site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
बुझाइहरूको आयाम 

सन्तोष पौडेल


हिन्दी सिनेमा ‘थप्पड’ हेरेको निकै दिनसम्म म विचलित भएँ । मैले यहाँ सिनेमाको बारेमा लेख्न चाहेको होइन । सिनेमामा देखाएझैं ससाना घट्ना, जसले हरदिन पछ्याइरहेको भित्री मन लेख्न खोजेको हुँ । मलाई के लाग्यो भने, भित्र कतै कुनै गहकिलो महसुस त्यतिबेला हुँदो रहेछ जतिबेला त्यसको अनुभूतिका कारण थाहा हुन जान्छ । कहिलेकाहीँ कुनै सिनेमाले भइरहेका तर नदेखिएका तिनै कारणहरू, जो जीवनसँग जोडिएका हुन्छन् त्यसका अदृश्य ज्ञान बताएर जान्छ । सायद, त्यस्तो अदृश्य ज्ञान खोतल्न खोज्नु जोकोहीका लागि एउटा अदृश्य झट्का हुनसक्छ । 

अचेल म क्वारेन्टिनको एकान्तवासमा छु । जब सहरको चोकगल्ली, सडक, मानवबस्तीतिर जीवजनावर टहल्न थालेको दृश्य पत्रपत्रिकामा देख्छु, मेरो आँखा रसाउँछ । वायुमण्डलको सबैभन्दा ठूलो ओजोन प्वाल टालिएको खबरले त्रसित मन केहीक्षण शान्त हुन्छ । कोरोनाको सन्त्रासमा रहेको मनमष्तिष्कले कसरी बिर्सन सक्छ पृथ्वीको २० प्रतिशत भन्दा बढी अक्सिजन भार ओगट्ने अमेज जङ्गल (पृथ्वीको फोक्सो) फाँडिएको समाचार । अस्ट्रेलियाको जङ्गलमा लागेको डढेलोले सखाप पारेको करोडौं थलीय जीवजन्तुको कारूणिक दृश्यले अझै मनमुटु दुखेकै छ । यतिबेला अदृश्य भाइरसले मानव अस्तित्वमाथि जुन किसिमको सङ्कट पैदा गरिदिएको छ म चिन्तित छु । मानव अस्तित्व होस् वा पर्यावरण, जीवप्राणी होस् वा इकोसिस्टम । ब्रह्माण्डका अणुपरमाणु होस् वा यिनका जीवनचक्र । एकअर्कासँगको अन्तर्सम्बन्धको सारस्वरूप र अस्तित्व । यी सबै एक जटिल तर सरसर्ती बुझ्नुपर्ने जीवनसँग जोडिएका अनेकौं भाषाहरू हुन् । 

Dabur Nepal

मैले पढेको छु— मानव शरीर पञ्चतत्वको बनोट हो । मैले सिङ्गो शरीरलाई मात्र जीवन भनेर बुझेको छु, तर जीवनभित्रका रहस्यहरू बुझेको छैन । भन्न खोजेको हावा बुझेको छैन । मलाई मानव अस्तित्व थाहा पाउनु छ । आगोको अस्तित्व थाहा छैन । माटो झन् के बुझेको हुँला ? जललाई नदी बुझ्छु । ताल बुझ्छु । प्यास मेटिने तरल बुझ्छु । झन् आकाशको विशालता बुझ्ने कुरै भएन । वनपैदावरको महत्व साँच्चै के मैले बुझेको छु ? थलीयजलीय जीवप्रजातिको अन्तर्सम्बन्ध ? अनि, यो पृथ्वी नि ? खैर, वर्तमान समय यतिबेला मानिसको चेतनालाई पृथ्वी एकपटक बुझ् है, भन्दै छ । मानिलिनुस्— तपार्इंले आफ्नो शरीरलाई जुन मान्छेको रूपमा बुझ्नु भएको छ तर त्यो शरीर त्यही मान्छे मात्र होइन भन्ने कुरा थाहा पाउनु भयो भने जीवन जिउने तहमा के फरकपना आउन सक्ला ? त्यसैगरी, जुन पृथ्वी हामी सबैले बुझेका छौं, त्यो त्यति मात्र होइन । त्यो भन्दा निकै विशालताको अर्थ थाहा हुन आएमा...। सायद, महसुस हुने भावनात्क संवेदना मात्र जीवन हुन सक्दैन भनेजस्तै होला । 

त्यसैले, जीवन बुझाइहरूको एकसरो रेखा मात्र हुनै सक्दैन । बुझाइहरूका अनेकौं रेखाहरूको समजोड हुन सक्छ । कुनैकुनै बुझाइका रेखासँग जीवनको सार्थकता जोडिएको हुन सक्छ, नजोडिएको पनि हुन सक्छ । यसर्थ, जीवनको सार्थकतामा सफल–विफल, राम्रो–नराम्रो, अतीत–आगत–भविष्य, दुःख–सुख जस्ता तत्वहरूको मात्र मानक हुनुहुँदैन । सायद, जोकोही यस्तो मानकबाट फुत्केर एकैछिन जीवन भन्ने जिनिस बाँच्न चाहन्छ होला । भनौं, शुद्ध केवल जीवन । त्यस्तो जीवन कस्तो हुन सक्ला ? म त्यस्तो जीवनको अनुभूति त ठ्याक्कै व्यक्त गर्न सक्दिनँ । म त्यो जीवनको अनुभूति मात्र व्यक्त गर्न सक्छु जुन मैले महसुस गरेको छु । म त्यही एउटा अतीतको महसुस यहाँ राख्दै छु । 
एउटा धमिलो सम्झना । जतिबेला मलाई पढाउने एक शिक्षकसँग मेरो सम्बन्ध नमीठो थियो । मलाई ती सरले पढाइमा ल्वाँदे भन्दै गाली गर्थे । हो, म पढाइमा कमजोर थिएँ हुँला, तर सङ्घर्षका अनेक भोगाइहरूमा भने म कमजोर थिइनँ । म त्यसबेलासम्म विचलित भएकै थिइनँ जुन बेलादेखि मलाई हतोत्साहित गर्दै पिट्न पनि थाल्नु भो । मभित्र एउटा डर उत्पन्न हुन थाल्यो । कुनै अदृश्य गहिरो पीडा । किनकिन मलाई ती शिक्षकसँग भेट नभइदिओस् जस्तो लाग्न थालेको थियो । उहाँले राम्रै पढाए तापनि म बुझ्दैनथेँ । 

मलाई विद्यालय कठोर सजाय दिने झ्यालखाना जस्तो लाग्थ्यो । सायद, म थप्पडको दुखाइ भन्दा मानसिक त्रासले तर्सिएको हुन सक्छु । जसरी मान्छेको असीमित दोहनबाट आज पृथ्वी त्रसित भएको छ । मान्छेले बिर्सने वा ख्याल नगर्ने भनेकै ससाना घट्नाहरूको सम्बन्ध हो जसले हाम्रो अस्तित्वलाई पछ्याइरहेको छ भन्ने कुरा । जसरी छायाँले छाड्ने छैन कुनै शरीर, शरीर मेटिएको दिन मात्र छायाँको अस्तित्व हुँदैन । कोही कसैलाई कुनै कुराले भित्र बिझाइरहनु एउटा कारण हुन सक्छ, तर त्यसले मनभित्र पैदा गर्ने अनेक कारणको परिणाम अत्यन्तै दुःखदायी हुनसक्छ । 

त्यसैले म बुझ्दैछु— लोग्नेस्वास्नीबीचको मतभेद । प्रेमीप्रेमिकाबीचको झगडा । एक व्यक्त्लिे अर्को व्यक्त्सिँग गर्ने अस्वीकारका चरित्रहरू । समाज वा कुनै देशले निर्धारण गर्ने तहहरू । मानिस फरक छ । म सजिलै भन्ने गर्छु । तर के मान्छेभित्रका कैयौं मानवीय संवेदनाहरूको फरकपना मैले बुझेको छु ? म फरक छु को अर्थ ? म हुर्केको समाज फरक होला । मेरो संस्कृति होला । रहनसहन होला । भाषा होला । जीवनपद्धति होला । शिक्षादीक्षा होला  । स्वाद होला । सोच होला । यस्तै अनेकौं अनेक । 

कुनै व्यक्ति स्वयम्ले भित्रको ‘म’ जिनिस बुझ्ने प्रयत्न गर्ने हो वा बाहिरी ‘म’ ? म एउटा मान्छेभित्रबाट बन्ने हो वा बाहिरबाट ? मेरो व्यक्तित्व भित्रबाट स्वीकार गरिनुपर्ने हो वा बाहिरबाट ? सबैभन्दा पहिले मलाई मैले बुझ्ने हुँ कि बाहिरकाले ? एउटा मान्छेलाई अर्को मान्छेले बुझ्न सक्ला यदि उसले आफ्नो बारेमा बताउँदैन भने ? मान्छेले एकअर्कालाई बुझ्न त बताउनैपर्छ भने एकअर्कालाई स्वीकार गर्न केके कुरा बुझ्न आवश्यक पर्ला ? तर समाजको चरित्र यस्तो छ कि— जोकोहीलाई सजिलै वैयक्तिक कोणबाट स्वीकार वा अस्वीकार गरिदिन्छौं । अनि, चाहिएको छ प्रत्येक मान्छेलाई— सोचेजस्तो समाज । सोचेजस्तो देश– सरकार । सोचे जस्तो जीवनपद्धति  । र, सोचे जस्तो वातावरण अनि प्रकृति  । कस्तो विडम्बना । म बल्ल बुझ्दैछु— बुझ्नु पर्ने रहेछ पैले आफूलाई । आफ्नो रूचिलाई । आफ्नो भावनालाई । आफ्नो सोचलाई । आफ्नो इच्छा र आकाङ्क्षालाई । सायद, आफैंलाई बुझेपछि मात्र सजिलो हुँदो हो बुझ्नलाई भूगोल, पर्यावरण, मानिस, समुदाय । समाज अनि राष्ट्र । अनेकौं अनेक बाहिरी तख्ताहरू । 

हिजोआज समस्या कहाँ देख्दैछु भने भने म आफैंलाई नचिनी पहिले अर्कोलाई चिन्न खोज्छु । अर्कोसँग तुलना हुन खोज्छु । उचनिच खोज्छु, सकिन्छ— भेदभाव गर्न खोज्छु । अनि सजिलै भनिदिन्छु— राम्रो, नराम्रो । खुट्याउन खोज्छु गुणदोष । छुट्याउन खोज्छु भेटेजतिको फरकपना । बटुल्न खोज्छु एकैचोटी खुसीका हरचिज । चाख्न खोज्छु पाएजतिको स्वाद । बनाउन खोज्छु असीमित स्रोतसाधन बटुलेर आफ्नो साम्राज्य । सायद, यही मेरो लालचको चक्रव्युहमा फसेको छ पृथ्वी । यिनै जालोमा म जस्तै हरकोही मानिस । 

हेर्नुस् त ! छोराले नपढेको दिन दाइ बेस्सरी पिट्नु हुन्छ । ऊ रूँदै भनिदिन्छ— पढ्न भन्दा त बरू मर्न सजिलो होला ! छोराको यो कर्कस आवाजले दाइभाउजुको मनमुटु चिथोर्छ । कत्रो मनोवैज्ञानिक असर त्यो ! कत्रो कुरा सहजै भन्यो मृत्युको बारेमा । बुझेर भन्यो वा नबुझेरै ! त्यसैले त शिक्षा घोक्नु मात्र होइन, न घोकाउनु मात्र हो । कक्षा उक्लनु मात्र त हुँदै होइन । शिक्षा जीवनका प्रत्येक आयामलाई बुझ्नु हो । समाज देख्नु हो । संवेदनाहरू महसुस गर्नु हो । शिक्षाले त मानिसलाई भावना बुझ्न सिकाउनुपर्छ । आफ्नो भावनालाई मसिनो गरी छामेको मान्छेले मात्र जोकोही मान्छेको भावना र जीवन सजिलै बुझ्न सक्छ । त्यस्तो बुझाइमा हुर्केको मान्छेले मात्र एकअर्काबीच स्थापित हुने सम्बन्धहरू बुझेको हुनेछ । मानिस मानिसबीचको । प्रकृति र मानिसबीचको । मान्छे र जीवजनवार बीचको । पूरै जीवनपद्धति वा इकोसिस्टमको । 

मलाई हिजोआज के लाग्न थालेको छ भने, जिब्रो बुझेको दिन मान्छेले स्वाद बुझ्नेछ । आमा बुझेको दिन माया बुझ्नेछ । पसिना बुझेको दिन बा अर्थात् श्रम बुझ्नेछ । सम्बन्ध बुझेको दिन सहयोग वा भावना बुझ्नेछ । जीवन बुझेको दिन पृथ्वी बुझ्नेछ । करौडौं थलीयजलीय जीवजनावर बुझ्नेछ । अझ् भनौं, इकोसिस्टम बुझ्नेछ । बुझाइको शिक्षा त त्यो हो जसले आफ्नो भित्री आत्मालाई सबैभन्दा पहिले स्वीकार गर्छ । आफ्नो मनमुटुको स्वर सुन्छ । र, आफ्नो अस्तित्व बुझेर अर्काको अस्तीत्व स्वीकार गर्छ । के कहिल्यै कुनै बालकले यसरी सिक्नपढ्न पाएको होला ? म बुझ्दैछु— मानिस असल हुँदैमा पूर्ण हुन सक्दैन । मान्छे स्वयम् पूर्ण हुँदैन भने समाज कसरी पूर्ण हुन सक्छ ? अनि, कुनै देश ? कुनै भूगोल, पृथ्वी वा पर्यावरण ? भनौं, पूरै ब्रह्माण्ड ? पूर्ण भनेको त एकअर्कामा अतर्निहित वा अन्तर्सम्बन्धित कुरा पो रहेछ ! यत्ति कुरा बुझ्न मेरो सोचाइमा थप्पड सिनेमाको ठूलो प्रभाव रह्यो । हुन त सिनेमा एक निश्चित कथावस्तुको आयाममा बनेको छ । तथापि, सिनेमा हेरिसकेपछि भने मैले अनगिन्ती जीवनका आयाम बिस्तारै बुझ्न थालेको छु ।   
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १७, २०७७  १२:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro