site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आँधीपीडित बस्तीमा जे देखियो : राहतमा मुखियाकै मस्ती
Sarbottam CementSarbottam Cement

बारा । वीरगञ्ज–कलैया मुख्य सडकबाट ३ किलोमिटर दक्षिणमा पर्छ– नहर छेउको गाछी टोल । फुसको छानो र बाँसले बारेका चिटिक्कका घरहरू । आँधीअघि यो बस्तीको शान–शौकत बेग्लै थियो । विपन्नताको गर्तमै सही, आफ्नो पौरख र इमानमा बाँचेका थिए उनीहरू ।

तर आइतबार राति सबा सात बजे उनीहरूको थाप्लामा महाविपत्ति बज्रियो । मेघ गर्जनसहित आएको भूमरीले गाउँका घरहरू धूलाम्यमात्रै बनाएन । गावैँको सपनाको सर्वनास भयो । डेढ सय घरधुरी रहेको यो बस्ती आँधीपछिको सामुद्रिक किनारजस्तै असरल्ल छ । बस्तीबीचको बगानमा सग्ला आँपका बोट देख्न मुिस्कल छ । अधिकांशका मुन्टो भाँचिएका छन् ।
बाटोछेउका ३ वटा बाँसका भीमकाय झ्याङ् डोजर लगाएर उखेलेझैँ बस्तीलाई निशाना लगाएर पल्टिएका छन् ।

बुधबार राति आँधीको चारदिन बितिसकेको छ । तर, दुईजना छोरी गुमाएको यो बस्तीको शोकमा चुर्लुम्म डुबेको छ । सिंगै बस्ती मलामी गएजस्तै चनखमन्द छ । आँधीपछिको सन्नाटामा छ, गाउँ ।

Prabhu Bank
Agni Group
NIC Asia

बाह्रखरी टोली नहर छेउको साँघुरो पुल तरेर उत्तर सोझिँदा केही मुस्लिम अगुवा गाछी टोलको भग्न घरहरू हेर्दै चुकचुकाउँदै थिए । बस्तीमा चाइनीज त्रिपाल टाँगिएको थियो । शरीरमा एकसरो लुगासमेत नलगाएका केटाकेटी घरको भग्नावशेषमा टुकी बालेर केही खोतली रहेका थिए । शायद, उनीहरूका खेलौना र पढ्ने किताब पनि आँधीको आहारा बनेका हुँदा हुन् ।

“कति कामले आउनु भयो ?” एकजना मुस्लिम अगुवाले हामीलाई सोधिहाले ।

Global Ime bank

“काठमाडौंबाट आएका पत्रकार हौँ,” हामीले जवाफ दियौँ ।

ती मुस्लिम अगुवा केहीबेर अडिएर भने, “बस्ती पुरिनेगरी राहत आइसक्यो तर यहाँका पीडितले पाएका छैनन् । तपाईंहरूले सत्यतथ्य लेखदिनुपर्‍यो !”

फेटा गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने यो मुस्लिम बस्ती मुख्य प्रभावित गाउँ हो । वडा नम्बर ६ कै अर्को दलित बस्ती पनि ज्यादा प्रभावित छ । तर, राहत दामासाहीका दरले नबाँडिएको पीडितहरूको गुनासो थियो ।

“राहतमा पनि मुखियाकै राज चल्छ हजुर, हामी गरिबलाई कसले हेर्छ ?,” स्थानीय साबिर हुसेन देवानले गुनासो पोखे ।

एउटा त्रिपालमा सिंगो परिवार

गाउँपालिका अध्यक्ष अमरिलाल यादवले मंगलबार बेलुकीसम्म आँधीबाट घर भत्किएका सबैका आँगनमा त्रिपाल पुर्‍याउने बताएका थिए, बाह्रखरीसँग । स्थानीयका अनुसार सबैका घरघर पुग्ने त्रिपाल पनि निकासा भएको छ । तर, गाछी टोलमा गाउँपालिकाले दिएको त्रिपाल कतै देखिएन । गाउँपालिकासम्म पहुँच हुनेले पाएका रहेछन् । कतिका आफन्त सीमापारी भारततिर भएकाले उनीहरूले पनि जुगाड गरिदिएका रहेछन् । त्यसबाहेक चीन सरकारले उपलब्ध गराएको ९–१० वटा त्रिपाल बस्तीमा टाँगिएको छ । 

“यही त्रिपालभित्र सिङ्गो परिवार अटाउनु परेको छ,” स्थानीय मञ्जुर आलम बताउँछन् ।

“बस्तीमा संयुक्त परिवारको संख्या अधिक छ । एउटै घरमा झन्डै दश–बाह्रजनाको परिवार छ । यो प्रचण्ड धूपमा एउटा त्रिपालमुनि यत्तिका मानिस कसरी अटाउनु ?,” स्थानीयको प्रश्न छ ।

४९ सेकेन्डको महाप्रलय

०७२ वैशाख १२ र २९ गतेको भूकम्पले पहाड सखाप बनायो ।

गत आइतबारको आँधीले बारा र पर्सामा त्यो भन्दा ठूलो वितन्डा मच्चायो ।

“जम्मा ४९ सेकेन्ड आएको हो । हामीले त पृथ्वी नै उल्टोपाल्टो हुन लागेको ठान्यौँ,” स्थानीय देवान त्यसदिन सम्झन्छन् ।

अघिल्ला चैतमा हुरी आउँथ्यो । तर, केही समयमै थामिन्थ्यो । आइतबार दिउँसैदेखि कालो बादल मडारिएको थियो । साँझपख असिनासहित पानी पर्‍यो । असिना–पानी पर्दा हल्का हावा चलिरहेको थियो ।

पानीसमेत परेकाले गाछी टोलबासी घरभित्र पसे । धेरैका अँगेनामा भात पाकी सकेको थियो । अचानक बाघ गज्रिएजस्तो हावाको हुँकार सुनियो । के हुन आँट्यो भनेर स्थानीय घरबाहिर निस्कन पनि भ्याएका थिएनन् हुरीले बस्तीलाई बेरिहाल्यो ।

१७ वर्षीया सवनम खातुन र १० वर्षीया खातुन बाहिर निस्कन भ्याएनन् । वर्षौंदेखि ओत दिइरहेको घरले किचेर उनीहरूको घटनास्थलमै ज्यान गयो ।

“हाम्रोजस्तो बाँसले बेरेका घरको के कुरा भयो र, पक्की घरका समेत छाना उडेका छन्,” देवान इट्टाले बनेको घरलाई औँलाले देखाउँछन् ।

विनासको प्रकृति हेर्दा आँधी सानो स्केलमा गएको छ । भूमरीको आरम्भ यही गाछी टोलबाट भएको मान्न सकिन्छ । किनभने त्यहाँभन्दामुनि आँधीले कुनै क्षति पुर्‍याएको छैन ।

बारा–पर्साको भूमरीका बारे जल तथा मौसम विज्ञान विभागसमेत अन्योलमा छ ।  अध्ययन टोली बुधबारमात्रै बारा आइपुगेकाले अध्ययन–अनुसन्धान हुनै बाँकी छ ।

तर आँधीको प्रकृत हेर्दा टोरनेडोको अनुमान गर्न सकिन्छ । किनभने यसको लम्बाइ–चौडाइ लामो छैन । “छिमेकको टोललाई समेत असर गरेका छैन । आकाशबाट भुमरी आएजस्तो रुखपात बेरेर ल्याएको थियो,” देवान त्यस दिनको दृष्या वर्णन गर्छन् ।

खाद्यान्न होइन ओत आवश्यक

असिना–आँधीले ठुल्ठूला रूख समेत जरैदेखि पल्टाए पनि खेतमा थन्क्याउने बेला भइसकेको गहुँलाई कुनै असर पुर्‍याएका छैन । सङ्घ–संस्था र स्थानीय सरकारले चामल, दाल बाँडिरहेकाले गाँसको अभाव नरहेको देवान बताउँछन् ।

वर्षा नजिकिइसकेकाले तत्काल ओतको आवश्यकता रहेको उनी बताउँछन् ।

“सरकारले घर बनाइदिने भन्ने सुनेका छौँ । वर्षा लाग्न आँटिसक्यो, बनाइदिइहाले हुन्थ्यो । खानेकुरा त आइरहेको छ,” उनले थपे ।

त्यसबाहेक बस्तीको आवश्यकता हो– भाँडावर्तन । आँधीले घर भत्काएकाले भाँडावर्तन होइन, एक गेडो अनाज पनि निकाल्न पाएनन् उनीहरूले ।

यसर्थ खानेकुरा भए पनि केमा पकाउने अन्योलमा छन् उनीहरू ।

“अन्नसँगै भाँडाकुँडा, साबुन राहतमा ल्याइदिए, पीडितको उद्धार हुन्थ्यो,” देवान थप्छन् ।

अर्को बस्तीमा शौचालय पनि छैन । शौचालय नहुँदा बस्तीमा दुर्गन्ध फैलिएको र व्याधीको खतरा बढेको स्थानीय बताउँछन् ।

राहत वितरणमा मनपरि
गाउँ–गाउँमा सरकार हुँदा पनि राहत वितरण व्यवस्थित बन्न नसकेको गुनासो गाछीबासीले गरेका छन् । उनीहरूका अनुसार बस्तीका अधिकांश घाइते नेशनल मेडिकल कलेज भर्ना भएका छन् । घरका सद्दे मानिस उनीहरूकै कुरुवा बस्नु परेको छ । 

यसरी कुरुवा बस्न जाँदा राहत सामग्री नपाएको र गाउँपालिका अध्यक्ष र वडाका जनप्रतिनिधिले आफ्ना मान्छेलाई दोहोर्‍याइ–तेहेर्‍याइ दिएको गुनासो स्थानीयबासीको छ ।
उनीहरूले धुरी गनेर सबैका भागमा पर्ने गरी राहत वितरण गर्न सरोकारवाला निकायलाई ध्यानकर्षणसमेत गराए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २१, २०७५  ०६:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC