site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मन पराउने भन्दा नपराउने मानिस बढी थिए
Sarbottam CementSarbottam Cement

बाल्यकालबाट किशोरकालमा उक्लिँदोे बेला । पढ्ने–लेख्ने बेलामा उनी भने आमाले अह्राएको काम गर्न घरघर पुग्थिन् । कसैको लुगा धोइदिनु पर्ने । सानासाना हातहरुले उनले कसरी ठूलाठूला लुगा धुँदिहुन् ! सम्झँदै पनि अत्यास लाग्छ ! 

त्यो उमेरमा उनलाई खुबै भोक लाग्थ्यो । उनका मातापिता बसेको घर छेउमै एउटा ठूलो घर थियो । त्यो घरबाट जहिले पनि खानेकुराको मगमग बासना आइरहन्थ्यो । कहिले मासु पकाएको त कहिले माछा पाक्दाको बासना । त्यो बासनाले उनलाई हुरुक्कै बनाउँथ्यो । बाल मन न हो ! 

उनकी आमा खाजा बनाएर बेच्न लान्थिन्, नजिकैको गोर्खा स्कूलमा । स्कूलका विद्यार्थीहरुले किनेर खान्थे । त्यस्तो खाजा उनले चाख्न मात्रै पाउँथिन् । 

Prabhu Bank
Agni Group
NIC Asia

मिठो खाना पाक्ने त्यस घरकी महिलाहरु दिउँसो हुँदा एकै ठाउँमा जम्मा भएर तास खेलेर बस्थे । उनीहरु केही समय तासमा मग्न रहन्थे । यही समयमा उनी घरको झ्यालबाट भान्छामा छिरेर भात पकाएको भाँडाबाट सरक्क माथि–माथिको भात अरुले थाहा नपाउने गरि झिक्थिन् । त्योसँगै दाल र तरकारी पनि हाल्थिन् । र, घरमा ल्याएर खान्थिन् । 

वरिष्ठ कथाकार तथा प्राज्ञ माया ठकुरी (७०) मंगलबार दिउँसो प्रज्ञा प्रतिष्ठानस्थित आफ्नो कार्यकक्षमा पुराना दिन सम्झिँदै थिइन् । बाल्यकालको उरन्ठेउलो कर्म सम्झिएर हाँसिन् । उनी भन्दै थिइन्, ‘तर तिनले थाहा पाउँँदा रहेछन् । दुई चार पटक नै मैले यस्तो गरेँ । पछि त्यस घरकी महिलाहरुले मेरो आमासँग गुनासो गरे । मैले मेरी आमासँगै ती महिलाहरुको हातबाट पनि कुटाई खाएँ । त्यसपछि मैले कहिल्यै यस्तो गलत काम गरिनँ ।’

Global Ime bank

सायद त्यही भोकको असर होला, उनी आज पनि कोही भोको देख्दा भ्याएसम्म तिनलाई खाना खुवाउन मन गर्छिन् । उनी भन्छिन्, ‘भोक कस्तो हुन्छ । कसरी आन्द्रा बटार्छ । कसरी ओठमुख सुक्छ । मलाई थाहा छ । मेरो विगतले मलाई ती सबै बाटो हिँडाएको छ ।’ 

कुराकानीकै क्रममा उनले एउटा अर्को प्रसंग सुनाइन् । साहित्यकार माया ठकुरीकी आमाले उनलाई व्रत बस्न भन्थिन् । मंगलबार, बिहिबार, शुक्रबार, कतिपय बारमा व्रत बस्नु पर्दथ्यो । एक त भोको पेट, त्यसमाथि व्रत । उनलाई गाह्रो हुन्थ्यो । अनि उनी कहिलेकाही खाईदिन्थीन् । कैयन पटक त उनले कनिका नै चपाएकी छिन् ।

यस्तो कठिन परिस्थिति भोग्दै आएकी मायाले सानो उमेरमै सम्भ्रान्त परिवारको रहनसहन देखिन् । किनभने उनले त्यस्तो घरमा पनि काम गरिन् । त्यो सभ्रान्त परिवारमा काम गर्दा भाँडा माझ्ने लुगा धुने काम गर्नुपर्दथ्यो । तरकारीमा हाल्ने मसला सिलौटोमा सानासाना हातले पिस्थिन् । कतिदिन त उनको हातै पनि दुख्थ्यो । पोल्थ्यो । तर जीवन जिउनु थियो नै ।

त्यस घरमा खाना पाकेपछि घरका पुरुषहरुले लुगा फेरेर पिर्कामा बसेर खान्थे । उनी त्यस घरका केटाकेटीले खाएको हेरिरहन्थिन् । त्यो घरमा रहरको दाल खुबै मिठो पाक्थ्यो । उनलाई आज पनि रहरको दाल औधी मनपर्छ । 

सबैले खाना खाईसकेपछि घरकी साहुनीले चुलो छेउमा बोलाएर मायालाई खाना खान दिन्थिन् । तरकारी छोपेको सिलभरको भाँडोमा उनका लागि मुछेको भात राखिएको हुन्थ्यो । उनी गमगम खान्थिन् । उनलाई अमृत सरह हुन्थ्यो खाना । पछि उनलाई लाग्यो, ‘यो त सबैले छोडेको खाना एकै ठाउँमा हालेर मुछेर पो दिएका हुन् कि ।’ तर उनलाई कहिल्यै घिन लागेन । उनले मिठो मानेर खाईन् । उमेरै त्यस्तो थियो । तर जब ति कुरा सम्झिन्छिन्, उनलाई लाग्छ, मानिसको मन कति कठोर हुँदोरहेछ भन्ने । 

आज पनि उनको घरमा खाना उब्रिए चोखै राख्ने चलन छ । आज पनि उनको घरमा कसैले खाना फ्याँम्क्दैनन् । माया ठकुरी भन्छिन् ‘यदि ती सारा कुरा आफ्नै आँखाले न देखेकी हुँदी हुँ त मैले मेरो कथामा सम्भ्रान्त परिवारको वर्णन कसरी गर्न सक्थेँ । मैले कसरी कल्पना गर्न सक्थँे । म त यस्तो घरमा बस्थे जुन घरको छानो चुहिन्थ्यो । पानी परेको बेला ओछ्यान हटाएर सिलभरको भाँडा थाप्थेँ, पानी चुहिएको ठाउँमा ।’

०००
\"\"प्राज्ञ माया ठकुरीलाई कहिले लाग्छ, उनको उमेर ७० वर्षभन्दा धेरै तल छ । उनी ७० पुगेकी नै छैनन् । उनमा अझै पनि अथाह उर्जा र कार्यशक्ति छ । जुन शक्तिले उनलाई उमेर उक्लिँदै गएको अनुभूत हुन्न ।

तर, कहिलेकाँही उनलाई महसुस हुन्छ ‘हैन म ८० पो कटिसकेँ कि क्या हो ? कुनै जोश जाँगर नै छैन ! तथापि, उनी आफ्नो कर्मप्रति सदैव क्रियाशील छिन् । अर्थात् उनको उमेर जति नै भएपनि उनको कर्ममा कुनै कमी आएको छैन ।

उनको उमेरको कुरा उठ्दा उनकी आमाले ‘मायाभन्दा अगाडि आफ्नो चारवटा गर्भ तुहिएको बताउँदै त्यस पछि माया जन्मिएको सुनाउँथिन् । अर्थात् उनकी आमालाई पनि उनको सही उमेर थाहा छैन । 

माया ठकुरीका अनुसार सुरुमै स्कूलमा भर्ना भएको भए जन्म मिति खोजिन्थ्यो होला । स्कूलमा सही जन्ममिति लेखिन्थ्यो । तर उनको हकमा त्यो भएन । उनी धेरै पछि मात्रै स्कूल पुगिन् । 

मायाले आफ्नो जीवनमा मानिस नै भगवानका रुपमा पाएकी छिन् । उनले आफ्नो पिताजी जस्तै माया गर्ने मानिस भेटेकी छिन् । उनी भन्छिन्, ‘मैले मेरो बुवा जत्तिक्कै माया गर्ने केही मानिस भेटेरै आज म यो अवस्थामा आईपुगेकी हुँ । कोही स्कूल शिक्षकका रुपमा भेटिए । कोही मामाका रुपमा भेटिए । तिनले मलाई सधैसधै प्रोत्साहित गरे ।’ 

प्राज्ञ माया ठकुरीका अनुसार सानो उमेरमा उनको स्वभाव नै अर्को किसिमको थियो । उनलाई सबैले जिस्काउँथे । उनको स्वभावमा चिडचिडापन ज्यादा थियो । त्यसैले चित्त नबुझे गाली गर्न पनि पछि पर्थिनन् ।

मायाको जन्म लखनउको आर्मी अस्पतालमा भयो । पिताजी आर्मीमा थिए । एक दुई वर्षमै उनको पिताजीको सरुवा सिलौङ भयो । परिवारै सिलौङ पुग्यो । 
त्यहीँ उनले आफ्नो बाल्यजीवनमा अनेकन आरोहअवरोह भोगिन् । कसैको घरमा भाँडा माझिन् । कसैकहाँ लुगा पनि धोईन् । किशोरी उमेरमा अर्थात् लेखपढ गर्ने उमेरमा उनी घरेलु कामदारकारुपमा खट्नु पर्ने अवस्था आईदियो ।

पारिवारिक भरणपोषणका लागि पिताजीको कमाई मात्रै पर्याप्त नभएपछि उनकी आमा र उनले अनेक काम गरिन् । एक पटक सिलौङमै रहँदा उनले काम गर्ने घरमा एउटा मानिसले आफूले बीए एमए पढेकोे कुरा गर्यो । मायाले पनि आफूले पनि म्याट्रिक पास गरेको कुरा बताईन् । जबकी उनले म्याट्रिक पास गरिसकेकी थिईनन् त्यो बेलासम्म ।

पछि त्यस घरकी दिदीले किन झुठो बोलेको ? भनिन् । उनले पनि ‘मैले म्याट्रिक पनि पास छैन भनेर कसरी भन्नु’ भन्ने कुरा गरिन् । केही दिनपछि त्यही व्यक्ति माया ठकुरीलाई खोज्दै उनको घरतिर आईपुगे । उनलाई देखेर मायालाई शरम लागेछ । उनी आफ्नो घरको खाट मुनी लुकिन् । 

उनकी आमाले मायालाई बाहिर बोलाईन् । उनी बाहिर निस्किन् । पछि ति व्यक्तिले भने, ‘तिमीलाई आफूले झुठो बोलेकोमा लाज लाग्यो । यो लाज लाग्नु नै ठूलो कुरा हो । तिमीले आफूले झुठो बोलेकोमा लाज मानेरै प्रायश्चित गरेकी छौ’ ।

त्यस व्यक्तिको यो भनाईले पनि उनलाई धेरै सहयोग गर्यो । उनी आशावादी थिइन् आफूले केही गर्न सक्छु भन्ने विषयमा । अन्ततः उनले म्याट्रिक पास गरिन् ।
बाल्यकालमा उनले आमा र मामाघरकी हजुर आमाले भट्याएको रामायण र महाभारत कैयन पटक सुनिन् । तीजको गीत गाएर आमा र हजुरआमा बलिन्द्र धारा आँशु बगाएर रोएको पनि देखिन् । आमा र हजुरआमाको रामायण पाठबाट उनलाई कविता र गीत कोर्ने उर्जा मिल्दै गयो । 

स्कूल नगए पनि अनौपचारिक शिक्षा लिँदै आएकी मायालाई एकजना शिक्षकले घरमै राखेर पढाइदिने भए । उनले शिक्षकको घरमा घरायसी काम गरिदिन्थिन् । शिक्षकको घरमा भाँडा माझ्ने, खाना पकाउने, लुगा धुने काम उनको जिम्मा थियो । 

माया भन्छिन्, ‘म सानै हुँदा आमाले विभिन्न घरवालाका ठूला लुगा धुनु पर्दथ्यो । सानो मानिस । सानै हात । साबुन र कपडा भने ठूलो ठूलो । खोलामा गएर धुनु पर्दथ्यो । अनि कहिलेकाँही त ठूला लुगाहरु म खोलामै बगाइदिन्थेँ । यसै कारण पनि कैयन पटक आमाको हातको पिटाई खाएकी छु ।’

०००
म्याट्रिक दिँदाको एउटा रमाईलो प्रसंग माया ठकुरीले सुनाइन् । शिक्षकले परीक्षाभन्दा अगाडि उनलाई नआत्तिएर विचार पुर्याएर, प्रश्नहरुलाई गम्भीररुपले बुझेर परीक्षा दिन भने । उनले शिक्षकले भनेको केही बुझिन् । केही बुझिनन् । 

उनी परीक्षा हलमा गइन् । सिकाए अनुसार उत्तर पुस्तिकामा नाम, रोल नम्बर, विषय र मिति लेखिन् । त्यस पछि प्रश्न नम्बर लेख्दै त्यसकोे जवाफ लेख्न थालिन् । लेख्दालेख्दै उत्तर पुस्तिकाको पाना सकियो । पाना सकिए पछि उनले यता उता हेरिन् । अरुहरु त लेखिरहेका नै थिए । तिनका पाना सकिएको थिएन । तर उनको त चार पाँच वटा प्रश्नको उत्तर दिँदै पाना सकियो । 

वास्तवमा उनलाई उत्तर पुस्तिकाको देव्रेतिर पनि लेख्नुपर्छ भन्ने थाहा भएन । उनले देब्रै तिरको पाना खाली छोड्दै दाहिने तिरको पानामा मात्रै प्रश्नहरुको जवाफ दिँदै गईन् । तर जब अरुले देब्रे दाहिने दुबै पानामा आफ्नो उत्तर लेखेको देखिन्, त्यस पनि उनी आत्तिन् । के गरुँ कसो गरुँ भयो उनलाई । लेखनी नै गन्जागोल भयो । उनलाई अत्यास लाग्यो ।

त्यसपछि उनले विचार पुर्याउँदै देब्रे तिरको पानामा पनि लेख्न थालिन् । देब्रे पानामा लेख्दै जाँदा उनले अर्को पानामा फर्किनु पर्ने भयो । यसरी उत्तर झनै गडबड हुने उनले देखिन् । त्यसैबेला उनले बुद्धि निकालीन् र उत्तर पुस्तिकामा ‘प्लीज सी पेज नम्बर यति’ भनेर अन्त्यमा लेख्दै गईन् । 

पहिलो दिनको परीक्षा यसरी दिइन् मायाले । पछि उनले आफ्ना शिक्षकलाई आफूबाट भएको गल्ती बताईन् । पहिले त शिक्षकले आफ्नो टाउकोमा हात पुर्याए । तर मायाले आफूले ‘यति पेजमा हेर्नुस्’ भनेर लेखेको बताए पछि शिक्षक पनि खुसी भए । शिक्षकले ‘ए त्यसो भए ठिक छ । राम्रै हुन्छ’ भने । त्यसैबेला कसैलाई पनि निरुत्साहित तुल्याउन हुँदैन भन्ने उनले तिनै शिक्षकबाट सिकिन् ।

भोलिपल्टदेखि भने उनले उत्तर पुस्तिकामा पाना नछोडि सिधा लेख्दै गईन् । जब उनको परीक्षाफल प्रकाशित भयो उनी त्यस विषयमा पनि पास भईन्, जुन विषयको परीक्षा दिँदा अलमलिएकी थिईन् । जे होस्, उनी म्याट्रिक पास भईन् । 

रिजल्ट निस्किएको दिन कसैले उनलाई ‘माया, आलु’ भनेर जिस्काएर गए । त्यो सुनेर उनलाई आफू फेल भएको भन्ने लाग्यो । उनलाई रुवाई छुट्यो । उनी रुन थालिन् । 

तर पछि कसैले उनलाई ‘माया तिमी पास भयौ’ भनेपछि आश्चर्य चकित भईन् । अनि उनी खुशी भईन् । उनी हाँस्दै भन्छिन्, ‘अहिले पनि म लठेब्री नै छु । म एकै पटकमा सायद आज पनि कुरो बुझ्दिन । सम्भवतः परीक्षामा पनि मैले शिक्षकले भनेको कुरा बुझिन । वास्तवमा मैले त्यो परीक्षा रटेरै पास गरेकी थिएँँ । तथापि शिक्षकले दुई वर्ष पढाएको नतिजा सफल भएको थियो ।’

०००
\"\"यसरी जीवनका विभिन्न संघर्षपूर्ण मोडहरुबाट गुज्रिएकी माया ठकुरीले थप संघर्ष गर्दै गईन् । उनका पिताजीका साथी थिए डीआर सुब्बा । सुब्बालाई उनी मामा भन्थिन् । सिलौङमा संगीत कला समिति नामको संस्था थियो । सुब्बाले मायालाई त्यहाँ सदस्य बनाउने कुरा उठाए । तर त्यस संस्थामा रहेका महिलाहरुले मायालाई संस्थामा ल्याउने भए आफूहरुले राजीनामा दिने कुरा गरे । 

माया गम्भीर भएर भनिन् ‘मेरो बाल्यकाल नै त्यस्तो माहोल र परिस्थितिमा बित्यो, जहाँ मैले रिस गर्न र गाली गर्न धेरै सिकेँ । रिस उठ्यो की गाली गरिहाल्थँे । धारे हात लगाई हाल्थेँ । त्यसैले पनि मलाई मनपराउने मानिसभन्दा मन नपराउने मानिस बढी थिए ।’

एक दिन डीआर सुब्बाले मायालाई एउटा स्कूलमा जागिर लगाई दिए । सिलौङमै क्यान्टोनमेन्ट बोर्डले स्कूल चलाउँथ्यो । त्यहीँ मायाले काम गर्न थालिन् । त्यो बेला सानासाना बच्चाहरुलाई पढाउँथिन् उनी । तर त्यो स्कूलमा टिक्न सकिनन् उनी । खरो स्वभावको भएकोले आफूलाई चित्त नबुझ्यो कि जाइलाग्थिन् । 
हेपेर बोल्नेहरुलाई उनले भन्न बाँकी राख्थिनन् । जब धेरै हेप्न लागे शिक्षकहरुले । त्यस पछि उनलाई गाह्रो भयो । उनले सहन सकिनन् । 

एकदिन उनले बढी हेप्ने शिक्षकलाई लडाएर त्यसको छातीमा बसेर मसी पोखिदिईन् । फलतः उनले स्कूल छोड्नुपर्यो । डीआर मामाले उनको जागिर थमौती गर्ने प्रयास गरेका थिए । तर उनलाई त्यहाँ जान मन लागेन । 

त्यसपछि एउटा प्रेसमा डीआर सुब्बाले काममा लगाइदिए । उनको काम प्रेस पुछ्ने र अरु काम थियो । त्यसै क्रममा उनले कम्पोज गर्न पनि सिकिन् । उनले आफूले अक्षर कम्पोज गर्न जानेको पनि बताईन् डीआर मामालाई । 

तर सुब्बाले उनलाई अझै अगाडि बढोस् भन्ने चाहना थियो सायद । त्यसैले उनको पढाईलाई अगाडि बढाउने मेलोमेसो तिर लाग्न प्रेरित गरे ।  उनी आज पनि स्वीकार्छिन्, मानिसमै पनि देउताको रुप हुन्छ । बुवाको मुख हेर्ने दिन उनी आज पनि डीआर सुब्बा मामालाई सम्झिन्छिन् । 

कुराकानीकै क्रममा उनी भन्दै थिईन्, ‘यो सबै भोगाईले गर्दा पनि होला, म कथाको क्षेत्रमा लागेँे । मैले घरघरमा भाँडा माझेँँ । लुगा धोएँ । केके गरेँ गरेँ । यसैले पनि मलाई कथा लेख्न उर्जा दिईरहन्छ ।’ 

०००
माया ठकुरीकी आमाले रामायण पढेको सुनेरै उनलाई पनि कविता लेखनतर्फ आकर्षित गरेको थियो । सन् १९६४ मा माया ठकुरीकोे एउटा कविता ‘आशा’ पत्रिकामा छापिएको थियो । साहित्यकार लिला लुईंटेलले त्यो कविता देखेकी रहिछन् । धेरै पछि लिलाले उनकोे कविता भएको पत्रिका मागिन् । मायाले आफूसँग नभएको बताईन् ।

तर त्यस कविताको चार लाईन उनले यस पङ्तिकारलाई सुनाईन् । त्यो कविताका केही हरफ उनलाई आज पनि कण्ठ छ । त्यो कवितासँग जोडिएको एउटा प्रसंग उनले सुनाईन् । सानो छँदाको उनको फोटो उनीसँग छैन । उनको लुगा लगाई पनि उस्तै पाराको थियो । जसले जुन कपडा दियो त्यही लगाउँथिन् । त्यसैले कहिलेकाँही उनको कपडा उनको कद काठीभन्दा धेरै ठूलो र ह्वारल्याङगे हुन्थ्यो । एकपटक एउटा ग्रुप फोटोमा उनको त्यस्तै फोटो देखियो । फोटोमा ह्वारल्याङ्गे लुगा, जगल्टे कपाल देखेर उनलाई आफै अचम्म लाग्यो । लाज पनि लाग्यो । 

सम्भवतः त्यसैले पनि तिनलाई बौलाही भनेर कतिपयले जिस्काउँथे । सोही विम्ब समाएर उनले कविता लेखेकी थिइन् । जुन आशामा छापिएको थियो । उनले सुनाईन् त्यो कविता । 

बौलाही बौलाही भन्छौ दुनियाँ
बौलाही भई त्यो किन कसरी 
बौलाही यदि त्यो साँच्चै थिई त 
तिरस्कार तिम्रो किन सही...

कविता छापिएपछि उनले केही गीतहरु लेखिन् । पछिपछि संगीत कला समितिमा माया ठकुरी पनि जान थालिन् । त्यहाँका सदस्यहरुले गीत लेख्न भन्थे उनलाई । कहिलेकाँही स्थायी उनीहरुले लेख्थे । अन्तरा मायाले पूरा गर्थिन् । यसरी जुन ठाउँमा उनको आगमनमा निषेध लागेको थियो । त्यही ठाउँमा उनको माग हुन थाल्यो । चर्चा हुन थाल्यो ।

इन्द्रेणी शीर्षकको गीति संग्रह प्रकाशित भईसकेको माया ठकुरीको पहिलो कथा सिलौङमै हुँदा प्रकाशित भएको हो । उनले कहिलेकाँही आफूसँग जोडिएका वा आफूले देखेका पात्रहरुलाई कथामा प्रस्तुत गर्छिन् । आज पनि कतिपयले उनको कथाका पात्रका विषयमा सोध्छन् । उनकी मुमा, उनकी हजुरमुमा र उनले जे भोगिन्, त्यही नै माया ठकुरीको कथामा पोखिँदै आएको छ ।

उनी भन्दै थिईन् ‘सिलाङ्गमा हुँदा मेरा साथी थिएनन् । आज मेरो साथीहरुमा पद्मावति सिंह, भागिरथी श्रेष्ठ, गीता केशरी जस्ता विदुषिहरुलाई पाएकी छु । यो नै मेरा लागि सबैभन्दा ठूलो सम्मान हो ।’ 

०००
सिलौङबाट बीए पास गरेपछि ३० सालमा उनी अंग्रेजी पढन काठमाडौं आईन् । तर पढाई अगाडि बढाउन सकिनन् । त्यसपछि पति दामोदर शर्मासँग उनी पोखरा पुगिन् । 

केही समय शिक्षण पेशामा पनि सक्रिय रहेकी माया ठकुरीले कथा लेखनमा आफूलाई अगाडि बढाउँदै गईन् । उनको कथाको चर्चा परिचर्चा हुँदै गयो । 
त्यसैताका उनको परिचय पारिजातसँग भयो । उनले मायालाई ‘मायाजी तपाईले अब जनताका लागि लेख्नु पर्यो’ भनिन् । उनलाई लाग्यो ‘हैन, मैले त जनताकै लागि लेखिरहेको छु’ । 

मायालाई पारिजातले खुबै माया गर्थिन् । एक पटक पारिजातले उनलाई कथा लेख्न भनिन् । मायाले पनि कथा लेख्दा सन् १९६२ को विषय समाएर कथा लेखिन् । त्यसबेलाको कम्युनिष्ट आन्दोलनबाट प्रताडित भएको विषयमा केन्द्रीत थियो उनको कथा । 

माया ठकुरी भन्दै थिईन्, ‘त्यो कथा पारिजातकहाँ लाँदा यस्तो कथा भएन भन्नु भयो । उहाँहरुले कम्युनिष्टकै विरुद्धमा लेखेको कथा के मनपराउनु हुन्थ्यो । पछि मैले त्यो कथा मिलाएर लगेँ ।’

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ७, २०७५  १२:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC