नारायण ढकाल
दुस्वप्न—१
कहिलेकाहीँ मध्यरातमा
म एउटा सपना देख्छु
मेरो खेत हराएको
मटमैलो उज्यालो
वा सुकेको खरजस्तो नीलो अँध्यारो
म भौँतारिरहेको हुन्छु हराएको खेत खोज्दै
जब खेत फेला पर्छ
म सिँचाइ गर्न कुलो थुन्छु
तर फेरि मेरो खेत हराउँछ
म विचलित हुन्छु
र, फेरि भौँतारिन्छु खेतको खोजीमा
खोज्दाखोज्दै फेरि मेरै खेतजस्तो भेटिन्छ
तर त्यसको अवस्थिति मिल्दैन
धरातल मिल्दैन
साँधका अरु खेतहरु ठीक छन्
तर मेरो खेतमात्र नक्सामा मिल्दैन
तैपनि म कुलो थुन्छु
र, खेततिर सोझ्याउँछु
तर खेत कुलोभन्दा धेरै माथि पर्छ
पानी चढ्दैन
म अतालिन्छु
फेरि अनायास त्यो खेत पनि हराउँछ
म अलमलिन्छु— मेरो खेतलाई के भयो ?
कसरी हरायो मेरो खेत ?
आँखिर कहिलेकाहीँ देख्ने सपनामा
मेरोमात्र खेत किन हराउँछ ?
दुस्वप्न— २
धेरैजसो ऊ आउँछ सपनामा
टोपी लगाएको छ
जुँगा पालेको छ
सेता दौरासुरुवाल लगाएको छ
कालो कोट भिरेको छ
जुत्ता पनि कालै छन्
पुक्क गाला
वाचाल आँखा
र, यन्त्रजस्तो टाउको
अलि उत्ताउलो छ
अलि भड्किलो छ
अभिनय राम्रो गर्छ
तर उसको अनुहार एउटा
अन्तःस्करण अर्कै
म उसलाई त्यसबेला भेट्छु
जब मैले बाटो भुलेको हुन्छु
हिँड्दाहिँड्दै बाटो सकिन्छ
र, भीरको छेउमा पुग्छु
पछाडि फर्किने बाटो पनि हराउँछ
त्यसबखत ऊ मेरो अगाडि उभिएर हाँसिरहेको हुन्छ
म सहयोगको याचना गर्छु र भन्छु
—मुक्तिदाता यो महाभीरबाट मलाई बचाऊ !
—प्राणेश्वर यो दीनताबाट मलाई जोगाऊ !
ऊ झन् हाँस्छ
मलाई मायाले अँगालोमा बाँध्छ
सुमसुम्याउँछ
चुम्बन गर्छ
र, भीरबाट खसालिदिन्छ
त्यसपछि मेरो मृत्यु हुन्छ
नाथे सपनामा पनि
म पटकपटक मारिएको छु