक्रिया दिनुहोस्