बीबीसी । कम्पनी अमेजोनले केही समय अगाडि मात्र अब चाँडै नै ग्राहकहरुलाई सामान डेलिभरी गर्न ड्रोनको प्रयोग गरिने घोषणा गरेको थियो भने कम्पनीले अहिले नै ५० भन्दा धेरै स्थानमा विभिन्न कामकाजका लागि २ लाख बढी रोबोट तैनाथ गराइसकेको जनाएको छ ।
यस्तोमा अमेजोनले रोबोटमा गरिरहेको भारी लगानीलाई विवादास्पद मानिएको हो किनकी यसले रोजगारीमा गिरावट ल्याउने विश्लेषकहरुको भनाइ छ । तर कम्पनीले भने जति रोबोट राखेपनि मानव कर्मचारी सधैँ आवश्यक पर्ने दाबी गरिरहेको छ र रोबोटले मानिसलाई कहिल्यै प्रतिस्थापन नगर्ने बताइरहेको छ ।
कम्पनी पूर्ण रुपमा अटोमेटिक अर्थात रोबोटबाट सञ्चालित हुने अवस्था कहिल्यै नआउने टाइ ब्रेडी, अमेजोनका प्रमुख प्राविधिक विद्ले बताएका हुन् । उनले भनेका छन्, “मेरो धारणामा यो केबल मानव र रोबोटबीचको शान्तिपूर्ण सहकारिता मात्र हुनेछ । यसमा हाम्रो एक मात्र चुनौति कसरी मानव क्षमता वृद्धि गराउने किसिमले मसिनको डिजाइन गर्ने भन्ने हुनेछ ।”
ब्राडीले अमेजोनका अत्याधुनिक प्रविधि निर्माणको प्रदर्शनी कार्यक्रममा बीबीसीसँग बोल्दै यस्तो भनेका हुन् । कार्यक्रममा अमेजोनका सबैभन्दा पछिल्ला प्राविधिक कार्य–मसिन लर्निङ, अटोमेसन, रोबोटिक्स र अन्तरिक्ष लगायत प्रस्तुत गरिएको थियो ।
बीबीसीसँग कुरा गर्दै उनले रोबोटिक्स र एआइले मानिसको स्थान लिने कुरा मिथ्या मात्र भएको बताएका हुन् । सो कुरा मसिनसँग मानिसको सम्बन्धको खण्डन मात्र भएको उनको भनाइ छ । उनले भनेका छन्, “जब हामीले मानव क्षमता वृद्धि गछौँ तब उत्पादन बढ्छ अनि हामी, त्यस्ता नयाँ रोजगारीका क्षेत्र सिर्जना गर्न सक्षम हुन्छौँ जुन पाँच वर्ष अगाडिसम्म कल्पना पनि गर्न सकिँदैनथ्यो ।”
तर गत नोभेम्बरमा मात्र बेलायतमा आधारित जीएमबी ट्रेड युनियनले कामदारहरुको एक प्रदर्शन समारोह अयोजना गरेको थियो जसमा अमेजोनमा कर्मचारीहरुसँग हुने दुर्व्यवहार र अमानवीय वातावरणको विरोध गरिएको थियो । अमेजोनले कामदारको हड्डी भाँचिनेगरी र बेहोसै हुने गरी कामममा लगाउने गरेको जीएमबीका अध्यक्ष टिम रोसेले एक बयानमा बताएका हुन् । त्यसैले सबै सिमा पार भइसकेकाले आफूहरु आवाज उठाउन बाध्य भएको उनले बताएका थिए ।
तिनै कामदारहरु मार्फत अमेजोनले आमदानी गरिरहे पनि तिनको राम्रो ख्याल राख्न नसकेको र रोबोट जस्तो व्यवहार गरिएको आरोप लगाइएको थियो । अर्कोतर्फ अमेजोनले भने यसको प्रतिक्रियामा आफ्ना सबै कार्यस्थल काम गर्नका लागि सुरक्षित स्थान भएको र सबै आरोप गलत भएको ठहर गरेको हो । तरपनि कम्पनीले यस्तै किसिमको दबाबका कारण यो वर्षको सुरुवातमा नै न्युनतम पारिश्रमिक बढाएको हो ।