मजदुरको गुनासो - कोरोनालेभन्दा पहिले भोकले मार्ने भो 

मसँग भएको अलिअलि पैसा पनि सकियो । खानेकुरा किन्‍ने पैसा छैन । पसलहरु दुई दिनअघि नै बन्द भइसके । मेरो परिवारलाई कसरी पाल्‍ने भनेर निकै डराएको छु । 

मजदुरको गुनासो - कोरोनालेभन्दा पहिले भोकले मार्ने भो 

नयाँ दिल्ली । नोभेल कोरोना भाइरसको संक्रमण फैलिन नदिन भारतमा बुधबारदेखि लकडाउन घोषणा गरिएको छ । मानिसहरुलाई घरबाहिर ननिस्किन आदेश जारी गरिएको छ । तर, दैनिक मजदुरी गरेर साँझबिहानको जोहो गर्नेहरु भने निकै समस्यामा परेका छन् । 

नोयडास्थित श्रमिक चोकमा सयौं मजदुरहरु दैनिक मजदुरीको खोजीमा घुमिरहेका हुन्छन् । दिल्लीको यस उपनगरमा मजदुर खोज्दै बिलडरहरु आउने भएकोले यसलाई मजदुरहरुको हटस्पट पनि मानिन्छ । तर, आइतबार यो क्षेत्र सुनसान देखिन्थ्यो ।

यस व्यस्त क्षेत्रमा चराको चिरबिरको आवाज सुनिन्छ होला भनेर कसैले कल्पना पनि गरेका थिएनन् होला, तर सुनसान सडक छेउका रुखमा भएका चराहरुको चिरबिर मात्र सुनिन्थ्यो । तर, सडकको एक किनारमा मानिसहरुको सानो समूह देखिए । 

उनीहरुको केही दूरीमा रहेर उनीहरुलाई के लकडाउनको पालना गरिरहेका छन् ? भनेर बीबीसीका पत्रकारले सोधेको प्रश्नमा समूहका एकजना उत्तरप्रदेशको बन्डा जिल्लाबाट मजदुरीका लागि दिल्ली पुगेका रमेश कुमारले भने, "अहिले हामीलाई कामका लागि खोज्‍न कोही आउँदैन । तर, केही काम पाइहालिन्छ कि भनेर हामी यहाँ बसेका छौं ।" 

"मैले दैनिक ६ सय रुपैयाँ कमाउँछु । त्यसबाट मैले पाँचजनाको परिवारलाई पाल्‍नुपर्छ । अबको केहीदिनमा हाम्रो खाना सकिन्छ । मलाई कोरोना भाइरसको जोखिमको बारेमा थाहा छ । तर, मेरो छोराछोरी भोकै बसेको हेर्न सक्दिन," उनले भने । 

भारतका लाखौं दैनिक मजदुरी गरेर पेट पाल्‍नेहरुको अवस्था रमेशकुमारको जस्तै छ । मंगलबार साँझ प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबारदेखि तीन साताको लागि पूर्ण लकडाउनको घोषणा गरे । तर, केही दिनमा यि मजदुरहरुको खाना सकिन्छ ।

भारतमा हाल पाँच सयभन्दा बढी संक्रमित भएका छन् भने १० जनाको मृत्यु भएको छ । केही राज्य सरकारहरु मुलुकको उत्तरतिर रहेको उत्तरप्रदेश, दक्षिणको केरला र संघीय राजधानी दिल्लीलगायतले दैनिक मजदुरी गरेर पेट पाल्‍नेहरुलाई 'डाइरेक्ट क्यास ट्रान्सफर'  योजना ल्याएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले पनि दैनिक मजदुरी गर्नेहरुलाई लकडाउनले प्रभावित गर्ने भएकोले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

तर, यसका लागि केही चुनौतीहरु छन् । भारतको करिब ९० प्रतिशत काम गर्नेसक्ने जनशक्ति अनौपचारिक सेक्टरमा कार्यरत रहेको आईएलओले जनाएको छ । अधिकांशहरु सेक्युरेटी गार्ड, क्लिनर्स, रिक्साचालक, स्ट्रिट भेन्डोर, फोहोर संकलन गर्ने र घरभित्रको काममा मजदुरी गर्छन् । 

अधिकांशलाई पेन्सनको कुनै सुविधा छैन, बिरामी हुँदा बिदा छैन, काममा नजाँदा ज्याला आउँदैन न त उनीहरुको बिमाको सुविधा नै छ । धेरैको बैंक खाता छैन । आफ्नो दैनिकी टार्न नगद कारोबार गर्छन् । भारतमा अधिकांश एक राज्यबाट अर्को राज्यमा मजदुरीका लागि जानेहरुको संख्या बढी छ ।  

उत्तरप्रदेशका पूर्वमुख्यमन्त्री अखिलेश यादवले यस्ता किसिमका थुप्रै चुनौतीहरु रहेक उल्लेख गर्दै भने, "अहिलेकोजस्तो समस्या यसअघिका कुनै सरकारले सामना गर्नु परेको थिएन ।" 

"दैनिक अवस्थाहरु दयनीय बन्दै गइरहेकोले हरेक सरकारले यस्ता समस्याको समाधानमा विशेष ध्यान दिनुपर्छ । हामीले ठूलो सामुदायिक भान्छा चलाउन सक्छौं र मानिसहरुलाई आवश्यकता भएकाहरुलाई खाना पुर्‍याइदिन सक्छौं । हामीले उनीहरुलाई नगद, चामल र गहुँ उपलब्ध गरानुपर्छ," उनले भने ।  

पूर्वमुख्यमन्त्री यादवले भारतको सबैभन्दा बढी जनसंख्या भएको उत्तरप्रदेशको बारेमा चिन्ता व्यक्त गरे । उत्तरप्रदेशमा करिब २२ करोड २० लाख मानिसहरुबसोबास गर्छन । 

"हामीले मानिसहरु संकटका समयमा गाउँतिर जाने भएकोले एक ठाउँबाट अर्को ठाउँमा जान रोक्न‍ुपर्छ । जसले समुदायिक संक्रमणबाट जोगाउँछ । र, दैनिक मजदुरी गर्नेहरुको खानाको सुरक्षा गर्नु अतिआवश्यक छ," उनले भने ।

उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले विभिन्‍न राज्यबाट आएका मानिसहरुको खोजी कार्य सुरु भएको र आवश्यक परेका हरेक नागरिकलाई सरकारले सहयोग गर्ने बताएका छन् । भारतीय रेलसेवाले ३१ मार्च सम्म सम्पूर्ण सेवाहरु बन्द गरेका छन् । 

२४ मार्चमा उत्तरप्रदेशमा लकडाउन घोषणा गर्नुभन्दा एक दिनअघि २३ मार्चमा सयौं हजार मानिसहरु आफ्नो गन्तव्यमा जान रेलको पर्खाइमा थिए । यसरी मानिसहरुको आवतजावत बढ्दा सामदायिक संक्रमण बढ्ने चुनौती रहेको विज्ञहरुले बताएका छन् । 

अलाहावादमा रिक्साचालको रुपमा मजदुरी गर्ने कृष्णलालले भने, "चार दिनदेखि एक रुपैयाँ कमाउन सकेको छैन । मेरो परिवारलाई खुवाउन मैले कमाउन अति आवश्यक छ । सरकारले हामीलाई पैसा दिन्छ भन्‍ने सुनेको छु । तर, त्यो पैसा कहिले र कसरी पाइन्छ भन्‍ने मलाई थाहा छैन ।" 

उनका साथी अलि हसन क्लिनरको रुपमा काम गर्छन । उनले भने, "मसँग बचेको अलिअलि पैसा पनि सकियो । अब खानेकुरा किन्‍ने पैसा पनि छैन । पसलहरु दुई दिनअघि नै बन्द भइसके । मेरो परिवारलाई कसरी पाल्‍ने भनेर निकै डराएको छु ।" 

दिल्लीमा जुस व्यवसाय सञ्‍चालन गरेका मोहमम्द साबिरले व्यवसायलाई थप बढाउने उद्देश्यले दुईजना कामदार थप गरेका थिए । तर, लकडाउन भएपछि उनको व्यवसाय चौपट भएको छ । 

उनले भने, "अब म उनीहरुलाई तलब दिन सक्दैन । मसँग पैसा छैन । मेरो परिवारले गाउँमा खेति किसानी गर्छ । तर, यसपटकको असिनाले खेतबालीमा पनि नोक्सान गरेको  छ ।"
 
"म अहिले निकै असहाय बनेको छु । मलाई डर छ कि कोरोना भाइरसको संक्रमणभन्दा पहिले भोकले मरिन्छ," उनले पीडा पोखे । 

देशभरका सबै सम्पदाहरु बन्द गरिएका छन् । यसले गर्दा पर्यटन क्षेत्रमा काम गर्ने हजारौं मानिसहरु पनि बेरोजगार भएका छन् । 

दिल्लीको इन्डिया गेटमा फोटोग्राफरको रुपका कार्यरत तेजपाल कश्यपले भने, "मैले व्यापारमा यस्तो किसिमको मन्दी लागेको अहिलेसम्म देखेको थिएन । पछिल्ला दुई साता निकै कष्टपूर्ण भएका छन् । दुई सातामा विरलै पर्यटकहरु देखिएका थिए । अहिले म आफ्नो घर फर्किने अवस्था पनि छैन । मैले काम गर्ने अवस्था पनि छैन । म यहाँ दिल्लीमा अड्किएको अवस्था छ । उत्तरप्रदेशस्थित मेरो परिवारको अवस्थाका बारेमा चिन्ता लागेको छ ।"

त्यसैगरी उवर र ओला सेवा चालक पनि चिन्तित बनेका छन् । दिल्लीमा ट्याक्सी चलाइरहेका जोगिन्दर चौधरीले भने, "सरकारले हामीलाई  केही राहत उपलब्ध गराउनुपर्छ ।" 

"मैले लकडाउनको महत्व बुझेको छु । कोरोना भाइरस निकै खतरापूर्ण छ र हामीले हाम्रो सुरक्षा आफैं गर्नुपर्छ । लकडाउन केही साता जारी रहने हो भने मैले मेरो परिवारलाई  कसरी पाल्‍ने भन्‍ने चिन्ता बढेको छ । 

आफ्नो नाम बताउन नचाहने एक जुता सिलाउने काम गर्ने व्यक्तिले भने, "वर्षौंदेखि मैले अलाहवाद रेलवे स्टेशनमा जुत्ता सलाउने र पोलिस गर्ने काम गर्दै आएको छु । तर, अहिले काम पाएको छैन ।" उनलाई मानिसहरु किन आउनजान बन्द भए भन्‍ने थाहा छैन ।

"के भइरहेको छ मलाई केही थाहा छैन । अहिले रेलवे स्टेशनतिर मानिसहरु आउन छाडेका छन् । मैले सुनेको केही कर्फ्यु लागेको छ रे, तर किन लगाइयो थाहा छैन," उनले भने । 

त्यही क्षेत्रमा विनोद प्रजापति पानीका बोतल बिक्री गर्छन् । उनले बीचमै कुरा काटेर भने, "मलाई सबै थाहा छ । अहिले यो कोरोना भाइरसले गर्दा हो । यो निकै खतरा छ । यसले पूरै विश्वसलाई संकटमा पारेको छ । धेरै मानिसहरुलाई घरबाहिर निस्किन दिइएको छैन ।"

"तर, हामीजस्ता मानिसहरुले सुरक्षित रहने कि भोकी भन्‍ने विकल्प छ । हामीले सुरक्षा रोज्‍ने कि भोक ?," उनले प्रश्‍न गरे । - बीबीसी 

प्रतिकृया दिनुहोस
ad