site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पृथ्वीनारायण पछिका ‘राजे थामी नखाने’ हरु (२)

यही शीर्षकको अघिल्लो लेखको निरन्तरता हो यो  । सुगौली सन्धिपछि नेपालले वास्तविक स्वतन्त्र राष्ट्रको छवि गुमायो । राज्य संचालनमा फिरिंगीको  अप्रत्यक्ष खटनपटन  सुगौली सन्धिमार्फत विधिवत् प्रवेश गरेकै हो । यो इतिहास हामीलाई पढाइएन ।

सुगौली सन्धिपश्चात् गिर्वाण युद्धपछि अर्का बालक राजा भए नेपालमा —राजेन्द्र वीर विक्रम शाह । आफ्नो ६७ वर्षे उमेरसम्म यी राजामात्र रहेनन् आफ्नै राज्यमा कैदसमेत परे । सौतेनी बूढा मामा भीमसेन थापाको पतन र मृत्युको कारण बने । यी पनि राजपाठमा भन्दा सौतेनी हजुरआमा ललित त्रिपुरासुन्दरी र प्राइम मिनिस्टर भीमसेन थापाको प्रत्यक्ष निगरानीमा रहे । स्थिति त कस्तोसम्म थियो भने उनीहरुको अनुमति बेगर यी कतै जान समेत पाउँदैनथे । यिनको पालीमा नै राणा शासनको बीजारोपण भयो । यी कोतपर्वपछि अत्तालिएर काठमाडौस्थित बृटिस रेजिडेन्सीमा शरण माग्न पुगे । राजेन्द्रकै पालामा जङ्गबहादुरको उदय भयो  र  सुरेन्द्रका पालामा जंगबहादुर शक्तिशाली बने । जङ्गबहादुरले जहानियाँ शासन सुरु गर्नसक्नुमा प्रमुख कारण कमजोर, व्यसनी, व्यभिचारी स्त्रीलम्पट राजतन्त्र पनि थियो भन्दा अत्युक्ति नहोला । करिब १०४ वर्ष राज्य गरेको उक्त पारिवारिक पद्धति पनि खोटरहित भने थिएन ।

सुगौली सन्धि अघि र पछि भएका दरबारिया घातप्रतिघातबाट बौरिँदै लर्बरिँदै उठेको नेपाललाई बरु जंगबहादुरको उदयले पो एक ढिक्का राख्न मद्दत गरेको देखिन्छ । जंगबहादुरले गुमेको भूमिसमेत फिर्ता ल्याएको देखिन्छ ‘नयाँ मुलुक’ को नाममा ।

Prabhu Bank
Agni Group
NIC Asia

राणा कालमा राजाहरु त सुनको पिँजडामा कैद थिए र उनीहरुको विलासिताको व्यवस्था मिलाउनका लागि राणाहरु विशेष चनाखो रहन्थे । सुरेन्द्रपछि त्रैलोक्य राजा हुनुपर्ने थियो तर ३० वर्षको उमेरमा उनको रहस्यमय मृत्यु भयो । त्रैलोक्यले राजा हुन पाएनन् । युवराज हुँदै शंकास्पद मृत्यु वरण गर्न पुगे । आफ्नो बाबुको देखासिकी गरेर उनले बाबुलाई हटाएर राजा बन्ने र जङ्गबहादुरका छोरा जगतजंगलाई प्राइम मिनिस्टर बनाउने असफल प्रयास गरेबापत उनको हत्या भएको हो भन्ने केही इतिहासकारले लेखेका छन् ।

सुरेन्द्रपछि त्यसकारण पृथ्वी वीर विक्रम शाह राजा भए । उनी पनि सुनैको पिँजडामा कैद थिए र भोगविलासमा लिप्त थिएजस्तो देखिन्छ । उनको पालोमा नै नेपाल खाल्डोमा मान्छेको काँधमा चढेर मान्छे चढ्ने मोटर आएको थियो । निश्चय नै, राणाकालको चरम समयमा भएको हुँदा उनको कीर्ति देखिँदैन । छोपेको हो कि हुँदै नभएको हो भन्ने बुझ्न पनि सकिएन । यिनको सक्रिय जीवनकालमा चन्द्र शमशेर श्री ३ थिए र चन्द्र शमशेरका समयमा भएका विकासको श्रेय इतिहासले यिनैलाई किन दिएन बुझिएन । छत्तीस वर्षको उमेरमा बिख  खुवाएर मारिएका इनका लामो समयसम्म छोरा भएनन् । अवस्था कस्तोसम्म भयो भने नेपालको राज परम्परामा पनि अंग्रेजहरुको जस्तै पहिलो सन्तानले राजमुकुट पाउने थिति बसालियो । त्यसकारण, श्री ३ चन्द्रका छोरा  फिल्डमार्शल केशर शमशेरकी धर्मपत्नी लक्ष्मी राज्यलक्ष्मी युवराज त्रिभुवनको जन्म नहुन्जेल युवराज्ञीको पदवीमा थिइन् । त्रिभुवन जन्मेको पाँच वर्षमा राजा पृथ्वी वीर विक्रमको विष सेवन पछि हत्या वा  मृत्यु के भयो ? इतिहासकार बोल्दैनन् । किन राजाले बिख खाए वा किन र कसद्वारा उनलाई बिख खुवाइयो? किताबहरु मौन छन् ।

Global Ime bank

शक्ति अधिग्रहणको खेल, विक्षिप्तताको पराकाष्टा, स्त्रीप्रतिको आशक्ति, लागू पदार्थ दुव्र्यसनले नेपाली राजसंस्था जर्जर बनेको थियो । र, विदेशी शक्तिको कूटनीतिक जालसाजीमा राणाकाल अघिदेखि नै फसिसकेको थियो । सम्भवतः यस्तै जालसाजी र कूटनीतिको बीचमै पनि श्री ३ चन्द्रशमशेरले  विक्रम सम्वत् १९८० पौष ६ गते शुक्रबार गरेको बेलायतसँगको सन्धिले मात्र नेपालको स्वतन्त्र हैसियत दिलाएको देखिन्छ । त्यसअघि वैदेशिक मामलामा नेपाल र हाल भारतीय भूभागमा रहेका ससाना राज्यको हैसियत समान थियो । यो  कोणबाट हेर्दा इतिहासले बरु राणा प्रधानमन्त्रीहरु उपर केही हदसम्म अन्याय नै गरेको  देखिन्छ ।  त्यस्तै, पृथ्वीनारायणको समयमा अड्किएको राष्ट्र र राजतन्त्र निर्माणको प्रक्रिया धेरै हदसम्म राणाकालको संरक्षणमा जसोतसो त्रिभुवनको कालखण्डसम्म आइपुगेको देखिन्छ ।  

त्रिभुवनका पालाका केही वैकल्पिक तथ्यहरु, इतिहासको किताबमा हराएको एक पानाको पात्र, त्रिभुवनकी परिचारिका गौरांगी एरिकाका किताबमा छन् । निश्चय नै रोलवाला राणाहरु त्रिभुवनप्रति मुखले इमानदार भए पनि अन्तरहृदयमा बेइमान थिए । उनीहरुले राजाका मुखेन्जी ठिक्क पारे पनि पछाडि उनको बद्ख्वाइँ त पक्कै गर्दा हुन् । तथापि एउटा सुने सुनाइएको तथ्य के पनि हो भने उनलाई भोजभतेरमा सौख थियो र उनी अफिमका अम्मली पनि थिए । एरिकाको प्रेम एकातर्फी पनि हुँदो हो तथापि रानीहरुको व्यायामका लागि सिमलाबाट आएकी एरिका किन र कसरी त्रिभुवनको त्यति सान्निध्यमा पुगिन् ? कसैले त्यसको विवेचना नै गर्न चाहेन । किन होला? कोही कसैलाई लाग्दो हो त्रिभुवन महान् थिए । उनीहरुले  त्रिभुवन उपरको एरिकाको प्रेम पढे हुन्छ । त्यसबाहेक राजा त्रिभुवनका पटरानी कति थिए ? त्यो पनि इतिहास बोल्दैन । तिनका कोखबाट जन्मेका ४ राजकुमारीको नाम त उल्लेख छ तथापि नब्बे सालको भूइँचालोमा नारायणहिटी भत्किँदा बेनामे  ३ राजकुमारी पनि मरे, यहाँ पनि इतिहास बोल्दैन । हामीलाई पढाइएको इतिहास अपूर्ण छ । उनै, त्रिभुवन,  २००७ को क्रान्ति ताका पनि आफ्नै कपटका कारण हो वा कसैको उक्साहटमा हो, दिल्ली गए । क्रान्तिकारीहरुले व्यवस्था गरेको र क्रान्ति समर्थक पश्चिम कमान्डिङ्ग जनरल रुद्र शमशेर भएको पाल्पा गएनन् । कोही कोहीले त नेहरु र सरदार पटेलको लहैलहैमा लागेर उनले नेपाललाई कश्मीरजस्तै सुम्पिन तयार थिएसम्म भनेका छन् । यसको स्वतन्त्र पुष्टि भने हुन सकेन । किन हो कुन्नि? यो कथ्यमा इतिहास बोल्दैन । 

महेन्द्रको स्त्रीमोह बारे  दुईवटा प्रसंग रोचक होलान् । पहिलो —  सालीका लागि राजपाठ त्याग्न तयार भएकै हुन् । यो इतिहासले स्वर दबाएर बोलेको तथ्य हो भने दोस्रो — इतिहासले मुन्टो बटारेको गीता गुरुङ प्रसंग । इतिहासले मुन्टो बटारेको चाहिँ वीरेन्द्र र ज्ञानेन्द्रका सौतेनी आमा गीता गुरुङबाट जन्मेका रवीन्द्र विक्रमवाला तथ्यमा हो । महेन्द्रद्वारा कहिल्यै दरबार नभित्र्याइएकी गीता गुरुङको कोखबाट जन्मेका महेन्द्रको पहिलो सन्तान रवीन्द्र शाह मौन मरे, विद्रोह गरेनन् तर विभिन्न कालजयी साहित्यिक रचना दिएर गए । भाइको परिवार सखाप हुनु करिब ४ वर्षअघि । गौरी केसीको स्वरमा र नातिकाजीको संगीतमा ’चम्किरहेथ्यो नील नभमा सीतारा, रानी तलाऊ किनारा’ गीतसँगै पारखीहरुबीच रविन्द्र शाह बाँचिरहने छन् । उनैको सिर्जनाको नारायण गोपालको स्वर ’श्रद्धाको फूल चढाई दिनु आएर लासमा’ पनि उत्तिकै कालजयी छ । 

महेन्द्र त कपटीसमेत थिए । उनले सम्पत्ति र सुख सयलका लागि नारायणहिटी समेत नेपाल सरकारलाई बेचेका हुन् । आफ्ना पुर्खा पृथ्वीनारायणको बिराज बखती र कालु पाँडेको किस्सालाई चटक्कै भुलेका उनले जनताले चुनेकालाई थुने, जनताले नचुन्नेलाई मुख्तियारी दिने तानाबाना बुने । विश्वेश्वरप्रसाद कोइरालालाई असफल बनाउन अति महत्त्वाकांक्षी ‘गफाडी’हरुलाई अघि सारे । तीमध्ये एक महाचतुर र महत्त्वाकांक्षी थिए तुलसी गिरी जसले कहिल्यै जनअनुमोदित हुने कष्ट गरेनन् । अध्ययनका दृष्टिले चिकित्सक उनी कांग्रेसी चोलामा अचानक देखा परे, केन्द्रीय सदस्य, महामन्त्रीसम्म बने । बिपी कोइरालाको २०१५ को मन्त्रिपरिषदमा उपमन्त्री  हुँदै मन्त्रीसम्म भए, तर न त्यस अघि न त्यसपछि, कहिल्यै चुनाव लड्ने कष्ट गरेनन् ।

बडो तिलस्मी चरित्रयुक्त पात्र हुन् डा गिरी । गिरीजस्ता जनाधार नभएका वा तिकडम गरेर जनाधार देखाउन सक्ने भिडले घेरिएर महेन्द्रले हावा, पानी, माटो सुहाउँदो व्यवस्था ल्याएँ भने । तर जुन व्यवस्थाको बीजारोपण उनले गरे । त्यो व्यवस्था नै पृथ्वीनारायणले खडा गरेको राष्ट्रको भ्रूण र राजसंस्था नास्ने एक प्रमुख कारक बन्यो । प्रत्यक्षतः ११ सालदेखि २०२८ सालसम्म राजा रहेका उनको सक्रिय राज्यकाल जम्मा ११ वर्षको थियो ।  आजकाल उनको विकासप्रेमी छवि बनाउन एकखालको हुइयाँ चलाइएको छ ।  ज्ञातव्य के छ भने अन्तर्राष्ट्रिय सम्बन्ध, योजनाबद्ध विकास र शिक्षा, स्वास्थ्यमा पहुँच २०१७ सालअघि नै सुरु भैसकेका थिए । उनी त्यसको प्रत्यक्ष लाभ चाहन्थे र जनताको सरकारउपर मर्मान्त प्रहार गरे ।  अचेल पढ्न पाइन्छ उनी जननिर्वाचित सरकार अपदस्त गरेकोमा पछुताउँदै मरे र उनको प्रजातन्त्र फिर्ता गरिदिने मनसुवासमेत थियो । मरेर गइसकेपछि उनका बारे गरिएका टिप्पणी उपर लेख्नु उपयुक्त होला र? जसले पंचायत भोगेन, उनीहरुलाई बहुदल वा गणतन्त्र बेठीक लाग्ला तर पंचायतको चरित्र सक्रिय राजनीतिक जीवनका कमल थापाको अनुहारमा पढे हुन्छ ।

वीरेन्द्र सोझा र पढेका राजा मानिन्थे । उनको दुर्व्यशन र चरित्र बारे धेरै थाहा भएन तथापि बाबुले बटारेको जनतासँगको सम्बन्ध अझ बाउँड्याउन उनैको हात रह्यो । उनैको प्रत्यक्ष शासनकालमा नेपालमा ठूला नरसंहार भए । उनी राजा भएको एक वर्षपछि नै झापा विद्रोहका रामनाथ दाहाल, नारायण श्रेष्ठ, कृष्ण कुइँकेल, नेत्र घिमिरे र बिरेन राजबंशीलाई  सुखानीमा गोली हानेर मारियो । उनैको पालामा ओखलढुङ्गा, टिम्मुरबोटेमा निहत्था राम, लक्ष्मणलगायतको हत्या भयो । सोही घटना प्रत्यक्ष संलग्न कप्तान यज्ञबहादुर थापा र  अर्का विद्रोही भीम नारायण श्रेष्ठलाई पक्राउ गरेर २०३३  सालमा मृत्युदण्ड दिइयो । उनैको सक्रिय नेतृत्वमा रहेको तत्कालीन सत्ताको  विपक्षमा रहेका नेपाली कांग्रेसका  होनाहार नेताहरु योगेन्द्रमान शेरचनलाई गाडीले किचाइयो, दिवान सिंह राई, सरोज कोइरालाहरुको निर्मम बध गरियो ।

केही कम्युनिस्टहरु पनि उक्त कठोर शासनको कोपभाजनबाट मुक्त थिएनन् । रत्नकुमार  वान्तवा, ऋषिराज देवकोटा (आजाद), जयगोविन्द शाह त्यस्ता उदाहरण हुन् जसले विरेन्द र उनको प्रजातान्त्रिक मुखुण्डो च्यात्न  सक्षम छन् । उनको  समयका सुखानी, सुरजपुरा, जनमत  संग्रहको नौटंकी, ०४२ साल बम काण्ड त्यस्ता  गहिरा खाटा हुन् जो सजिलै पुरिन्नन् । प्रजातन्त्रको सबालमा जनतासँग र राष्ट्रियताको सबालमा राजासँग मेरो घाँटी जोडिएको छ भन्ने नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई उनले कसको उक्साहटमा मृत्युदण्ड हुनसक्ने मुद्दा चलाउन लगाए? कुरा त जसरी बताए पनि भयो, बिपी कोइरालाका तमाम दुर्गुण हुँदा हुन्, मानियो, तर मण्डले प्रभृतिले “तिम्रो क्यान्सर युक्त घाँटी हाम्रो राजासँग जोड्ने?“ भनुन्जेल विरेन्द्रको उदारता कहाँ थियो ?

निश्चय नै इतिहास निर्मम हुन्छ तर कठोर र सत्य हुन्छ । हामीलाई पढाइएको इतिहास भने कोमल हो । विसं २०४६ को आन्दोलनमा महेन्द्रको सालिकमा चढेर हाँक नदिउन्जेल वीरेन्द्र र उनको दरबारको नजरले जनतालाई ’केही मुठ्ठीभरका अराष्ट्रिय तत्त्व र वामपन्थी आतंककारी’ मात्र देखिरह्यो । त्यसपछि उनैले संवैधानिक राजा बन्न दकस मानेर जरसाबहरुले लेखिदिएको संविधान कोटको गोजीबाट झिकेर पढ्ने प्रयास गरेकै हुन् । माओवादी हिंसा कसैले बहुदल कालको उपज हो भन्छ भने त्यो पनि अपूर्ण छ । त्यो हिंसा तीसौं वर्ष गुम्सेर रहेको विद्रोहको उपज थियो । त्यो हिंसा उपर जतिसुकै आवश्यकताको  जलप लगाए पनि पुष्टि त हुँदैन नै तर एउटा राष्ट्र बन्न प्रसव  पीडा भोगिरहेको करिब डेढ सय बर्ष पुरानो देशले वास्तविक राजा नै पाएन । 

यो प्रश्न पनि मनन योग्य छ ‘के वीरेन्द्रको वंशनाशमा लागूपदार्थ र स्त्री कारक थिएनन् ?’  थिए भने नेपालले कस्तो राजा पाउँदै थियो? प्रश्न पेचिलो छैन र ? त्यसपछि राजा भएका ज्ञानेन्द्र पनि निश्चित अवधिमै आफ्नो स्वरुपमा आइहाले । उनका कुरा के गरिसाध्य छ र? दाजुले गरेको गल्ती नदोहोर्याउने उनको संकल्प त थियो, सायद बाबुले गरेको गल्तीप्रति पनि उनको अति मोह थियो । त्यसैले तुलसी गिरीलाई श्रीलंकाबाट पुजेर ल्याए । त्यस्तै अपेक्षाकृत सोझा र नैतिकवान भनेर कहलिएका कीर्तिनिधि विष्टलाई समेत नारे । विसं २०३० साल असर २५ गते सिंहदरबार किन जल्यो, त्यो त थाहा भएन । तर तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले नैतिकताको आधारमा राजीनामा दिए । यी तिनै विष्ट थिए जो कहिल्यै जनअनुमोदित भने भएनन् । विसं २०४६ सालपछि भएको पहिलो संसदीय निर्वाचनमा उनी प्रत्याशी त थिए र सायद उनको जमानतसमेत जफत भएको थियो । ज्ञानेन्द्र इतिहासका त्यस्ता राजा हुन् जसले आफ्नो शक्तिलाई दाउमा राखे र बिराज बखतीहरुसँग मिलेर यौटा युगलाई च्याँखे थापे । त्यसपछिका ’किङ इन लाइन’ का लागू र स्त्रीआशक्ति ’टिकटक’ स्वरुपमा ’टक अफ टाउन’ भएर आज पर्यन्त भाइरल भइरहेकै छन् ।

चाणक्यले एक प्रसंगमा राजाको चित्रण गरिदिएका छन् । उनी भन्छन् — “जनताको खुसी राजाको खुसी हुनुपर्छ । जनताको कल्याण भनेको नै राजाको कल्याण हो । एक राजाको लागि  व्यक्तिवादी र स्वान्तः सुख निन्दित छ । आफ्नो देशको प्रगति र कल्याणको हेरचाह गर्नु राजाको कर्तव्य हो । ” अर्को प्रसंगमा उनै चाणक्य  भन्छन् — “ जसरी जल्दै गरेको एउटा सुकेको रूखले सम्पूर्ण वन जलाउँछ, त्यसरी नै एक जना बदमास छोराले सम्पूर्ण परिवारलाई नष्ट गर्छ ।“ चाणक्यका दिव्यज्ञानको आलोकमा पृथ्वीनारायणका दिव्योपदेश हेर्न सकिन्छ । उनलाई आफ्ना सन्तानले ‘राजे थामी’ नखालान् भन्ने पीर थियो । उनी प्रजा मोटाउन् भन्ने चाहन्थे । ’ प्रजा मोटा भया दरबार बलियो रहन्छ’ भनेर गएका थिए उनले ।

अर्को प्रसंगमा उनैले ’राजाका सार भन्याको सिपाही र रैतीहरु हुन् । राजा चतुर भया सिपाही र रैती  हात हात गरिराष्नु र हुल्कुल हुन पाउँदैन । सिपाही भन्याको तिषारी राष्नु । तिषारिराष्याका सिपाही कसैका मलाजामा पसतैनन र आफ्नु काज फत्ते हुन्छ ।’ पनि भनेका छन् । यसको अर्थ हुन्छ, राज्य गर्ने राजाले रैती अथवा जनता र सैन्य शक्तिसँगको दूरी पहिचान गर्नु अपरिहार्य छ । रैती के चाहन्छन् भन्ने बुझ्नु जरुरी छ । विदेशी शक्तिले कसरी खेल्न सक्छन् भन्नका लागि समेत दिव्योपदेश जडी ग्रन्थ छ । एक प्रसंगमा पृथ्वीनारायणले भनेका छन्  “मलाई यवटा कुरोको संध्यह लागिरहेछ कुन कुरो भन्या मुग्लाना नजिकै रहेछ । त्यस जग्गामा छोकडा पत्रिया रह्याछन्, चित्रकार भर्याको कोठामा ढोलक सितार रागमा भुल्नन् ।

रागतानमा ठूलो मोहो हुन्छ र दवलथ पनि षोलिन्छ । देशको भेद पनि तिनले लैजान्छन् र हरिपले दगा गर्छ ।  ‘‘आफ्नो स्वष सयेललाई ता सास्त्रबमोजिम्को तिनै सहर नेपालको नेवारहरुको  नाच झिकाई हेर्या पनि हुन्छ ।  ईनमा ता दियाको पनि आफनै देशमा रहंछ. यस्व भया अफनो देस गमन रहन्छ ।“ राज्यको सुरक्षाका लागि आन्तरिक कला, धर्म संस्कृतिको प्रवर्धन र वैदेशिक प्रभावको नियन्त्रण आवश्यक छ भन्ने चेत उनमा देखिन्छ । त्यतिमात्र नभएर सुखसयलमा आफ्ना सन्तान दरसन्तान अल्मलिएलान् भन्ने चिन्ता चासोसमेत देखिन्छ । त्यसैले पृथ्वीनारायणमात्र त्यस्ता राजा हुन् जसले टुक्राटुक्री राज्यहरुलाई एकत्रित गरे र राष्ट्र निर्माणको आधार तयार गरिदिए । बुहारी राजेन्द्र लक्ष्मी र कान्छा छोरा बहादुर शाहले पृथ्वीनारायणको कुरा सुने, त्यसपछि जन्मले बनेका वा भवितव्यले बन्न पुगेका नेपाली राजाका बारेमा त्यसकारण प्रश्न गर्नुपर्ने असंख्य ठाउँ छन् । ती असंख्य कारणमध्ये चरित्र, कामाशक्ति, व्यसन र सम्पत्ति मोहका सिलसिलेवार तथ्यहरु छन् इतिहासले हामीलाई नबताएका । तर, ती तथ्यहरु हुन् र तथ्यहरु झुठो बोल्दैनन् बरु सत्य रहन्छन् । सत्यको स्वरुप दिगम्बर हुन्छ ।  
हामीलाई पढाइएको ईतिहास अपूर्ण छ । 

राजा व्यभिचारी र दुव्र्यसनी भएकै कारण नेपाल एक तिहाई भूभाग गुमाएर खुम्चियो । नेपालीले अंग्रेजसँग लडाइ जिते होलान् तर छद्म युद्ध हारेका थिए । त्यो राजा र जनताबीचको खाडलका कारण थियो र त्यसमा मनग्गे खेलवाड विदेशी शक्तिले गरेकै थिए । बायर्न हड्चनदेखि सुरु भएको छद्म युद्धको हारको सिलसिला जेम्स मोरियार्टीमा पुगेरसमेत रोकिएन ।  यो हारको शृंखलाको अन्तिम कडी ६२ —६३को आन्दोलन र ०७२ सालको संविधान थियो । 

नेपाल बहादुरीमा बलियो तर राजनीति, कूटनीति र व्यवस्थापनमा कमजोर मुलुक हो । तसर्थ नेपालीको बहादुरीमा कायल विदेशीहरुले नेपाल एउटा स्वतन्त्र र सबल राष्ट्र बने आफ्नो स्वार्थमा आँच आउने देखेरै पिरोलिरहे । राजाका सामु थरीथरीका बुख्याचा ठड्याइरहे, नसा र कामवासनामा निर्लिप्त राजाहरु या त आफ्नो ’स्वष सयेल’का मोहपासका बन्दी भए या हरिपका सामु तर्सिरहे । 

नेपाल पृथ्वीनारायणको शव्दमा भन्दा ’दुई ढुंगाको तरुल’ जस्तो नै हो र त्यसको जगेर्नाका लागि ’रैतानसँग मिल्ने दरबार’ नै आवश्यक थियो । प्रचलित भाषामा भन्दा आफ्नो अस्तित्व जोगाउन नेपालमा राजा नै चाहिन्थ्यो । राजा बन्न बनाउन राष्ट्र चाहिन्थ्यो । नेपाल कहिल्यै राष्ट्र बन्न सकेन । राष्ट्र बनाउन राजासँग मितेरी लगाउने हरेक रैतीहरु कि काटिए, कि तातो तेल खन्याइए, कि धपाइए, कि बिपी कोइराला जस्तो अपदस्त गरिए, कि त धेरैका आदरणीय किसुन जी, महेन्द्रनारायण निधिजस्तो एक्लो बृहस्पति बनाइए ।  

यति सबै पढिसकेपछि पाठकलाई लाग्दो हो, के अहिले ठीक भएको छ त? अहिले जति बेठीक त बरु रणबहादुर शाहको कालमा मात्र भएको थियो । पृथ्वीनारायणपछि यथार्थमा राजा नै जन्मेनन्, ’राजे थामी  नखाने’हरुमात्र जन्मिए, आफु पनि मासिए र राज्यसमेत मासिने बाटो बनाई गए ।  शासक पतीत भए देश खुम्चिन्छ, यो सामान्य सत्य हो । शासक फन्टुस भए देश अरुका नजरमा फन्टुस ठहरिन्छ, यो पनि अकाट्य सत्य हो ।

हामीलाई पढाइएको इतिहास भ्रामक थियो । नेपाली शासकहरुको काम, क्रोध, लोभ, मोहप्रतिको चरम आशक्तिका कारण सीमा स्खलन भएको हो र जनताका कारण नभई राजा, दरबार र भारदारका कारण नेपाल हारेको हो । त्यसैले सुगौली सन्धिमा आएर अल्झिनु परेको हो । हारेको, जितेको, खुम्चेको, टाक्सिएको जे सुकै होस् मातृभूमि हो, माया त लाग्छ । आमा विकलांग छिन् भन्दैमा माया नलाग्ने किमार्थ हुँदैन । अब राजा पनि  छैनन्,  सुदूर भविष्यसम्म पनि नहोलान् । विदेशीका हौवामा लागेर जातजाति, क्षेत्रीय, जातीय, वर्गीय आदि नानावलीका राष्ट्र होइन, सबैजात , धर्म संस्कृतिको साझा फूलवारीजस्तो राष्ट्र बनाउन नयाँ पुस्ता लागुन्, त्यो सर्वाधिक श्रेयश्कर होला ।

हामीले पढेको नेपालको इतिहास पो अपूर्ण छ । आउँदो युगका लागि लेखिने इतिहास त वर्तमानको हातमा छ नि ! छैन र? 
समाप्त  

टोरोन्टो, क्यानाडा

पृथ्वीनारायण पछिका ‘राजे थामी नखाने’हरु ! 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १, २०७७  ०८:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC