site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोरोनाबाट तंग्रियो भुल्के, थलियो कचनकवल

विराटनगर । विराटनगरको कोसी कोभिड अस्पतालबाट उदयपुरका चार जनाले कोरोना जितेर डिस्चार्ज हुँदा झापाको कचनकवलबाट भने पन्ध्र जना संक्रमितलाई अस्पताल पठाइयो । 

बुधबार डिस्चार्ज भएका चार जना प्रदेश १ मा पहिलो पटक संक्रमित भेटिएको उदयपुर जिल्लाका थिए । अस्पतालले कोरोनामुक्त भएको प्रमाणपत्र दियो अनि एम्बुलेन्समा राखेर भुल्केतिर पठाइदियो ।

कोसी अस्पतालका चिकित्सकले हातमा फूलको गुच्छा दिँदा कोरोना जितेकाहरू भने ढुक्क र आनन्दित देखिन्थे । ५८ वर्षीय मो.अलिजानले उपचार गरेर ठिक गरिदिएकोमा चिकित्सक र स्वास्थ्यकर्मीको समूहलाई ‘सुक्रिया’ भन्दै अभिवादन गरे । भने, “अब घर गएर पहिलेकै दिनचर्यामा फर्कने प्रयास गर्नेछु ।” त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केमा पहिलो पटक गत वैशाख ५ गते भेटिएका जमाती र अन्य संक्रमितसमेत सबै ३३ जनाले कोरोना जितेर फर्किसकेका छन् । 

उता कचनकवलका संक्रमितहरू भने झोलामा आफ्ना लुगा हालेर र चाहिने केही चिजबिज बोकेर अस्पतालतिर लागे । उदयपुरको भुल्के कोरोनामुक्त भइरहँदा कचनकवल भने बढ्दो संक्रमितको संख्याले थलिँदै गएको छ । प्रदेश १ मा पहिलो पटक उदयपुरमा गत वैशाख ५ गते कोरोना संक्रमित भेटिएका थिए । अहिले झापाको कचनकवल कोरोना संक्रमणको हिसाबले प्रदेश १ कै केन्द्र बन्न पुगेको छ । जिल्लागत हिसाबले भने झापामा सबैभन्दा धेरै संक्रमित फेला परेका छन् ।

“विद्यालयमा बनाइएका क्वारेन्टाइन भरिभराउ छन्,” कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जरा आलम भन्छन्, “पहिलो संक्रमित भेट्दा त हामीहरु निक्कै डराएका थियौं । तर हिजोआज भने विस्तारै समुदायमा रहेकाहरूलाई नभएर बाहिरबाट आएकामा रोग देखिएको हो भनेर चित्त बुझाउन थालेका छौं । बच्न र रोग फैलन नदिन सबै उपाय लगाएका छौं ।” आलमका अनुसार गाउँपालिकामा भारतबाट ह्वारह्वारर्ती मानिसहरू आउन थालेपछि व्यवस्थापनमा निक्कै कठिनाइ भएको छ । संक्रमित बढ्ने जोखिम अझ थपिँदो छ ।

कचनकवलका ठूला विद्यालयमा क्वारेन्टाइन बनाइएको छ । भारतबाट आएकाहरूलाई त्यहीं राखिएको छ । अध्यक्ष आलमका अनुसार लगभग ४ सय मानिस क्‍वारेन्टाइनमा छन् । पालिकाका पाँचवटा वडा सिल गरिएको छ । एक बस्तीबाट अर्कोमा जान पूर्णत रोक लगाइएको छ । 

कचनकवलको लक्ष्मी मावि बनियानी, जानकी आधारभूत पाठामारी, महेनद्ररत्‍न मावि पथरिया, लक्ष्मीप्रसाद देवकोटा सुकुनाडाँगी र घेराबारीको विद्यालयमा क्‍वारेन्टाइन निर्माण गरिएको छ ।

अध्यक्ष आलम भन्छन्, “धेरै विद्यालयमा बिजुली थिएन त्यसको व्यवस्था गरियो । झुल, खाट, तकियादेखि आवश्यक पर्ने सबै वस्तुको जोहो गरेर मानिसहरूलाई राखेका छौं ।” उनले मानिसहरू अहिले पनि आउने क्रम नरोकिएको भन्दै जोखिमबाट बच्‍न यसरी आउने मानिसलाई सोझै समुदायमा पस्न नदिने रणनीति अपनाइएको सुनाए ।

पहिलोपटक कोरोना संक्रमित भेटिँदा त्रसित बनेका गाउँलेमा अहिले भने बाहिरबाट आएकाहरूको सम्पर्कमा जान नहुने भन्ने चेत खुलेको छ । कचनकवलमा मानिसहरू पाठामारी, केचना र घेराबारी नाकाबाट नेपालतर्फ छिर्ने गरेका छन् ।

किचनगंजसम्म रेल आउने भएकाले रेल चढेर र बस नै रिर्जभ गरेर पनि रोजगारीका लागि भारत पुगेकाहरू फर्किरहेका छन् । समूहगत रूपमा मानिसहरू आउने गर्नाले पालिकालाई उनीहरूको व्यवस्थापनमा समस्यासमेत भएको छ ।

आलम भन्छन्, “हामीले भारतबाट आउनेलाई क्‍वारेन्टाइनमा राख्‍ने र अहिले खेतीबाडी गर्ने बेला भएकाले त्यसलाई पनि चल्न दिने नीति लिएका छौं । संक्रमितको उपचार र परीक्षणमा संघीय तथा प्रदेश सरकारले सकारात्मक सहयोग गरेको छ ।” परीक्षणका नतिजा अझै आउन बाँकी रहेकाले कचनकवलमा अझै संक्रमित थपिन सक्ने आलमले बताए । 

फाइल फोटो

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७  १२:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro