के तिमी त्यहाँ हुनेछौ ?
के तिमी त्यहाँ हुनेछौ ? मेरो उदास दिल कतै रोइरहेछ,
ए मेरो प्रेम, के तिमीसँग बसेर मनाउन पाउने छु
म तिम्रो जितको उत्सव र गर्न पाउँछु त्यसलाई साझा,
कुमारी दुलहीजस्ती तिम्रो खुसीको ?
अथवा फेरि कुनै अर्कै मृगनयनीले छल्काउने छिन्
तिमीसँग बसेर खुसीको घडा ?
र, भिज्नेछिन् तिमीसँगै ती
तिम्रो खुसीको बर्सात्मा ?
तर यदि मैले प्रेम गरेको छु भने म किन जल्नु,
ईष्र्याको यो आगोमा ?
म पनि भिज्नेछु र मनाउने छु उत्सव
तिम्रा खुसीहरुको,
भिज्नेछ मेरो दिल पनि तिमीसँगै,
र तृप्त हुनेछ तिमीलाई सन्तुष्ट देखेर,
पाउने छ आफ्नो तृप्ति, पाउने छ आफ्नो मुक्ति,
तिम्रो नै सन्तुष्टिमा !
० ० ०
मृत्युभन्दा पहिला मृतक
उफ् ! परिवर्तन र एक्लोपन,
कति बदलिएको, कत्ति एक्लोपन !
सुख्खा र कठोर मुस्कान तथा निर्जन एक्लो आँखासँग
फेरिएको, तर पनि उही,
सबथोक परिचितसँग,
केही कम परिचितसँग,
यो जीवनको गोधूलिको समयको प्रतिज्ञा थियो !
हामी अतीतको साँचोमा कतै अड्कँदै बढिरह्यौं,
जीवनभरिको झुटलाई जडताको छायाँ बनाइरह्यौं,
हामीले आउँदै गरेका वर्षमा
राम्रा दिनहरुको कामना गरिरह्यौं,
तर त्यो हुन पुग्यो एकादेशको कथाजस्तै,
समयसँगै त्यो आशाको बञ्जर जमिन बन्दै गयो,
गुमेको वर्तमान र हाम्रो आउने भोलि,
सबथोक गुमेको छ
हातबाट रेखाहरुजस्तै फुत्किरकेको छ,
यत्ति धेरै गुमेको छ कि,
जबसम्म मृत्युले बन्द गरेन खुल्ला ढोकालाई,
आरम्भिक झङ्कारदेखि सदाबहार झङ्कारसम्म,
यत्ति निर्जन र यति धेरै गुमेको छ सधैंका निम्ति...
सधैंका निम्ति...
(क्रिस्टिना रोसेट्टी बेलायती कवि हुन् । उनको जन्म सन् १८३० तथा निधन १८९४ मा भयो । यिनका ‘गोब्लिन मार्केट एन्ड अदर पोएम्स’, ‘द प्रिन्सेस प्रोग्रेस एन्ड अदर पोएम्स’लगायत कवितासङ्ग्रह चर्चित छन् ।)