काठमाडौंका सम्पदामा सरकारी अधिकारीहरूको पछिल्लो अतिक्रमणको चपेटामा पशुपति क्षेत्र परेको छ । पशुपति क्षेत्र विकास कोषले पशुपति श्लेष्मान्तकमा पैदल बाटामा कंक्रिटको प्रयोग गरेर सर्वोच्च अदालतको आदेश र सांस्कृतिक महत्त्वका सम्पदा क्षेत्रको मापदण्ड उल्लंघन गरेको छ । श्लेष्मान्तक वनमा नयाँ भौतिक संरचना निर्माण गर्नु स्वयंमा संरक्षणका राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय प्रावधानहरूको उल्लंघन हो । यसअघि भूकम्पले नसुकाएको रानीपोखरी पुनर्निर्माणका नाममा भत्काएर अलपत्र पारिएको छ । रानीपोखरीमा पुरातत्व विभाग, काठमाडौं महानगरपालिका र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पदाधिकारीको हेलचेक्य्राइँ यथार्थमा दण्डनीय अपराध हो । काष्ठमण्डपको पुनर्निर्माणमा त झन् सरोकारवाला स्थानीयहरूको सहभागिता र स्वामित्वलाई अवरोध गरेर यथार्थमा त्यस प्राचीन सम्पदाको मूर्त र अमूर्त पक्षको अस्तित्वमै अतिक्रमण गरिएको छ ।
नेपालका मौलिक विशेषतामा जानेर वा नजानेर प्रहार गर्न थालेको त सयौं वर्ष भइसक्यो । तर, पछिल्ला केही वर्ष नियोजितरूपमै सम्पदा मास्ने प्रयत्न भइरहेको देखिएको छ । त्यसमा पनि २०७२ सालको भूकम्पपछि त झन् पुरातात्विक महत्त्वका सांस्कृतिक, धार्मिक सम्पदा नाशमास गर्ने होड नै चलेको छ । पुरातत्व विभाग, काठमाडौं महानगरपालिका, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलगायतका निकायका पदाधिकारीले नै सम्पदा संरक्षणका लागि सरोकारवाला नागरिक र विशेषज्ञहरूको आग्रहविपरीतको हठ देखाएकाले नियोजित षड्यन्त्रको सन्देह बढेको हो । यस्ता सांस्कृतिक धरोहरसँगै जाति र संस्कृति मासिएका थुप्रै उदाहरण विश्व इतिहासमा पाइन्छ । नेपाली समाज र संस्कृति मास्न राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रबाट नियोजित प्रयत्न भइरहेको देखिएकाले गम्भीर षड्यन्त्रको शंका पुष्टि हुँदैगएको छ ।
पुराना मठ, मन्दिर, पोखरी, घाटहरूलाई आधुनिक बनाउने नाममा मासेर सिमेन्ट र फलामको जंगलमा परिणत गर्ने षड्यन्त्रको अभीष्ट निर्माणका नाममा प्राप्त हुने कमिसनको लोभमा मात्र हो कि त्यसमा नेपाली संस्कृतिमाथि नै प्रहार गर्ने दुश्चेष्टा पनि मिसिएको भनेर किटान गरिहाल्न सकिने अवस्था छैन । केहीले नजानेर वा भौतिक संरचना त हो नि भन्ने ठानेर पुरातात्विक सम्पदा मास्ने प्रयास गरेका हुनसक्छन् । कतिपयको दृष्टि भने निर्माण वा पुनर्निर्माणमा खर्च हुने रकमबाट प्राप्त हुने कमिसनमा मात्र केन्द्रित भएको देखिन्छ । कुनै संरचना पहिले भत्काउने अनि नयाँ बनाउने गर्न पाए कमिसन पनि धेरै आउने हुनाले तिनले संरक्षण गर्नुपर्ने र गर्न सकिने संरचना पनि भत्काउनैमा बढी जोड दिएको देखिन्छ । रानीपोखरीका हत्याराजस्ता केहीले मूर्खतापूर्ण बलमिच्याइँ गरेर अमूल्य सम्पदाको अस्तित्व नै संकटमा पारेका छन् । नजानेर सम्पदामा हानि पुग्ने काम गर्नेहरूलाई मूर्त र अमूर्त सम्पदाको महत्त्व बुझाउनु आवश्यक छ भने श्लेष्मान्तकमा अदालतको आदेश र सम्पदा संरक्षणको मापदण्डविपरीत कंक्रिट प्रयोग गर्ने, रानीपोखरी सुकाउने वा काष्ठमण्डपको अमूर्त सम्पदाको बेवास्ता गरेर अस्तित्वमै अतिक्रमण गर्नेहरूलाई भने कानुनबमोजिम दण्ड नै हुनुपर्छ । सांस्कृतिक सम्पदामा अतिक्रमण हुँदा मौन रहने जाति मासिएर जान्छ भन्ने सबैले हेक्का राख्नु जरुरी छ ।