site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
क्लब विश्वकप आजबाट, उद्घाटन खेलमा दुवै नवप्रवेशी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । घरेलु मैदानमा आजबाट विश्व क्लब च्याम्पियनसिप सुरु हुँदा संयुक्त अरब इमिरेट्स (युएई) को च्याम्पियन अल अइनसामु कम्तिमा गतवर्ष घरेलु फुटबलको प्रतिद्वन्द्वी अल जजिराले जत्तिको उपलब्धि हासिल गर्नुपर्ने चुनौती हुनेछ । गतवर्ष क्वार्टरफाइनलमा जजिराले एसियाली च्याम्पियन उरावा रेड डायमण्डसलाई स्तब्ध पारेको थियो । अन्तिम चारको खेलमा भने टोली युरोपेली महारथी रियाल मड्रिडसँग पराजित भएको थियो । 
फाइनल पुग्न नसके पनि जजिराले जस्तो सेमिफाइनल पुग्नैपर्ने मानसिक दबाबमा रहेको अल अइनले प्रतियोगिताको उद्घाटन खेलमा आज राति ओसियाना च्याम्पियन वेलिङटनसँग प्रतिस्पर्धा गर्नेछ । कागजमा वेलिङटन प्रतियोगिताको सबैभन्दा कमजोर टोली हो । तर फिफा क्लब विश्व च्याम्पियनसिपमा स्तब्धतापूर्ण नतिजाहरु सामान्य हुने भएकाले अफ्रिकी च्याम्पियन इस्पेरेन्स डी ट्युनिसविरुद्ध आगामी चरणको सम्भावित भिडन्तका लागि अल अइनलाई स्थान पक्का गर्नु सहज हुने छैन । 
अल अइनका पूर्व प्रशिक्षक ज्लाट्को डालिचले रुसमा सम्पन्न विश्वकपमा क्रोएसियालाई फाइनलसम्म पुर्याएर चर्चा बटुलेको वर्ष उनकै देशका जोरान मामिचले पनि युएईमा सफलताको भरपुर स्वाद चाखिरहेका छन् । अल अइनमा प्रशिक्षकको रुपमा पहिलो सिजन बिताउने क्रममा उनले टोलीलाई इतिहासमै पहिलो पटक युएई व्यावसायिक लिगको साथै प्रेसिडेन्ट्स कपको उपाधि जिताएका थिए । पानाथिनाइकोसबाट स्विडिस अन्तर्राष्ट्रिय स्ट्राइकर मार्कुस बर्गलाई भित्र्याउनु अइनको सफलताको मुख्य रहस्यमध्ये एक थियो । बर्गले लिगमा २५ गोल गर्नुका साथै प्रेसिडेन्ट्स कपमा तीन गोल गरेका थिए । त्यसमा अल वासलविरुद्धको फाइनलको विजयी गोल पनि समावेश छ । 
बर्गको उच्च स्कोरिङ फर्मले यो सिजनमा पनि निरन्तरता पाइरहेको छ । जारी सिजनका १२ लिग खेलमा उनले १० गोल गरिसकेका छन् । विपक्षी पोष्टमा एकरुपको उच्च प्रदर्शन गरिरहेका बर्ग क्लब विश्वकपमा पनि वेलिङटनका रक्षकहरुका लागि सबैभन्दा ठूलो चुनौती बन्नेछन् । २०१६ का एएफसी वर्ष खेलाडी ओमार अब्दुलरहमाान कीर्तिमानी मूल्यमा साउदी अरेबियाको महारथी अल हिलाल गए पनि अल अइनले अपेक्षा गरेअनुसार उनको अभाव भोग्नु परेको छैन । दी बोस उपनाम रहेको ब्लक अहिले युएई प्रो लिगमा दोस्रो स्थानमा छ । आश्चर्यजनक रुपमा शीर्ष स्थानमा कव्जा जमाउन सफल सारजहाँसँग अंक बराबर भए पनि अइन गोलअन्तरमा दोस्रो स्थानमा सिमित भएको हो । 
घरेलु लिगमा राम्रो गरिरहे पनि क्लब विश्वकपका लागि टोलीको तयारी त्यति सन्तोषजनक देखिएको छैन । प्रेसिडेन्ट्स कपको उपाधि रक्षा अभियान पहिलो चरणमै असफल हुने क्रममा टोलीले पछिल्लो खेलमा अल वासलसँग ५–३ को पराजय भोगेको थियो । २०१८ को एएफसी च्याम्पियन्स लिगमा पनि रक्षात्मक कमजोरीको टोलीले मूल्य चुकाउनु परेको थियो । कतारी प्रतिद्वन्द्वी अल डुहाइलविरुद्ध दुई लेगको खेलमा ८–३ को समग्र अन्तरमा पराजित हुँदा टोली अन्तिम १६ बाटै बाहिरिएको थियो । टोलीले अल जजिराको उपलब्धिलाई निरन्तरतामात्र दिने हो भने पनि त्यस्ता कमजोरीमा सुधार गर्न सक्नुपर्नेछ । 
फिफा क्लब विश्वकपमा अल अइन र ओसियाना च्याम्पियन वेलिङटन दुवैको यो पहिलो सहभागिता हो । ओसियाना च्याम्पियनसिप तथा २००५ मा प्रतियोगिता सुरु भएदेखि नै क्लब विश्वकप सहभागितामा न्युजिल्यान्डकै अर्को टोली अकल्यान्ड सिटीको दबदबा थियो । प्रतियोगिताका १३ संस्करणमध्ये अकल्यान्डलेमात्र ९ पटक सहभागिता जनाएको छ । त्यसक्रममा अकल्यान्डले मध्यपूर्वको प्रतिद्वन्द्वी अल आहली लाई २००९मा २–० ले हराएको थियो । २०१४ मा पण्डितहरुका सबै अनुमान गलत साबित गर्दै टोली क्लब विश्वकपमा तेस्रो स्थान हासिल गर्न सफल भएको थियो । त्यसक्रममा टोलीले अफ्रिकी च्याम्पियन इएस सेटिफ र कन्काकाफको च्याम्पियन्स लिग विजेता क्रुज अजुललाई पराजित गरेको थियो । 
यसपाली ओसियानाबाट क्लब विश्वकपमा सहभागिता जनाउनेमा अकल्यान्डको दबदबा तोड्दै फरक प्रतिनिधि युएई पुगेको छ । २०१० मा पनि अकल्यान्ड असफल हुँदा पपुवा न्युगिनीको हेकारी युनाइटेडले क्लब विश्वकपमा ओसियानाको प्रतिनिधित्व गरेको थियो । 
ओएफसी च्याम्पियन्स लिगको फाइनलमा प्रभावशाली प्रदर्शनका साथ वेलिङटनले युएई भ्रमणको टिकट काटेको थियो । घरेलु मैदानमा सम्पन्न फाइनलको पहिलो लेगमा टहिटीको लाउटोकामाथि ६–० को एकतर्फी जित निकालेको टोलीले दोस्रो लेग ४–३ ले पक्षमा पारेको थियो । 
न्युजिल्यान्डका स्ट्राइकर एन्गुस किलकोली ओसियाना च्याम्पियन्स लिगमा ८ गोलसहित उच्च गोलकर्ता बनेका थिए । सेमिफाइनलमा प्राप्त पेनाल्टीमा उनैले गरेको गोलमा वेलिङटन अवे गोल नियमअनुसार अकल्यान्डलाई पछि पार्दै फाइनल पुगेको थियो । 
प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउने तयारीमा रहेका दुवै टोलीले जितका साथ क्लब विश्वकप यात्रा अघि बढाउने उदेश्य राख्दा स्ट्राइकरलाई मुख्य हतियारका रुपमा प्रस्तुत गर्नेछन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०७५  १६:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC