काठमाडौं । शहीद स्मारक बी डिभिजन लिगअन्तर्गत शुक्रबारबाट सुरु भएको दोस्रो चरणको खेलमा रानिपोखरी कर्नर टिम (आरसीटी) ले जित हात पारेको छ।
शुक्रबार एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा आरसीटीले तुषाल युथ क्लबविरुद्ध २-१ को जित निकाल्न सफल भएको हो।
आरसीटीलाई जित दिलाउन उमन बुढाथोकीले दुई गोल गरे। खेलको ३१ औँ मिनेटमा गोल गर्दै उनले आरसीटीलाई सुरुवाती अग्रता दिलाएका थिए। यता पहिलो हाफमा १-० गोलले पछि परेको तुषालका लागि दोस्रो हाफको ७६ औँ मिनेटमा कर्ण रावतले गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए।
निकै नै प्रतिस्पर्धात्मक खेलको ८१ औँ मिनेटमा आरसीटीका उमनले दोस्रो गोल गर्दै आरसीटीलाई २-१ गोलले जित दिलाउन सफल भए। समूह बी बाट तुषाल युवा क्लब ११ अंकसहित शीर्ष स्थानमा रहँदै दोस्रो चरण पुगेको थियो भने आरसीटी समूह ए को उपविजेता हो।