अमेरिका । न्यूयोर्कमा बस्दै आएका नेपाली शम्भु मोक्तान कोरोना संक्रमणको उपचारपछि अस्पतालबाट फर्किएका छन् ।
आफू कोरोना (कोभिड १९) संक्रमित भएको खबर पनि मोक्तानले सामाजिक सञ्जालमार्फत आफ्ना साथीभाइ तथा समूदायलाई जानकारी दिएका थिए । न्यूयोर्कमा उनी अनुभवि भिडियोग्राफरको रुपमा परिचित छन् । जनचेतनाकै लागि गोपनीयताको त्यो पर्खालबाट मोक्तान एक कदम बाहिर निक्लिएका थिए ।
मंगलबार अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीले मिडिया र नेपाली पेशाकर्मीहरुका बीच एउटा अनलाइन कन्फरेन्सको आयोजना गरेका थिए । र, कोरोना भाइरस (कोभिड १९)को मुखबाट उम्किएर आएका मोक्तानलाई विशेष अतिथि बनाइएको थियो उक्त अनलाइन सभामा ।
प्रस्तुत छ, कोरोना संक्रमणको उपचारपछि फिर्ता भएका मोक्तानले राखेका धारणा
लक्षण–
यदि नेपाली समुदायमा कसैलाई पनि कोरोना लागिसकेको छैन र घरमै हुनुहुन्छ भने आफ्नो लक्षणहरुको पहिला ख्याल गरौँ । हुन त आफ्नो शरीरको आफ्नै किसिमको सिस्टम हुँदोरहेछ । ममा जति पनि लक्षण देखियो ति सुन्नमा आएको लक्षणसँग मेल खाँदैनथ्यो ।
पूरै शरीर दुखेको थियो । त्यसबेला टाइनलोल पेनकिलर खाँदै हप्तादिन जति बिताएँ । तर नौ दिन बिताइसकेपछि स्वासप्रश्वासमा समस्या आउन थाल्यो । त्यसपछि मात्रै म अस्पताल गएको हुँ । त्यसकारण जे जति ‘सेल्फ क्वारेन्टाइन’ गरेर हाम्रा नेपाली दाजुभाइ दिदीबहिनी बसिरहनुभएको छ रुघा खोकि लाग्यो, कुनै किसिमको जिउ दुख्यो, नाकबाट सिँगान बग्यो भन्दैमा कोरोना लाग्यो होला भनेर नआत्तिनुहोला ।
जब श्वासप्रश्वासमा समस्या आउन थाल्यो भने चाहिँ ढिलो नगर्नुहोला । जतिसक्दो चाँडो अस्पताल जानुभएको राम्रो । अस्पतालले सुरुमै सोधेको थियो कि परिवारका सदस्यहरु कोही बिरामी छन् कि छैनन् भनेर । परिवारका सदस्यहरु कोही पनि बिरामी नभएको कारणले गर्दा उनीहरुलाई टेस्ट गर्नुपर्छ भनेर कुरा उठाएन ।
अस्पतालको अनुभव
जब म इमर्जेन्सीमा गएँ । तब सुरुदेखि नै कोभिड १९ को उपचार प्रक्रिया सुरु गर्दैछौं भनेर मलाइ डाक्टरले भने । पहिलो दिनमै मलाई अरुलाई भन्दा छुट्टै रुममा राखेर पहिला टेस्ट गर्ने भनियो । सायद त्यो कोभिडको टेस्ट होला । नाकमा कपास छिराएर जतिसक्दो भित्र हालेर त्यो पार्टलाई भाँचेर डिब्बामा लिएर गए । एक्सरे गरे अनि रगत जाँच गरे ।
त्यसपछि उनीहरुले दुईदिनको समय दिन्छौं घर पनि जान सक्छौ हामी फोन गर्छौं भनेका थिए । तर त्यसो नगरेर केही घण्टापछि फेरि डाक्टर आएर तिमीलाई निमोनिया भएको कारणले हामी घर पठाउँदैनौँ भने । हामी दुईदिनसम्म यहीँ राख्छौँ भनेर डाक्टरहरुले भने । सबै रिपोर्ट आइसकेपछि त्यहीअनुसारको उपचार प्रक्रिया सुरु गर्नुपर्छ भनेर उनीहरुले भने ।
त्यहीदिन बेलुका मलाई श्वासप्रश्वासमा समस्या भएको देखियो र अक्सिजन दिएर फरक रुममा फेरि सारियो । सिङ्गल बेडरुम र अट्याच बाथरुम भएको बेड रुममा मलाइ राखियो । त्यहाँ लगेपछि साधारण पेनकिलर भाइटामिन सी दिन सुरु गरेको थियो मलाई ।
दुईदिन बितेपछि डाक्टरले मलाई आएर भेटे । डाक्टरले तिमीलाई कोरोना पोजेटिभ भेटियो अब हामी उपचार प्रक्रिया सुरु गर्छौं भने ।
कस्तो खालको उपचार हो त्यो त मलाइ थाहा भएन । तर आईभीमार्फत अधिकांश भाइटामिन सी दिइयो । जिउ दुख्यो भने पेनकिलर, खोकि चल्यो भने कफको मेडिसिन दिने गर्थे । हरेक दिन बिहान ब्लड तानेर लैजान्थे । बाँकी कुरा आवश्यक परेअनुसार गर्दै जान्थे ।
त्यो अस्पतालमा पीपीईको समस्या थिएन । प्रत्येकपल्ट मलाई भेट्न आउँदा डाक्टर तथा नर्सहरु पीपीई पूर्णरुपमा लगाएर मात्रै आउँथे ।
मलाई दिनुपर्ने सेवा दिइसकेपछि आफनो पीपीई त्यहीँ नजिकै गार्बेजमा फालेर आफ्नो सामान्य कपडा लगाएर बाहिरिन्थे ।
सुधारको संकेत र डिस्चार्ज
यस्तै क्रममा पाँचौं दिन पुगेपछि डाक्टरले आएर मलाइ भेटे । उनले भने, “अब तिमी खतरामुक्त भयौ । रिपोर्ट, तिम्रो ब्लड ग्रुप, तिम्रो अक्सिजन, फिभरको तापक्रम हरेक चिजलाई हेर्दा तिमी यहाँ बस्नुभन्दा घरमानै बसेको राम्रो हुन्छ । त्यसकारण तिमी डिस्चार्ज हुनुपर्छ ।”
नभन्दै छैठौं दिन बितेपछि गत आइतबार बिहानैदेखि आएर डाक्टरले त्यसैगरी सम्झाए । ल अब तिमी घरमा गएर आराम गर्न सक्छौ । तिमीलाई कुनै समस्या छैन भनेर भने । मैले पनि त्यही मौकामा प्रश्न राखेँ, “म ठिक छ आज डिस्चार्ज त हौँला तर मेरो घरमा परिवारका सदस्यहरु सेल्फ क्वारेन्टाइनमा छन् । म गएपछि मबाट उनीहरुलाई कत्तिको खतरा हुन्छ या मैले के गर्नुपर्ने हो बताइदिनुस् ।”
त्यसपछि डाक्टरले घर जानुभन्दा पहिले नर्सले सबै कुरा बताउने जानकारी गराए । यति भन्दै डाक्टर बधाई भन्दै बाहिरिए । एकछिनपछि नर्स आए । पेपरवर्क ल्याएर एकपेज आफैंले राखेर एकपेज मलाई दिएर पढेर सुनाइन् । अनि डाक्टरले भनेजस्तै १४ दिनसम्म घरमै बस्नू, मास्क लगाएर मात्रै बस्नू, खोक्दा मुख छोपेर खोक्नू, सेपरेट बाथरुम चलाउनू, सेपरेट कटलरी चलाउनू, म्याक्सिमम सास फेर्न ध्यान दिनू । १४ दिनभित्रमा तिमी त राम्रो हुन्छौ हुन्छौ तिम्रो घरपरिवारमा कसैलाई केही भएन भने पूरा परिवार सुरक्षित रह्यौँ भन्ने महसूस गर्नू भनेर नर्सले मलाई सम्झाइन् ।
तिमी आफैँ जान सक्छौकि तलसम्म छोडिदिनुपर्छ भनेर फेरि सोधियो । मैले म आफैं जान सक्छु भनेर भनेँ । मैले आफ्नो इक्विपमेन्ट र मेरा सामानहरु आफैँले बोकेर छोरालाई बाहिर पिकअपको लागि बोलाइसकेको थिएँ । तलसम्म हिँडेर गाडी चढेर म आफ्नो घर आइपुगेँ । मैले आफ्नो परिवारले दिएको घरायसी उपचार लिँदै आफ्नो घरमा बसिरहेको छु । र, हरेक दिन सुधार भएको महसुस पनि गरिरहेको छु ।
हामीले सुरुमै राम्रो अस्पताल छान्ने निर्णय गर्यौं किनभने ट्राफिकको हिसाबले पनि हो ।
हुन त अस्पतालहरु सबै रामै्र छन् तर ‘लङ आइल्यान्ड जुइस अस्पताल’ मेरो घर नजिकै पर्छ । त्यो अस्पतालमा मैले कुनै कमजोरी देखिनँ । भनेको समयमा नर्स स्टाफहरु पनि आइदिने र डाक्टरहरु लगातार आएर रेस्पोन्स गरिदिने । उनीहरु आउँदा पूर्णरुपमा पीपीई लगाएर आउँथे ।
खानापिना ब्रेकफास्ट, लन्च डिनर तातोपानी हरेक कुरा समयमै उपलब्ध गराउनुहुन्थ्यो ।
जनचेतनाको लागि गोप्य राखिनँ
कोरोना भएर अस्पताल बसेको मान्छेले शतप्रतिशत बाँच्छु भनेर आशा चाहिँ गरेको नहुँदो रहेछ । मलाई ३० देखि ४० प्रतिशत जति चाहिँ मर्छुनै जस्तो लागेको थियो । यो कुरालाई गोप्य राख्यो भने मेरो समाज मेरो देश मेरो समुदाय परिवार कसैलाई पनि थाहा हुँदैन ।
यो कुरालाई मैले गोप्य राखिनँ भने सारा नेपाली दाजुभाइ समुदाय परिवार सबैले सहयोग गर्नुहुनेछ भन्ने हिसाबले नै मैले यो कुरालाई गोप्य नराखेको हुँ ।
अन्तमा, सारा नेपाली दाजुभाइ दिदीबहिनीहरु घरघरमा बस्नुभएको छ ।
कोरोनाको सिम्टम चाहिँ मार्केटमा आएअनुसार कसैसँग पनि मिल्दैन । त्यसकारण साधारण बिरामी भयो भन्दैमा नआत्तिइहाल्नुस् किन भने यदि अरु बिरामीको कारणले अस्पताल गइयो भने अस्पताल एकदमै ओभरफ्लो भएको छ । त्यहाँको अवस्थाबाट मनोबल खस्किन सक्छ । त्यसकारण विचार गरेर मात्रै अस्पताल जानुहोला ।
श्वासप्रश्वासमा समस्या आयो भने म चाहिं शतप्रतिशत कोरोना नै हो भनेर भन्न सक्छु किनभने अहिलेसम्म जति पनि यो समस्याबाट गुज्रिनुभएको छ । अस्पताल जानुभएको उहाँलाई सोध्यो भने पनि श्वासप्रश्वासमा समस्या नै भन्छन् । त्यसकारण धैर्य भएर बस्नुहोला । आफ्नो घरायसी उपचार गर्दै बस्नुहोला । अन्तिममा केही सिप लागेन भने मात्रै अस्पताल जानुहोला ।