site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

सरकारी अधिकारीहरूले जति नै दाबी गरे पनि नेपालमा भ्रष्टाचार बर्सेनि बढ्दै गएको छ । राज्य सञ्चालनका शैली, प्रवृत्ति र पात्रहरू हेर्दा आउँदा वर्षहरूमा अझ व्यापक हुने अनुमान सहजै गर्न सकिन्छ । प्रदेश नम्बर पाँचमा गाडी किन्दा अनियमितता भएको प्रतिवेदन प्रदेश सभाको समितिले दिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्रीकी पत्नीले धेरै वर्षसम्म कामै नगरी शिक्षिकाको तलब खाइरहेको र मुख्यमन्त्रीले पनि राज्यबाट उनको अधिकार नपुग्ने भत्ता लिएको खुलासा सञ्चार माध्यममा भएको छ । गण्डकी प्रदेशका मन्त्रीहरूले इन्धन खर्चबापत दोहोरो सुविधा लिएको सार्वजनिक भएको छ । यी केही सामान्य उदाहरणमात्र हुन् । केन्द्रदेखि स्थानीय तहसम्मका जनप्रतिनिधिहरू यस्तै प्रकृतिका अनियमिततामा मुछिएका छन् । जनप्रतिनिधि नै मुछिएपछि कर्मचारीले पनि मौका छोप्ने नै भए । फलस्वरूप, दिनहुँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्रेको समाचार आइरहे पनि साना कर्मचारी खुद्रे भ्रष्टाचारमा र ठूलाहरू नीति निर्माण तहकाहरू थोक भ्रष्टाचारमा संलग्न भइरहेका छन् ।   

ट्रान्सपरेन्सी इन्टरनेसनलले केही साता पहिले विश्वको भ्रष्टाचारसम्बन्धी सूची जारी गरेको थियो । संसारका कुनै पनि मुलुक भ्रष्टाचार मुक्त त छैनन् तर लोकतन्त्रको अवस्था र भ्रष्टाचारबीच गजबको सम्बन्ध देखिएको छ । प्रतिवेदनमा उल्लेख छ – ‘‘भ्रष्टाचार धेरै भएका मुलुकमा लोकतान्त्रिक संस्था र राजनीतिक अधिकारको अवस्था कमजोर हुन्छ ।’’ भ्रष्टाचार कम भएका मुलुकहरूमा उत्तरी युरोपका डेनमार्क, फिनल्यान्ड, स्विडेन र नर्वे अनि पूर्वी एसियाका न्युजिल्यान्ड र सिंगापुर तथा युरोपको स्विटजरल्यान्ड रहेका छन् । यी सबै मुलुकमा विधिको शासन छ । यसैले सरकारी निकायमा भ्रष्टाचार नियन्त्रित छ । यी मुलुकहरूमा भ्रष्टाचारको आरोप लागेपछि सरकार नै त्यसलाई छल्ने प्रपञ्चमा संलग्न हुँदैन । नेपालमा भने भ्रष्टाचारका विरुद्ध सार्वजनिकरूपमा चर्को भाषण गर्नेहरू वा भ्रष्टाचार नियन्त्रणको संवैधानिक दायित्व भएकाहरू नै भ्रष्टाचार लुकाउन वा गर्न हिचकिचाउँदैनन् । वैकल्पिक सरकार भनिने प्रमुख विपक्षसमेत आफ्नो नेताको नाम मुछिनेबित्तिकै यति ठूलो अनयिमतितामा समेत चुप लाग्छ ।

नेपाल वायुसेवा निगमको एअरबस – ३३० (वाइडबडी) खरिद काण्डका सम्बन्धमा प्रतिनिधि सभाको सार्वजनिक लेखासमितिको प्रतिवेदनलाई कार्यान्वयन नगर्न सरकारले न्यायिक छानबिन समिति गठन गरेको घोषणा ग¥यो । तर, समितिलाई दिइएको म्यादसम्म त्यसका  सदस्यलाई जानकारीको पत्रसमेत दिइएनछ । त्यो समिति किन गठन गरिएको थियो भन्ने अनुमान सहजै लगाउन सकिन्छ । अख्तियारबाट हालै राजीनामा दिन बाध्य भएका आयुक्तमाथि कारबाही हुने स्वयं प्रधानमन्त्रीले नै भनेका छन् । तर, खानेपानी तथा सरसफाइ मन्त्रालयबाट सरुवा गरिएका सचिवले मन्त्रीका बारेमा सार्वजनिकरूपमै केही गम्भीर आरोप लगाएका छन् । कर्णालीका मुख्यमन्त्रीले लिएखाएको भनिएको भत्ताका उनी हकदार हुन् हैनन? हुन भने किन हुन् र हैनन् भने उनलाई के कारबाही हुन्छ ? प्रदेश नम्बर पाँचमा बढी मूल्यमा गाडी किन्नेहरूमाथि कस्तो कारबाही हुन्छ ? गण्डकीका मन्त्रीहरूले लिएको दोहोरो सुविधा फिर्ता हुन्छ कि हुँदैन ? यसैले वाइडबडी र अख्तियारका आयुक्त वा खानेपानी मन्त्रीमाथिको आरोपमा छानबिनलाई पनि निर्देशित गर्छ । कोही ‘मोर इक्वेल’ भइरहँदासम्म जति नै कडा कानुन बनाए पनि भ्रष्टाचार कम हुँदैन भन्ने त चीनकै उदाहरणबाट पुष्टि भएको छ । सिङ र जुरो खोजेर भ्रष्टाचार भेटिने हैन । शासक असहिष्णु भए नागरिक स्वतन्त्रता जोखिममा पर्छ । शासन अपारदर्शी हुँदा भ्रष्टाचार बढ्छ । दुवै हुँदा जे हुन्छ अहिले नेपालमा त्यही भइरहेको छ ।  

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ९, २०७५  १०:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC