site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
ध्रुवलालको साबिती
Sarbottam CementSarbottam Cement

निम्नवर्गीय परिवारमा जन्मिएको औसत विद्यार्थी धु्रवलाल । बाबुको रिनपानलाई आफ्ना हरेक सञ्चितिका उपाय लाएर राजधानीबाट उच्च शिक्षा जसोतसो  पार गरेको छ उसले । आफ्नो परिवार तथा गाउँघरमा थोरै पढेलेखेकामध्येको ऊप्रति परिवार र समाज दुवैको आशा छ । भुक्तमान भोगेर पढेको ध्रुवलाल मार्कसिट हात परेको भोलिपल्टबाट जागिरको खोजीमा निस्कन्छ । उसलाई जागिर खानैपर्ने दबाब छ । पढाइको व्यस्तताले जागिरबारे कम जानकार ऊ दैनिक निस्कने पत्रिकाका हरेकखालका विज्ञापन डायरीमा टिप्छ र लाग्छ निवेदन दिन । एकपछि अर्कोमा जान्छ, मानांै उसको निवेदन नपुगेको विज्ञापन कुनै छैन । निजी होस् या सरकारी, संस्थान होस् या सहकारी । 

निजी बैङ्कमा जाँदा सोधिन्छ– ‘अनुभव खोइ ?’ शिक्षकमा भिड्न जाँदा सोधिन्छ– ‘लाइसेन्स खोइ ?’ लोकसेवाले पाँचजनाको ठाउँमा ७० हजार भिडाएर भन्छ– ‘तयारी खोइ ?’ बाबु भन्छन्– ‘कमाई खोइ ?’ नेताकोमा गयो– ‘टिकट खोइ ?’ घरबेटी भन्छ– ‘भाडा खोइ ?’ पसले भन्छ– ‘नयाँ पुरानो खोइ ?’ अनि धेरैले जानीजानी स्वादका लागि भन्छन्– ‘पेशा खोइ ? अझै डुकु ?’ बाँकी कसैले उसलाई ‘बाल’ दिँदैनन् । यी सबै प्रश्नको भारी बोकेर सहरका गल्लीगल्ली चहार्छ– भेट्छ मात्र बेरोजगार ठगेर रोजगारी चलाएका रोजगार केन्द्रहरु ! न रोजगारी पाउँछ, न सहानुभूति । लाग्छ– राज्य आफ्ना जनशक्तिप्रति अनदेखा गर्छ । राष्ट्र निर्माण गर्ने जनशक्तिलाई कोठामा कालोपत्रेको लम्बाइ रटाइरहेको छ । के प्रश्नले नागरिक अक्षम पार्न सकिन्छ ? ‘विज्ञ’हरु खटाई कुनाकन्दराका प्रश्न खोजिरहेको छ । विज्ञहरु त प्रश्न खोज्न हैन, उत्तर दिन र व्यवस्थापन गर्न पो लाग्नु पर्ने हो । यहाँ ठीक उल्टो भइरहेको छ । 

ध्रुवलाल नपुगेको कुनै मन्दिर छैन अनि नगरेको भाकल छैन । केहीगरे पनि पार लागेको छैन । सबैकुरा रित्तो भएपछि हैरान भएर सोच्छ– ‘बेच्न मिल्ने भए बेचिदिन्थेँ, बाँच्न मिल्नेबाहेकका सबै अङ्ग, म आफैं बेचिएर आफैं पालिन खोज्ने मेरो कस्तो विवशता ? अहँ ! यो सहरमा शरीर पाल्न नै शरीर बेचेका रहेछन् कसैकसैले, जहाँ दुनियाँ रहर देख्छ ।’

Prabhu Bank
Agni Group
NIC Asia

ध्रुवलाललाई देशका सबैखाले नेतृत्वप्रति घृणा लाग्न थालेको छ, जसले शिक्षाका नाममा हरेक वर्ष सङ्ख्यात्मक उपलब्धिको अन्तर्राष्ट्रिय तक्मा थाप्छ ।  मार्कसिटको चाङमात्रै दिने विद्यालय विश्वविद्यालय मिथ्या लाग्छ, जसले उत्पादन गरेको अपवादबाहेक असरल्ल ‘जनशक्ति’ आफूजस्तै गल्लीगल्ली चहारेर गलिसकेका छन् । मनमनै सोच्छ– ‘कम्तीमा आज नालायक बनाउने शिक्षाले मलाई १० कक्षामै फेल बनाएको भए समयमै विकल्पको खोजी त गर्ने थिएँ । मेरो जुन योग्यतामा हिजो गर्व गर्थें, आज त्यही घाँडो भयो ।’ 

ऊ देशका अवसरका सबै बाटाहरुमा तगारैतगारोमात्र भेटेपछि आईए पढ्दै बनाएको राहदानीको धूलो टक्टक्याउँछ । बैङ्क अनि इष्टमित्रबाट ऋण लिएर विदेश जाने सुरसार गर्छ । म्यानपावर र श्रम कार्यालयले विभिन्न शीर्षक अनि बहानामा भएभरको पैसा लुटेर खाडी मुलुकको भिसा मिलाइदिन्छन् ।

Global Ime bank

सबै मार्कसिट सन्दुकमा थन्क्याएर ठूलो जहाज चढी अरब पुग्छ । ध्रुवलाल कामका बारेमा घर–परिवार, साथीभाइले सोधे ‘एनिमल फर्ममा एकाउन्टेन्ट हो’ भन्ने एउटै जवाफ दिन्छ । सबैलाई लागेको छ– विदेशीमा पढाइको मूल्याङ्कन हुँदोरहेछ । बाले सोच्नुभयो– एकाउन्टेन्ट जागिर दसैंमा चान्चुने पैसा साट्न जाँदा बैङ्कमा देखेको जस्तै हो । अनि लाग्यो होला त्यहीमाथि धनी मुलुकको, साथीभाइले सोच्दा हुन्– घुम्ने कुर्सी अनि वातानुकूलित कोठा । 

ध्रुवलालले पनि उतिबिघ्न ढाँटेन । ऊ बिहान ऊँट गन्ती गरेर चराउन लान्छ अनि बेलुका साहुलाई गनेरै जिम्मा लाउँछ । उसले यो एकाउन्ट शाखा हप्तामा सातैदिन सम्हाल्नुपर्छ । गर्मी मुलुकमा दिनभरिको कामको धपेडी, साँझबिहान भुल्ने साथी सामाजिक सञ्जाल छ । नानाभाँतीका साथीसङ्गीहरु जोडिएका छन् । उसलाई विगतमा कृषि विकास बैङ्कले ऋण तिर्न गरेको ताकेतालाई अटेरी गरेर कहिले ब्याज छुट त कहिले सावाँ नै छुटको स्किम पाएका बाले यो पटक पनि ऋण तिर्ने कुरामा चासो दिनुभएजस्तो लाग्दैन । छोरो गएको एक महिना पुगेको हिसाब गरेर बसेका बा छिमेकी भाइको फेसबुक लाइभ आएर भन्नुहुन्छ– ‘सञ्चै छ केटा, पैसा पठाएस्, आउजाउ गर्ने मान्छेलाई छिमेकीको भन्दा ठूलो टीभी पठाएस्, रिचार्ज उतैबाट गर्न मिल्छ अरे । त्यसको छाता जसोतसो मै किनांैला ।’ बाको हिसाब हेर्दा लाग्छ– अब एकवर्षको पूरा कमाइको डिमान्ड एकै महिनामा आयो त यार ! यो शृङ्खला वर्षांै चल्यो । एनजीओमा काम गर्ने भिनाजू भन्नुहुन्छ– ‘एउटा राम्रो खालको ल्यापटप, फेसबुकमा दुईचार दिन बोलेका पानपाते मैयाँहरुलाई मोबाइल सेट, भन्सारको जागिरे साथीलाई क्यामरा, बलवीरलाई घडी, यस्तैयस्तै मागको दर बढ्ने हो भने फिर्ने बेलासम्ममा साहुमहाजनले पनि मसँग केही न केही झिकाउने छन् ! 

यहाँ हरेक मूल्यमा पसिना छुटेका हुन्छन्, ठेला उठेका हुन्छन्, भोकनिन्द्रा हराएका हुन्छन् । ‘बाठै’ ठानिएका मान्छे पनि विदेशमा पैसै टिप्न पाइन्छ जस्तो किन यति धेरै लाचार भएर विलासिताका सामान डिमान्ड गर्छ ? चामल किन्ने पैसा छैन, छानो चुइयो भनेर कसैले माग्दैन । खै हामीले कस्तो संस्कार सिक्यौं ? मेरो देशको शिक्षाले श्रमको सम्मान, श्रमिकको मूल्याङ्कन, जनशक्तिको व्यवस्थापन गर्न सिकाएको भए सुन धरौटी राखेर फलाम काट्न आउने थिइनँ होला । 

विभिन्न मिति र शीर्षकमा सामान झिकाउनेहरुलाई ऊ घर फर्कंदा अरु त त्यस्तै हो, एकएक मुठी अरबको छोकडा कोसेली लगिदिने सुर छ, अनि सबैलाई भन्नुछ– ‘पैसा टिप्ने रुख त्यो मरुभूमिमा कहाँ छ र ? बरु हरियाली त यहीँ छ ।’

ध्रुवलालले आफूबाहेक देखेको आफ्नो देशको मान्छे भनेको ऐनामा देखिने ऊ आफैंमात्र हो । त्यही पनि दाह्री काट्दा झरेर फुटेको ऐनाको माथिपट्टि हेर्दा अरुले सम्झेको ध्रुवलाल, तलपट्टिबाट हेर्दा दुःख भोगिरहेको ध्रुवलाल, अनि पूरै फुटेको ऐना हेर्दा उसको भविष्य देखिन्छ, जसको अझै निश्चित आकार छैन । सम्झन्छ– ‘अहिलेसम्म केही नझिकाउने मान्छे भनेको आफ्नी आमामात्रै हुन् । आमासँगका हरेक भेट या बिदाइका शब्दको पहिलो र अन्तिम सार स्वास्थ्यबारे सञ्चो–विसञ्चोको हुन्छ । लाग्छ ‘जीवनको माया बाँच्नेलाई भन्दा बँचाउनेलाई बढी हुन्छ ।’ बरर्र आँसु झार्दै ध्रुवलाल ती साक्षात् भगवान् भेट्न आतुर छ, जसले आफ्नो भन्दा बढी माया सन्तानको गर्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २९, २०७६  १०:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC