site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
जिन्नाह भर्सेस गान्धी: सतही तुलना
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
उपेन्द्रराज पाण्डेय
भारत–पाकिस्तान विभाजन र स्वतन्त्रताका बारेमा धेरै पुस्तकहरू लेखिएका छन् । बेलायती इतिहासकार हुन् वा भारतीय इतिहासकार– उनीहरूले विभाजनका बेला घटेका अन्य घटनाभन्दा स्वतन्त्रता संग्राम र विभाजनमा सहभागी नेताहरूको बढी चर्चा गर्ने गरेका छन् । बढ्दो दण्डहीनतालाई मध्यनजर गर्दै बेलायत जति सक्दो छिटो भारत छोड्न चाहन्थ्यो र कतिपय मुद्दाहरू समाधान नगरी गयो भन्ने भारतीय इतिहासकारहरूको भनाइ छ भने महात्मा गान्धी र मोहम्मद अली जिन्नाहको व्यक्तित्व टकरावले भारत–पाकिस्तान विभाजन हुन पुग्यो भन्छन् केही बेलायती इतिहासकार । धेरै पुस्तकहरू गान्धी, जिन्नाह, लर्ड माउन्टबेटन, सरदार वल्लभभाइ पटेल, सुवासचन्द्र बोेस, जवाहरलाल नेहरु आदि नेताहरूमै केन्द्रित छन् । भारतीय जनता दलका नेता जशवन्त सिंहले जिन्नाहको हिन्दू–मुस्लिम एकता दूतदेखि पाकिस्तानको कायद–ए–आजम (महान नेता)को यात्राका विश्लेषण गरेका छन् आफ्नो पुस्तक ‘जिन्नाह–इन्डिया–पार्टिसन–इन्डिपेन्डेन्स’मा । यो पुस्तक भारतमा खासगरी गुजरातमा निकै विवादित बनेको थियो । भारतका पहिलो गृहमन्त्री सरदार वल्लभभाइ पटेलको अवहेलना गरेको भन्दै सिंहको आलोचना भएको थियो । उनले पुस्तकमा नेहरुको केन्द्रीय नीति नै विभाजनको प्रमुख कारण रहेको बताएका थिए । उनको विवादास्पद अभिव्यक्तिकै कारण उनलाई पार्टीले निष्कासन गरेको थियो । हेक्टर बोलिथोले पाकिस्तानी सरकारको आग्रहमा लेखेको पुस्तक ‘इन क्वेस्ट अफ जिन्नाह’मा जिन्नाहको विभिन्न पक्षलाई समेटेका छन् । त्यस्तै, बेलायती इतिहासकार रोडेरिक म्याथ्युजले ‘जिन्नाह भर्सेस गान्धी’मा जिन्नाह र गान्धीका विभिन्न आयामहरूलाई तुलना गरेका छन् ।
महात्मा गान्धी र मोहम्मद अली जिन्नाहमा धेरै कुरामा समानता भेटिन्छन् । उनीहरू दुवै गुजराती व्यापारिक पृष्ठभूमिबाट आएका थिए । दुवैले आफ्नो राजनीतिक यात्रा भारतीय कांग्रेसबाट नै सुरु गरेका थिए । यहाँसम्म कि गान्धी र जिन्नाहका गुरु गोपालकृष्ण गोखले नै थिए । तर, पारिवारिक पृष्ठभूमि भने केही फरक थियो । गान्धीका बुबा भारतीय राज्यका प्रधानमन्त्रीसरह (दिवान) थिए, जसका कारण गान्धीलाई राजनीतिक प्रशिक्षण घरबाटै प्राप्त भयो । तर, जिन्नाह भने साधारण परिवारबाट थिए । आफ्नै बलबुतामा जिन्नाह पाकिस्तानको राष्ट्रपिताका रूपमा परिचित बन्न पुगे । 
राजनीतिक आधार, अन्तरक्रिया र विश्लेषण गरी तीन भागमा विभाजित पुस्तकमा रोडेरिक म्याथ्यूजले गान्धी र जिन्नाहको व्यक्तित्व, धार्मिक नीति, नेतृत्व कौशल, अंग्रेजसँगको सम्बन्ध आदिमा आधारित भएर उनीहरूबीचको समानता र भिन्नता देखाउने प्रयास गरेका छन् । भलै उनका केही तुलनाहरू सतही लाग्छन् । उनले गान्धी र जिन्नाहको जीवनका अनेक पाटाहरू खोतलेका छन् । धेरैजसो सामान्य सूचनाहरूले भरिएको छ पुस्तक । उनले गान्धी र जिन्नाहसँग सम्बन्धित सतही सूचनाहरू पाठकसमक्ष पेस गरेका छन् । विभिन्न शीर्षक र उपशीर्षक दिइएको पुस्तकमा धेरैभन्दा धेरै सूचना दिन खोजेकाले पनि पुस्तक दरिलो रूपमा प्रस्तुत हुन सकेको छैन । 
बेलायती उपनिवेशवादको स्वतन्त्रता र विभाजनको बाटो कसरी तय भयो भन्ने कुरा रोडेरिक म्याथ्युजले देखाएका छन् । जिन्नाहको भन्दा धेरै चर्चा गान्धीकै हुने गरेको पाइन्छ । गान्धीको साधारण र सादगी जीवनशैली धेरैलाई प्रेरणाको स्रोत बनेको छ । त्यसैले पनि होला, म्याथ्युजले जिन्नाहको भन्दा गान्धीको चर्चामा आफ्ना शब्द खर्च गरेका छन् । उनले पनि गान्धीलाई नायक र जिन्नाहलाई खलपात्रका रूपमा प्रस्तुत गरेका छन् । गान्धी र जिन्नाहको सम्बन्ध सुरुदेखि नै नराम्रो त थिएन । सन् १९१५ मा गान्धी दक्षिण अफ्रिकाबाट फर्केका बेला आयोजित स्वागत कार्यक्रममा गोपालकृष्ण गोखलेसहितका नेताहरूसँग जिन्नाह पनि सहभागी थिए । उनी सहभागीमात्रै होइन, त्यस कार्यक्रमका सभापति पनि थिए । उनले गान्धीलाई अंग्रेजीमा स्वागत गरेको तर गान्धीले भने त्यसको जवाफ गुजरातीमै फर्काएको तथ्य प्रस्तुत छ पुस्तकमा । त्यसो त जिन्नाहको जीवनशैली रवाफिलो थियो भनिन्छ । दुवै बेलायतमा पढेर फर्केका थिए । गान्धी पश्चिमी जीवनशैली र प्रविधिलाई मन पराउँदैनथे । यहाँसम्म कि उनी पश्चिमा चिकित्सा प्रणालीमा पनि विश्वास गर्दैनथे । उनी हाते चर्खामा बुनिएको खद्दरको धोती लगाउँथे । अर्काेतिर जिन्नाह भने प्रायः अंग्रेजीमै बोल्न मन पराउँथे र पहिरन पनि अंग्रेजी शैलीको लगाउँथे । जिन्नाह मुस्लिम नै भए पनि मदिरा पिउँथे । उनी पश्चिमा जीवनशैलीबाट प्रभावितमात्रै होइन, उनले पश्चिमा जीवनशैली नै पछ्याएका थिए ।
गान्धीलाई बुद्ध, र क्राइस्टसँग तुलना गरिने र जिन्नाहलाई केमल अतातुर्क, माज्जिनीसँग तुलना गरिने उल्लेख गरेका छन् म्याथ्युजले । गान्धीलाई विश्वभर मानिन्छ । मार्टिन लुथर किङ, नेल्सन मन्डेलाजस्ता नेताहरू गान्धीको आन्दोलनको प्रकृति र उनको जीवनबाट प्रभावित भएका थिए । तर, जिन्नाहबाट प्रभावित व्यक्तिहरू बिरलै भेटिने गरेको सत्य प्रस्तुत गरेका छन् लेखकले । उनले गान्धीले पूरा मानव समाजका लागि सोच्ने गरेको तर जिन्नाह व्यक्तिगत र सामुदायिक स्वार्थमा रमाउने खालका थिए भनेका छन् । त्यसो त जिन्नाह पनि कट्टर स्वभावका मुस्लिम भने थिएनन् भनिन्छ । उनले आफूले मुस्लिम राष्ट्रको होइन, मुस्लिम समुदायका लागि राष्ट्र माग गरेको कुरा बताएका छन् । जिन्नाहले कांग्रेसको शीर्ष तहमा बहुसंख्यक हिन्दू नेताहरू भएकाले मुस्लिम समुदायको हकहित र संरक्षणको नाममा राजनीति सुरु गरेका हुन् भनिन्छ । त्यतिबेला कांग्रेसमा बालगंगाधर तिलक, गोखले, गान्धी, वल्लभभाई पटेल, राजेन्द्र प्रसाद, सुवासचन्द्र बोस र सी राजगोपालचारीहरू उच्च तहमा थिए । त्यसैले पनि जिन्नाह कांग्रेस छाडेर मुस्लिम लिगतिर लागे । प्रथम विश्वयुद्धमा सेना पठाउन सहमत भएपछि गान्धीको अहिंसात्मक आन्दोलनमाथि नै प्रश्न उठेको प्रसंगले केही सन्तुलित देखिए पनि म्याथ्युजले गान्धीकै बढी चर्चा गरेका छन् । गान्धी समग्र भारत मानव समाजको स्वतन्त्रताका लागि अंग्रेजहरूसँग लडेका थिए भने जिन्नाहले मुस्लिम समुदायको स्वतन्त्रताका लागि केवल अंग्रेजहरूसँग लडेका थिएनन् । उनी हिन्दू स्वराजसँग पनि लडेका थिए ।
सन् १९०९ मा भारतमा बेलायती शासनको ‘प्रजातान्त्रीकरण’ भएपछि भारतीय राजनीतिमा धार्मिक मुद्दाले प्रवेश पाएको थियो । कांग्रेसले मुस्लिम लिगसँग सहकार्य गर्न अस्विकार गरेसँगै धर्मका आधारमा छुट्टै देशको माग उठेको थियो । गान्धी र जिन्नाहका विविध आयामका समानता र भिन्नता देखाएका म्याथ्युजले प्रस्तुत गरेका केही तथ्यहरूमाथि भने प्रश्न उठाउन सकिन्छ । १९४१ मा आफ्नै घरबाट हराएका सुवासचन्द्र बोस अपहरणमा परेको कुरा गरेका छन् उनले । त्यस्तै उनले गान्धीलाई अदूरदर्शी नेताका रूपमा प्रस्तुत गरेका छन् । गान्धीले भारतलाई स्वतन्त्रता दिलाए पनि आधुनिक भारतको परिकल्पना गरेका थिएनन् । म्याथ्युजले गान्धीको ‘लन्डन टाइम्स’सँगको अन्तर्वार्तालाई प्रस्तुत गर्दै गान्धी केवल स्वतन्त्रतामात्रै चाहन्थे भनेका छन् । अन्तर्वार्तामा गान्धीलाई स्वराजले के परिवर्तन ल्याउँछ भनेर सोधिएको थियो । जवाफमा गान्धीले भनेका थिए, “बेलायती अदालतहरू फर्कन्छन्, जसको बदलामा गाउँ पञ्चायतहरू स्थापित हुन्छन् । विश्ववद्यालयहरू हुनेछैनन् र यहाँ परम्परागत तरिकाको गुरु–शिष्य परम्परामा शिक्षण प्रक्रिया अघि बढ्छ ।”
पुस्तकमा केही कमीकमजोरी भए पनि गान्धी र जिन्नाहलाई नजिकबाट नियाल्न चाहने पाठकका लागि यसले सहयोगी भूमिका खेल्न सक्छ । गान्धी र जिन्नाहका व्यक्तिगत तथा राजनीतिक पृष्ठभूमि पुस्तकले उजागर गरेको छ । पुस्तकमा लेखकले विभाजनमा बेलायतले खेलेको नकारात्मक भूमिकालाई नजरअन्दाज गरेका छन् । लेखकका केही पूर्वाग्रही प्रस्तुतिबाहेक समग्र रूपमा गान्धी र जिन्नाहको संक्षिप्त जानकारी लिन चाहनेका लागि पुस्तक उपयोगी देखिन्छ । 
 
पुस्तकः जिन्नाह भर्सेस गान्धी 
लेखकः रोडेरिक म्याथ्युज 
प्रकाशकः ह्याचेट इन्डिया
मूल्यः ६०० रुपैयाँ 
 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १५, २०७३  ११:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC