संस्कृतमा एउटा भनाइ छ– ‘कवि करोति काव्यानी, रसं जानन्नि पण्डिताः’
अर्थात् कविहरूले कविता लेख्छन्, पण्डितहरूले त्यसको अर्थ लगाउँछन् र रसस्वादन गर्छन् । आस्वादित हुन्छन् । बीपीले इतिहास निर्माण गरे । अहिले उनका गुणका, उनले गरेका कार्यहरूका अर्थ लगाउँदैछौँ । स्वभाविक हो यो । यस सन्दर्भमा म तपाईंहरूको ध्यानकर्षण गराऊँ– एक जना प्रशिद्ध इतिहासकार भन्छन्– इतिहास भनेको आफूलाई आवश्यक पर्ने तथ्यहरूको माला उनेर प्रस्तुत गरिने बस्तु हो ।
इतिहासमा धेरै तथ्य हुन्छन् । हामीले चर्चा गर्दा, त्यो सन्दर्भ या आजको सन्दर्भमा कुन बढी उपयुक्त छ र हामीले के सिक्न जरुरी छ भन्ने कोणबाट बस्तुहरूको खोजबीन र छानबीन गरिन्छ । मालामा उनिन्छ । सिद्धान्त तथा विचार निर्माण गरिन्छ । र, विचारले बाटो निर्माण गर्छ ।
भौतिक जगत विज्ञानको तथ्य भनेकै विपरित्वबीचको एकत्व हो ।प्रत्येक चिजमा गुण÷दोष, राम्रो/नराम्रो, ठीक÷बेठीक, सुन्दर÷कुरूप, अँध्यारो÷उज्यालो सँगै हुन्छन् । यी नभइ बस्तुको अस्तिव असम्भव छ । अतः कसैको पनि मूल्याङ्कन गर्दा समग्रतामा गरिनुपर्छ । सापेक्षतामा गरिनुपर्छ, निरपेक्षतामा होइन ।
त्योसँगै हाम्रो लक्ष्य के हो ? त्यसका आधारमा हामीलाई खाँचो परेको चीजहरूलाई टपक्क टिपेर माला उन्छौँ । त्यसर्थ पनि किताबको नाम राखिएको हुनुपर्छ– ‘बीपीको विद्रोह’ । बीपीले कुन सन्दर्भमा, कहाँकहाँ विद्रोह गरे, त्यसको संकलन पनि हो यो । र, मेरो रूचीको विषय पनि हो यो ।
यस सन्दर्भमा अल्बर्ट कामुको भनाइ ज्यादा उपयुक्त होला । उनले एउटा सन्दर्भमा भनेका छन्– म विद्रोह गर्छु । अतः म अस्तित्वमा छु । यसै सन्दर्भमा माओत्सुङको भनाइ पनि उपयुक्त हुन्छ । उनले पनि भनेका छन्– माक्र्सवादमा अनेकौं सत्यहरू छन् । सबै तथ्य र सत्यको सार एउटै छ– त्यो हो, विद्रोह गर्ने अधिकार ।
अतः विद्रोह सबै सचेत र सामाजिक प्राणीहरूका निम्ति एउटा अस्तित्व र कर्तव्यबोधको परिचायक हो । त्यसकारण पनि बीपीको यो चिन्तन र चेतसँग हामीले चिनापर्ची पाउनै पर्छ । जान्नै पर्छ । त्यसो त हाम्रो जीवनमा विद्रोह निरन्तर भइरहने प्रक्रिया हो । हिजोसँग आजले विद्रोह गर्छ । आजसँग भोलिले विद्रोह गर्छ । यसले सत्यताको विकास गर्दैजान्छ । र, विकासको नियम पनि यही हो ।
बीपीको जन्म हुँदा प्रथम विश्वयुद्धको समय थियो । उनको देहावसान हुँदाको समय बीसौँ शताव्दीको उथलपुथलकारी समय थियो । युद्ध, क्रान्ति र सङ्घर्षको अवस्था थियो । प्रथम विश्वयुद्धपछि उपनिवेशबाट मुक्त भएको अवस्था थियो । यो प्रशवयुगको चेतना पनि बीपीमा छ । नेपाली समाज हजारौँ वर्षदेखि पिछडिएको मध्ययुगीन अवस्थाबाट बाँचिरहेको थियो । त्यो अँध्यारो युगमा प्रकाश छर्ने र ज्योति फिँजाउने बीपी थिए ।
त्यसैले पनि म हमेसा आग्रह गर्छु– बीपीलाई पार्टी विशेषको मात्रै नठानियोस् । बीपी युगका प्रवर्तक, विचारक थिए । आर्थिक–सामाजिक–राजनीतिक र आधुनिक चेतनाको प्रवर्तक थिए ।
पुरानो सोच र शक्ति तथा सामथ्र्य र सत्ताका विरुद्ध उनको विद्रोह थियो ।
त्यसकारण हामी जसलाई गुरु मान्छौँ, तीनै गुरुका चेलाहरूमा दुईथरी प्रवृत्ति देखिन्छ । एउटा कन्जरभेटिभ प्रवृत्ति जसले गुरुका विचारलाई धर्मशास्त्रजस्तै मान्दछ । कहाँ, कुन सन्दर्भमा भनेको हो, आज भएको भए उनी के भन्थे? भन्ने कोणबाट विवेचना गर्न उचित ठान्दैन ।
अर्को प्रवृत्ति भनेको आजको सन्दर्भमा उनको विचारको उपादेयता के हुन्छ ? आजको अन्तर्राष्ट्रिय भूराजनीतिको सन्दर्भमा उनको दृष्टिकोण के हुन्थ्यो ? कस्तो भूमिका खल्थे? भन्ने सन्दर्भमा विचार–मन्थन गर्ने ।
शुरूको प्रवृत्तिले धर्मको रूप धारण गर्छ र विचार चिन्तकको मर्म सूत्र बन्छ । दोस्रो प्रवृत्ति वैज्ञानिक हुन्छ । त्यसले नूतन खोज, नवीन चिन्तन र नयाँ आविस्कार गर्दै विचारलाई विकसित गराउँदै लान्छ । बुद्ध धर्ममा बज्रयान र महायान, मोहम्मदका सुन्नी र सिया सम्प्रदाय, क्राइस्टका क्याथोलिक र प्रोटोस्ट्यान्ट यसकै परिणती हुन् ।
बीपीबाट पाठ सिक्दा सम्वद्र्धनवादी कोणबाट हेरिनुहुन्न । प्रगतिशील, अग्रगामी कोणबाट बुझिनु, हेरिनुपर्छ । म आफैँ पनि बीपीको विद्रोही चेतको पक्षधर हुँ । म जुन आन्दोलनमा लागेँ, त्यहाँ कतै न कतै बीपीको आदर्शले काम गरेको छ ।
१८–१९ सालतिरको कुरा हुनुपर्छ । जतिबेला उनले राजतन्त्र विरुद्ध हतियार उठाउँदै थिए । उनी जेलमा थिए । सुवर्ण समशेरले हतियार उठाए । त्यतिबेला हामी भर्खर स्कुलमा भर्ना भएका थियौँ । राजतन्त्रविरुद्ध हतियार नै उठाउनुपर्छ भन्ने जागरण त्यसैले पैदा गरेको हो ।
बीपीले जन्मदै विद्रोह गरेर जन्मिएको हुँ भनेका छन् । उनको जन्म शल्यक्रियाबाट भएको हो । तत्कालीन समयमा त्यो निकै ठूलो कुरा थियो । त्यसमा बीपीको हात हुने कुरा भएन । विम्बको मात्रै कुरा हो । पछिका कालखण्डमा पनि उहाँका विभिन्न पटक विद्रोह चरित्र उद्घाटित् भएका छन् । सशस्त्र सङ्घर्ष कि शान्तिपूर्ण (अहिंसात्मक) राजनीतिक आन्दोलन भन्ने द्विविधा पनि देखिन्छ, बीपीमा ।
बीपीलाई मैले भन्दा बढी पढ्ने र बुझ्ने थुप्रै छन् । तथापि म के आग्रह गर्छु भने निरपेक्ष ढंगले कुनै पनि कुरा हेर्नुहँदैन । सात सालकै सन्दर्भमा हेर्ने हो भने त्यतिबेला पनि सशस्त्र कि शान्तिपूर्ण ढंगले आन्दोलन गर्ने भन्ने द्विविधा थियो । बीपी स्वयंको झुकाव पनि कम्युनिस्टतिर रहेछ । गिरिजा त पछिसम्मै कम्युनिस्ट नै थिए ।
भारतको स्वतन्त्रता संग्रामको अवस्था पनि त्यस्तै छ । सुवासचन्द्र बोसहरूले हतियार बन्द आन्दोलन चलाइरहेका थिए, गान्धीले अहिंसात्मक आन्दोलन चलाइरहेका थिए, यी सबैको प्रभाव बीपीमा थियो । २०२५ सालमा जेलबाट छुटेर आएपछि बीपी त्यस्तै द्विविधामा थिए– अबको बाटो कता ? सशस्त्र सङ्घर्ष कि, शान्तिपूर्ण आन्दोलन ?
एकथरीले शान्तिपूर्ण सङ्घर्षको कुरा गरिरहका थिए । बीपीले त्यसबेला भने –राजतन्त्रका विरुद्ध पुनः एकपटक हतियार उठाउनुपर्छ । पछि भारतीय संस्थापन पक्ष विशेषगरी इन्दिरा गान्धीसँग उनको सम्बन्ध बिग्रियो । तिमीहरूको अनुचित दबाब सहनुभन्दा देशभित्रै बसेर सङ्घर्ष गर्छु भनेर मेलमिलापको नीति अङ्गिकार गरेको पाइन्छ ।
म बेठीक हुन सक्छु, मैले बुझेको बीपी भनेको युगको आवश्यकता अनुसार हिँडेका छन् । तत्कालीन समयको जे माग थियो, बीपी त्यहीअनुरूप चलेका छन् । नेपाली कांग्रेसमात्रै होइन, लोकतान्त्रिक आन्दोलनको शीर्ष पुरुष हो उनी । तर, उनी सत्तामा जम्मा १८ महिना बसे । यहाँ दशकौँ प्रधानमन्त्री भएका मानिस छन्, तिनको चर्चा कहाँ हुन्छ ? त्यही १८ महिने कालखण्डले नै उनको चर्चा बचाइराखेको छ ।
एउटा रोचक प्रसंग उद्धृत गर्न चाहन्छु–
सात सालको आन्दोलन सकिएर मोहन शमशेरको नेतृत्वमा मन्त्रिमण्डल बन्यो । त्यस मन्त्रिपरिषद्मा मोहन शमशेर शीर्ष वरीयतामा, विद्रोहीको तर्फबाट दोस्रो वरीयतामा बीपी थिए । तर, बबर शमशेर जो रक्षामन्त्री थिए । उनले भनेछन्– विश्वेश्वर बाबु, म बूढो भइसकेँ, राणा परिवारमा हुर्किएको मान्छे, तिमी (सामान्य जनता) मुनि म कसरी बसौँ ? म एकपटकमात्रै बैठकमा आउँछु । दोस्रो वरीयता देऊ !
बीपीले वरीयता छाडिदिए । नाइँनास्ती गरेनन् । नेतृत्वको लचिलोपन भनेको यस्तो हुनुपर्छ । राणासँग सङ्घर्ष पनि गरे । र, लचिलो पनि भइदिए ।
यस्तै प्रसंग अर्को पनि छ । हामी सबैलाई थाहा छ । भरत शमशेरहरूको खुकुरी दलको आतंक । दलबलसहित खुकुरी दलका मान्छेहरू बीपीलाई आक्रमण गर्न आए । मञ्चमा रहेका गणेशमान लगायत नेताहरू आतंकित भए । सबैमा त्राश छायो । तर, बीपी हडबडाएनन् । संयमित हुँदै खुकुरी लिएर काट्छु भनेर आएकालाई सम्झाउन पो थाले ।
तर, आक्रमण नै गर्न आएकाले उनीहरू के रोकिन्थे ? आक्रमण नै गर्न तम्सिएपछि बीपीले त्यहीं गोली चलाए । मञ्चमै ढलाइदिए । लचकमा हदै लचक, जब्बरमा गोली नै चलाउने । त्यही घटनाबाट उद्वेलित भएर गणेशमानले पछिसम्म भन्थे रे !– म निडर भनेको तर बीपी अझै सुरो रहेछन् !
बीपीको सन्दर्भमा केही अनुत्तरित सबाल छन् । इतिहासमा बहस हुँदै जाला पनि । बीपीको पूजा नगर्नूहोस् तपाईंहरू । भगवान् नबनाउनूहोस् । विचार, चिन्तकको रूपमा अनुशरण गर्नुहोस् ।
सातसाल यता मुलुकमा तीन धार देखा परे । पहिलो, उदार लोकतन्त्रवादी । दोस्रो, राजावादी । र तेस्रो, कम्युनिस्ट नेतृत्वको समाजवादी कम्युनिस्ट । यी तीन धार मध्येबाट बीपी आधुनिक नेताको रूपमा अघि आइरहनुभएको थियो ।
यहाँहरू बुझ्नुहोला, त्यतिबेलाको सङ्घर्षले नेपाली जनतालाई धोका दियो । संविधानसभाको निर्वाचनको कुरा सात सालमै उठेको थियो । तर राजाले धोका दिए । लोकतन्त्रबादी समाजवादी धार मिलेर किन त्यतिबेला नै राजतन्त्रको अन्त्य गरिएन ? त्यसमा बीपीजस्तो महान नेता किन चुके? हुनसक्छ, कम्युनिस्टमा पनि अलगअलग धार थियो, त्यहाँ नरम, गरमपन्थी दुवै थिए । कांग्रेसभित्रको अवस्था पनि त्यस्तै थियो । तर, पुष्पलाल श्रेष्ठको नेतृत्वको कम्युनिस्ट पार्टीले पुँजीवादी क्रान्ति नभई समाजवादी क्रान्ति हुँदैन भन्दै आएका थिए ।
अतः पुँजीवादी क्रान्तिका लागि कांग्रेससँग मिलेर जानुपर्छ भन्ने धार त छँदै थियो । त्यसैले बीपी र पुष्पलालको धार किन मिलेन ? त्यतिबेला सहकार्य भएको भए २०३६ सालको जनमत संग्रह जित्न सकिन्थ्यो कि ? २०४६ सालको आन्दोलन वा माओवादी आन्दोलनको आवश्यकता नै पर्दैनथ्यो कि ?
अन्तर्राष्ट्रियरूपमा शीतयुद्ध चलिरहेको थियो । जर्मनीमा पनि समाजवादीहरू नमिल्दा हिटलरको जन्म भयो । नेपालमा पनि कांग्रेस–कम्युनिस्ट नमिल्दा राजाले ३० वर्ष टाउको उठाउने मौका पाए । शासन गरे । समीक्षाको विषय छ ।
अर्का तर्फ भारतसँगको सम्बन्ध पनि निकै पेचिलो छ । प्रष्ट भन्नुपर्दा बीपीले भारतको संस्थापन पक्षको साथ सहयोग लिएरै सातसालको क्रान्ति सफल पारेका हुन् । राजनीतिक सहयोग लिनु त पथ्र्यो तर मेरो प्रश्न कहाँनेर हो भने जहाँ भौतिक सहयोग कसैबाट लिनुहुन्छ, त्यहाँ परनिर्भरता बढ्छ ।उसले हैकम जमाउँछ । सातसालमा भारतको सत्तापक्षको सहमति गरेर आन्दोलन टुंग्यायौँ ।
एउटा प्रसंग आउँछ– बिहारका आइजीपीले नै हतियार ल्याउन सहयोग गरेका छन् । बर्माबाट ल्याएको हतियार नेपाल ल्याउन त्यहाँका मुख्यमन्त्रीले समस्या ठानेपछि आइजीपीकै सहयोगमा नेपाल भित्र्याएको खुलेको छ । बिहारका प्रहरी प्रमुखले नै हतियार ल्याएर सघाएको प्रतिफल इन्दिरा गान्धीले लिन खोजिन् । बीपीको स्वाभिमानले दिएन, उनले विद्रोह गरेर मेलमिलापको नीति लिएर स्वदेश फर्किए ।
यो प्रसंग उठाइरहँदा अघि कुरा पनि उठ्यो– माओवादीले जनयुद्धकालमा हतियार कहाँबाट ल्याए भनेर तथ्य बताएनन् ! हामीले केही लुकाएका छैनौँ । पुष्पकमल दाहाल प्रचण्ड र म जीउँदै छौँ, हामीले कुन तथ्य बाँकी राखेका छौँ र बताउन ?
लखन थापा, टंकप्रसाद आचार्य, बीपी हुँदै, झापा सङ्घर्षको अन्तिम कडी नै माओवादी आन्दोलन हो । निरङ्कुश राजतन्त्रको अन्त्य गरेरर संविधानसभाबाट लोकतान्त्रिक संविधान बनाउन जनताले विद्रोह जारी राख्नुपर्छ भन्ने चेत बीपीबाट विकसित हुँदै आएको हो । म इमान्दारिताका साथ भन्छु– बीपीले अधुरो छाड्नुभएको काम उनका भाइ गिरिजाप्रसाद कोइरालाले गरे । यो परिवर्तन कांग्रेस कम्युनिस्ट मिलेरै ल्याएको हो । यो तथ्यलाई पनि आँखा चिम्लन मिल्दैन । इतिहासको नजर अन्दाज र अवमूल्यन नगरौँ ।
बीपीको विद्रोह किताबमा पनि उल्लेख छ र पूर्वराष्ट्रपति पनि यही भएकाले म अर्को एउटा प्रसंग पनि राख्न चाहन्छु– सेनाको विषय ।
राज्यको मूल शक्ति भनेको बन्दुक नै हो । जबसम्म बन्दुकको अन्त्य हुँदैन, परिवर्तन संस्थागत हुँदैन । शास्त्रीय कुराको कुनै अर्थ छैन । कुनै शक्तिले बैधानिकता पाएर हतियारमाथि एकाधिकार राख्छ, त्यतिबेलासम्म विद्रोह आन्दोलनकै अङ्ग बनिरहन्छ । भन्न के खोजिएको हो भने हतियारको शक्ति लोकतान्त्रिक शक्तिकै मातहत हुनुपर्छ ।
निर्वाचित शक्तिहरू बिग्रिएलान् कि भन्ने चिन्ता जनताबाट बारम्बार प्रकट हुन्छ । हो, हामी गालीकै लागि योग्य होऊँला । गाली गर्नु पनि पर्ला तर, हाम्रो बीचमा यस्तो पनि शक्ति छ, जो जनताप्रति कहिल्यै उत्तरदायी छैन । सुरक्षा अङ्ग, जुन निर्वाचितमात्रै होइन, निगरानीमा समेत रहँदैनन्, पर्दैनन् । निर्वाचित त हुँदैनन्, निर्वाचित जनप्रतिनिधिको मातहत हुनुपर्छ कि पर्दैन ? हतियारजस्तो खतरनाक चिज बोक्ने शक्तिलाई निगरानीमा नराखी छाड्दा के हुन्छ ? प्रश्न आज पर्यन्त उठेकै छ ।
श्री ३ राणाले सेनाकै बलमा १०४ वर्ष शासन चलाएका थिए । जब राणाशाही ढल्यो । बिजुली गारद सिंहदरबारमा थियो, राणाहरूको मातहत । त्यसलाई दरबारमा सारियो । सेनासहित त्रिभुवनलाई सुम्पिइयो । त्यतिबेला मोहन शमशेरले भनेका थिए रे– हामीलाई खाने बाघले तिमीलाई पनि खान्छ होस् गर्नु बीपी बाबु !
अर्थात् त्यतिबेलै कुरा उठाइएको रहेछ– यो निर्वाचित जनप्रतिनिधिको मातहत ल्याइनुपर्छ । दरबारलाई बुझाइनुहुन्न ।
आखिर भयो त्यस्तै । २०१७ सालमा राजा महेन्द्रले त्यही शक्तिको आडमा ‘कू’ गरे । हामी माओवादीले पनि नेपाली सेनालाई जनताकै मातहत ल्याउन प्रयत्न गरेकै हौँ । प्रक्रिया अलि मिलेन होला । तर सेनालाई जनप्रतिनिधिमातहत ल्याउन खोजेका थियौँ,२०६४ सालको परिवर्तनपछि ।
तर, कमजोरी कहाँ भयो ? म दोष दिन र त्यतिबेलाको घटना केलाउनतिर लाग्दिनँ । तर हाम्रो मनशाय कलुषित थिएन । इतिहासलाई छाड्दिऊँ । राम्रो गर्न खोजेको भए मूल्याङ्कन होला । बेठीक थियो भने समीक्षा होला । दोस्रो– भारतसँगको सम्बन्ध । भारत हाम्रो छिमेकी हो, भूराजनीतिलाई बदल्न सकिँदैन । भनिन्छ– मित्र बदल्न सकिन्छ तर छिमेकी सकिँदैन ।
भारतसँगको सम्बन्ध कसरी व्यवस्थापन गर्ने ? आजको मुख्य चुनौती हो । एकले अर्कालाई दोषारोपण गर्न सकिन्छ । उन्मुक्ति पाइँदैन । रिस उठ्नेबित्तिकै ‘भारतीय दलाल !’ भन्न त सजिलो हुन्छ । तर्क पनि चाहिँदैन । तथ्य केलाउन पनि पर्दैन । आखिर त्यहीमात्रै समाधान हो त ?
बीपी लामो समय भारत प्रवासमा बसे । ब्रिटिसलाई त्यहाँबाट भगाउन उनको पनि साथ–सहयोग रह्यो । त्यसकारणले त्यहाँ उनको सम्बन्ध रह्यो होला तर आजको परिस्थिति त्यो होइन । एउटा तथ्य केलाऊँ । २००७ सालमा राजा त्रिभुवन दरबार छाडेर पाल्पा जाने भन्ने कुरा भएको रहेछ, इतिहास पढ्दा ज्ञात हुन्छ । रुद्रशमशेर त्यहाँ बडाहाकिम थिए, तीसँग सहमति पनि भएको रहेछ ।
भारतले थाहा पाएर दिल्ली पु¥याइहाल्यो । पछि राणासँग त्रिपक्षीय सम्झौता हुँदा भारतले नै अंग्रेजीमा मस्यौदा तयार पारिदियो । अतः हिजो त्रिभुवनलाई दिल्ली लैजानुको सट्टा पाल्पा पुर्याएको भए, यहीँ सम्झौता गर्न सकेको भए इतिहासले फरक मोड लिन्थ्यो । भारतको चङ्गुलबाट उम्कन पाइन्थो कि ?यो इतिहास हो । मेटिँदैन ।
मैले किन जोडेको हो भने बाह्रबुँदे सम्झौता भारतमै तयार पारिएको, भारतले नै गरिदिएको भन्ने आरोप छँदैछ । तर, बेकारको कुरा हो । सात सालको सम्झौता त अंग्रेजीमै थियो, पछि नेपालीमा अनुवाद गरिएको तथ्य बीपीले नै भनेका छन्– गणतन्त्र शब्द नजानेर लेखिएको थियो । डेमोक्रेसी लेखिएको थियो, ठ्याक्कै शब्द आएन, गणतन्त्र लेखियो । बीपीले नै भनेका छन् ।
२०६२ सालमा हामी सचेत थियौँ । माओवादीले नै भनेको हो– सम्झौता रोल्पामा नै गर्नुपर्छ । २०६२ साल कात्तिकमा रोल्पामै बैठक राखेर शुरूआत भइसकेको थियो । तर, गिरिजा अस्वस्थ भए रोल्पा जान सक्ने अवस्था रहेन । बाध्य भएर दिल्ली जानुपर्यो । तर, बाह्रबुँदेको मस्यौदाकार म स्वयं हुँ । शुरूआती खाका मसँग अहिले पनि छ । शुरूमा ६ त्यसपछि १८ र अन्तिममा १२ बुँदा तयार पारेर हस्ताक्षर भयो । दिल्लीमा पनि त्यहाँ बस्ने साधारण नेपाली मजदुरको घरमा भूमिगत ढंगले हस्ताक्षर गरिएको हो ।
तर, मानिसहरूलाई सातसाल झैँ दिल्लीमै सम्झौता भयो भन्ने पर्यो । यथार्थ त्यस्तै थिएन । यसर्थ, इतिहासबाट पाठ सिकौँ ।
(बाह्रखरी बुक्सद्वारा प्रकाशित जगत नेपालद्वारा लिखित अनुसन्धानात्मक कृति ‘बीपीको विद्रोह’को लोकार्पण समारोहमा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले दिएको मन्तव्यको मुख्य तथा सम्पादित अंश )