site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
डाक्टर मदन भण्डारीको फिर्ती
Sarbottam CementSarbottam Cement

– पुण्यसागर मरहट्टा


“नामै मदन भण्डारी, उसैमाथि डा. समेतको फुर्को । यस्तो मोरो जाबो वार्षिक एक लाख पचास हजार डलरको जागिर । जान्छु मेरै देश, बनाउँछु स्वर्ग । अहिले त उहिलेका आफैंले भोट मागेका र हालेका ‘अखिले’ कुर्सीमा छन्, मेरो प्रतिभा, योग्यता र पहुँचबारे जानिफकार छन् ।”

मदन डाक्साब बाल्टिमोरको एक नेपाली ब्याकयार्ड जमघटमा बियर पिएर सुर्रिनुभो । बोलिहाल्नुभो, गलपासो भैगयो । यसलाई गलपासो भन्दा पनि लोकलज्जा भनौं होला किनभने डाक्साब उत्तरी अमेरिकाको त के कुरा भयो र— उस्तै परे यस चराचर जगतकै ‘जनताको बहुदलीय जनवाद’को एक इमान्दार, वस्तुनिष्ठ एवं कुशल व्याख्याता भनी परिचित छन् । पेशाले जलस्रोत इन्जिनियर । ‘नेपालको पानी, नानी र जवानीमा आश्रित भारतीय अर्थतन्त्र’ नामक विद्यावारिधि ग्रन्थका रचनाकार डाक्टर साहेब अमेरिकी राज्य सरकारको फोहोर मैला व्यवस्थापनसम्बन्धी नीति तर्जुमा गर्ने निकायमा एक व्यावसायिक इन्जिनियरको रूपमा कार्यरत रहँदै गर्दाको भडास थियो त्यो— ‘यस्तो मोरो जागिर’ वाला बियरे जोश !

Prabhu Bank
Agni Group
NIC Asia

हो नि ! पढाइ एउटा, रोजी अर्को । उता आफूभन्दा केही नजान्ने (?) भनी आफैंले करार गरेका लठुवाहरूले दिन दुगुना, रात चौगुना गरेका प्रगतिका खबर, आफ्नो सधैंको मोर्ट्गेजको कुम्लो, त्यसमाथि गाडीको मासिक किस्ता, छोराछोरीको कलेज खर्च । जान्छु नेपाल, गर्छु किस्मत ।

यो उत्तर अमेरिका बस्ने औसत नेपालीको दिमागमा आउने र त्यसमाथि पनि अलिअलि मापसेपछि निस्किने उच्च विचार हो । त्यस हिसाबले मदन डाक्साब औसत नेपालीभन्दा फरक किन होऊन् ?

Global Ime bank

मदन डाक्साब सजिलै मदन डाक्साब बनेका भने होइनन् है । भ्रम नपरोस् ! बुवा मानबहादुर भण्डारी २०२० को शुरुतिर गुल्मीबाट गोरखपुर जाँदैनथे भने, त्यहाँ दर्बानी, चौकीदारी गर्दैनथे भने र भूमिगत रूपमै मोहनविक्रम सिंहसँग संगत गर्दैनथे भने उनीहरू गुल्मी सिर्सेनीका भण्डारी रहिरहन्थे । सिस्नोको भ्यातलसम्म खान पाउँथे । कपिलवस्तु, हतौसाका भण्डारी बनेर केही नभए नि दुई छाक भात खाने सामथ्र्य बनाउन सक्दैनथे । त्यस अर्थमा मानबहादुर भण्डारी सर्वहारा वा सोसरहका हुन् । मदन त खोइ ! कसरी हुन् र ! होइनन् ।

बा मानबहादुरका जम्माजममी एक सन्तान— मदन । ०३१ असार ४ को जन्म, उहीँ पहाडमै, सिर्सेनीमा । मदनलाई यस चराचर जगतमा ल्याइदिएर आमा जानुभो महाप्रस्थानमा । समाजका लागि आमाटोकुवा मदन, उनी त्यस्ता हुँदा हुन् त बाको शेखपछि मदन ९ वर्षका हुँदा बाले ल्याउनुभएकी अर्की आमालाई बाल्टिमोरमा ल्याएर किन पाँच–पाँच वर्ष सँगै राख्थे ? भन्नेले त ‘गुरु बाठा त बाठा हुन् है, सौतेनी आमालाई माया गरेजस्तो पनि हुने, यता कान्छी छोरीको डे केयर खर्च पनि स्वादैले जोगिने’ पनि भने । डाक्साबको भिन्न तर्क थियो, “सर्ग–उपसर्ग–विसर्ग जे लगाए पनि आमा भनेकी आमा हुन्, त्यसैले उनको स्याहार गर्नुपर्छ । त्यसमाथि उपल्लो पुस्तासँग भएको ज्ञान पछिल्लो पुस्तासम्म सार्न आमाको भाषा (मातृभाषा)को निकै ठूलो भूमिका हुन्छ, त्यसैले पनि मैले सानामालाई अमेरिका झिकाएको हुँ ।”

यतिविघ्न जान्ने डाक्साबको कुरो कसले काट्ने ? तैपनि एकदिन कसैले सोधेछ, “त्यो त हो डाक्साब, तर सानामालाइ त माइरा स्कुल जाने हुनासाथ किन फर्किन दिनु भो त ?”

हाम्रा तर्कबाज डाक्साबसँग तर्क थियो, “बस्न अघाएकी सानामालाई जबर्जस्ती कोचेर राख्नु पनि त अन्याय हो । नेपाल गए आफन्त वरिपरि हुने भन्नुभो ।”

डाक्साबले ढाँटे भनुम् । त्यत्रा शास्त्रार्थ गर्न सक्ने महान व्यक्ति, ढाँटेनन् भनूँ— सानामाका तेह्र दिनेसमेत कोही छैनन् नेपालमा बाँकी ।

खैर, कुरो अलि कोल्टिएछ । मदन आफ्नो लगन र मेहनतले बनेका मान्छे हुन्, शंका नगरौं । उनले हथौसाको हाइस्कुल्को कुनै पनि कक्षामा दोस्रो हुनु परेन । हेडमास्टर शुक्ला सरकी छोरी सधैं दोस्री, मदन सर्धै फस्र्ट । एसएलसीमा पनि जिल्ला टप्न सिरिफ ४ अंक नपुगेको हो नत्र त्यो सालको एसएलसीमा उनले तक्मा पाउँथे पक्कै । उसो त उनका प्रतिद्वन्द्वीले पनि पाइनन्, उनी त्यसैमा रमाए । एसएलसीपछि मदन पश्चिमाञ्चल क्याम्पस पोखरा गए पढ्न । डिप्लोमा इन सिभिल इन्जिनियरिङमा भर्ना भए ।

जमेर पढे मदनले पोखरामा बसेर । लामाचौरको बसाइ, क्याम्पसको गेटै अघिल्तिरको गुरुङ दाइको भाते होटेल, जत्थेर नि मदन बिग्रियो कि भनेर पहरा बसेको जस्तो माछापुच्छ«े हिमाल, क्याम्पसपारि दखिनपट्टि पारेर बगेको सेती नदी । आहा पोखरा ! त्यसमाथि लामाचौर ! हालका मदन डाक्साबले सिभिल इन्जिनियरिङ डिप्लोमासँगै मदन भण्डारीको जनताको बहुदलीय जनवाद पढेका पनि त्यत्थेरै हो । अत्यन्त तर्कशील, जुझारु, मिलनसार मदन भण्डारी जनप्रिय नेता मदन भण्डारीजस्तै भादगाउँले टोपी, चारपाटे चश्मा र गलबन्दी लगाउँथे । एकबाजी हुलहालमा लम्जुङ चितीतिरका पन्त क्याम्पस प्रमुख घेर्न गएका बाहेक प्रारम्भिक कमिटीका बैठकमा मात्रै जान्थे उनी । रणनीति बनाउन मद्दत गर्थे । आफू अघि पर्दैनथे । कसलाई स्ववियूको सभापति बनाउने, कसले जित्छ, प्रतिद्वन्द्वीलाई तर्कले कत्थेर, मुक्काले कत्थेर को लगाएर कहाँनेर बैठ्याउने भन्ने जानेका उनी वास्तवमै ‘किङमेकर’ थिए । आफ्ना सिद्धान्तमा अडिग, निर्दिष्ट लक्ष्य भएका र सबैलाई आफ्नो तर्कमा पगाल्न सक्ने । जे होस्, डिप्लोमा इन सिभिल इन्जिनियरिङ सकेपछि उनी पुल्चोक क्याम्पस भर्ना भए ।

पुल्चोक क्याम्पसको छात्रावासमा कोठा नपाइन्जेल मदनजी चाकुपाटतिर मिनी–होस्टेल नामक कोठाहरूलाई भित्तोले बेरेर र घेरेर बनाइएको एक शरणागारमा बसे । अहिले पनि उनलाई त्यो मिनी–होस्टेलको उधुम सम्झना आउँछ । उसो त त्योमात्र किन— निरौलाको चिया–चमेना गृह, बास्केटबल कोर्ट, डी–ब्लक, लाइब्रेरी, लाइब्रेरीकी विद्या दिदी, उनको स्नेही र सहयोगी मृदुवचन, त्यतिखेरका क्याम्पस चिफ, उत्तमनारायण सर, पद्मनारायण सर, टोपबहादुर सर र उनका उरन्ठ्याउला जोकहरू, मास्के सर, हिक्मत सर, नरेन्द्रमान सर सबैको शृंखलाबद्ध सम्झना आउँछ । सम्झनाकै कुरो गर्दा स्ववियूको चुनाव, जित–हार, देवकोटाको रहस्यमय हत्याका किस्सा, च्यासलको शरण, कृष्णमन्दिरसँगैको होनचाको पिरो आलु आदिको पनि सम्झना आउँछ । यदाकदा साथीहरूको संगतले ई–ब्लकतिर केटी भेट्ने उत्कट चाहनाले बरालिएको र आर्किटेक्चरका केटाहरूले दपेटेको पनि सम्झना आउँछ ।

पुल्चोक क्याम्पसमा भर्ना हुँदा उनको एकमात्र उद्देश्य थियो— राइन्ती नगर्ने, लुरुलुरु पढ्ने र सिर्सेनीसम्म पुग्ने पिच बाटो बनाउन मद्दत गर्ने । बाटो उनले भनेजस्तो भएन क्यारे । कुनै सपना पूरा भए, कुनै भएनन् । त्यसमध्ये राइन्ती नगर्ने र सिर्सेनीसम्म पुग्ने पिच बाटो बनाउन मद्दत गर्नेचाहिँ पूरा नभएका सपना थिए । पुल्चोक होस्टेलको बसाइ, मेसको खाना, हरेक पहर अखिल—नेविसंघको घम्साघम्सीबीच हाम्रा मदन पढ्दै पनि थिए । एकबाजी उनी बीई शुरुका वर्षतिरै हुँदा हुनुपर्छ— त्रिविले इन्जिनियरिङ शिक्षामा पूर्णशुल्कीय प्रणालीमा विद्यार्थी भर्ना लिने नीति ल्यायो । शिक्षामन्त्री त को थियो कुन्नि, उपकुलपति कमलकृष्ण जोशी र डिन राजेन्द्रध्वज जोशी थिए जस्तो लाग्छ त्यो बखत । त्रिविमा प्रगतिशील प्राध्यापक भनेर नाम चलेका जोशी डाक्टरद्वय किन शिक्षामा निजीकरणको पछाडि उभिएका थिए कुन्नि ? तर, हाम्रा हालका डाक्टर मदनलाई पहिल्यै अज्ञात स्थलबाट निर्देशन आएको थियो क्यारे— उनी पूर्णशुल्कीय कार्यक्रमको अब्बल व्याख्याता बने । नेविसंघका केटाहरू पूर्णशुल्कीयको विरोधमा रहेको हुँदा त्यसको समर्थनमा हुनुपर्ने पार्टीको लाइन थियो होला, नत्र अहिले त शिक्षा र स्वास्थ्यमा निजीकरण कांग्रेसी अभिशाप हो भनेर बुरुक्–बुरुक् उफ्रिन्छन् फेसबुकमा हाम्रा डाक्टर । गोविन्द केसीलाई एकान्तमा भेटे कुटूँलाजस्तो गर्छन् । यसैबाट थाहा हुन्छ— डाक्टर मदन भण्डारी एक बफादार वामविचारक हुन् । उनी दलको लाइनबाट टसमस हुँदैनन् ।

यो त भयो उनको राइन्तिक पाटो, सामाजिक पाटो पनि ठीकठीकै थियो । एउटा असल विद्यार्थीले जे गर्छन्, उनी त्यही गर्थे । फट्याइँ गर्नुपर्ने, फरेबी गर्नुपर्ने केही थिएन ।

यतिखेर बाबा हथौसा फर्केर दुकान चलाउन थाल्नुभएकै थियो । सानामाका तर्फबाट जायजन्म भएन । त्यसैले जसो गर्दा पनि मदन नै भए परिवारको एक्लो वारेस ।

उत्कृष्ट अंक ल्याएर मदनले बीई सके । ब्याच टपर भएपछि जागिरको टपरी उनलाई कुनै एक अन्तर्राष्ट्रिय गैससले दियो, पञ्चेश्वर बउद्देश्यीय आयोजनाप्रभावित वस्तीहरूको वस्तुस्थिति आँकलन गर्ने र सामुदायिक सर्वेक्षण गर्ने । कुनै इन्जिनियरिङ प्रविधिसम्बन्धी काम नभए पनि मदनलाई यो काम रुचिकर लागेको थियो किनभने यसै मेसो उनले सुन्दर सुदूरपश्चिमको विचरण गर्न पाएका थिए । महेन्द्रनगरपारिबाट जिप चढेर पिथ्रागढ ( पिथौरागढ), सिल्खाना हुँदै दार्चुला पुगेको मदनसम्मिलित टोली दार्चुलापट्टि अस्पतालको चेपबाट महाकालीको किनारै किनार बैतडी, कञ्चनपुर हिँडेकै हो । गोठलापानी, झुलाघाट, पाटन, चमेलिया, गोकुले, बुडर— साँच्चिकै सुन्दर छ सुदूरपश्चिम । कतै जोगबुडा झर्ने बाटोमा मदनले कल्पेका थिए— यो बहुदलमा जनवाद आएन र मात्रै नत्र जनताको बहुदलीय जनवादले सबै नेपाली सुखी हुने थिए । कतै हाम्रो नीति कमजोर भएको पो हो कि ? बरु माओवादी मित्रहरू पो ठीक हुन् कि ?

जोगबुडा पुगेकै राति जब सिवाकोटीको मुखुण्डो लगाएर उनले मित्रशक्ति ठानेका आएर उनको टोलीको सातो खायो, अरूको त थाहा भएन— मदनको हंसले ठाउँ छोड्यो । विपद् यसैमा टुंगिए हुन्थ्यो, अझ विकराल भएर आयो । पैसो मागियो, धम्क्याइयो र यसको पटाक्षेप हथौसामा भएका मानबहादुर बा र उनको दुकान पड्काएर भयो । बा कहिल्यै नफर्किने गरी गए । बालाई वाणगंगामा जलाउनसम्म पुगेनन् मदन । तीन दिनको नेपाल बन्दमा उनी चनौटामा अड्किए । पछि छरछिमेकसँग कुरा बुझ्दा थाहा पाए— बाको दुकानअघि एउटा पर्ची भेटिएको थियो, जसमा लेखिएको थियो, “स्थानीय सुदखोर, सामन्त र सुराकीको सफाया आवश्यक थियो । यो ध्वंशमाथि हामी सिर्जनाको फूल फुलाउनेछौं । हाम्रो क्रान्ति जारी छ । जनसेना नेपाल जिन्दावाद ।”

चरिफाल भएर ढलेका मदन त्यसपछि सुदूरपश्चिम त के— कपिलवस्तुसमेत नफर्किने गरी बिभिण्डिए र ताक परे आफैंले कम्युनिस्ट सिद्धान्त रट्दा भन्ने गरेको साम्राज्यवादी मुलुक अमेरिका जाने मौका खोज्न थाले । त्यसैबखत, युरोपेली मुलुक नर्वेको आश्चर्यजनक चलखेल थियो नेपालमा र उनले नर्वेजिनय सरकारको छात्रवृत्तिमा स्नातकोत्तर गर्ने मौका पाए जलस्रोत व्यवस्थापनमा । नर्वे पुग्दा नेपालको ध्वंशमा पूर्णविराम लाग्यो र विद्रोहीहरू संसद छिराइए । अरूलाई त के भयो कुन्नि, मदनलाई यो नरमाइलो लाग्यो । स्वाभाविक थियो । उनलाई लाग्थ्यो— मेरा बाको बलिदानमाथि यिनीहरूको रजगज मेरा लागि स्वीकार्य हुनै सक्दैन ।

निरीह हुनु एउटा कुरा, सामाजिक सञ्जालमा आफ्नो भडास पोख्थे उनी । माओवादीप्रति उल्कै वितृष्णा थियो उनको, त्यो झल्किन्थ्यो । उसैमाथि जब माओवादी १ नम्बर र उनको दल ३ नम्बर भयो— ओहो ! उनको पीडा उनको फेसबुक र ट्विटरका स्टाटसहरूले बताउँथे । त्यसपछि के–के भयो, त्यसको कुनै लेखाजोखा नै नराखौं । पछिल्लो पटक देवी ज्ञवाली र उनको रेणु दाहाल जिताउन सुनको सिक्री बाँडेको भन्ने भिडियो क्लिप शेयर गर्नुअघि उनी अमेरिका पुगिसकेका थिए र करिब–करिब पीएचडी डिफेन्ड गर्ने समयमा थिए । निकै लामो मौनतापछि उनले एउटा स्टाटस लेखे, “मातृभूमिको मलाई र मेरो मातृभूमिलाई आवश्यकता छ । उपयुक्त समय आउनासाथ नेपाल फर्किनेछु ।”

मुन्तिरपट्टि लेखिएको थियो, “स्टार्टेड जब एज पोलिसी एनालिस्ट इन्जिनियर एट इन्भाइरोन्मेन्ट प्रोटेक्सन एजेन्सी, मेरिल्यान्ड ।”

जब पीएचडी सके, भित्तोमा अर्को स्टाटस पोते, “अमेरिका हामीले पढेजस्तो, हामीलाई रटाइएजस्तो छैन । शत्रु र मित्र आफ्ना आवश्यकताका कारण जन्मिने गर्छन् । आजको युगमा भौतिक दूरीभन्दा सामाजिक दूरी नजिक हुनु जरुरी छ । म अमेरिका बसेरै नेपालको सेवा गरिरहेछु ।”

अलि पछि सरकारको हेराफेरी हुँदा माओवादीको समर्थनमा उनको दलका नेता सरकार प्रमुख बने । उनले हत्त न पत्त फेसबुकमा स्टाटस पोते, “माओबादीले बल्ल जबज चिन्यो ।”

पछि माओवादीले साथ छोड्यो । उनले लेखे, “इतिहासले क्षमा नगर्ने गरी माओवादीले गद्दारी ग¥यो, धिक्कार छ प्रचण्ड !”

त्यसको केही समयपछि पासा पल्टियो र फेरि डाक्टर साबले स्टाटस लिपिहाले, “समृद्धिको सारथि आदरणीय कमरेड प्रचण्ड, हजुरको नेपाली राजनीतिमा अतुलनीय योगदान छ । आउनुहोस्, हामी जनताको बहुदलीय जनवादको महान यात्रामा सहयात्री बनौं ।”

डाक्साब यसै मेसो, बाल्टिमोरमा भेला भएका मन मिल्ने साथीहरूको बारबीक्यू भेलामा बियरले लरिलट्ट भए । मेडमले गुनासो गरिन्, “हजुर कम्युनिस्ट भनिसिन्छ आफूलाई, त्यत्रो महान विचारक होइसिन्छ, के चाला हो यो दिउँसै मातेर ? आँखा पनि कता गडेका छन् । म देख्दै छु, को रे त भन्दा कम्युनिस्ट ?”

डाक्साबलाई ‘कम्युनिस्ट मातियो’ भन्ने वचन अलि बढी नै खिलेछ, जंगिए, “कम्युनिस्टको चैं राजसी भोग नै नहुने हुने भो उसोभए ? अर्काकी राम्री स्वास्नी हेर्न गैरकम्युनिस्टलाई मात्र छुट हो ? हेरेकै मात्र त हो नि ! छोएको छैन क्यारे !”

मेडम पनि रेड वाइनले रमरम त थिइन् नै, तैपनि बोलिनन् । आखिर लोकाचार त नमातेकाले राखिदिनै प¥यो । स्थिति सामान्य बनाइदिन कसैले भन्यो, “हेत्तेरी डाक्साब ! हजुरजस्तो उपल्लो दर्जाको सरकारी जागिरे, त्यो पनि अमेरिकाको, के यस्तो हर्कत गर्नुभाको त ?”

मुड्की उचाले पनि डाक्साबले अरू केही गरेनन्, मुखमात्र चल्यो अनायास, “यस्तो मोरो जाबो वार्षिक एक लाख पचास हजार डलरको जागिर । जान्छु मेरै देश, बनाउँछु स्वर्ग ।”

पार्टी त त्यसपछि सकियो नै, बोली पो गलपासो भयो । अब हेप्ने, हियाउने, स्नेह र इज्जत गर्ने सबैले सोध्न लागे, “डाक्साब, कहिले फर्किने त नेपाल ? कहिले ल्याउने त समृद्धि ?” 

एकदिन त हुर्केकी १४ वर्षे छोरीले समेत सोधी, “हजुर सिरियस त होइसिन्छ नि नेपाल फर्किने कुरामा ? डु इट ड्याड । नेपाल डिजभ्र्स योर सर्विस ।”

२०१८ अगस्ट १३ मा उनी कतार एयरको टिकटमा दोहा हुँदै नेपाल फर्किए, गोठ अमेरिकामै बाँधेर । काठमाडौं पुगेको भोलिपल्टैदेखि उनको ‘मियाँकी दौड मस्जिदतक’ शुरु भयो । एकसरो आफ्ना नेता, सहकर्मी, सहपाठी साथीहरूसँग भेट गरे । आनन्दित भए यी मदन भण्डारी, अगाडि अझ डाक्टरको फुर्को । उनलाई उपकुलपति, उपाध्यक्ष घटी कसैले योग्य नै देख्दैनथे । ‘ओहो डाक्साब ! हजुरजस्तो व्यक्तिको नेपाललाई खाँचो छ’ नभन्ने कोही थिएन । पहुँच शीतल निवासदेखि सिंहदरबारसम्म नहुने कुरै भएन । दर्शनभेट शैलीमा दुवैतिर भेट पनि गरे । ‘नेपाल फर्केर ठीक गर्नुभो’ भन्ने नै सन्देश पाए, आनन्दित भए । 

उनी फर्केको समय पनि निकै उचित थियो, यस अर्थमा कि उनकै चिनेजानेका र उनको प्रतिभाका जानिफकार पण्डितहरू दुई बट्टे तीनका हालीमुहालीवाला थिए र तिनैले दरबन्दी सिर्जना र नियुक्तिको सुरो समातेर बसेका थिए । कुनै नियुक्ति पाएनन् । त्यसको कारण छ— उनीसँग विचार पो थियो, विज्ञता पो थियो । अमेरिकावाट ल्याएको ब्रिफकेस त थियो, जुन किताबले भरिएको थियो, डलरले भरिएको थिएन । त्यसमाथि उनको प्रतिभालाई चिनेर अमेरिका बस्दा जागिर खान भनेर अमेरिकी सरकारले नै दिएको ग्रिनकार्डसमेत थियो । एकदिन उनका नेता, जो कुनै बेला स्ववियू सभापति पनि बनेका थिए, जो पछि अख्तियारले डामिएका पनि थिए, ले सुनाए, “मदनजी ! के खान आएको तपाईं अमेरिकाबाट ? कसले दिन्छ तपाईंलाई नियुक्ति ? यहाँ भएकालाई भाग पु¥याउन सकेका छैनन्, त्यसमाथि अहिले त उताबाट पसेकालाई पनि एडजस्ट गर्नु छ । भावुक हुनु एउटा कुरा, वास्तविकता अर्को कुरा । सके मै हिँडूँ कि भन्दै छु, तपाईं त्यहाँ छँदाखाँदाको जागिर छोडेर नेपाल फर्किनुभो ? मदनजी ! मलाई पनि लाग्थ्यो, हामी नै हौं यो देश बनाउने ल्याकत भएका, म गलत रहेछु । छातीमा हात राखेर भन्छु— हामीमा समेत त्यो ल्याकत रहेनछ । हिजो सजिलो थियो, पटक–पटक सत्तामा उक्लिए पनि, मूल भान्छे नभएर सहायक भान्छे मात्र भएकाले, डाडुपन्यु त आफ्नो हातमा आओस्, के–के पो गरिन्छ भनेकै हौं कि नाइ ? । डाडुपन्यु मात्र किन ? पहिलेको भान्छेलाई चौकीमा उक्लिनै नसक्ने बनाइदिए जनताले, हाम्रा त अझै त्यसैको कर्खा गाउँछन् तर मेसो मेलो मिलाउँदैनन् । हिजो सहायक भएर पनि केही सिकेनछन् । भान्छे भनेकै चोर हो भन्ने क्या स्वादले घोकाइएछ भने आज त जनता त्यही गोपी किस्न कहो गरिरहेछन् । यस्तोमा तपाईंजस्ता सबै फर्सी बुद्धिजीवी ठहरिने नै भए । तपाईंलाई लाग्दो हो— डाडुपन्यु लिनेहरू अबुझ छन्, बुझाउन सकिन्छ । तपाईं गलत हुनुहुन्छ । मस्त निदाएकोलाई ब्युँझाउन सकिन्छ, नक्कल गरिरहेकालाई सकिन्न ।”

डाक्साब तैपनि हिम्मत हार्ने पक्षमा थिएनन् । भ्रम त्यतिखेर तोडियो, जतिखेर उनकै तदारुकतामा सिर्जना भएको नयाँ सरकारी निकायको प्रमुख पदमा तिनै पूर्वस्ववियू सभापतिले मौका पाए, सरकारी सिन्दुर लगाए । र, डाक्साबलाई मोबाइलमा फोन गरेरै सुनाए, “हेर्नुस् न, म त तपाईंकै नियुक्तिको लागि बालुवाटार पुगेको थिएँ तर त्यहाँ कुरो अर्कै भयो । दसौं वर्ष अमेरिका बसेर तर मार्ने पनि उही डा. मदन भण्डारी, अहिले पद पनि उसैलाई ? बरु तपाईं नै यो पद खानुस् भने । मलाई चाहिएको त थिएन तर नाइ भन्नै नसक्ने अवस्था सिर्जना गरिदिए, म फसें मदनजी ।”

डाक्साब राजनीति नबुझ्ने कच्चा खेलाडी किन हुन्थे र ! आफ्नाले घोपेका छुरा अलि बढी दुख्ने रहेछ । लामो समय सामाजिक सञ्जालमा निष्क्रिय रहे ।

हिजैमात्र हो— पीडाको मुस्कान जडेको फोटोसहित नयाँ स्टाटस पोतेछन्, “मुलुकमा समृद्धि मबाट सम्भव रहेनछ कामरेडहरू । अल अमिर कन्स्ट्रक्सनको प्रोजेक्ट म्यानेजरको नियुक्ति लिएर भोलि दोहा समृद्ध बनाउन जाँदै छु । अभिवादन ।”

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २८, २०७६  ०९:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC