site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

नेपालको प्रदेश नम्बर २ को वीरगन्जमा भारतको लोकसभा चुनावमा भारतीय जनता पार्टी जितेपछि विजय जुलुस निकालिएको समाचार सामाजिक सञ्जालमा निकै चर्चित भयो । यही नै बेला कोसी नदीको धार पूर्वसुचना नदिई भारतीय पक्षले फर्काउँदा सप्तरी जिल्लामा पर्ने गोबरगाढाका बासिन्दा भने डुबानमा परे । कोसीको धार पूर्वबाट पश्चिमतर्फ फर्काउन भारतले भँगालो छुट्याएको रहेछ । त्यही भँगालोमा शुक्रवार नेपाली पक्षलाई थाहै नदिई कोसी फर्काउँदा गोबरगाढाका बासिन्दा पानीले घेरिन पुगेका हुन् । उनीहरू त्यहाँबाट बाहिर जानआउन नसक्ने अवस्था उत्पन्न भएको छ । भँगालोमा पानी हालेपछि अर्थात् शुक्रवारबाटै गोबरगाढाका बासिन्दा कोसीको भँगालाहरूबीचमा थुनिएका छन् । 

गोबरगाढालगायत किनारका बासिन्दाका लागि कोसीको बाढी र त्यसको कहर नौलो घटना हैन । तर, यसपटक भने प्रकृतिले भारतीय पक्षको ज्यादतीका कारण नेपालीले सास्ती र नोक्सानी सहनु परेको हो । कोसी पानीको वेग अहिले पूर्वतर्फ छ । त्यसलाई पश्चिमतर्फ फर्काउन भारतले ‘पाइलट च्यानल’ बनाएको छ । त्यो च्यानल बनाउन नेपालसँग सहमति लिएको वा दिएको सार्वजनिक भएको छैन । त्यसैले भारतले कोसीको प्राकृतिक बहाव बदल्न एकतर्फी रूपमा तटबन्ध र नहर बनाएको देखिन्छ । सीमा क्षेत्रमा यसरी दुवै पक्षको सहमतिविना प्राकृतिक बहाव बदल्ने र अर्को मुलुकका जनतालाई सास्ती हुने कार्य गर्न अन्तर्राष्ट्रिय कानुनले निषेध गरेको छ । भारतले भने सधैँ नै र सबैतिर अन्तर्राष्ट्रिय सन्धि, सम्झौता र अनुबन्धहरूको बेवास्ता गर्दै नेपालको सीमा क्षेत्रमा एकतर्फी बाँध, नहर, तटबन्ध र सडक बनाउँदै आएको छ । अर्थात्, नेपाललाई हेप्दै र थिचामिचो गर्दै आएको छ । नेपालको सीमावर्ती क्षेत्रमा भारतको हेपाहा प्रवृत्तिकै कारण बर्सेनी हजाराैं जनसंख्याले डुबानको सास्ती भोग्नु परेकाे छ ।

निर्वाचन परिणाम सार्वजनिक नहुँदै बधाई दिन आतुर नेपालका प्रधानमन्त्री केपी ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि परराष्ट्रमन्त्री सुषमा स्वराजलाई नै पठाएर बधाई र शुभकामना दिएका थिए । कूटनीतिक प्रचलनभन्दा बाहिरको देखिने यस्तो अभ्यासले दुवै देशका प्रधानमन्त्री एक अर्कासँग भावनात्मकरूपमा निकट देखिन्छन् । सीमा क्षेत्रका नेपालीले भने शासकहरूको निकटताको मूल्य सास्ती बेहोरेर चुक्ता गरिरहेका छन् । गोबरगाढाका जनताले कोसी नदीको पश्चिमी किनारामा ‘पाइलट नहर’ रूपमा अहिले त्यही ‘दोस्तीको मूल्य’ चुकाउनु परेको हो । त्यो नहर एकै रातमा बनेको पक्कै होइन । नेपालको संघीय, प्रादेशिक र स्थानीय सरकारहरूले त्यहाँ त्यस्तो संरचना बन्दै गरेको पक्कै थाहा पाएको हुनुपर्छ । थाहा पाएर पनि त्यसको क्षति अनुमान नगरेको हो भने मूर्खता हो । जानीजानी भारतीय शासकलाई रिझाउन देखेको नदेख्यै गरेको हो भने त्यो देश र जनता दुवैलाई दिइएको धोका हो । विजय जुलुस निकाल्ने ‘वीरगन्जवासी’लाई त गोबरगाढाका जनताको सास्तीले के छोला र ? तर, प्रदेश नम्बर २ को सरकार पनि भारतीय ज्यादतीविरुद्ध आवाज उठाएर संघीय सरकारलाई कूटनीतिक माध्यमबाट यो समस्याको स्थायी समाधान खोज्न अग्रसर हुनेमा शंकै छ । नेपालको संसद्मा यस विषयमा छलफल हुने आशा गर्नु भने अन्यथा हुनेछैन । नेपाली पक्षको एकता र जागरुकताले मात्र भारतीय शासकको ज्यादती तथा हेपाइ रोक्न सक्छ ।   
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १२, २०७६  १४:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय