काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका पदाधिकारीको नियुक्ति प्रक्रिया अबिलम्ब पूरा गर्न सरकारसँग माग गरेका छन् ।
मंगलबार संसद बैठकको शून्य समयमा बोल्दै सांसद बडूले मेलमिलाप आयोग र छानबिन आयोगका पदाधिकारीहरुको नियुक्ति प्रक्रिया तत्काल पूरा गर्न सरकारसँग माग गरेका हुन् । “सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका पदाधिकारीहरुको नियुक्तिमा अनपेक्षित रुपमा ढिलाइ किन भइरहेको छ ?,” उनले संसदमा भने, “अबिलम्ब नियुक्ति प्रक्रिया पूरा गर्नुपर्यो ।”
सांसद बडूले द्वन्द्वकालमा मारिएका र बेपत्ता पारिएकासँगै विस्थापित भएकाहरुका परिवारलाई सरकारले पूर्वनिर्णयअनुसारको आर्थिक सहायता दिन रोकेको सुन्नमा आएको भन्दै पुनस्र्थापनाको कार्यलाई प्राथमिकता दिन पनि सरकारको ध्यानाकर्षण गराए ।