site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
नेपाली चलचित्र राम्रो नबन्नुमा हामी आफैं दोषी छौं 
Sarbottam CementSarbottam Cement

करिब तीन दशकदेखि अभिनेता राजेश हमाल नेपाली चलचित्र उद्योगमा सक्रिय छन् । ‘युगदेखि युगसम्म’ (२०४५) बाट अभिनय सुरु गरेका राजेश अहिले ‘सकुन्तला’सम्म आइपुगेका छन् । ३० वर्षमा उनले ३ करिब सय वटा चलचित्रमा अभिनय गरे । उनले चलचित्र क्षेत्रमा प्रवेश गर्दा दुई–तीन वर्षमा मुस्किलले एउटा चलचित्र बन्थ्यो ।

अहिले वर्षमा झन्डै सयवटा चलचित्र रिलिज हुन्छन् । उनले चलचित्रमा प्रवेश गरको केही वर्ष पछिसम्म पनि एकै पटक दुई–चारवटा चलचित्र एकैपटक निर्माण भए भने क्यामेरा, क्यामेरापर्सन तथा टेक्निसियनहरु विदेशबाट ल्याउनुपर्थ्यो । अहिले अवस्था फेरिइसकेको छ । वर्षमै सयौं चलचित्र निर्माण हुन थालिसकेका छन् । यहीँ अब्बल प्राविधिक तथा प्रविधि पाउन थालिएको छ । सयौं कलाकार जन्मिसकेका छन् । तर राजेशलाई अझै पनि सन्तोषजनक अवस्थामा नेपाली चलचित्र उद्योग र चलचित्र बन्न सकेजस्तो लाग्दैन ।

आवश्यकताभन्दा धेरै चलचित्र बनिरहेको उनको धारणा छ । त्यसमा पनि दर्शकको रुची अनुसारका चलचित्र बन्न नसक्नु नै नेपाली चलचित्रको बजार निरन्तर ओरालो लाग्नुको मुख्य कारण ठान्छन् उनी । समयसापेक्ष चलचित्र बन्दै जानुपर्ने र सोही अनुसारको कथा र प्रस्तुति नेपाली चलचित्रले पनि अबलम्बन गर्नुपर्ने उनी बताउँछन् । पछिल्लो तीन महिनायता राजेश अन्तर्राष्ट्रिय फ्रेन्चाइज शो ‘को बन्छ करोडपति’ होस्ट गरिरहेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

राजेश हमालसँग चलचित्रमा केही वर्षयता अभिनय नगर्नुको कारण, उनको चलचित्र यात्रा र त्यसको समीक्षा, नेपाली चलचित्रको बजार र विषय तथा ‘को बन्छ करोडपति’मा प्रतिस्पर्धीले मोटो रकम जित्न नसक्नुको कारणलगायत विषयमा केन्द्रित भएर बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानीः 

कलाकारितामा प्रवेश गर्नुभएको ३० वर्ष भयो । तपाईंका समकालीनहरु कति निर्देशक भए, कति प्रोडुसर भए तर तपाईंचाहिँ सधै नायक । किन ? 

Global Ime bank

म कलाकार हुँ । कलाकारिता गर्न भनेर नै यो क्षेत्रमा आएको हुँ । शौभाग्यवश मैले लामो समयसम्म कलाकारितालाई निरन्तरता दिन पाएँ । रुचीको विषय भएर पनि होला, २४–२५ वर्ष निरन्तर कलाकारितामा लागिरहेँ । म आफूलाई यसअर्थमा भाग्यमानी पनि ठान्छु । कलाकार हुँ, मेरो प्यासन कलाकारितामै हुन्छ, स्वाभाविक हो । 

सयौं चलचित्रमा अभियन गर्नुभयो । कति समकालीनहरु पलायन हुँदा पनि तपाईं चलचित्र भनेर बसिरहनु भयो । सरकारले केही त्यस्तो उपाधि नदिए पनि मिडियाले महानायक भन्छन् । आफ्नो अभिनय यात्रा र कलालाई फर्किएर हेर्दा सन्तुष्ट हुनुहुन्छ ?

आफ्नो अभिनय यात्रालाई फर्किएर हेर्दा केही बिझाउने पाटा पनि छन् । केही असन्तुष्टि पनि छन् । बिझाउने पाटो भन्नुको अर्थ हाम्रो आफ्नै विगत छ । ३० वर्ष अगाडि हामीले चलचित्र यात्रा सुरु गर्दा कमै चलचित्र बन्थे । मैले पहिलो चलचित्र गर्दा अर्को चलचित्र कहाँबाट कसले, कहिले बनाउँछ भन्ने पनि थाहा हुँदैन थियो । दुई–तीन वर्षमा एउटा–दुईटा चलचित्र बन्थे । व्यावसायिक चलचित्र पनि बन्दैनथे । 

मेरो पहिलो चलचित्र सफल भयो भने पनि भोलि कति चलचित्र बन्ने हुन् ? यो राष्ट्रमा नै कति चलचित्र बन्ने हुन् ? भन्ने अवस्था थियो । त्यो अवस्थाबाट आएका हौं हामी । अर्को पक्ष हाम्रो चलचित्र उद्योगमा पनि समयसापेक्ष चलचित्रमा स्तरोन्नति भइरहेको छ ।

कहिँ कतै तपाईंले भन्नुभएको छ, मैले कयौं चलचित्रमा काम गरेँ तर आजसम्म सम्झिन लायक चलचित्र एउटै पनि खेलिनछु । चलचित्र नै त्यस्तै बनेर हो कि तपाईं स्वयम् चुजी नभएर हो ?

हैन । सायद यसको परिभाषा अलि गलत भए जस्तो लाग्छ । मैले कुनै पनि चलचित्रबाट सन्तुष्ट भइन भन्नुको तात्पर्य के हो भने नेपाली चलचित्र जुन स्तरका बन्नु पर्ने थियो, त्यो स्तरमा बनिरहेका छैनन् भन्ने हो । मैले मेरो मात्रै कुरा गरेको होइन सम्पूर्ण नेपाली चलचित्रको कुरा गरेको हुँ । यो विन्दूसम्म आइपुग्दा देशविदेश पुग्ने, सबै पक्षबाट अब्बल चलचित्र बन्नुपथ्र्यो भनेको हुँ । 

तपाईंलाई लाग्दै आएको एउटा आरोप– तपाईं स्क्रिप्ट नै नहेरी रोशनजीमार्फत् नै पैसामा कुरा मिले साइन गरिहाल्नु हुन्थ्यो रे ! हो ? त्यसमा सन्तुष्ट हुनुहुन्छ कि अहिले पश्चाताप लाग्छ ?

यो त अफवाह हो । एउटा कुनै व्यक्ति निरन्तर एउटै क्षेत्रमा लाग्छ भने विभिन्न अफवाह त आइरहन्छ । नेपाली चलचित्रको इतिहास पनि बुझ्न जरुरी छ । नेपाली चलचित्र कहाँबाट आउँछ भन्ने मात्रै होइन, त्यो बेला एकैपटक चार–पाँचवटा चलचित्र निर्माण भएभने त्यसका लागि जनशक्ति जुट्न सक्छ कि सक्तैन ? भन्ने अवस्था थियो । मैले चलचित्र बनाएको वर्ष १० वटा चलचित्र बने भने त्यो फिल्म प्रदर्शनका लागि तयार छ कि छैन भन्ने पनि प्रश्न आउँथ्यो । सुरुआतका दिनमा धेरैभन्दा धेरै चलचित्र बनोस् भन्ने पनि मेरो मनासय थियो । जति धेरै चलचित्र बने त्यति नै यो क्षेत्र विस्तार हुँदै जान्छ र यो फाँट पनि फराकिलो हुन्छ भन्ने थियो । तीन–चारवटा चलचित्रको छायांकन एकैपटक भयो भने विदेशबाट क्यामेरा र क्यामेरा पर्सन तथा टेक्निसियन झिकाउनु पथ्र्यो । 

त्यो बेलामा मैले फटाफट चलचित्र गर्दा त्यसमा धेरै कलाकार, टेक्निसियन, निर्देशक पनि व्यस्त हुनुभयो । म एक्लैले चलचित्र त बन्ने होइन । मसँगै अरु कलाकारले पनि काम गर्नुहुन्छ । त्यसको अर्थ चलचित्र धेरै बने भने चलचित्र उद्योग नै फराकिलो हुन्छ भन्ने थियो । त्यो बेला त्यो जुरुरी पनि थियो । 

पछिल्लो समय तपाईंले अपेक्षा गरेका भनिएका र कमब्याक भनेर प्रचार गरिएका चलचित्रले न राम्रो समीक्षा पाए न तिनको बक्सअफिस रिपोर्ट नै राम्रो भए । कारण के हुन सक्छ ? 

पछिल्लो दुईटा चलचित्र (वागमती र सकुन्तला)बाट चाहिँ म निराश भएँ । समय सापेक्ष चलचित्र बनाउने भनेर प्रयास भएको थियो तर त्यो सफल भएन । अब चाहिँ विचार पुर्याएर विवेक पुर्याएर चलचित्र गर्नुपर्छ भनिरहेको छु । 

विगतमा गहन कथावस्तुमा चलचित्र बन्थे । भूमिका एक हिसाबले निर्धारित हुन्थ्यो । यतिमात्रै हो कहिले कतै कम्प्रोमाइज गर्दा कुनै सोचे जस्तो पर्दामा देखाउन सकिन्थ्यो, कति देखाउन सकिँदैन थियो । आजको घडीमा यी दुई चलचित्र गरेपछि मलाई के लाग्यो भने यदि मैले गरेँ भने पनि समयसापेक्ष चलचित्र सोचेर विचार गरेर मात्रै गर्नुपर्छ । नत्र चलचित्र गर्नका लागि यो वा त्यो पात्र भन्दै गर्नु हुँदैन भन्ने निष्कर्षमा पुगेको छु 

मौलिक कथाप्रधान फरक धारका चलचित्रमा काम गर्नुपर्छ भन्ने समीक्षा गर्दै अब त्यो बाटोतर्फ प्रवेश गर्नुपर्छ भन्ने निष्कर्षमा पुग्नु भएको हो ?

म चलचित्रलाई यो धार त्यो धार, यो खण्ड त्यो खण्डमा हुनुपर्छ भनेर हेर्दिन । राम्रो चलचित्र, नराम्रो चलचित्र, चल्ने चलचित्र, नचल्ने चलचित्र, आफूलाई हेर्न मन लाग्ने चलचित्र र हेर्न मन नलाग्ने चलचित्र भनेर मात्रै हेर्छु । यो हिसावले म खुला छु । यो कथावस्तु आज चल्न सक्छ, आजका दर्शकले रुचाउनु पनि हुन्छ भन्ने लाग्यो र त्यसको पात्र मलाई मनपर्यो भने म गर्न पनि सक्छु । 

केही वर्षयता यहाँका चलचित्र आउन छोडे । तर मेला, महोत्सव तथा स्टेजमा तपाईंको बाक्लो उपस्थिति हुन्छ । अभिनेतालाई यस्ता कार्यक्रममा बोलाएर आयोजकले के गर्न लगाउँछन् ? 

यसको पछाडि बुझ्नुपर्ने कुरा नायक नायिकाको पृष्ठभूमि के छ, उहाँहरुको योगदान के छ, आम दर्शक तथा स्रोतासँग कस्तो साइनो गास्नु भएको छ, उहाँहरुको कामले दर्शकसँग कस्तो आत्मियता गाँसेको छ भन्ने कुरालाई ध्यान दिनुपर्छ ।

यतिका वर्ष मैले काम गरेँ, कति चलचित्र राम्रा भए होला कति राम्रा भएनन् होला । तर, धेरै चलचित्र दर्शकको मनमस्तिकमा रहेछन् । यसमानेमा म भाग्यमानी पनि हो । दर्शकको माग अनुसार मेरा चलचित्र बनेनन् भनेर म कहिल्यै पनि भन्दिन । किनभने यो भने भनेँ दर्शकको अवमूल्यन हुन्छ । मैले त आम रुपमा चलचित्र यस्तो हुनुपर्छ भनेर चित्त नबुझेको पाटो मात्रै दर्शाएको हुँ । तर मैले गरेका धेरै चलचित्रले दर्शकको मन मस्तिष्क ओगटेको छ, जसको म कदर गर्छु । दर्शक र मबीच जुन साइनो छ, त्यसकै कारण आज पनि म छु ।

पहिला मेरा चलचित्र रिलिज हुँदा हलमा आएर दर्शक हेर्नुहुन्थ्यो तर प्रत्यक्ष भेटघाट हुँदैन थियो । आज म विभिन्न ठाउँमा जान्छु । विभिन्न क्षेत्रमा बसोबास गर्नुभएका दाजुभाइ तथा दिदी बहिनीसँग प्रत्यक्ष भेट हुन्छ । संवाद हुन्छ । मेरा चलचित्र हेरेर जुन सम्झना बोक्नु भएको छ, त्यो कुरा प्रत्यक्ष सेयर गर्नुहुन्छ । यस्तै माहोल सिर्जना गर्छ मेला महोत्सवले । 

नेपाली चलचित्र अहिले दुई धारमा विभाजित छ, एउटा हल्का मनोरञ्जन मात्रै र अर्को समाजका गम्भीर मौलिक विषय उठान गर्ने चलचित्र । यहाँको बुझाईमा मेकर र कलाकारको प्राथमिकतामा कुन पर्नुपर्छ ?

मेरो विषयमा सबै प्रकारका चलचित्र बन्नुपर्छ । दुई धार मात्रै किन धेरै खालका चलचित्र बन्नुपर्छ । पुस्तकालयमा गयो भने सयौं प्रकारका पुस्तक पाइन्छ । चलचित्र पनि त्यस्तै हो । सयौं विषयमा बन्नसक्छन् । दुई धारमा मात्रै किन ? ऐतिहासिक, राजनीति, वास्तविक घटनामा आधारित, सबै विषय उठान गर्न सकिन्छ । बजार सानो छ, त्यसैले हामीले सबै विषयमा चलचित्र बनाउन सकिरहेका छैनौं । चलचित्रको दायरा फराकिलो हुनुपर्छ । 

कलाकारको कुरा आयो, कलाकारलाई त धेरैभन्दा धेरै विषयवस्तुमा खेल्न पाउँ भन्ने उसको अपेक्षा हुन्छ । कुनै एक विषयमा भन्दा पनि धेरैभन्दा धेरै चरित्रमा अभिनय गर्ने कलाकारको इच्छा हुन्छ । 

दर्शक र समीक्षकले मन पराउने चलचित्र फरक फरक छन् । दर्शक मनोरञ्जन मात्रै खोजिरहेका छन् । सीमक्षक चलचित्रको सुधार र सूत्रको कुरा गर्छन् । कसलाई लक्षित गरेर बनाउँदा समग्र नेपाली चलचित्रको विकास होला ? 

चलचित्र बनाउँदा स्पष्ट हुनुपर्यो तपाईं केका लागि चलचित्र बनाउने हो । चलचित्रमा लगानी हुन्छ । मुनाफा कमाउन चलचित्र बनाउने हो की स्यावासी कमाउन चलचित्र बनाउने हो ? चलचित्र बनाएर स्यावासी पाउँदैमा चित्त बुझ्छ भने त्यही अनुसारको चलचित्र बनाउनूस्, होइन मेरो चलचित्रले बढी से बढी मुनाफा कमाउनुपर्छ भन्ने लाग्छ भने त्यही अनुसारले चलचित्र बनाउनु पर्यो । 

तपार्ईंले पनि चलचित्र बनाउने खबरहरु आए । तर त्यसले आजसम्म सार्थकता पाउन सकेको छैन । तपाईंले बनाउने चलचित्र तपाईले अभिनय गर्दा ताकाकै जस्तो हुनेछ कि अहिले भन्ने गरिएको फरक धारको हुनेछ ? 

काम भइरहेको छ । हुन्छ होला । स्टोरीमा काम भइरहेको छ । आफूलाई चित्त बुझेपछि मात्रै काम गर्ने हो । सोचेर विचार गरेर दर्शकले मन पराउनुहुन्छ भन्ने भएपछि बनाउन सुरु गर्ने हो ।

हामी सधै हाम्रो बजार सानो छ, विदेशमा हाम्रा चलचित्र मन पराइँदैन, त्यसैले ठूलो बजेटमा लगानी गर्न नसकेकै कारण चलचित्र अपेक्षित राम्रा र विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्न सक्ने चलचित्र बनाउन सकेनौं भन्छौं । विदेशमा नेपाली चलचित्रले आफ्नो बजार बनाउन नसक्नुको कारण के होला ?

चलचित्रमा दर्शक नआउनु भनेको दर्शकको चाहना अनुसारको चलचित्र नबन्नु नै हो । यसमा हामीले आफूलाई दोष दिनुपर्छ । 

कुरा रह्यो विदेशमा किन हाम्रा चलचित्र गएनन् भन्ने । हामी के स्वदेशमा एउटा स्याचुरेशन पोइन्टमा पुग्यौं त ? पहिला त हामीले आफ्नै दर्शकलाई रिझाउनु पर्यो । आफ्नै दर्शक संसारभर छरिनुभएको छ, उहाँलाई मनपर्ने चलचित्र बनाउन सक्नुपर्यो । यसमा हामी खरो उत्रिन सकेनौं भने हाम्रो मेकिङमा कमजोरी दखिनु हो ।

त्यसैले अन्तर्राष्ट्रिय बजारमा हामी किन जान सकेनौं भनेर टाउको दुखाउनुभन्दा पहिला आफ्नै देशमा रुचाउने चलचित्र बनाउनु पर्यो । यहाँको बजार राम्रो बनाउन सक्यौं भने पछि स्वतः अन्तर्राष्ट्रिय बजारमा गइहाल्छ । त्यसैले हामी अरुको हेरेर भन्नुभन्दा पनि हाम्रो आफ्नो विगत कस्तो थियो, आज कहाँ आइपुग्यौं र कहाँ जाँदैछौं तथा कसरी अझै राम्रौ गर्दै जानेछौं भन्ने नै सोच्नुपर्छ हामीले ।


को बन्छ करोडपतिको होस्ट गरिरहनु भएको छ । अभिनेताले टेलिभिजन प्रस्तोताको अनुभव गरिरहनु भएको छ, भलै यो पहिलोपटक होइन । कस्तो अनुभूति भइरहेको छ ?

को बन्छ करोडपति एउटा विशेष कार्यक्रम हो । विभिन्न राष्ट्रमा प्रशारण भइसकेको कार्यक्रम हो । भारतमा २० वर्षदेखि निरन्तर प्रशारण भइरहेको छ । आज हाम्रोमा पनि आइरहेको छ । यो हामी सबैका लागि खुसीको कुरा हो । अन्तर्राष्ट्रिय फ्रेन्चाइज शो हो ।

यसका हरेक कुरा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हुन्छ । दर्शकले अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम आफ्नै भाषा, संस्कृति र रहनसहनमा हेर्न पाउनुहुन्छ । यसैले आजसम्म आइपुग्दा दर्शकले माया पनि गर्नुभएको छ, स्वीकार पनि गर्नु भएको छ । मेरो लागि त यो राम्रो अवसर पनि हो । हिजो चलचित्र पर्दामा देखिन्थ्यो, त्यहाँ गएर हेरिन्थ्यो । आज यो को बन्छ करोडपति मार्फत् दर्शक आउनुहुन्छ । प्रत्यक्ष भेटघाट हुन्छ । गेम शो पनि हुन्छ । भावना साटासाट पनि हुन्छ । 

तीन दर्जन एपिसोड सकिँदा पनि त्यति धेरै ठूलो रकम सहभागीले जित्न सक्नु भएको छैन । प्रश्नको डिजाइन नै त्यस्तै हो की सहभागी कमजोर हुन् ?

प्रश्नको स्ट्यान्डर्ड हुन्छ । माथिमाथि चढ्दै गएपछि जटिल त हुन्छ नै । एक करोड कसरी जिताउने भनेर सजिलो त पक्कै पनि सोधिँदैन । प्रतिस्पर्धीको ज्ञानको केही न केही परिचय र परीक्षा पनि लिइन्छ । त्यो हुँदाहुँदै पनि यो खेलको मनसाय जो पनि यहाँ भाग लिन आउनुहुन्छ, उहाँहरुले सक्दो धेरै से धेरै रकम जितेर जानुहोस् भन्ने नै हुन्छ ।

तर त्यसका लागि सजिलो प्रश्न लगाएर जिताउने कुरा हुँदैन । किनभने यसको आफ्नै प्रक्रिया हुन्छ । अन्तर्राष्ट्रिय फ्रेन्चाइज भएकाले आफ्नै मापदण्ड पनि हुन्छ । आजको घडीसम्म आइपुग्दा अलिकति दुःख पनि लागिरहेको छ । किनकी हाम्रो अपेक्षा एक सिजनमा कम्तिमा केहीले एक करोड अथवा ५० लाख जितेर जानुहुन्छ भन्ने अपेक्षा थियो तर आजको दिनसम्म त त्यो भएको छैन । हेरौं अझै केही एपीसोड बाँकी छ, के हुन्छ । 

कहिले तपाईंको शोमा अहिलेको चल्तीको कमेडी शो सुटिङ गरिन्छ त कहिले तपाईं स्टार एक्टर एक्ट्रेस ल्याएर कार्यक्रम चलाउनु हुन्छ । कारण के हो ? 

एउटा कुरा के हो भने हामी यो कार्यक्रममार्फत् धेरै से धेरै दर्शक माझ पनि जान चाहन्छौं । प्रश्नोत्तर, पैसा जित्ने त यसको अहम् पाटो छँदैछ । यससँगै विभिन्न क्षेत्रका व्यक्ति आएपछि दर्शकलाई पनि रमाइलो हुन्छ भन्ने पनि हो । धेरै त पब्लिक फिगर नै आउनुहुन्छ ।

उहाँहरुमा दर्शकको जिज्ञासा पनि हुन्छ । उहाँबारे केही जान्न खोज्नुहुन्छ । सायद उहाँहरुको ज्ञानको स्तर कति छ भनेर बुझ्न पनि खोज्नु हुन्छ होला । गेम शो सँगै धेरैभन्दा धेरै दर्शकलाई आकर्षित पनि गर्न सकियोस् भन्ने पनि हो । राम्रो रमाइलो पनि होस् भन्ने उद्देश्य नै हो । 

सामान्यतः अन्य फ्रेन्चाइज शोको जति चर्चा हुन्छ, त्यसको तुलनामा यसको चर्चा कम छ भनिन्छ नि हो ?

हाम्रो टिम त सन्तुष्ट नै छ । हामीले सुरु गरेको तीन महिना जति मात्रै भयो । जति समय हामीले प्रशारण गर्यौं, समयअनुसार चित्त बुझ्दो नै छ । 

तपाईंसँग जोक्स र ट्रोलको कुरा गरेन भने यो बसाइ नै अपुरो होला । साँच्चै तपाईं नाच्दा खाल्टो परेको ठाउँमा पानी जमेर नै फेवाताल बनेको हो ?

हो नि ! जसरी जङ्गबहादुर धरहराबाट हामफाले (हाहाहा...), त्रिशूलीमा जङ्गबहादुर घोडासहित हामफाले, त्यसैगरी राजेश हमाल पनि नाच्दाखेरी खाल्डो परेर फेवाताल बन्यो (हाहाहा...) 

यस्ता जोक्सलाई आफ्नो लोकप्रियतासँग जोडेर हेर्नुहुन्छ कि उडाएको ठान्नु हुन्छ ?

यो जोक्स हो । जोक्स कसैका उपर बनाइनु पनि उसको छवि हुनु जरुरी छ । जनसमुदायमा कुनै कालखण्डमा छवि बनाएको छ । त्यो छवि जनसमुदायमा गाढा किसिमले बसिरहेको छ भने त्यो व्यक्तिलाई प्रतिनिधि पात्र    बनाएर व्यक्तिहरुले विभिन्न कुरा गर्छन् ।

जस्तै– मैले जङ्गबहादुरको उदाहरण दिएँ । यसलाई वस्तुगत हिसाबले हेर्नुपर्ने हुन्छ । किनकी राजेश हमालको छवि एक ठाउँमा छ, म व्यक्ति राजेश हमाल अर्को ठाउँमा छु । त्यसैले त्यो छविलाई त मैले पनि हलचल गर्न सक्तिन । 

रमाइलो लाग्छ कि रिस उठ्छ ? 

मलाई त रमाइलो लाग्छ । 

तस्बिरः सरिता खड्का
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २३, २०७६  ०८:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC