प्युठान । प्युठानको प्रमुख व्यापारिक केन्द्र बड्डडाँडा अर्गानिक बजारका रुपमा परिचित हुन थालेको छ । भालुवाङ—रोल्पा सडकखण्ड अन्तर्गत पर्ने बड्डडाँडामा स्थानीय उत्पादनको माग ह्वात्तै बढेको हो ।
रोल्पा जिल्लाको मुख्य ढोका मानिने यो बजारबाट स्थानीय उत्पादनहरु अदुवा, मह, गहतको दाल, पिँडालु लगायतका अर्गानिक उत्पादन नेपालका विभिन्न सहरका साथै भारतीय बजारसम्म पुग्ने गरेको छ । अदुवा किलोको ६० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बेचविखन हुने कृषकहरु बताउँछन् ।
विभिन्न आकारका बट्टामा सजाएर राखिएका यहाँको अर्गानिक मह पनि यहाँ आउने जोकोहीको रोजाइमा पर्छ । स्वास्थ्य सम्बन्धी अधिकांश समस्याको लागि बहुउपयोगी मानिने मह किन्नका लागि तँछाड–मछाड हुने मह व्यापारीहरु बताउँछन् । मह प्रतिकिलो ६ सयसम्ममा बिक्री हुन्छ ।
प्युठान जिल्लाको प्रमुख धार्मिक पर्यटकीय स्थल स्वर्गद्वारी मन्दिर आउने–जाने एकमात्र बाटो बड्डडाँडा भएकोले पनि स्थानीय उत्पादनको माग बढेको हो । यहाँ आउने जोकोहीले पनि चिनोको रुपमा मह, अदुवा, गहतको दाल किन्ने गरेको स्थानीय पत्रकार सलिम अन्सारीले बताए ।
यहाँ उत्पादित कृषिजन्य वस्तु कपिलवस्तुको कृष्णनगर नाका, बाँकेको रुपैडिहा नाका हुँदै भारतीय बजारसम्म पुग्ने गरेको छ भने राजधानी काठमाडौंसम्म पनि निर्यात हुने गरेको छ । यो सडकखण्डमा चल्ने बसहरुले समेत बड्डडाँडामा पुगेपछि यात्रुलाई यहाँको उत्पादन किनमेल गर्नका लागि एक घन्टाको समय छुट्याउने गरेका छन् ।
मह र अदुवा उत्पादनका लागि सरुमारानी गाउँपालिकाको वडा नम्बर ४, ५ र ६ जिल्लाकै पकेट क्षेत्र हुन् । पकेट क्षेत्रका कृषकहरुका लागि स्थानीय ऐंरावती बहुउद्देश्यीय साना किसान सहकारी संस्थाले अनुदानसमेत दिने गरेको छ । यहाँको स्थानीय उत्पादनको माग बढेसँगै कृषकहरु उत्साहित भएका छन् । वर्षेनी यहाँबाट करोडौं रकम बराबरको कृषिजन्य उत्पादन जिल्लाबाहिर निर्यात हुने गरेको छ ।