– अक्षर काका
“हाम्रो जमिन झापाको प्रसाईंले खोस्यो, जग्गा नभएपछि हामी भूमिहीन, सुकुम्बासी भयौं ।”
यो एकालाप सर्लाहीका एक सीमान्तकृत मुसहरको हो । पुस्तैनी गरिबीको आहालमा घाँटीसम्म जाकिएका सदा (मुसहर) आफूले नङ्ग्रा खियाउँदै आएको जग्गा झापाका प्रसाईं थरका साहूले हडपेपछि अहिले नहरको शरणमा छन् । काँसझैं सेतै फुलेका वयोवृद्ध आफ्नो भाग्यलाई धारे हात लगाउँदै टीठलाग्दो मृत्यु पर्खिइरहेका छन् । चित्रकार हरिओम मेहता कोइरीलाई यो दारुण अवस्थाले भित्रैसम्म छोयो । र, क्यानभासमा उतारे उनको कथा ।
मधेस मैथिली कला संस्कृति, साहित्य र सिर्जनाको ‘गाडधन’ हो । वैभव र ऐश्वर्यको प्रतीक हो । गरिबी र अभावले खिइएका फुसका झुप्रा हुन् या कंक्रिटको ओत पाएर मुस्कुराइरहेका महल— ती सबैका भित्तामा मिथिला चित्रकलाको बेजोड बान्की देख्न पाइन्छ । र त, मिथिला र मधेसका बीचमा अन्योन्याश्रित सम्बन्ध छ । तर, पछिल्लो समय यसको चिनारी १८० डिग्रीमा बदलिएको छ ।
मैथिली संस्कृतिको नाभी मधेस अहिले गरिबी र विपन्नताको विम्ब बनेको छ । अभाव र दारिद्र्यले गोमन साँपले झैं फणा उठाइरहेछ । र, डसिरहेछ आदिम भूमिपुत्रहरूलाई । सीमाको बाँधले मधेसलाई खण्डहर बनाउँदै छ भने चुरेको बलौटे माटोले प्राचीन मिथिला सभ्यतालाई बगर बनाउँदै छ ।
यसले पनि नराम्ररी प्रताडित तुल्यायो हरिओमलाई । ६० को दशकदेखि तिरहुत राज्यका पालादेखिको मैथिली प्रस्तर, मूर्तिकला, चित्रकला उधिन्न र शेष बनिसकेको तिनको डोब पछ्याउन लागिपरेका मेहताका लागि ती पात्र विशेष भइदिए ।
मधेसको विद्रूप र तद्रूप यथार्थलाई रङमा घोलेर क्यानभासमा उतार्न माहिर मेहताले सदाको आँसुलाई किन लत्याउँथे ।
ती श्वेतवृद्धको आँसुको नीलिमालाई क्यानभासमा उतारे । चित्रको पाश्र्वभागमा तिरहुत (मिथिलाक्षर) लिपिमा तिनकै प्रलापलाई सूत्रबद्ध गरिदिए ।
“मधेसको यथार्थ उद्घाटन गर्नु नै मेरो कुचीको विशेषता हो । पुस्तैनी कला र यर्थाथको अन्तरघुलनले नै मेरो कलाको परिचय दिन्छन्,” आफ्नो मूर्त, अमूर्त र अर्धमूर्त विम्बहरूलाई यसरी अथ्र्याउछँन्, मेहता ।
० ० ०
हरेक व्यवस्थाविरोधी आन्दोलनमा काठमाडौंसँगै छ मधेस । हरेक परिवर्तनको आन्दोलमा काठमाडौंको भन्दा बढ्तै रगत बगेको छ– मधेसको । तर, जब परिवर्तनको आन्दोलन किनारा लाग्छ, आफ्नै अधिकारप्रति बेखबर बन्न पुग्छ– मधेस । अझ भनौं न, परिवर्तनको छायामा पर्छ । आफैंले लडेर ल्याएको अधिकारका लागि त्यही काठमाडौंसँग हात थाप्नुपर्छ । २००७ सालदेखि नै यही नियतिको भोक्ता बनेको छ– मधेस । यो मेहताको चित्रकला प्रदर्शनीमा पनि मुखर भएका छन् ।
बबरमहलस्थित नेपाल कला परिषद्को भुइँतलामा मेहताको ‘लिरिकल एक्जिस्टेन्स’ चलिरहेको छ । शनिबारसम्म जारी रहन्छ यो ।
मिथिलाञ्चलको पुख्र्यौली सभ्यता र वर्तमान यथार्थलाई गजबसँग साक्षात्कार गराउने ‘लिरिकल एक्जिस्टेन्स’मा प्रदर्शित एउटा मूर्त चित्रकलाले मस्तिष्कमा तुफान पैदा गरिदिन्छ ।
०६२/६३ पछि पनि मधेसमा दुई ठूला आन्दोलन भए । पहिलो आन्दोलनले गणतन्त्रमा संघीयताको ‘फुर्को’ जोडिदियो । दोस्रो मधेस आन्दोलन त ठोस उपलब्धिबिनै मैझारो भयो ।
तीनवटा गोलीले छिद्र तुल्याएको चापाकल पनि मधेस आन्दोलनको जिउँदो तस्बिर हो । यस्तै चापाकलमा पानी पिउन लाग्दा महोत्तरी, जलेश्वरका ३१ वर्षीया अमित कापरको इहलीला समाप्त भयो । त्यो घटना सिंगो मिथिलाञ्चल दुख्ने घाउ थियो । मेहताको मथिङ्गलमा पनि पिलोझैं पाकिरह्यो र क्यानभासमार्फत निकास दिए ।
क्यानभासको चापाकलबाट पानीका थोपा खसेका छैनन् । रगतका थोपा खसेका छन् । भोक–प्यासले तिर्खाएको निमुखा होस् या सत्तासँग सिँगौरी खेलिरहेको ध्वंसकारी— सत्ता यति पनि ठम्याउन नसक्ने विवेकहीन हुन्छ भन्ने जान्न यो विम्ब पर्याप्त हुन्छ ।
सन् १८१६, तत्कालीन बेलायत सरकार, इस्ट–इन्डिया कम्पनी र श्री ५ को सरकारबीच भएको त्रिपक्षीय सम्झौता र त्यसयताका अधिकारप्राप्तिका सङ्घर्ष उनका चित्रकलाका उपजीव्य बनेका छन् ।
इतिहासको ठेलीमा सीमित बनिसकेको सुपुर्द सन्धिलाई उनले वर्तमानको क्यानभासमा उतारेर मधेस–सादृश्य तुल्याएका छन् ।
“आफ्नो अधिकारको पैरवी गर्दा चापाकलले पनि गोलीको सामना गरेर आहत बन्नु परेको छ,” रगतको थोपा चुहाइरहेको चापकलबारे यसरी अथ्र्याउँछन्, मेहता ।
० ० ०
हनुमानगरका रैथाने हुन् मेहता । हनुमान नगर कुनैबेला सप्तरीको सदरमुकाम थियो । सीमावर्ती इलाकाले हुनुपर्छ, नेपाल–भारत सम्बन्धको सेतु पनि थियो । कोसीको भँगालोले अँगालो हाल्ने भय बढेपछि सारेर राजविराज पुर्याइयो । त्योभन्दा उदेकलाग्दो नियति भोगिरहेको छ– गोबरगाढाले । गोबरगाढा संघीय सरकारको आँखाबाट कोसौं टाढा प्रतीत हुन्छ । कोसीको भेल बढ्न थालेपछि आँखा झिमिक्क पार्न पाउँदैन गोबरगाढाले । वर्षायामभरि त ऊ अनिँदै बस्छ । उर्वरा र चरनको परिचायक मानिएको गोबरगाढामा भारत सरकारको आँखा परिरहेको छ । त्यो क्षेत्रका दर्जनौं जंगेपिलरको नामोनिशान मेटिएका छन् । र त, गोबरगाढाबासी भन्छन्, “बसौं नदीले लान्छ, नबसौं भारतले खान्छ !” गोबरगाढाबासीको यो अतिशय पीडालाई उनले कुचीमार्फत काठमाडौं ल्याएका छन् र नाम दिएका छन्– ‘नाता’ ।
उनले क्यानभासमा उतारेको १००/२५ जंगेपिलरलाई कोसीले निलिसक्यो होला । ठीक त्यस्तै सीमारक्षक बनेका गोबरगाढाबासी र राज्यको नाता मेटिएला कि भन्ने भय उनलाई छ । उनको आँखाअगाडि नै बिरानो बनिसकेको गोबरगाढालाई राज्यको आँखामा समेट्न क्यानभासको सहायता लिएका छन् । जंगेपिलरको मुखमा एकाकार गरिएका लालीगुराँस र कमलले दुई देशको नाता अटुट राख्न बल पुर्याउलान् भन्ने उनको ठम्याइ छ ।
विपन्नताको गर्भमा जन्मिएका मेहता जीजिविषाका लागि काठमाडौं हानिए । समयक्रमसँगै मधेस राज्यको नजरबाट दूरदेश बन्दै गयो । आन्दोलनका अनेकन बाछिटाले काठमाडौं र मधेसबीचको सम्बन्ध धमिल्याउने खतरा छँदै छ । काठमाडौं र मधेसबीचको सम्बन्ध सेतु पनि हो– ‘लिरिकल एक्जिस्टेन्स’ ।
“मधेस अब हिजोको मधेस रहेन । त्यो २ नम्बर प्रदेश भइसकेको छ । मधेसको कला र सांस्कृतिक वैभव पनि गरिबीका बाछिटाले जीर्ण तुल्याइसकेका छन्,” दुखेसो पोख्छन् उनी ।
० ० ०
मधेस मधेसी अगुवाकै कारण पिँधमा पुग्यो । त्यहीँका राजनीतिज्ञका कारण मधेस थिल्थिलियो । राजनीतिक दाउपेच र धोकधडी नै मधेसको अविकासका कडी बने । यसलाई सचेतनापूर्वक चित्रकलामार्फत अभिव्यक्त गरेका छन्– मेहताले ।
एउटा घटना स्मरण गर्छन् उनी—
गत वर्ष निर्वाचनताकाको कुरा हुनुपर्छ । मधेसमा आन्दोलनको भुंग्रो सेलाएका थियो र निर्वाचनको सरगर्मी बढेको थियो । उनी हनुमाननगरबाट राजमार्गतिर डोरिँदै थिए । गाउँका एकजना नेता झोलामा पैसा बोकेर गाउँ छिरे । उनको आँखैअगाडि दीन–दुःखीका बस्ती पसे । ‘मलाई भोट दिनूस् है’ भन्दै पैसाको बिटो थमाए र बिदा भए ।
गाउँको विकासमा कहिल्यै मन नलगाउने ती नेता चुनावताका मात्रै देखा पर्थे र पैसाको आडमै जित्थे । गतसाल पनि उनकै पक्षमा पल्ला भारी भयो ।
जारी चित्रकलामा मधेसको उदेकलाग्दो यो पाटोलाई पनि छुट्न दिएका छैनन् । ग्यालरीमा प्रदर्शित ‘बहुरूपिया’को आफ्नै मुखाकृति भएको चित्रछटा मधेसी नेताको यही प्रवृत्तिको प्रतिच्छाया हो ।
उनको चित्रकलामा सत्य र यथार्थका रंगहरूको समिश्रण पाइन्छ । र त, कलाकार डा. रामकुमार भौकाजी भन्छन्, “प्रदर्शित सबै चित्रकृतिहरू नेपालको तराई क्षेत्रको जनजीवनमा व्याप्त जटिल समस्याहरूलाई उजागर गर्नमै केन्द्रित छन् ।”
उनले मेहताको चित्रकृतिको समीक्षा गर्दै भन्छन्, “तराईबासीको पीडा, भोगाइलाई संकेत गर्ने विषयमध्ये विक्रम सम्वत् १९८९ सालमा बेलायतबाट आएका पानी विशेषज्ञ डा.टी एस वोमेन र इन्जिनियर गोल्डले गाडेका ट्युबेलले भोगिरहेको दुर्दशा, डुबानबाट हरेक वर्ष खेप्नुपर्ने सास्ती, सुख्खा बलौटे बगरमा बिस्कुन लागेका डुंगा, भोकको मारमा अन्नभण्डारका भूमिपुत्र किसान, मतपेटीमा खस्ने भोट होइन, नोटबाट विजयी हुने जनप्रतिनिधिको वास्तविक रूप आदि समेटिएका मेहताका प्रतीकात्मक मूल्य र मान्यता राख्ने सिर्जनाहरू सत्य र यथार्थको प्रतिविम्ब बनेका छन् ।”
० ० ०
चुरे दक्षिण अन्नभण्डार मात्रै होइन, कला–साहित्य भण्डार पनि हो । मल्लकालमा सिर्जना आयातको मुहानसमेत मानिएको सिम्रौनगढको कलावशेषलाई उनले चित्रकलामार्फत ब्युँताएका छन् ।
सर्लाहीको मूर्तिया, सप्तरीको मुखियापट्टी, सिरहाको खप्टेडाँडा र धनुषाको कनकपट्टीलगायत प्राचीन ठाउँहरूका भग्न सभ्यताको मनन होइन, उत्खननमै जुटेका छन् उनी ।
उत्खननका क्रममा मूर्तियामा सिम्रौनगढकालीन कालो प्रस्तर मूर्तिका अवशेषहरू फेला परेका छन् । सप्तरीको कनकपट्टीमा पाइएको टेराकोटा (माटोका मूर्ति)हरू ३०० देखि ५०० बीसीसम्मको भएको पत्ता लागेको छ । सप्तरीको मुखियापट्टी भेटिएका ‘टेराकोटा’ महाभारतकालीन भएको पुरातत्ववेत्ता बताउँछन् । सिरहाको खप्टेडाँडा भेटिएका नियोलेथिक (ढुंगे) युगकालीन हातहतियार पत्थरका माला अद्यपर्यन्त पाइन्छन् । आदिकालका ती सभ्यता इतिहास पनि बन्न सकेका छैनन् ।
तर, मेहता क्यानभासमा उतारेर स्याबासी पाउन सफल भएका छन् ।
० ० ०
मधेस आफैंमा क्यानभास हो । मैथिली नारीहरूले घरका भित्तामा बान्कीपूर्ण चित्र कोरेर आदिम संस्कृतिको जगेर्ना गरिरहेकै छन्, अद्यापि । फरक यत्ति हो— आज घरका भित्ताहरूमा मिथिला चित्रकलाभन्दा ज्यादा गरिबी, अभाव, बेरोजगार र पछौटेपन कोरिएका छन् । आँसु कोरिएको छ । पसिना कोरिएको छ । अधिकार माग्दा ज्यान गुमाएका भूमिपुत्रहरूको रगत कोरिएको छ ।
धूमिल बन्दै गइरहेको हिजोको मैथिली कला र आजको मधेसको सग्लो तस्बिरलाई एउटै क्यानभासमा उतारेर स्वअस्तित्व निर्माणमा लागिपरेका छन् मेहता ।
“आफैंभित्र म को हुँ ? मेरो दायित्व के हो भन्ने प्रश्न जीवन्त बनेपछि इतिहास र वर्तमानलाई फरक–फरक रंगमा घोलेर ग्यालरीमा टाँगिरहेको छु,” पुलकित देखिन्छन् मेहता ।
कला परिषद्को ग्यालरीमा प्रदर्शित २० थान चित्रकला उनैभित्र उब्जिएका प्रश्नहरूको उत्तर हुनुपर्छ ।