बारा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का निवर्तमान अध्यक्ष नैनसिंह महर बाराको फेटा गाउँपालिकामा हावाहुरीबाट ढलेका घरहरुको भग्नावशेष हटाउन पुगेका छन् । निवर्तमान अध्यक्ष महर सातवटै प्रदेशका कांग्रेसी युवाको नेतृत्व गर्दै फेटा गाउँपालिकामा पर्ने भलही र भरवलिया भग्नावशेष हटाउन पुगेका हुन् ।
उनीहसँगै कांग्रेस बाराका कोषाध्यक्ष शेखर यादव, पूर्वसांसद जीतेन्द्र यादव, नेविसंघका निवर्तमान उपाध्यक्ष सञ्जय यादव, फिरोज आलम, सुधिर पटेललगायत अन्य युवा भग्नावशेष हटाउने काम गरिरहेका छन् ।
गत आइतबार गएको हावाहुरीले भलही र भरवलियामा १३ जनाको मृत्यु हुनुका साथै सयौं नागरिक घाइते भएका थिए । महर नेतृत्वको टोलीले स्थानीय सरकारसँगको समन्वयमा ती गाउँका ८० परिवारलाई चामल, दाल, तरकारी, त्रिपाल, टुथपेष्ट–ब्रस, पानी, फ्रुटीलगायत वितरण गरेको नेविसंघ पूर्वकेन्द्रीय सदस्य बद्री तिवारीले जानकारी दिए ।
यसअघि कांग्रेसका युवा नेता प्रदीप पौडेलले नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेसहित प्रभावित क्षेत्रमा पुगेर राहत सामाग्री वितरण गरेका थिए । उनी नेतृत्वको टोली हावाहुरी प्रभावित क्षेत्रमा क्षतिग्रस्त विद्यालय पुनर्निमाणको तयारी लागेको निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिएका छन् ।