काठमाडौं । गायक ओमविक्रम विष्टको सहयोगार्थ सांगीतिक कार्यक्रम हुने भएको छ । ‘पप अफ किङ’ भनेर चिनिने विष्ट मिर्गौला रोगबाट पीडित भएपछि उनको सहयोगका लागि प्राइभ नेपालमा सांगीतिक कार्यक्रम हुन लागेको हो ।
गायक विष्टको उपचारका लागि सहयोग जुटाउने उद्देश्यले हुन लागेको कार्यक्रममा सञ्जय श्रेष्ठ, कविन्द्र श्रेष्ठ, बविन प्रधान, भिम तुलाधर, सचिन रौनियार र जेम्स प्रधानले गीत गाउने छन् ।
“ओम दाइको उपचारका लागि हुने कार्यक्रममा हामीले आआफ्ना चलेका गीत गाउने छौं,” गायक कविन्द्र श्रेष्ठले भने, “उठेको पैसा हामी दाइको उपचारका लागि पठाउने छौं ।” कार्यक्रम यही शुक्रबार सााझ ६ बजेबाट सुरु हुनेछ । प्रवेश शुल्क १५ सय रुपैयाँ तोकिएको छ ।
यसअघि अघिल्लो वर्ष ललितपुरको झम्सिखेलस्थित एट डिग्रस र ललिपुरकै तबेलामा पनि विष्टको सहयोगार्थ सांगीतिक कार्यक्रम गरिएको थियो ।
मिर्गौलामा समस्या देखिएपछि अहिले गायक विष्ट अमेरिकामा उपचार गराइरहेका छन् । नेपालमा पप गीत भित्राउने श्रेय गायक विष्टलाई जान्छ ।