site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सुरक्षा विश्‍लेषण : विप्लवको हतियारबाट खतरा छैन तर चन्दा संकलन डरलाग्दो !
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूह तत्काल राज्यको सुरक्षा संयन्त्रसँग फौजी मुकाबिला गर्न सक्ने अवस्थामा नरहेको सुरक्षा संयन्त्रले निष्कर्ष निकालेको छ । छुट्टाछुट्टै रुपमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले यस्तो निष्कर्ष निकालेका हुन् ।

तत्कालीन माओवादी नेता विप्लव नेतृत्वको नेकपामाथि सरकारले प्रतिबन्ध लगाएपछि सुरक्षा निकायले सुक्ष्म रुपमा अध्ययन गरिरहेका छन् । सरकार कठोर रुपमा प्रस्तुत हुने संकेत गरिरहँदा जनस्तरबाट त्यसको प्रतिवाद गर्ने विप्लव समूहले बताउँदै आएको छ ।

एकीकृत जनक्रान्तिको नारा अघि सारेको विप्लव समूहले युद्धकै घोषणा गर्न लागेको चर्चा चलेको थियो । विप्लव समूहका गतिविधिमाथि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले गोप्य सूचना संकलन, प्राप्त विवरणको विश्लेषणबाट उसको शक्ति र सामथ्र्य औंल्याएका छन् । एक प्रहरी अधिकारीले भने, ‘‘उनीहरुसँग हतियार त छन्, हतियारबाट खतरा नै छैन भन्ने त हँुदैन । तर अहिलेकै अवस्थामा प्रहरी वा अन्य सुरक्षा फौजमाथि, पहाडी इलाकाका चौकीमाथि आक्रमण नै गर्ने अवस्थामा छैनन् ।”

Prabhu Bank
Agni Group
NIC Asia

कर्णाली प्रदेशका कतिपय स्थानीय तहमा विप्लव समूहले कुल बजेटको दुई प्रतिशत बजेट आफ्नो जनसरकारका लागि छुट्याउन चेतावनी दिएका छन् । प्रहरी अधिकारीका अनुसार निर्वाचनपछि विप्लवले संगठन विस्तारमा तिव्रता दिएका छन् भने चन्दा आतंक डरलाग्दो रुपमा जारी राखेका छन् । ‘‘अहिलेको अवस्थामा राज्यलाई दबाब दिने भनेको चन्दा आतंक र बम विष्फोटबाटै हो । उनीहरुले जुन हिसाबले आर्थिक अभियान तिव्र पारेका छन्, यो निकै डरलाग्दो संकेत हो । यही आर्थिक व्यवस्थापनबाट उनीहरु हतियार खरिद गर्न चाहन्छन्,” एक सुरक्षा अधिकारीले भने ।

विप्लव समूहले एकै व्यापारीबाट ५ करोडसम्म चन्दा संकलन गरेको पाइएको छ । पछिल्लो समय उनीहरुले वैदेशिक लगानी भएका कम्पनी, उद्योगलाई निसाना बनाएको निष्कर्ष सुरक्षा स्रोतको छ । 

Global Ime bank

निःशस्त्र सैन्य तालिम

सुरक्षा रिपोर्टअनुसार पूर्वी नेपालभन्दा पश्चिमी नेपालमा विप्लव समूहको प्रभाव केही बढी छ । विप्लव समूहले तत्कालीन माओवादीकै संरचनालाई अपनाएको छ । उनीहरुले पुरानो १४ अञ्चल र ७५ जिल्लाकै संरचनाका आधारमा आफ्नो पार्टी संरचना तयार पारेका छन् । पूर्वी कमाण्ड, पश्चिमी कमाण्ड र मध्य कमाण्ड छुट्याइएको छ । योबाहेक विदेश विभाग र भारतमात्रै हर्ने छुट्टै नेता छन् । भारतमा रहेका नेताले त्यहाँका नेपालीबीच संगठन विस्तार गर्ने, कतिपय अवस्थामा नेपालबाट भारत लुक्नुपर्ने अवस्था आए उनीहरुको सुरक्षित बसोबास लगायतका काम गर्नेछन् । 

सुरक्षा स्रोतका अनुसार दैलेख, जाजरकोट, बैतडीलगायतका पश्चिमका केही जिल्लामा विप्लव समूहका कार्यकर्ताले निःशस्त्र सैन्य तालिम गरेको पाइएको छ । ‘‘विप्लव समूहमाथि प्रतिबन्ध लाग्नुअघि हामीले तालिमको सूचना पाएपछि जंगलमा पनि पुग्यौं । तर उनीहरुसँग हतियार नपाइएपछि हामी फर्र्किएका थियौं,’’ एक सशस्त्र प्रहरी अधिकारीले बाह्रखरीसँग भने ।

तर, विप्लवसँग झण्डै ३ हजार बढी तत्कालीन युद्धकालीन कार्यकर्ता र जनसेना रहेकाले हतियारबारे धेरैलाई जानकारी हुनसक्ने सम्भावना भने छ । विप्लव समूहले अहिले नै जनमुक्ति सेनाको घोषणा त गरेको छैन तर सैन्य कमाण्डर भने तोकेको छ । विप्लव समूहमा पूर्व जनसेनाका बटालियन कमाण्डरसम्म संलग्न छन् । जनसेना गठन गरेको अवस्थामा विप्लव नै सर्वोच्च कमाण्डर हुनेछन् । तत्कालीन माओवादी युद्धमा पनि प्रचण्ड नै जनसेनाको सर्वोच्च कमाण्डर बनेका थिए । विप्लव समूहको युवा संगठनमा पूर्व जनसेनामा आवद्ध महिला र अन्य कार्यकर्ता पनि आवद्ध छन् । 

विप्लवसँग कति हतियार ? 

विप्लव समूहसँग साना–ठूला, आधुनिक र भरुवा बन्दुकलगायत १५ सयदेखि २५ सयसम्मको संख्यामा हतियार रहेको हुनसक्ने सुरक्षा निकायको प्रारम्भिक निष्कर्ष छ । केही हतियार भने अत्याधुनिक स्वचालित पनि छन् । सिरहा र कपिलवस्तुमा अत्याधुनिक हतियारसहित विप्लवका कार्यकर्ता पक्राउ समेत परिसकेका छन् । पछिल्लो समयमा विप्लव समूहले मुलुकका विभिन्न स्थानमा बम राख्ने, पड्काउने कामसमेत गर्दै आएको छ । 

बम आतंक बढ्दै गएपछि सरकार विप्लव समूहप्रति कठोर बनेको हो । सुरक्षा अधिकारीहरु मोहन वैद्य र विप्लव समूहसँग हतियार रहेको बताउँछन् । ‘‘जनमुक्ति सेनालाई ब्यारेकमा राखेपछि समायोजनमा जाँदा पार्टी विभाजन भएको थिएन । त्योबेला माओवादीले सबै हतियार बुझाएको थिएन, ती हतियार लुकाइयो । लुकाएका हतियार केही विप्लव समूहसँग पुगे त केही वैद्य माओवादीमा,” एक सुरक्षा अधिकारीले भने ।

राज्यविरुद्ध आक्रोश पैदा गराउने रणनीति

विप्लव समूहको अहिलेको मुख्य योजना भनेको सरकार र ससंदवादी दलहरुप्रति आक्रोश पैदा गराउनु नै रहेको जानकारहरु बताउँछन् । उसका गतिविधि पनि त्यस्तै देखिन्छन् । अख्यियारका पूर्व प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई कालोमोसो, एनसेलमा बम प्रहार, मालपोतलगायत कार्यालयका कर्मचारीले गर्ने भ्रष्टाचारविरुद्ध कारबाही, भ्रष्टाचारको आरोप लागेकामाथि नै विप्लव समूहको प्रहार देखिन्छ । 

यस्ता गतिविधिले जनताको समर्थन आफूतिर जुट्ने उनीहरुको बुझाइ छ । तत्कालीन माओवादीले पनि राज्यसत्ताप्रति वितृष्णा जगाउने गतिविधि व्यापक रुपमा गरेको थियो । विप्लव समूहले कतिपय जिल्लामा जनताको मन जित्न जनश्रमदान पनि गरेको छ ।

जाजरकोटमा विप्लवका कार्यकर्ताले १२ किलोमिटर बाटो खन्ने काम सुरु गरेका थिए । गाउँमा रहेका विप्लवका नेता–कार्यकर्ता अहिले जनताकै घरमा गएर खाना खाने, केही काम भए सामूहिक रुपमा गरिदिने गर्दै आएका छन् ।  यस्ता गतिविधिमा कर्णाली प्रदेशका जिल्लाहरुमा बढी छ । अहिले उनीहरुले स्थानीय तहलाई बढी निसाना बनाएका छन् । विप्लव समूहका माग पनि अधिकांश तत्कालीन माओवादीले उठाएकै माग हुन् । 

विप्लव समूहले सरकारी प्रतिबन्धपछि आन्तरिक रुपमा आफू झन् बलियो बनेको निष्कर्ष निकालेको छ । ‘‘प्रतिबन्धअघि हाम्रा नेताहरुका बीचमा केही मत–मतान्तर थिए । तर सरकारको यो कदमले हाम्रा विवादहरु हल भएका छन् । नेताहरुमा एकताको भावना पैदा भएको छ,’’ एक पोलिटव्युरो सदस्यले भने । 

३० हजार पूर्णकालीन कार्यकर्ता !
विप्लव समूहका पोलिटव्युरो सदस्य ओम पुनका अनुसार अहिले उनीहरु संगठन विस्तारमा लागेका छन् । ‘‘हामी गाउँ–गाउँ र सहरमा पनि संगठन विस्तारको क्रममा छौं । जनताको राम्रो साथ पाइरहेका छौं । झण्डै १ लाख पार्टी सदस्यता वितरण गरेका छौं भने ३० हजार पूर्णकालीन कार्यकर्ता हामीसँग छन्,” पुनले भने ।

पूर्णकालीन कार्यकर्ताको व्यवस्थापन पार्टीले नै गर्दै आएको छ । आफ्नो पार्टीले युद्धको नीति नलिएको तर राज्यसत्ताले दमन गरे त्यसको प्रतिवाद भने जनस्तरबाट गरिने उनले बताए । ‘‘हाम्रो पार्टीको लाइन नै एकीकृत जनक्रान्ति हो । युद्धको घोषणा हामी गर्दैनौं । राज्यले हामीमाथि कस्तो नीति अपनाउँछ, त्यहीअनुसार हाम्रो रणनीति अगाडि बढाउँछौं,” पुनले भने ।

सरकारले लगाएको प्रतिबन्धलाई अस्वभाविक रुपमा नलिएको नेता पुनले बताए । ‘‘यो कुनै अस्वभाविक निर्णय आएको छैन । हामी गाउँ–गाउँमा सरकारी काममाथि प्रतिबन्ध लगाउँछौं,’’ पुनले थपे । 

विप्लव खोज्दै प्रहरी 

प्रहरीले पछिल्लो समय विप्लवसहित नेता–कार्यकर्ता खोज्न गाउँ–गाउँमा प्रहरी परिचालन गरेको छ । खासगरी कर्णाली प्रदेशका जाजरकोट, कालीकोट, रुकुम, दैलेख, प्युठानलगायतका जिल्लामा विप्लवका नेता–कार्यकर्ता खोज्न प्रहरी सक्रिय छ । प्रहरीले हालसम्म ४ सय बढी नेता–कार्यकर्तालाई पक्राउ गरिसकेको बताएको छ । पछिल्लो समय विप्लव नेकपाले तत्कालीन युद्धकालीन अवस्थाजस्तै जंगल र गोप्य स्थानमा मात्रै भेला, बैठक गर्दै आएका छन् । 

तस्बिरः प्रकाण्डको फेसबुक पेजबाट 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ५, २०७५  १४:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC