site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 पृथ्वीनारायण पछिका ‘राजे थामी नखाने’हरु ! 

हामीले पढेको नेपालको  इतिहास अपूर्ण छ । 

नेपाली राजतन्त्रका सम्बन्धमा विभिन्न किंवदन्ती सुनिन्छ । पहिलो र अलि मिथकजस्तो लाग्ने किंवदन्ती बालक पृथ्वीनारायण र गोरखनाथ बाबासम्बन्धी छ । त्यस किंवदन्तीमा बालक पृथ्वीनारायण खेल्दै गुरु गोरखनाथकहाँ पुगेका, गोरखनाथले दही खान मागेका, बालकले दही खुवाएका, गोरखनाथले त्यो दही खाएर बालकलाई अँजुली पार्न लगाएका प्रसंग छन् । सोही किंवदन्तीअनुसार गोरखनाथले बालक युवराजको अञ्जुलीमा बमन गरेर त्यो खान भनेका तर युवराजले घीन मानेर नखाएका कुरा छन् । त्यही वस्तु बगेर युवराजको खुट्टामा परेपछि ‘‘खाएको भए बोलेको ठाउँ जित्नेथिइस्, खुट्टामा परेकाले टेकेको ठाउँ जति जित्लास्’ भनेर गोरखनाथले आशीर्वाद दिएका प्रसंग छ । 

पृथ्वीनारायणले आफैँले रोसी पूर्व गएर टिस्टासम्म  टेके नटेकोमा इतिहास स्पष्ट छैन र त्यसमा केही विवाद पनि छन् । गोर्खाली राजाले जालझेल गरेर वल्लो, माझ र पल्लो किराँत आफ्नो सिमानामा पारे भन्ने गरिन्छ । तर, नुवाकोट र नेपाल खाल्डो त उनले पटकपटक टेकेकै थिए । त्यस्तै, सिन्धुलीमा त्यसबखतको गोर्खाली सेनाले किनलक नेतृत्वको अंग्रेज सेनालाईलाई दपेटेको इतिहास साक्षी छ । उनीहरु त्यहाँबाट लखेटिई तराईका बारा, पर्सा, रौतहट कब्जा गरेर बसेका थिए । उक्त क्षेत्र पनि पृथ्वीनारायणले टेके टेकेनन् तर ती उनको ससुराली राज्यअन्तर्गत थिए र मकवानपुर सर हुँदा ती स्वतः नेपाली सिमानाभित्र गाभिए ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाली इतिहासमा अन्य कैयौं किंवदन्ती पढिएको छ । लेखमा तिनले यथोचित स्थान पाउने नै छन् । हामीले १७ धार्नी नाककानका कथा पनि पढेका छौँ, राजाले कुमारी ढोगेको र बाह्र वर्षे पञ्चदानमा पृथ्वीनारायण सरिक भएको पनि पढेका छौँ । तसर्थ, लेख त्यतातिर लगिएन । नेपालको सिमाना काठमाडौं खाल्डो र त्यसको वरिपरीबाट पुनः वैदिक नक्सामा पुर्याउने हेतु थियो थिएन थाहा भएन । पृथ्वीनारायणले आफुभन्दा अघि जुटिसकेको तर प्रकारान्तरले टुक्राटुक्रामा फुटिसकेको नेपाललाई गाँस्ने अभियान चालेकै हुन् । 

इतिहासकार प्राध्यापक दिनेशराज पन्तका अनुसार वैदिक परिभाषामा हिमालयका काखका प्रमुख पाँच खण्ड थिए –नेपाल, कुर्माचल, केदार, जालन्धर र कश्मीर ।  प्रचलित भाषाको हिमवत खण्डमा नेपाल, कुमाउँ, गढवाल, सिमला र कश्मीर गरी वैदिक कालमा पाँच खण्ड थिए । पृथ्वीनारायण तसर्थ क्रूर शासकभन्दा बढी वैदिक नेपालको पुनव्र्याख्याकारजस्तो प्रतीत हुन्छन् । सायद त्यसैले उनले नेपाललाई ‘असली हिन्दुस्ताना’ भन्न खोजेको हुनसक्छ । प्राध्यापक पन्तकै अनुसार नेपाल कुनै अवस्थामा हिमवत खण्डको पाँच भागको चार भाग जितेको राज्य थियो । र, त्यसो हुनसक्नुमा जम्मा ३१ वर्ष राज्य गरेका र युद्धभूमिमा बिताएका पृथ्वीनारायण शाहको योगदान थियो । त्रिशुलीको तट देवीघाटमा भस्म हुनुअघि  पृथ्वीनारायण शाहले भनेका भनिएका केही नीतिगत टिपोट ‘दिव्योपदेश’ इतिहास शिरोमणि बाबुराम आचार्य र योगी नरहरिनाथको सम्पादनमा विक्रम सम्वत २०१६ तिर प्रकाशित भयो ।

Global Ime bank

त्यसलाई उनको राज्य व्यवस्थापन प्रणालीको मार्गनिर्देशक सिद्धान्त भनिन्छ । त्यसै दिव्योपदेशको एक प्रसङ्गमा पृथ्वीनारायणले भनेका छन् “बुढा मरै भाषा सरै भन्छन । तिमीहलाई सुनाइ गएको भया । तिमीहरुले तम्रा सन्तानलाई सुनाउनन् र तम्रा सन्तानले हाम्रा सन्तानलाई सुनाउनन् र यो राजे थामी खानन् ।“ सम्भवतः उनले इङ्गित गरेका तम्रा भनेका त्यसबखत उनीसँग रहेका भारदारहरु हुनुपर्छ । किनभने इतिहासमा कतै लेखिएको छ – उनले आफ्नो इहलीलाको समाप्ति सन्निकट देखेका थिए र  नुवाकोटमा ठूलो भारदारी सभा बोलाएका थिए ।  दिव्योपदेशकै  क्रममा उनले कतै उनको रोजाइ बिराज बखती भएको तर रैतीको रोजाइ वंशीधर (कालु) पाँडे रहेकोले कालुलाई नै काजीको पदवी दिएँ भनेका छन् । त्यस्तै, लडाइँको खर्च जोहो गर्न घरधुरी जगात उठाउन उनले बिसे नगर्चीको सुझाव मानेको कुरो गरेका छन् । यसरी हेर्दा किंवदन्तीमा जे सुकै सुनिआएका भए पनि पृथ्वीनारायणले आफ्नो क्षेत्रका जनताको सुझाव मानेकै देखिन्छ ।  

गोर्खाली राजा पृथ्वीनारायण बारे एउटा तथ्य लेखिएन भने नेपाली इतिहास अपूर्ण हुन्छ । पृथ्वीनारायणको अभियानमा नेपाल पूर्वमा टिस्टा त पुगेको थियो तर चेपे तरेर पश्चिममा काँगडासम्म लैजाने अभियान भने उनका कान्छा छोरा बहादुर शाह र जेठी बुहारी राजेन्द्रलक्ष्मीले चलाएका हुन् । नेपाली दरवारको इतिहास पढ्नेहरुलाई त थाहै होला, पृथ्वीनारायणका जेठा छोरा प्रतापसिंह शाह जम्माजम्मी ३ साल गद्दीमा रहे । बालक राजा रणबहादुर शाह बालिग नहुन्जेलको समय कि भाउजुले शासन गरिन् कि देवरले । यो शासन गर्ने र घातप्रतिघातको शृंखला प्रतापसिंह शाहको अल्प शासनकालमा नै सुरु भइसकेको थियो ।  दाजुको गाथगादी ताकेको अभियोगमा बहादुर शाह निर्वासित भई बेतिया गई बसेका थिए जहाँ नेपालबाट निस्काशित क्रिस्तानहरु बसेका थिए  । दाजुको शेषपछि नेपाल फर्किएर दरबारमा सक्रिय भएका उनले राज्य एकीकरणमा योगदान दिँदै थिए तर भाउजु राजेन्द्र लक्ष्मीसँग  भने उनको खट्पट कायमै थियो । त्यही खटपटका कारण भाउजुले आफ्नो नायबी कालमा देवरलाई नजरबन्द नै गरिदिएकी थिइन्  ।

त्यो युद्धको समय थियो । युद्ध नेपालजस्तो ज्याम्तो र सिकुटे ढुकुटी भएको बन्दै गरेको राज्यलाई खर्चिलो थियो । त्यसमाथि शक्तिमाथिको नियन्त्रण जुनसुकै कालखण्डको शासकीय अभीष्ट त हुँदै हो । आफ्नो हात माथि पर्दा तिनै बहादुर शाहले भाउजुलाई चरित्रहीनताको दोष लगाएर थुने । जब भाउजु शक्तिशाली भइन् देवरलाई थुन्ने र देश निकाला गर्ने कामसम्म गरिन् । त्यतिखेरसम्म यो खिंचातानी व्यभिचार, दुव्यसन अनि अल्पज्ञानभन्दा बेसी राजाको छोरो हुनु वा देवर हुनाले भाउजुको  अदबमा बस्नुपर्ने बीचको द्वन्द्व र त्यसै द्वन्द्वका कारण शक्ति हातमा लिइरहने होडबाजी थियोजस्तो बुझिन्छ । तर कुशल राजनेताले शक्तिमाथिको नियन्त्रणलाई व्यवस्थापन गर्छ र दीर्घकालसम्म जीवित राख्ने चेष्टा गर्छ, अबुझ सठले भताभुङ्ग पार्छ ।  भाउजुको निधनपछि बहादुर शाह फेरि स्वदेश फर्किए र भतिजा रणबहादुर शाहको नायब भई काम गरे । उनको भाउजु र उनको नायबीमा नेपाल टिस्टा तरेर सिक्किमसम्म र पश्चिममा सतलजसम्म फैलिन सकेको थियो । 

यसरी लेख्दा अन्याय नहोला – पृथ्वीनारायण शाह पछिका २३५ वर्षको नेपाली राजतन्त्रको इतिहासमा, जसले जतिसुकै खुइल्याउन खोजे पनि चमक भएका राजामा पृथ्वीनारायण र राजकुमारमा उनैका कान्छा छोरा बहादुर शाह थिए । अरु सबै या स्त्रीलम्पट थिए या दुव्र्यसनी वा दुवै । 

पृथ्वीनारायणका नाति रणबहादुर शाह उपद्र्याहा, सन्की र व्यभिचारी राजाका रुपमा चिनिन्छन् । उनले त  शिवरात्रीमा मेला भर्न आएकी एक मैथिल विधवा  कान्तावती झालाई अपहरण गरेका थिए ।  महिनौ दरवारमा राखेर ती विधवाको पहिलो सन्तानलाई राजा बनाउने सर्तमा फकाएर छँदा खाँदाकी आफ्नी रानी र छोरालाई अन्याय गरेका थिए । रणबहादुरका बहुलठ्ठीपूर्ण किस्सा अनगिन्ती छन् ।

तीमध्ये साँढे हजुरका किस्सा, पशुपति मूर्तिको विनाशका लागि तोप लिएर गएका किस्सा, पशुपतिनाथको मूर्तिमा मानव मलमूत्र लिप्न च्यामे पोडेसहित गएका किस्सा छन् । कान्तावतीको बिफरका कारण मृत्यु भएपछि बहुलाएका उनले नेपाले केटाकेटीलाई नौ डाँडा कटाएका किस्सा पनि छन्, राजपाठ त्यागेर स्वामी निर्गुणानन्द बनेको र फेरी राजपाठ सम्हाल्न आइपुगेका किस्सा छन् ।

आफ्नै काका बहादुर शाहलाई तातो तेल खन्याएर मारेका किस्साहरु पनि छन् । इतिहासको लहडी विद्यार्थीका   रुपमा मैले यी राजाले  स्वामी निर्गुणानन्द हुँदाका बखत नेपाली समाजलाई एक विद्रोही राजाका रुपमा बाहेक कुनै सकारात्मक योगदान  दिएको पाउँदिन । जातीय पद्धतिको विरोधमा हिन्दुस्तानमा सुरु भएको नाथ पन्थको नेतृत्व लिँदै स्वामी हुन पुगेका उनको स्वार्थ के थियो, इतिहासले प्रष्ट भन्दैन । तथापि, उनकै बेलामा टुंडिखेलमा सहभोज आयोजना भएको, उनी स्वयंले त्यहाँ सबैसँग बसेर खाना खाएको र टुँडिखेल र सानो टुँडिखेलको सिमानाको पश्चिम पट्टि जगन्नाथको देवल बनेको इतिहास छ । 

रणबहादुर शाह त कतिसम्म राज्यप्रति कृतघ्न देखिन्छन् भने उनी डेढ वर्षका शिशु राजा गिर्वाण युद्ध विक्रमको जिम्मामा देश छोडेर सन्यासी भएका थिए  । भलै त्यसमा समेत जालझेल, तिकडम, आपसी कलह भएको किन नहोस् ? तथापि, आफ्ना लहडका कारण, आफ्ना स्वभावका कारण पृथ्वीनारायणका यी नाति राजाले अप्रत्यक्ष राष्ट्रघात गरेकै थिए ।  

जम्माजम्मी १९ बर्ष बाँचेका पृथ्वीनारायणका पनाति गिर्वाणयुद्ध विक्रमले चलन चल्तीको भाषामा ‘टिन एज’ पनि काट्न पाएनन् । यिनको राज्यकालमा यिनकै निसन्तान सौतेनी आमा ललित त्रिपुरासुन्दरी र भीमसेन थापाको चकचकी भयो । यो त्यही कालखण्ड हो जतिखेर नेपालले कुल पाँच लडाइँ लड्यो अंग्रेजसँग । त्यसमध्ये मकवानपुर गढीमा अंग्रेज हार्यो र बेतियासम्म धपाइयो । जितगढीमा पनि नेपालले नै जित्यो र अङ्ग्रेज धपाइएर गोरखपुर पुगे । हरिहरपुर गढीमा अंग्रेजले खासै बल लगाएन र त्यहाँबाट समेत लखेटियो । बाँकी दुई लडाइँको इतिहास हामीलाई आधाअधुरो पढाइयोजस्तो लाग्दैछ । त्यसमध्ये पहिलो हो – नालापानीको युद्ध ।

लडाइँको पहिलो दिनमै गोलीले जेनेरल जिलेस्पीको छाती वारपार गराएर  ढालेका गोर्खाली  बहादुरहरु पूरा एक महिना नालापानी किल्लामा थुनिए । यो पढाइएको इतिहास हो । त्यस्तै, अंग्रेजले पानीको मुहान थुनिदिएको पनि पढेकै इतिहास हो । महिला, बालबालिकाले समेत उक्त लडाइँमा बहादुरीपूर्वक लडे । यो पनि पढेकै इतिहास हो । हामीलाई नपढाइएको इतिहास भने एक महिनासम्म थुनिदा कप्तान बलभद्र कुँवरलाई थप मद्दत किन पठाइएन भन्ने हो । 

बलभद्रका सिपाही त बहादुरीपूर्वक लडे तर यता दरबारमा त्यसको चासो रह्यो? रह्योजस्तो लाग्दैन । इतिहासले त्यसरी बोले जस्तो लाग्दैन । कुमाउँ गढवाल र पन्जाब राज्यका राजाहरु संसार चन्द र रणजित सिंहले किन अंग्रेजलाई मद्दत गरे त बुझिएला । आफनै बलभद्रलाई मद्दत गर्न गोर्खाली राजा किन हिच्किचाए ? कुनै प्रस्ट खाका इतिहासमा पढ्न पाइएन । रोचक त केसम्म पनि हो भने नेपालको पक्षमा बहादुरीपूर्वक लडेका र आत्मसमर्पण गर्न नमानेका बलभद्र कुँवर नालापानी किल्ला छोडेर त निस्के तर नेपाल फर्केनन् ।  

रणजीत सिंहको सेनामा जेनेरलको पदमा भर्ति हुन गए र पंजाव – अफगान लडाइँमा नौसेरामा मारिए  । किन उनले त्यो निर्वासन रोजे होलान् ? इतिहास बोल्दैन । इतिहास उनलाई गद्दार पनि भन्न सक्तैन । किनभने दरवार उनीप्रति या त उदासीन थियो नभए ऐयासीमा लिप्त थियो ।  गिर्वाणयुद्ध  सत्र वर्षे युवक भइसकेका थिए । त्यसैले दुव्र्यशन र ऐयासीका बारेमा शंका गर्ने ठाउँ रह्यो । हुन त उनी १९ वर्षको उमेरमा बिफरले बितेको मानिन्छ ।  बुझ्नु जरुरी के पनि छ भने नायब महारानी ललित त्रिपुरसुन्दरी र तत्कालीन मुख्तियार भीमसेन थापा साख्खै मामाभान्जी थिए र उनीहरु दरबारको हालीमुहालीमा थिए ।  राजा नाममात्रका थिए र सिमाना जोगाउन उदासीन । 
नेपालले हारेको जितक किल्लाको बारेमा त झन् इतिहासमा कहीँ कतै सुनिंदैन । देहरादुन र चण्डीगढको बीचमा रहेको यो पहाडी किल्लामा तैनाथ अमरसिंह थापाका छोरा रणजोर सिंह थापाको नेतृत्व थियो । करिब दुई हजार सैनिक थिए । पहिलो दिन अंग्रेज दपेटिए, दोस्रो दिन नालापानीमा जस्तै पानीको कुलो काटियो । तथापि, नेपाली बहादुरहरु लडिरहे, अंग्रेजको रसद पानी र हतियार सकियो र उनीहरु फर्के । र उनीहरुका सरदार मार्टिनडेलले युद्ध बिराम गरे ।

यो रणनीतिक चातुर्य बुझ्न नसक्नु नेपाली फौजको कमजोरी थियो । किनभने त्यसको लगत्तै अक्टोर्लोनीले नेतृत्व सम्हाले र नेपाली सेना परास्त भयो । यहाँ उल्लेखनीय कुरो के हो भने बहादुरीका सवालमा नेपाल कहिल्यै कम्जोर थिएन तर युद्ध कौशल र कूटनीतिक चातुर्य केन्द्रबाट आउनुपर्ने हो । त्यो राजनीतिक नेतृत्वबाट आउनुपर्ने हो । त्यो कहिल्यै पनि तत्कालीन दरबारबाट सेनाले पाएन ।

उनीहरु आपस्तमा लडिरहे र सिमानामा वीरहरु मरिरहे । कुल पाँचमध्ये तीन लडाइँ जितेर, दुई  हार्दैमा किन आफ्नो त्यत्रो भूमि छोड्ने सर्तमा सुगौली सन्धि गर्न बाध्य भयो नेपाल? हामीलाई पढाइएको इतिहास अपूर्ण छ । दरबारिया कमजोरी र स्वार्थी दन्त बजानका कारण, कालु पाँडेभन्दा बिराज बखती रोज्ने लम्फुहरुका कारण विभिन्न कालखण्डमा अजिब अजिबका  ’मोइतिघ्रे गफाडी’ हरु जन्मिरहे र राजाका साखुल्ले भइरहे । स्मरण रहोस्, त्यस्ता मोइतिघ्रे गफाडीहरुले राजाका मन जिते, जनताका मन हारे । जनताका मन हारेकासम्म भए त ठीकै थियो, सिमाना खुम्च्याइरहे ।

सुगौली सन्धिको चर्चा त खुब गरिन्छ तर त्यसको अघि गरिएको दानापुर सन्धिको चर्चा गरिँदैन । हो, हामीलाई पढाइएको इतिहास अपूर्ण छ । दरवारिया खिचातानी र उचालपछारका कुरा एकोहोरो पढाइएको छ । सुगौली सन्धिमा हस्ताक्षर गर्ने बनारसमा नेपाली दरवारको प्रतिनिधि भई बसेका पण्डित गजराज मिश्रले नै दानापुर सन्धिमा पनि हस्ताक्षर गरेका छन् ।

पण्डित गजराजलाई खलपात्र बनाइएको छ तर उनी पृथ्वीनारायणकै दरबारका भारदार थिए र नेपाल एकीकरणका दोस्रा अभियन्ता नायब बहादुर शाहसँग नजिक थिए । बहादुर शाहको दुर्दान्त अन्त्य, रणबहादुर शाहको बहुलठ्ठी अनि रानी ललितत्रिपुरसुन्दरी र भीमसेन थापाका आदेश मान्दामान्दै कतै इतिहासमा खलपात्र त बनाइएनन् उनी?  दानापुर सन्धि पढ्न त पाएको छैन तथापि के अनुमान गर्न सकिन्छ भने त्यतिखेर नै नेपाल दरवार र इस्ट इन्डिया कम्पनीबीच भएको उक्त सन्धि विक्षिप्त राजाको स्वार्थसिद्ध गर्न गरिएको थियो ।

विक्रम सम्वत १८५८ कार्तिक १४ गते बुधबार मूलकाजी बख्तावर सिंह बस्न्यातको पालामा पण्डित गजराज मिश्रद्वारा हस्ताक्षरित उक्त सन्धिमा रणबहादुर शाहको पेन्सन, नेपालमा ब्रिटिश रेजिडेन्सीको स्थापना र आपसी व्यापारिक बन्दोबस्तको सहमति भइसकेको थियो । त्यसको लगत्तै रणबहादुर शाहले बनारसबाट नै तत्कालीन दरबारलाई चिठ्ठी लेखी यो सन्धि गिर्वाणयुद्धलाई अपदस्थ गर्ने दामोदर पाँडे र गजराज मिश्रहरुको चाल हो  भनेर अझ द्वन्द्व चर्काएका छन् । तसर्थ, सुगौली सन्धि हारका कारण होइन नेपाली दरबारका कपट, लोभ, स्वार्थान्धता, विदेशी शक्तिको चातुर्य आदिका कारणले भएको थियो । सुगौली सन्धिमा यी कलह, फुट र गुट कारक थिए ।
हामीलाई पढाइएको इतिहास अपूर्ण छ ।
(क्रमशः)
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २६, २०७७  १४:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !