site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank


चिकित्सा सामग्री खरिदमा बदनियतपूर्ण हेलचेक्य्राइँ गरेर जनता र चिकित्साकर्मीको स्वाथ्य जोखिममा पार्ने स्वास्थ्य मन्त्रालयको कर्मचारीतन्त्रले कम गुणस्तरको विवादास्पद सामग्री किन्न अन्तर्राष्ट्रिय संस्थाहरूलाई दबाब दिएर राष्ट्रकै साख कमजोर बनाएको छ । विवादास्पद ओम्नी समूहले गैरकानुनीरूपमा ल्याएकाले भन्सारमा रोकिएको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किट बिकाउन अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र केही दातृ निकायलाई समेत स्वास्थ्य मन्त्रालयका उच्चपदस्थ कर्मचारीले प्रत्यक्ष अप्रत्यक्ष दबाब दिएको समाचार सार्वजनिक भएको छ । ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनललाई बदनियतपूर्णरूपमा प्रक्रिया मिचेर चिकित्सा सामग्री आपूर्ति गर्ने ठेक्का दिने स्वास्थ्य मन्त्रालयले चर्को आलोचनापछि धरौटी जफत गरी ठेक्का तोड्ने निर्णय गरेको सार्वजनिक भएको थियो । यही क्रममा ओम्नी समूहले अत्यावश्यक वैयक्तिक सुरक्षा सामग्री (पीपीई) कम परिमाणमा ल्याई विज्ञहरूले भरपर्दो नहुने ठहर गरेको आरडीटी बढी संख्यामा ल्याएको रहेछ । सरकारले राजस्व छुट दिएकोभन्दा बढी संख्यामा ल्याइएको आरडीटी विमानस्थल भन्सारले राखेको छ । त्यही सामान किनेर सरकारलाई दिन स्वास्थ्य मन्त्रालयमा सचिव र सहसचिवको संलग्नतामा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र दातृ निकायका प्रतिनिधिलाई दबाब दिइएको विवरण सार्वजनिक भएको छ ।  


प्रधानमन्त्री केपी ओलीको विशेष कृपा पाएको मानिने ओम्नी समूहलाई चिकित्सा सामग्री खरिदको जिम्मा दिँदा अपनाइएको शैली हेर्दा अहिले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र दातृ निकायका प्रतिनिधिलाई स्वास्थ्य मन्त्रालयका कर्मचारीले दबाब दिएको समाचारमा सहजै विश्वास गर्न सकिने देखिन्छ । चिकित्सा सामग्री खरिदका लागि आह्वान गरिएको बोलपत्र तीन महिनासम्म निर्णय नगरी अन्तिम समयमा रद्द गरी ओम्नीलाई हतारमा आपूर्तिको ठेक्का दिइएको थियो । स्वास्थ्य मन्त्रालयले नै ‘धरौटी जफत’ गर्ने र ओम्नीलाई ‘कालोसूची’मा राख्ने निर्णय गरेर पहिले प्रक्रिया मिच्ने कार्य बदनियतपूर्वक भएको पुष्टि गरिसकेको छ । राजस्व छुट दिएको भन्दा बढी ल्याएपछि नियमपूर्वक जफत गरी लिलाम गर्नुपर्ने सामान बिकाउन सरकारी कर्मचारीहरूले गरेको दौडधुप हेर्दा सरकारका उपल्लै ओहोदाका पदाधिकारी संलग्न भएको अनुमान सहजै लगाउन सकिन्छ । ओम्नी समूहले ल्याएको ब्रान्डको आरडीटी किट विश्वसनीय नभएर भारतलगायत संसारका धेरै मुलुकले बन्देज लगाइसकेका छन् । नेपालमा त्यसबाट गरिएको परीक्षणले ठूलो धोका हुनसक्ने चेतावनी विज्ञहरूले दिइरहेका छन् । यी सबै जान्दाजान्दै स्वास्थ्य मन्त्रालयका सचिव वा सहसचिवले आफ्नै आँटमा यसरी दबाब दिने आँट गरे होलान् भन्ने मान्न सकिँदैन ।


यस्तो विवादास्पद र गैरकानुनी सामान किन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालगायत विकास साझेदारहरूलाई दबाब दिने आँटका लागि कर्मचारीलाई ठूलै आड चाहिन्छ । तैपनि, राजनीतिक नेतृत्वले दबाब दिँदैमा यस्तो मूर्खतापूर्ण बदमासी गर्न कर्मचारी नेतृत्व तत्पर हुनु हुँदैनथियो । यसैपनि, आरडीटी थप किन्ने निर्णय बदनियतपूर्ण नहुँदा पनि राज्यको ढुकुटीको अपव्यय र जनस्वास्थ्यसँग गरिएको हेलचेक्य्राइँ हो । यस्तो सामान खरिद गर्ने निर्णयमै बदनियत र भ्रष्टाचारको आशंका हुन्छ भने झन् अन्तर्राष्ट्रिय समूहलाई दबाब दिँदा उनीहरूले के ठान्लान् ? अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र विकास साझेदारहरूले यस घटनालाई आआफ्ना मुख्यालयमा त पक्कै जाहेर गरे होलान् । देशको साख कति गिर्ला ? कारिन्दाहरूको यस ‘बाँदरभक्ति’ले ओली मन्त्रिपरिषद्को मात्र हैन सिंगै देशको ‘नाक काट्ने’ काम भयो । प्रधानमन्त्रीको जानकारी र स्वीकृतिमा भएको हैन भने त्यस्तो बदनियतपूर्ण मूख्र्याइँमा संलग्न हुने कर्मचारी र राजनीतिक नेतृत्वलाई तत्काल निलम्बन गरी निष्पक्ष छानबिन गर्नुपर्ने हो । नियतमा शंका नगरी सन्देहको सुविधा दिने हो भने पनि कृष्णले श्यमन्तक मणि खोजेर आफूमाथि लागेको आरोप मेटाएजस्तै प्रधानमन्त्री ओलीले पनि गर्नुपर्छ । अन्तर्राष्ट्रिय समुदायसम्म पुगिसकेकाले यस मामिलामा संसदीय समितिले पनि छानबिन र हस्तक्षेप गर्नुपर्छ । यसरी देशको साख नै गिर्ने काम गर्ने आँट आयन्दा कसैले कसैले नगरून् ! 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०७७  १४:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC