site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

द्वन्द्वमा सुरक्षाकर्मी र माओवादीको अत्याचार सहनु परेकाहरूले ‘विस्तृत शान्ति सम्झौता, २०६३’ भएको १२ वर्षमा पनि न्याय पाउन सकेका छैनन् । सजाय पाउनुपर्नेहरू नै सत्तामा पुगेपछि कमजोरले न्याय नपाउनु आश्चर्य पनि हैन । राजधानीमा भेला भएका ‘द्न्द्व पीडित’ले भने अपराधी नेतालाई जोगाउन आफूलाई न्याय नदिइएको दाबी गरेका छन् । हुनपनि जघन्य अपराधमा मुछिएका ‘नकच्चरा नेता’लाई जेलमा नकोचुन्जेल द्वन्द्वकालमा भएका अपराधमा न्याय हुनसक्ने देखिँदैन । यसैले अन्यायमा परेकाको चाहना पैसा नभएर न्याय हो भने तिनले सबै अपराधीलाई जेलमा राखेर पुर्पक्ष गर्ने माग गर्नुपर्छ । बाह्र वर्षसम्म पनि कार्यान्वयन नगरिएको सम्झौताका भरमा संक्रमणकालीन न्याय होला भनेर चिताउनु पनि मूर्खता हुन्छ । अहिले त पीडितले न्याय बेच्ने कि खोज्ने भनेर रोज्नुपर्ने अवस्था छ ।   

द्वन्द्वमा मारिएकामध्ये लड्नैका लागि खटिएका सुरक्षाकर्मी र माओवादी लडाकुले राज्यबाट मनग्गे आर्थिक लाभ पाए । सबै गरेर राज्यको ढुकुटीबाट १८ अर्ब रुपियाँ द्वन्द्वको व्यवस्थापनका नाममा भागबन्डा गरिएको तथ्यांक सार्वजनिक भएको छ । द्वन्द्वकै नाममा राज्यलाई दुट्ने क्रम अझै जारी नै छ । वास्तवमा सुरक्षाकर्मी र माओवादी लडाकुको भिडन्तमा जो मरे पनि ‘द्वन्द्वकालीन घटना’का नाममा थप पैसा र सुविधा दिनु राज्यको ढुकुटीमा ब्रह्मलुट गर्नु नै हो । स्वेच्छाले लड्नैका लागि तम्सिएका तिनीहरूमाथि कसैले अन्याय गरेको वा तिनको मानव अधिकार हनन भएको हैन । यद्यपि, दोरम्बा वा बाँदरमुढेजस्ता घटनाका अपराधीले भने सजाय पाउनुपर्छ । लडाकु र सुरक्षाकर्मीलाई पनि दोहोरो मुठभेढमा बाहेक अरूबेला मार्नु जघन्य अपराध नै हो । 

Prabhu Bank
Agni Group
NIC Asia

द्वन्द्वसँग सरोकारै नभएका निर्दोष नागरिकले भने पीडामात्र पाएका छन् । सत्ताको नजिक हुनेले पैसा पाए होलान् तर न्याय भने कसैले पनि पाएका छैनन् ।  राजनीतिक नेताहरू सके यसै पन्छाउने नभए पैसा दिएर न्याय किन्ने दाउमा देखिन्छन् । यसैको घुमाउरो अभिव्यक्ति हो न्याय सम्पादनका पनि राजनीतिक सहमतिको रटान । ‘राजनीतिक सहमति’ बाट न्याय सम्पादन हुनसक्तैन । कारण, न्याय हुँदा सजाय पाउने त राजनीतिक दलका नेता र सुरक्षाकर्मी नै हुन् । यसैले द्वन्द्वपीडितहरूको कार्यक्रममा सत्ता र विपक्षी नेताहरूलेजस्तै ‘राजनीतिक सहमति’को माला जपिरहने हो भने न्यायको झन् बाटो थुनिनेछ । न्यायका लागि राष्ट्रिय सहमति हैन अन्तर्राष्ट्रिय मापदण्डअनुसारको न्यायिक प्रक्रिया अवलम्बन गर्नुपर्छ । 

लोकतन्त्रमा न्याय सम्पादन राजनीतिक सहमति हैन विधि र प्रक्रियाबाट हुनुपर्छ । अपराधी जो सुकै भए पनि उम्कनु हुन्न । देशभित्रको सक्षम र स्वतन्त्र न्यायालयबाट न्याय सम्पादन भएन भने अन्तर्राष्ट्रिय समुदायले हस्तक्षेप गर्न सक्छ । अहिले नै संसारका धेरै मुलुकमा थुपै्र सत्ताधारी नेता जान सक्तैनन् । पीडितहरूको पहिलो पुस्ता बित्न लागिसक्यो । अर्को पुस्ता पनि अन्यायमै बित्न सक्छ । तर, कुनै दिन मानव अधिकार र न्यायप्रति प्रतिबद्ध र द्वन्द्वको रगतको छिटा नपरेको राजनीतिक दल सत्तामा पुग्यो भने जघन्य अपराधका मुद्दा बिउँझाउन सक्छ । त्यतिबेला चिहान उधिनेर पनि अपराधीलाई सजाय सुनाइनेछ । यसैले अहिले थामथुम पारेर लोभ र डर देखाएर टार्न खोज्नेहरू सधैँका लागि उम्कन भने सक्नेछैनन् । 

Global Ime bank

सुरक्षाकर्मी र माओवादीका हातबाट मारिएका र बेपत्ता पारिएका निहत्था नागरिकको भने राज्यले जिम्मेवारी लिनै पर्छ । निहत्था नागरिकलाई सुरक्षा दिन नसकेको, न्याय दिन नसकेको वा गैरकानुनी हत्या गरेको कारण राज्यको तिनीहरूप्रति दायित्व हुन्छ । सुरक्षाकर्मी वा माओवादीबाट निर्ममतापूर्वक मारिएका निहत्था नागरिकलाई भने राज्यले परिपूरण र न्याय दुवै दिनुपर्छ । जघन्य अपराधमा संलग्न पीडकलाई सजायका साथै पीडितलाई परिपूरण दिइएमा मात्र न्याय भएको ठहर्छ । नत्र, संक्रमणकालीन न्याय खोज्ने प्रक्रिया पनि अहिलेजस्तै राज्यको ढुकुटी दोहन गर्ने निहुँमात्र बनिरहनेछ ।
  

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ५, २०७५  १३:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC