काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पताल (केएमसी)मा ६ महिनाको अन्तरालमा चिकित्सक कुटपिटका दुई घटना भए ।
६२ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार (हिजो) मृत्यु भएपछि आफन्तले डिउटीमा रहेका दुई चिकित्सकमाथि आक्रमण र इमर्जेन्सी काउन्टरमा तोडफोड गरेका थिए । इमर्जेन्सीमा कार्यरत चिकित्सकद्वय डा. विनिता प्रधान र पूजा साह सामान्य घाइते भएका थिए । लामो वार्तापछि मंगलबार दिउँसो दुई पक्षबीच सहमति भयो ।
केएमसीमै ०८० असोज १४ गते नेफ्रोलोजी ओपीडीमा कार्यरत एक इन्टर्न चिकित्सक बिरामीका आफन्तबाट कुटिएका थिए । उक्त घटना चिकित्सकको लामो आन्दोलनपछि कानुनी प्रक्रियामा गएर टुंगिएको थियो ।
सोही वर्ष भदौ १८ गते हेटौँडास्थित सन्चो अस्पतालमा कार्यरत दुई चिकित्सक र पोखराको मणिपाल शिक्षण अस्पतालमा बिरामी पक्षबाट भएको सामूहिक हमलाको घटनाले सडकदेखि सदनसम्म तताएको थियो । यस्ता घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन मागसहित चिकित्सक, स्वास्थ्यकर्मीले पटक–पटक आन्दोलन गरेका छन् ।
उक्त विषयमा नेपाल चिकित्सक संघ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच ०८० असोज १५ गते सातबुँदे सहमति भएको थियो । संघको मागबमोजिम ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९)’ अनुसार आक्रमणका दोषीमाथि कारबाही गर्ने सहमति भएको थियो । तर, एकाधबाहेक अधिकांश घटनाका दोषीमाथि कारबाही नभएको संघका महासचिव डा. सन्जिब तिवारी बताउँछन् ।
“कतिपय घटनामा आपसी सहमति जुट्छ । केही ठूला घटना भने अदालती प्रक्रियामा गएका छन् । तर, अहिले पनि ऐनको बलियो कार्यान्वयन भने छैन,” डा. तिवारी भन्छन् ।
ऐन कार्यान्वयनमा संघ, मन्त्रालय, प्रहरी प्रशासन, स्थानीय तहलगायत सबै निकायको उत्तिकै भूमिका रहने उनको बुझाइ छ ।
चिकित्सक/स्वास्थ्यकर्मी वा अस्पताल प्रशासनको लापरबाही भएको वा सेवा चित्त नबुझेको खण्डमा नेपाल मेडिकल काउन्सिलमा उजुरी गर्न सकिने व्यवस्था छ । काउन्सिलले व्यावसायिक आचारसंहितासम्बन्धी उजुरी गर्न तर आक्रमण र तोडफोडमा नउत्रन पटक–पटक अपिल गरेको छ । सन् २०२३ मा काउन्सिलमा व्यावसायिक आचारसंहितासम्बन्धी ८६ उजुरी दर्ता गरिएको थियो । तीमध्ये २७ वटामा निर्णय भएको तथ्यांक छ । २७ मध्ये ११ उजुरीका विषयमा कारबाहीका निम्ति काउन्सिलले सम्बन्धित निकायलाई सिफारिस गरेको तथ्यांक छ ।
के हुन्छ कारबाही ?
स्वास्थ्यकर्मीको सुरक्षाका निम्ति नेपालमा ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन ऐन, २०७९)’ लागु गरिएको छ । स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई पनि ऐनमा समेटिएको छ । उक्त ऐनको दफा ३ मा ‘स्वास्थ्य संस्थामा आगजनी, तोडफोड, कुटपिट वा तालाबन्दी गर्न वा उपचारमा बाधा पार्न नहुने’ उल्लेख छ ।
ऐनमा यस्तो छ कसुरअनुसार सजायको व्यवस्था
१. स्वास्थ्य संस्थामा आगजनी गरेमा दुईदेखि पाँच वर्षसम्म कैद वा दुईदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने,
२. स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानि–नोक्सानी पुर्याएमा तीन वर्षसम्म कैद वा तीन लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने,
३. स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गरेमा वा शारीरिक रूपमा चोट पुर्याएमा तीन वर्षसम्म कैद वा तीन लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने ।
यी तीनवटै कसुरमा अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न सकिने व्यवस्था छ ।
यस्तै, अरू तीन कसुरमा एउटै सजाय लागु हुने ऐनमा व्यवस्था छ ।
१. स्वास्थ्य संस्थामा तालाबन्दी वा घेराउ गरेमा,
२. स्वास्थ्य संस्थामा उपचारका लािग आएका वा उपचाररत बिरामीको उपचार गर्ने कार्यमा कुनै किसिमले बाधा पुर्याएमा,
३. स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात, कुनै किसिमको धम्की, गालीगलौज अभद्र वा अपमानजनक व्यवहार गरेमा–
एक वर्ष कैद वा एक लाख रुपैयाँसम्म जरिवाना वा यी दुवै सजाय हुन सक्ने व्यवस्था छ ।