लकडाउनले जितु नेपाल अलि फुर्सदिला भएछन् । कारण सधैं ६ बजे उठ्ने उनी ७ बजे उठ्ने भएका छन् । लकडाउनअघि मर्निङ वाक मात्रै गर्ने जितु अहिले नियसमत एक्रसाइज पनि गर्ने भएका छन् । शरीर नै बलियो भएन भने कोरोनाले आक्रमण गर्छ भन्ने भयले उनी अहिले फोक्सोको एक्सरसाइज कसरी हुन्छ, त्यसै गर्छन् । चिकित्सकको सल्लाहअनुसारै गरेका हुन् उनले यो ।
आधा आलोलोम बिलोलम अर्थात् श्वासप्रश्वाससम्बन्धी ध्यान पनि गर्छन्, जितु । त्यसपछि खानाको जोहो गर्न उनी तरकारी किन्न पसलतिर लाग्छन् । त्यसपछि जितु प्रवेश गर्छन्, भान्सातर्फ । भान्सामा जितु खाना बनाउन श्रीमतीलाई सघाउँदैन्, श्रीमतीले चाहिँ उनलाई सहयोग गर्ने हो ।
छोरो र छोरीलाई पनि जितुले यो लकडाउनमा पालो लगाइदिएका छन् खाना बनाउने । रमाइलो पनि होस् र समय कटाउन सजिलो होस् भन्ने जितुको उद्देश्य हो ।
त्यसपछि सुरु हुन्छ, चलचित्र हेर्ने र पढ्ने कार्य । आफैंले अभिनय गरेको पुराना चलचित्र हेरिरहेका छन् अहिले जितु । पहिलो कारण आफ्नै अभिनयको पनि समीक्षा होस् । अर्को तत्कालीन परिवेश र विषयको पुनः जानकारी पनि होस् । ‘दुई किनारा’, ‘किस्मत’ उनले हेरिसके । ‘ओ माई गड’, ‘तारे जमिन पर’, ‘लुका छिपी’ पनि हेरिसके । यीमध्ये उनले केही दोहोर्याएका हुन् भने केही हेर्दाहेर्दै छाडेका थिए ।
यही लकडाउनमा उनले जगत नेपालको ‘बीपीको बिद्रोह’ पढे । जीवा लामिछानेको ‘सरसर्ती संसार’ पढिसके । ‘भागवत गीता’ ५ अध्याय पढिसके । भन्छन्, “३ गतेसम्म यो पनि पढिसक्छु ।”
दिउँसो सुतेपछि राति निद्रा पर्दैन उनलाई त्यसैले दिउँसो सुत्दैनन् उनी । चलचित्र हेरेर र पढेर समय बिताउँछन् ।
उपलब्धि भने पनि होला सायद, जितु र उनको परिवारले अन्य समयमा फेसबुकलगायत सामाजिक सञ्जालमा जति समय बिताउँथ्यो त्यसलाई ५० प्रतिशत कम गरेको छ । कारण सामाजिक सञ्जालमा भ्रामक सामग्री बढी आइरहेका छन् । त्यसले उपलब्धि भन्दा त्रसित बनाउँने भन्दै उनले त्यसलाई न्यूनीकरण गरेका हुन् ।
जितुलाई देश तथा विदेशमा रहेका नेपालीले आग्रह गरे, ‘लौ न घरमा बस्दा–बस्दा दिक्क भयो । सामाजिक सन्देश पनि जाने गरी मनोरञ्जनात्मक सामग्री लिएर आउनुपर्यो ।’
दर्शक तथा शुभचिन्तकले भनेको मान्नै पर्यो । सोमबार साँझ ६ बजेदेखि आधा घण्टा फेसबुक लाइभमा आएर कोरोना भगाउ मन्त्र प्रस्तुत गरे । आज जितु कोरोना पुराण प्रस्तुत गर्दै छन् ।
“बाँकी जिन्दगीभर नमिलाएका लुगा लगाइयो । जिन्दगी नधोएका जुत्ता धोइयो । कोठै जिल खाएर भनिरहेको छ– म जिन्दगी यति सफा कहिल्यै भएको थिइनँ भनेर,” उनी हाँस्दै सुनाउँछन् ।
८ बजेको समाचार हेर्छन्, ९ बज्छ । गफगाफ गर्दा १० बज्छ, अनि सुत्ने बेला हुन्छ ।
समय लकडाउनको छ । कोरोनाको सम्भावित जोखिमलाई भगाउनु छ । भएको भए, आफैंमा सीमित गर्नु छ, त्यसैले उनको घरको ढोका सबैका लागि बन्द छ, घरको छत र कम्पाउन्डको पर्खालबाट छिमेकीसँग जति बोलिन्छ, र फोनमा जति गफिन्छ त्यति मात्रै हो सामाजिक सम्पर्क । बाँकी परिवार मात्रै हो साथमा । सरकारले पनि गर्नु भनेको यति मात्रै हो ।
० ० ०
लकडाउनले धेरै कार्यक्रम स्थगित भए जितुका । हुन त संसारकै एकतिहाइ जनसंख्या लकडाउनमा बसेको, अर्थतन्त्र नै ओरोलो लागेको अवस्थामा उनका कार्यक्रम स्थगित हुनु नयाँ होइन । तर पनि गन्ती गर्दा काठमाडौंमा १० ठाउँमा कार्यक्रम गर्ने तय भएको थियो, रोकियो । नयाँ वर्षमा अमेरिका घुमफिरसँगै कार्यक्रम पनि गर्ने तय भएको थियो, त्यो पनि अब सम्भव रहेन । अन्य देशमा पनि उनका कार्यक्रम थुप्रै थिए, त्यसका लागि तारतम्य मिलिसकेको थियो, रोकियो ।
० ० ०
जेठको पहिलो हप्ताबाट ‘छक्का पञ्जा–४’ को सुटिङ हुँदै थियो । त्यसका लागि दीपकराज गिरी चलचित्रको कथा तथा पटकथा लेख्दै थिए । दीपकले तयार पारेको कथा तथा पटकथालाई अझै निखार्न जितुसहित केदारप्रसाद घिमिरे र दीपाश्री निरौला वैशाखको पहिलो साता बस्ने कुरा थियो । अब तत्काल त्यो पनि पूर्वनिर्धारित समयमा करिब सम्भव रहेन ।
० ० ०
जितु ‘मुन्द्रेको कमेडी क्लब’ चलाउँछन् । लकडाउनले जनजीवन प्रभावित भए पनि उनको कार्यक्रमलाई अहिलेसम्म खासै असर गरेको छैन । कारण उनले पहिला नै केही भाग छायांकन गरिसकेका थिए । अझै दुई भाग उनीसँग सुरक्षित छन् ।
लकडाउन सुरु हुने अवस्था आएपछि युनिसेफ र यूएनले उनलाई आग्रह गरेर डाक्टहरू बोलाएर कोरोनाबाट कसरी जोगिने त्यसबारे सामाजिक सन्देश दिने खालको कार्यक्रम चलाइदिनुपर्यो भने । पर्यटन बोर्डको हल दिन छाडिसकेको थियो । उनीहरूकै आग्रहमा बोर्डले हल उपलब्ध गरायो । र जितुले सामाजिक सन्देश दिने खालको कार्यक्रम तयार पारे ।
० ० ०
लकडाउनले अन्य उद्योगलाई जस्तै चलचित्र उद्योगलाई पनि प्रभावित पारेको भन्दै दैनिक ज्यालामदुरी बन्द हुँदा दैनिक मजदुरी गर्नेलाई समस्या भएको जितु बताउँछन् । तर पनि नागरिककै स्वास्थ्यका लागि लकडाउन भएकाले त्यसलाई पालना गर्नुको अर्को विकल्प छैन ।
कोरोना नियन्त्रण कोषमा ठूलो रकम जम्मा भइसक्यो । लाखौं जनताको चुलो बल्न छोडिसक्यो । तर कोषमा जम्मा भएको मोटो रकम कसरी वितरण गर्ने सरकारसँग बलियो कार्ययोजना छैन । अभावमा जुधिरहेका व्यक्तिसम्म राहत पुग्छ ? जितु शंका व्यक्त गर्छन् । यो शंका गर्ने ठाउँ सरकारले नै दिएको हो ।
विश्वभर महामारी फैलिएको छ । नेपाल पनि त्यसबाट अछुतो छैन । सीमित स्रोत–साधन भएको हाम्रोजस्तो कमजोर देशले उपलब्ध न्यून स्रोत–साधनलाई अधिकतम प्रयोग गर्ने बलियो कार्ययोजना आजको आवश्यकता हो । तर के सरकारसँग नागरिकले अपेक्षा गरेजस्तो अब्बल कार्ययोजना छ ?
देशमा तत्काल स्वास्थ्य सामग्री चाहिएको छ । अन्यथा संक्रमितको उपचारमा स्वास्थ्यकर्मी खटिन सक्ने अवस्था छैन । तर तिनमा पनि गिद्धे दृष्टि लागेको समाचार आएपछि जितु छक्क त परेनन् । किनकि यो घटना पहिलो होइन । तर वाक्क लाग्यो । “होला मलाई व्यङ्ग्य गर्ने बलियो विषय भेटेँ होला, तर म चाहन्छु, यस्ता विषय व्यङ्ग्यका लागि आइनलागुन्,” उनले सुनाए ।
० ० ०
गैरसरकारी संस्थाले उनलाई भने, ‘क्वारेन्टाइनमा बसेकाहरूमा आवश्यकताभन्दा धेरै त्रास छ । क्वारेन्टाइनबाट भाग्ने अवस्था आयो, लौ न व्यक्ति स्वयं र उसको परिवार र समाजका लागि हो क्वारेन्टाइन भन्ने सन्देश दिनुपर्यो ।’
नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र विष्टले फोन गरेर भने, “लौन क्वारेन्टाइनबाट भाग्ने अवस्था आयो । नेपाल बन्द जस्तो ५ बजेपछि हुरुरु जनता बाहिर निस्किन लागे । सामाजिक सन्देश दिने चेतनामूलक भिडियो बनाउनुपर्यो ।”
दीपाश्री निरौला, केदार घिमिरे र उनले भिडियो बनाए । जुन अहिले टेलिभिजनबाट प्रशारण पनि भइरहेको छ ।
जितुले स्वस्फूर्त रूपमा जति काम गरे, जति आम जनतालाई चेतनामूलक सन्देश दिए आफ्नो दायित्व सम्झिएर अरूले पनि गरे ।
तर, जितुलाई आजसम्म स्वास्थ्य मन्त्रालयले सामाजिक सन्देश प्रवाहका लागि केही काम गरिदिनुपर्यो भनेको छैन । जसलाई सामाजिक सञ्जालमा धेरै खोजिन्छ । जसलाई सुनिन्छ र जसलाई आम जनताले विश्वास गर्छन्, त्यस्ता व्यक्ति चाहे कलाकार हुन् अथवा सामाजिक अभियान्ता उनीहरूलाई सरकारले चेतना प्रवाह गर्न सहयोग लिन सक्नु पर्नेमा चुकेको जितु बताउँछन् ।
सरकारले कलाकारलाई कसरी हेर्छ भन्ने यो लकडाउनमा प्रस्ट भएको उनी बताउँछन् । यसमा सरकार मात्रै होइन कलाकार पनि उत्तिकै जिम्मेवार रहेको जितु स्वीकार्छन् ।
“हामी कलाकार नेता र सचिवको पछाडि लाग्छौं । नेतासँग सेल्फी खिचेका तस्बिर कति कलाकारले फेसबुकमा राखेका छन् । त्यसको उद्देश्य के हो,” जितु प्रश्न गर्छन्, “कतै सरकारी नियुक्ति पाइन्छ कि भनेर त हो । हाम्रा यस्ता व्यवहारले पनि हामी हाम्रै महत्त्व घटाइरहेका छौं ।”