site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
उच्च विन्दुमा डढेलो, विकराल वायु प्रदूषण
फाइल तस्बिर ।

काठमाडौं । ०८० चैतयता देशका विभिन्न स्थानमा वायु प्रदूषण उच्च छ । तराई क्षेत्र र उपत्यकाको आकाश नखुलेको झन्डै एक महिना भयो ।

प्रदूषणसँगै तापक्रम वृद्धि हुनुको असर जनजीवनमा देखिन थालिइसकेको छ । बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी र विशेष अवस्थाका नागरिकलाई तातो हावा र वायु प्रदूषणको असरबाट जोगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपिल गरिसकेको छ ।

प्रदूषित बने पर्यटकीय स्थान
काठमाडौं प्रायः अन्तर्राष्ट्रिय सूचकांकहरूमा विश्वकै बढी प्रदूषित सहरमा सूचीकृत भइरहन्छ । हाल भने अरू ठूला र पर्यटकीय सहरहरूको वायु समेत अति हानिकारक बनेको छ ।

बिहीबार (हिजो) साँझ ७ः४५ बजे काठमाडौंका विभिन्न स्थानमा वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १५४ देखि २०५ सम्म रहेको वातावरण विभागले जनाएको छ ।

सो समयमा नेपालको सबैभन्दा प्रदूषित सहर भरतपुरको वायु घातक ३९३ एक्यूआई थियो । पोखराको वायु एक्यूआई १७३ थियो । पहाडी जिल्ला धनकुटामा समेत १५४ एक्यूआई पुगेको सूचकांकले देखाएको छ ।

aqi-1714106039.PNG
गएको अप्रिल ९ मा देशका अधिकांश स्थानको आकाश तुवाँलोले ढाकेको थियो । चितवन आसपासको क्षेत्र अत्यधिक बाक्लो धुवाँलेले ढाकिएको थियो । धुवाँको तह माथिमाथि हुँदै हिमालसम्म पुगेको स्याटेलाइट इमेजमा देखिएको थियो ।

air-pollution--1714105907.jpg

अप्रिल ९ को स्याटेलाइट तस्बिर । कालो भागले अत्याधिक धुवाँ उत्सर्जन भइरहेकको क्षेत्रलाई संकेत गर्छ ।


देशका अधिकांश स्थानमा हाल वायु प्रदूषणको प्रमुख कारण आगलागी र डढेलोका घटना नै भएको विज्ञको ठहर छ । काठमाडौंको वायु प्रदूषणको स्रोत भने सवारीसाधनको धुवाँ, निर्माण सामग्रीबाट निस्कने धुवाँधुलो समेत रहेको वातावरण विभागका वातावरण निरीक्षक गोविन्दप्रसाद लामिछाने बताउँछन् ।

डढेलो उच्च विन्दुमा, अझै एक महिना अवस्था संवेदनशील 
वैशाख दोस्रो साता देशका विभिन्न स्थानमा आगलागीका घटना भएका छन् । विशेष गरी तराई र चुरे क्षेत्रका वनहरूमा भीषण डढेलो लागिरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका उपसचिव एवं वन डढेलोविज्ञ सुन्दरप्रसाद शर्मा वैशाख दोस्रो साता नेपालमा डढेलो उच्च विन्दुमा पुगेको बताउँछन् । उनका अनुसार, बिहीबार (हिजो) देशका ४४० स्थानमा आगलागी तथा डढेलोका घटना भए । बुधबार ४४७ स्थानमा आगलागी तथा डढेलोका घटना रेकर्ड गरिएको थियो । डढेलोले यतिखेर ६० जिल्ला अतिप्रभावित छ ।

प्राधिकरणको तथ्यांकानुसार, ०८० वैशाखदेखि चैत अन्तिमसम्म आगलागी र डढेलोमा परी ११५ जनाको मृत्यु भएको थियो । ०८१ सालमा वैशाख १२ गतेसम्म आगलागी र डढेलोमा परी सातजनाको मृत्यु भएको छ ।

डढेलोकै कारण देशका अधिकांश स्थानमा वायु प्रदूषण उच्च भएको र तत्काल वर्षा नभए अवस्था जटिल हुने शर्मा बताउँछन् । उनका अनुसार, यस्तै अवस्था भए अझै एक महिना डढेलोको उच्च जोखिम रहन्छ ।

यसअघिका वर्षहरूमा पनि यस्तै प्रदूषण थियो ? 
पीएम २.५ ले हावामा खराब कणहरूको मात्रालाई जनाउँछ । सरकारले पीएम २.५ को २४ घण्टाका निम्ति तोकेको मापदण्ड प्रतिघनमिटर ४० माइक्रोग्रामभन्दा कम हुनुपर्छ । तर, यो मात्रा एकाध दिनबाहेक अधिकांश महिनामा मापदण्डभन्दा धेरै गुणा बढी हुने गरेको विभागको तथ्यांक छ । विभागको तथ्यांकानुसार, सन् २०२२ मार्चमा पीएम २.५ को औसत अतिउच्च ७१.८ माइक्रोग्राम प्रतिघनमिटर भएको थियो ।

यस्तै, सो वर्षको जनवरी, फेब्रुअरी र अप्रिलमा ६० भन्दा माथि पुगेको थियो । यो वर्ष जनवरीमा यो मात्रा ८५, फेब्रुअरीमा ८४.९, मार्चमा ६६.३ र अप्रिल १५ सम्म ८५.८ रहेको वातावरण विभागको तथ्यांक छ ।

तर, समग्र वायु प्रदूषणको मात्रा सन् २०२१ र २०२२ र २०२३ तीनै वर्षमा अप्रिल अन्तिम सातापछि घट्दो क्रममा रहेको विभागको तथ्यांक छ । यो वर्ष भने अप्रिल अन्तिम साता पनि वायु प्रदूषण उच्च छ ।

प्रदूषणको कारण 
अहिलेको प्रदूषणको प्रत्यक्ष सम्बन्ध डढेलोसँग नै रहेको विज्ञको ठहर छ । डढेलो नियन्त्रण वा ठूलो वर्षा नभएसम्म हालको प्रदूषण घट्ने सम्भावना नरहेको वातावरण निरीक्षक लामिछाने बताउँछन् ।

यो वर्षको हिउँदे वर्षा अत्यन्तै कम हुनु र प्रिमनसुनमा पनि उल्लेख्य पानी नपर्नुले डढेलोको जोखिम बढेको उनी सुनाउँछन् । ठूलो हावाहुरीले पनि प्रदूषण केही कम गर्ने उनको भनाइ छ ।

होला त वर्षा ?
देशका विभिन्न स्थानको तापक्रम बढिरहेको र त्यसमा तत्काल गिरावट आउने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कुनै नयाँ मौसमी प्रणाली भित्रिएर तत्कालै वर्षा हुने सम्भावना समेत नरहेको महाशाखाका मौसमविद् रोजन लामिछाने बताउँछन् । देशका अधिकांश स्थानमा आउँदा केही दिन वर्षाको सम्भावना नरहेको उनले जानकारी दिए ।

तापक्रममा उल्लेख्य गिरावट आउने सम्भावना पनि तत्काल नरहेको उनले बताए । पानी नपरेकाले तापक्रम घट्ने सम्भावना नरहेको लामिछाने बताउँछन् ।

महाशाखाले यसअघि शुक्रबार (आज)सम्म तराई क्षेत्रमा तातो लहर हुने भन्दै सतर्कता आउन आग्रह गरेको थियो ।

स्वास्थ्यमा जटिलता निम्त्याउँदै वायु प्रदूषण 
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) कुनै पनि स्थानको वायु स्वस्थकर हुन एक्यूआई शून्यदेखि ५० सम्मको हुनुपर्ने मापदण्ड तोकेको छ । ५१ देखि १०० सम्मको भए होसियार रहनुपर्ने र १०१ देखि १५० एक्यूआईसम्म विशेष अवस्थाका व्यक्तिका निम्ति हानिकारक हुने जनाएको छ ।

यस्तै, १५१ देखि २०० सम्म एक्यूआई पुगेमा सबैका लागि अस्वस्थकर, २०१ देखि ३०० सम्म धेरै अस्वस्थकर र ३०१ देखि ५०० सम्मको एक्यूआई घातक हुने जनाएको छ ।

नेपालमा वायु प्रदूषण सम्बन्धित रोगहरूबाट बर्सेनि ४२ हजार १०० नेपालीको मृत्यु भइरहेको वातावरण विभागको तथ्यांक छ । पीएम २.५ को मात्रा बढी भएको हावा मानिसको श्वासप्रश्वासबाट रगत हुँदै धेरै संवेदनशील अंगसम्म पुग्ने भएकाले घातक हुने चिकित्सक बताउँछन् ।

श्वासप्रश्वाससम्बन्धी रोगको ६६ प्रतिशत, मुटुरोगको ३४, स्ट्रोकको ३७, फोक्सोसम्बन्धी ४७ र नजवात शिशुको मृत्युको २२ प्रतिशत कारण वायु प्रदूषण रहेको विभागको अध्ययनले देखाएको छ ।

वायु प्रदूषणका कारण आमनेपालीले ४.६ वर्ष र काठमाडौंवासीले ३.५ वर्ष आयु गुमाइरहेको यूएसएडको तथ्यांक छ ।

हालको वायु प्रदूषणले आँखा पाक्ने, पोल्ने, संक्रमणजस्ता समस्या निम्त्याइरहेको नेत्ररोग विशेषज्ञ डा. कौशल पोखरेल बताउँछन् । उनका अनुसार, लामो समयसम्म खराब कणहरूकोे सम्पर्कमा रहँदा आँखामा हुने विभिन्न प्राकृतिक तत्त्व तथा आँसु सुक्ने हुन्छ । त्यसले एलर्जी र सुक्खा आँखाजस्ता समस्या देखिने गरेको छ ।

छालामा एलर्जी, सुक्खापन, विभिन्न दागधब्बा, संक्रमणजस्ता समस्या पनि निम्तिइरहेको चिकित्सक बताउँछन् ।

वातावरण विभागका अनुसार, डढेलो होस् वा सवारीसाधनबाट निस्कने धुवाँ दुवैमा कार्बनमनोअक्साइड, नाइट्रोजन डाइअक्साइडजस्ता तत्त्व हुन्छ । त्यो स्वास्थ्यका निम्ति घातक हुन्छ ।

घरबाहिर निस्कँदा मास्कको प्रयोग गर्नाले मात्रले पनि पीएम २.५ को असरबाट धेरै हदसम्म बच्न सकिने अध्ययनले देखाएको छ । यूएसएडका अनुसार, सामान्य कपडाको मास्कले पीएम २.५ का कणहरूलाई शरीरमा प्रवेश गर्नबाट ६० प्रतिशतसम्म जोगाउँछ । सर्जिकल मास्कले ९० र एन ९५ ले ९५ प्रतिशतसम्म सुरक्षा गर्ने यूएसएड क्लिन एयरले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १०:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro