अर्थमन्त्रीको ‘षड्यन्त्र’ सिद्धान्त !

सातामा दुई चारपटक कुनै न कुनै षड्यन्त्र देखाएर जनतालाई तर्साउन सत्तारुढ दलका अध्यक्षहरू नै पर्याप्त छन् ।

 अर्थमन्त्रीको ‘षड्यन्त्र’ सिद्धान्त !

सबैले सधैँ आफू वा आफ्नो पार्टीविरुद्ध षड्यन्त्र गरिरहेको देख्ने कम्युनिस्टहरूको ‘शास्त्रीय रोग’ले खारिएका प्रशासक तथा अर्थविद् अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि छोएछ । नत्र, सरकारका गलत नीति र अवाञ्छित क्रियाकलापसमेतका कारण खस्केको अर्थतन्त्रलाई सुधार गर्ने उपाय खोज्नुको साटो उनले अर्थतन्त्रलाई बदनाम गर्न मानिसहरू परिचालित भएको आरोप लगाउने थिएनन् । उनैले प्रस्तुत गरेका आर्थिक सर्वेक्षण, नेपाल राष्ट्र बैंकका प्रतिवेदनलगायतका अभिलेखसमेतले अर्थतन्त्रको अवस्था खस्केको देखाएको छ । दुर्भाग्य, अर्थमन्त्री खतिवडाले भने संस्थागत र नीतिगत कमजोरी सच्याउनुको साटो आलोचकहरूलाई दोष दिएर उम्कन खोजेका छन् । खतिवडा अर्थमन्त्री हुँदाभन्दा अहिले अर्थमन्त्रीले अहिले सञ्चित कोषमा नगद घटेको छ, प्रत्यक्ष वैदेशिक लगानी कम भएको छ, शोधनान्तर घाटा बढेको छ भने विदेशी विनिमय सञ्चिति घटेको छ । यिनै र यस्तै परिसूचक देखाएर आलोचना गर्नेहरूलाई अर्थमन्त्रीले भने ‘अर्थतन्त्रलाई बदनाम गर्न परिचालित’ भनिदिए । अर्थात्, उनको दृष्टिमा नेपालको अर्थतन्त्रविरुद्ध षड्यन्त्र भइरहेको छ ।

कम्युनिस्ट पार्टीको परम्परागत राजनीतिबाट आएकाहरूले आलोचनालाई  षड्यन्त्र भन्दा खासै चिन्ता गर्नु वा चासो लिनु आवश्यक हुँदैन । सत्तारुढ दलका अध्यक्षहरू सातामा कम्तीमा पनि दुई चारपटक कुनै न कुनै षड्यन्त्र देखाएर जनतालाई तर्साउन खोज्छन् । सडकमा सरकारको विरोधमा नागरिकहरू स्वःस्फूर्तरूपमा उत्रँदा अरूको षड्यन्त्र वा बाहिरबाट परिचालित भन्नु कम्युनिस्टहरूको पुरानै र संसारभर दोहोरिएकै चालबाजी हो । तर, अर्थमन्त्री खतिवडा त नेपालको अर्थतन्त्रका ज्ञाता हुन् । सरकारी सेवामा लामो समय बिताएका खारिएका प्रशासक हुन् । त्यसैले खतिवडा अर्थमन्त्री नियुक्त हुँदा धेरैले अर्थतन्त्र सुरक्षित रहने अपेक्षा प्रकट गरेका थिए । दुर्भाग्य, कम्य‘निस्ट नेताहरू खतिवडाको संगतले सुध्रिएलान् कि भनेको त खतिवडा नै उनीहरूजस्तै नारावादी बन्न पुगेछन् । अर्थतन्त्रको जग खतिवडा मन्त्री भएपछि मात्र खस्केको हैन र सबै दोष उनलाई मात्र लाग्दैन । यसैले उनले उतर्सिएर आलोचकलाई अरू कम्युनिस्ट नेताहरूकै शैलीमा जाइलाग्नु जरुरी थिएन । त्यसो त, अर्थमन्त्री भएलगत्तै खतिवडाले अतिउत्साहमा जारी गरेको ‘श्वेतपत्र’ले नै उनी शास्त्रीय कम्युनिस्ट प्रचारवाजीकै अनुयायी रहेको देखाएको थियो । उनले अघिल्लो सरकारले अर्थतन्त्र ध्वस्तै बनाएको सन्देश दिनेगरी तथ्यांकहरू तोडमरोड गरेको खुलासा उतिबेलै भएको थियो । 

श्वेतपत्रको झुट अर्थतन्त्रकै लागि प्रत्युत्पादक हुनपुग्यो । यथार्थमा त्यसपछि नेपालको अर्थतन्त्रप्रति विश्वास जाग्नै सकेन । बाँकी उनका नेताहरूको संगत, छवि र शासनमा सत्ताका दलालहरूको प्रभावले पनि नेपालको अर्थतन्त्र र राज्यको साख गिराएको थियो । आर्थिक विश्वासको ‘ब्यारोमिटर’ मानिने सेयर बजार यथार्थमा खतिवडा अर्थमन्त्री भएदेखि नै उकालो लागेन । यी सबैको कारण खोज्ने गम्भीर प्रयास गर्नुको साटो उनले अपनाएको दोषरोपण र प्रचारवाजी कम्युनिस्ट कार्यकर्ताले पत्याए पनि अरूले विश्वास गर्दैनन् । यसरी उद्यमी व्यवसायी समुदायको सरकारमाथि विश्वास पनि बढ्दैन । देशभित्रैका व्यवसायीले नपत्याएको सरकारलाई पत्याएर विदेशीले पनि पत्याउँदैनन् भन्ने अर्थमन्त्री खतिवडाले पनि नबुझेको नहुनुपर्ने हो । अझै बेला छ । अर्थमन्त्री खतिवडालाई त सस्तो प्रचारवाजी गरेर कम्युनिस्ट नेता बन्ने मोह छाडेर यथार्थपरक दृष्टिकोण राखी अर्थतन्त्रलाई डुब्न नदिने उपाय खोज्न पो सुहाउँछ । आशा गरौँ, अर्थमन्त्री डा. युवराज खतिवडाले कम्युनिस्ट नेता भएर हैन खारिएको अर्थशास्त्रीका अवतारमा मन्त्रालय चलाउन रुचाउनेछन् । नेपालको र उनी स्वयंको पनि हित त्यसैमा हुनेछ ।
 

प्रतिकृया दिनुहोस
ad