site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
संगीतलाई कक्षाकक्षामा पुर्‍याउनुपर्छ
Sarbottam CementSarbottam Cement

सन्तोष शर्मा -अध्यक्ष, म्युजिक नेपाल

(३५ वर्षअघिदेखि नेपाली गीत–संगीतको क्षेत्रमा क्रियाशील रहँदै आएको संस्था हो, म्युजिक नेपाल । म्युजिक नेपालले नेपाली गीत–संगीतका लागि गर्दै आएका विभिन्न कामको सूचीमा फेरि थपिएको छ, ‘नेपाल अन डिमान्ड’ एप । सूचना–प्रविधिको युगमा सुहाउँदो काम गर्न र विश्वमा छरिएर रहेका नेपालीमाझ नेपाली कला, संस्कृति र सिनेमा पुर्‍याउनका लागि म्युजिक नेपालले यो नवीनतम एप थालनी गरेको म्युजिक नेपालका अध्यक्ष सन्तोष शर्मा बताउँछन् । प्रस्तुत छ, अध्यक्ष शर्मासँग गरिएको कुराकानीको सारसंक्षेप)

भर्खरै म्युजिक नेपालले नयाँ एप ल्याएको छ । के हो त्यो ?

Prabhu Bank
Agni Group
NIC Asia

यो भिडियो स्ट्रिमिङ सर्भिस हो । यसमा नेपाली चलचित्र, भिडियो संगीत (म्युजिक भिडियो), सांस्कृतिक भिडियो, लाइभ टेलिभिजन च्यानललगायत अन्य सांस्कृतिक क्रियाकलापका भिडियो सबै एकै ठाउँमा राखेर ग्राहकमाझ पु¥याउने प्रयास हो । यसलाई हामीले नाम दिएका छौं, ‘नेपाल अन डिमान्ड’ । मूलतः यो नेपालबाहिर रहेका नेपालीका लागि तयार गरिएको एप्लिकेसन हो । वास्तवमा नेपाली कला, संस्कृति र भाषाका विभिन्न प्रस्तुतिलाई विदेशमा बसोबास गर्ने नेपालीका हातहातमा पुर्‍याउने हाम्रो प्रयत्न हो ।

यो यूट्युबजस्तै हो ?

Global Ime bank

त्यस्तै भन्दा पनि हुन्छ । तर, यो एप्लिकेसनमा लाइभ टेलिभिजन च्यानल हेर्न पनि सकिन्छ । स्पष्टतः भन्ने हो भने यसमा भिजुअल इन्टरटेनमेन्ट, न्युज च्यानल, नेपाली सिनेमा तथा विभिन्न सांस्कृतिक फिचर हेर्न पाइन्छ । हामीले अधिकार लिएका नेपाली चलचित्र पनि दर्शकले यसैबाट हेर्न सक्नुहुन्छ । हामीसँग धेरै भिडियो छन् ।

वास्तवमा, आजको युगमा नयाँ प्रविधिले दिएको सम्भावनालाई प्रयोग गर्दै नेपाललाई बाहिर बसेका नेपालीमाझ पुर्‍याउने प्रयास हो भन्छु म । प्रविधिको पूरापूरा सदुपयोग गर्ने प्रयास हामीले गरेका हौं ।

यसको शुरुआत बेलायतबाटै किन गर्नुभयो ?

हामीले यो एप बेलायतबाट शुरु गर्नुका मुख्य दुइटा कारण छन् । पहिलो— नेपालीले विदेशी भूमि टेकेको पहिलो मुलुक बेलायत नै हो र आज पनि बेलायतमा धेरै नेपालीको बसोबास छ । दोस्रो— हाम्रो एपको प्रविधि पार्टनरको आधार क्षेत्र पनि बेलायतै हो । त्यसैले पनि हामीले यो एपलाई बेलायतबाट शुरु गरेका हौं । अक्टोबर १४ तारिखदेखि हामीले यो एप ग्राहकमाझ पुर्‍याएका छौं ।

यहाँ एउटा कुरा जोड्न मन लाग्यो । मलाई सम्झना छ, म्युजिक नेपालको प्रारम्भताका हामीले लोकदोहोरी गीतको क्यासेट चक्का उत्पादन गरेका थियौं । ‘पानको पात’ हिट थियो । त्यो समयमा बेलायत र भारतबाट नेपाल आउनुहुने गोर्खाली सैनिक दाजुभाइले त्यस्ता लोकगीतका क्यासेट प्लेयरमा हालेर बजाउँदै गाउँ घन्काउनुहुन्थ्यो । बिदा सकेर काममा विदेश फर्किंदा लोकदोहोरी गीतका क्यासेट किनेर लानुहुन्थ्यो । कतिपय ठाउँमा त्यस्ता क्यासेट ब्ल्याकमा पनि बेचिएको स्थानीय डिलरहरू बताउँथे । धेरै माग भएरै यस्तो भएको थियो । यसैबाट थाहा हुन्छ, विदेशमा बस्ने नेपालीले आफ्नो संस्कृतिलाई कत्तिको मन पराउँछन् । त्यसैले पनि विदेशमा बस्नुहुने नेपालीलाई अलिकति स्तरीय भिजुअल र सांस्कृतिक सामग्री दिऊँ भन्ने मानसिकताले ममा घर बनायो । त्यसैको परिणाम हो, यो एप ।

अहिलेलाई बेलायतमा मात्रै यो सुविधा दिनुभएको हो ?

हो । अहिलेलाई यो एप बेलायतमा बस्ने नेपालीले मात्रै प्रयोग गर्न सक्छन् । नेपालमा भने यो ब्लक हुन्छ होला । तर, कसैले बेलायतमै यो एप सब्सक्राइब गरेका छन् भने नेपाल आउँदा पनि यो एप चल्छ ।

बेलायतबाहेकका देशमा यो एप कहिले पुर्‍याउने सोच्नुभएको छ ?

यो एप्स लिएर हामी विश्वभरि नै जाने हो । भोलिका दिनमा यो अमेरिका, अस्ट्रेलिया, युरोप, खाडी मुलुक, अफ्रिका सबै मुलुकमा प्रयोग गर्न सकिने व्यवस्था मिलाउँदै छौं । समय आउनासाथ हामीले यो एपलाई विश्वका कुनाकुनामा ‘लन्च’ गर्नेछौं ।

उपभोक्ताले कति तिर्नुपर्छ यो एपका लागि ?

बेलायतका लागि अहिले हामीले ७.९९ पाउन्ड राखेका छौं । हामीले बेलायतमा पहिलो सात दिन निःशुल्क दिएका छौं । यसैलाई आधार मानेर अन्य देशमा पनि त्यही अनुरूपले दर तोकिनेछ ।

कत्तिको आशावादी हुनुहुन्छ यसबाट ?

म पूर्ण रूपमा आशावादी छु किनभने यसको प्रविधि एकदमै राम्रो छ । विषयवस्तुको प्रस्तुति पनि स्तरीय दिएका छौं । विदेश बस्नुहुने नेपालीले महिनाको १०–१५ डलर खर्च गरेर आफूले खोजेको नेपाली कला, संस्कृति र भाषाका विविध दृश्यात्मक परिकार हेर्न पाउने भएपछि नेपालीले नहेर्ने कुरा आउँदैन भन्ने लाग्छ । यसअघि पनि मैले अनुभव गरेको छु, मोबाइल फोनमा रिंगब्याक टोन सिस्टम लागू गर्दा विदेशमा त्यसको अत्यधिक मात्रामा प्रयोग भएको थियो । त्यसैले पनि म विश्वस्त छु । र, बेलायतमा शुरु भइसकेको छ । शुरुआत राम्रो छ ।

यो एपबाट आएको रकममध्ये केही रकम समाजसेवाका लागि खर्चने कुरा पनि उठेको छ नि !

हामीलाई के लाग्यो भने समाजका लागि हामीले पनि आफ्नो तर्फबाट केही गर्नुपर्छ । त्यसैले यो एपको ग्राहक शुल्कबाट आएको रकमको ७.५ प्रतिशत रकम हामीले ‘हेल्प नेपाल नेटवर्क’ मार्फत समाजसेवामा लगाउने निर्णय गरेका हौं । यो विषयमा हामीले सम्झौता पनि गरिसकेका छौं । ‘हेल्प नेपाल नेटवर्क’ एउटा पुरानो सामाजिक संस्था हो । यसले विभिन्न क्षेत्रमा समाजसेवाको काम गर्दै आएको छ । यसका क्रियाकलाप हामीले नजिकबाट नियालेका छौं । त्यसैले पनि हामी यससँग जोडिएका हौं । र अर्को कुरो— बेलायतबाट हामीले काम थालिरहेका छौं भने बेलायतमा बस्ने नेपालीसित निकट रूपमा जोडिएको संस्था हो, ‘हेल्प नेपाल नेटवर्क’ । त्यसैले यही संस्थाबाट सामाजिक कार्यमा किन सहयोग नगर्ने भनेरै सहकार्य गर्ने सम्झौता गरिएको हो ।

तपाईंहरूले प्रतिलिपि अधिकारका क्षेत्रमा के काम गर्नुभयो ?

हामीले प्रतिलिपि अधिकारका क्षेत्रमा पनि काम गर्‍यौं । कलाकारहरूको प्रतिलिपि अधिकारका लागि हामीले समय–समयमा आफ्नो तर्फबाट सक्दो कुरा उठाएका छौं । त्यसअघि नेपालका सर्जकहरूको प्रतिलिपिसम्बन्धी कुनै अधिकार नै थिएन । म आफैं कैयन् मुलुक पुगेर यो विषयमा बुझेको थिएँ । वास्तवमा प्रतिलिपि अधिकार एकदमै गहन विषय हो । तर, यसलाई सरोकारवालाहरूले गहन रूपमा लिएको देखिएन । ‘वल्र्ड इन्टेलेक्चुअल प्रोपर्टी अर्गनाइजेसन’ नामक संस्थाले मलाई यो क्षेत्रमा काम गर्न भनेर बोलाएका थिए । सरकारी अधिकारीहरूले पनि त्यहाँ गएर तालिम लिए । तर, केही समयपछि तिनको सरुवा हुने र यो कुरै हराउने हुँदै गयो । यो स्थितिमा प्रतिलिपि अधिकारसम्बन्धी विशेष काम हुन सकिरहेको थिएन । त्यसैले उनीहरूले मलाई तालिम लिन आग्रह गरे । खासमा, एकपटक प्रतिलिपिकै विषयमा मेरो एउटा अंग्रेजी लेख प्रकाशित भएको थियो । त्यो उनीहरूले पढेछन् । अनि मलाई ‘तिमी आउँछौ तालिमका लागि ?’ भनेर सोधे । मैले पनि हुन्छ भनें । त्यसपछि यतातिर पनि लागें ।

प्रतिलिपि अधिकारले कुन–कुन क्षेत्र ओगट्छ ?

संगीतमात्रै होइन, कला, संस्कृति, साहित्य सबैको प्रतिलिपि अधिकार हुन्छ । प्रतिलिपिसम्बन्धी ऐन पनि हाम्रो पहलमा तयार भएको हो । हामीले त्यसका लागि धेरै मेहनत ग¥यौं । ‘कपिराइट प्रोसेसिङ सोसाइटी’ बनायौं । त्यसलाई म्युजिक नेपालमै अफिस दिएर राख्यौं । त्यो सोसाइटीमा संलग्न सबैले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । अहिले म यो सोसाइटीको अध्यक्ष छु । यसअघि सदस्य–सचिव थिएँ । वास्तवमा प्रतिलिपि अधिकार ऐन ल्याउनलाई कपिराइट सोसाइटीले धेरै काम गरेको छ । रजिस्ट्रारको कार्यालय, रोयल्टी संकलन समाजको काम, अन्य धेरै विषयमा व्यवस्था मिलाइदिने काम गरेको छ यसले ।

कतिपय अवस्थामा सरकारले सहयोग नगर्ने रहेछ । त्यसका लागि फन्डिङको व्यवस्था गरिदिनु पर्ने रहेछ । म नर्वेमा म्युजिकको कोलाब्रेसन सम्बन्धी एउटा कामका लागि गएको थिएँ । त्यहाँ अनुरोध गरेर फन्डिङको व्यवस्था गरिदिएको थिएँ । अहिलेसम्म उनीहरूले यसका लागि फन्डिङ गरिरहेका छन् ।

संगीत क्षेत्रलाई अगाडि बढाउन अरु के–के काम गरिरहनुभएको छ ?

जबसम्म संगीतसम्बन्धी शिक्षा कक्षाकक्षामा पुग्दैन, तबसम्म हाम्रो संगीतको विकास हुन सक्दैन । हामीले कुनै पनि विषयमा व्यवस्थित हिसाबले काम गर्न सकेनौं भने त्यो चल्दैन । जस्तोः जंगलमा पाइने जडिबुटीको आधारमा मात्रै कुनै पनि कारखाना चल्दैनन् । त्यसका लागि विशेष रूपमा जडीबुटीको उत्पादन नै गर्नुपर्छ । त्यस्तै कुनै व्यक्तिमा विशेष क्षमता होला । ‘गड गिफ्टेड ट्यालेन्ट’ होला । तर, तिनले संगीतको तालिम र शिक्षा पाएनन् भने केही गर्न सक्दैनन् । त्यो क्षमता पछि गएर मासिन्छ । त्यसैले पनि संगीतको शिक्षा अनिवार्य छ भनेर म यसको प्रवद्र्धनमा लागेको हुँ । हामी एउटा स्कुलमा जोडिएका छौं । त्यो पूर्णतः ट्रस्ट हो । त्यसमा सत्यमोहन जोशी अध्यक्ष हुनुहुन्छ । रत्न शमशेर थापालगायतका विशिष्ट व्यक्तिहरू हुनुहुन्छ । संगीतलाई पनि आकर्षक करिअरका रूपमा विकास गर्नकै लागि यो गुठी सञ्चालित स्कुलको शुरुआत गरिएको हो । यसले गीत–संगीतमा लागेका कलाकारको क्षमतालाई माझ्ने काम गर्छ । तिनलाई चम्काउने काम गर्छ । त्यसैले स्कुलमा संगीत शिक्षा पु¥याउनका लागि हामीले पहल गर्‍यौं ।

सन् २०१२ सालसम्ममा स्कुलमा ऐच्छिक विषयका रूपमा संगीतको कोर्स राख्यो सरकारले । सन् २०१५ मा आएर व्यावसायिक तथा प्राविधिक शिक्षाअन्तर्गत ९ देखि १२ कक्षासम्म पाँच वटा इन्जिनियरिङ र कृषि विषय राख्यो भने छैटौं विषयमा संगीत । यसले संगीतप्रति रुचि भएकाहरुलाई सानै उमेरदेखि शिक्षित बन्ने वातावरण बन्ने निश्चित छ । पहिलो ब्याचले त एसएलसी दिएर पास पनि भइसक्यो ।

मूल रूपमा हामीले बाटो बनाउने काम गरेका हौं । पहिलो पटक काम गर्दा त गाह्रो त हुन्छ नै । तथापि, पाठ्यक्रम बनाउने काम गरिदियौं । संगीत शिक्षाका लागि हाम्रो लोकगीतलाई, जातीय संगीतलाई फोकस गरेर पाठ्यक्रम बनाइएको छ । पहिले पूर्वीय शास्त्रीय संगीत भन्थे र खाली शास्त्रीय संगीत पढाइन्थ्यो । आज त्यो परिवर्तन भएको छ । समयसापेक्ष पाठ्यक्रम बनाइएको छ । हामीले पश्चिमी संगीतलाई पनि ध्यान दिएर पाठ्यक्रम बनाएका छौं । मलाई लाग्छ, यसले नेपाली संगीतलाई समृद्ध बनाउनेछ । यसैले देशलाई पनि चिनाउनेछ । देशलाई धनी पनि बनाउनेछ ।

– प्रस्तुतिः राजेश खनाल
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १, २०७५  ०६:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC