रेखा शाही
काठमाडौं । लयमा रहेका फुटबल खेलाडीका लागि चोट लाग्नु अभिशापजस्तै हुन्छ । किनकी गम्भीर चोट लाग्यो भने खेलमा फर्किन नै गाह्रो हुन्छ भने पुरानै लयमा फर्कनु अझै कठिन हुन्छ । कमै खेलाडीमात्र पुरानै लयमा फर्कन सक्छन् । कतिपयले चोटकै कारण करियरको अन्त्य गरेको थुप्रै उदाहरण हामीमाझ छन् ।
नेपाली महिला फुटबलकै कुरा गर्ने हो भने पनि पछिल्लो उदाहरण हुन् जमुना गुरुङ । जमुनाले घुँडाको शल्यक्रियापछि आफ्नो खेल करियरलाई अगाडि बढाउन सकिनन् । तर सर्वाधिक गोलकर्ताको पहिचान बनाएकी नेपाली राष्ट्रिय महिला टोलीकी फरवाड अनु लामा दुई वर्षपछि मैदान फकिने प्रयासमा छिन् ।
“चोट लागेपछि महिला खेलाडीहरु कमैमात्र मैदानमा उत्रिएका छन् । तर, म फर्किएर देखाउँछु भन्ने साहसका साथ तयारीमा जुटेकी छु,” अनुले भनिन्, “दायाँ खुट्टाको शल्यक्रिया नै गरेपछि अब खेल्न सक्दिन भन्ने लागेको थियो । आफ्नै खुट्टा हो, लयमा फर्किन सक्छु भनेर तयारी गरिराखेको छु । हेरौं, कति सफल हुन्छु ।”
राष्ट्रिय टोलीबाट १० नम्बरको जर्सि लगाएर मैदानमा कुद्ने अनुको रहर अझै मरिसकेको छैन । त्यसैले त उनी दैनिक प्रशिक्षणमा व्यस्त छिन् । उनले यसअघि घरेलु प्रतियोगिता खेलिसकेकी छिन् । गत साउनमा एन्फा मुख्यालयकै मैदानमा सम्पन्न महिला राष्ट्रिय लिगमा अनुले आफ्नो उपस्थिती जनाइन् । अनुले दुई खेलमा १ गोल गरेकी थिइन् । पुनरागमन गर्न सक्छु भन्ने आत्मविश्वास लिएकी अनुलाई प्रशिक्षक र सहकर्मीहरुको मायाले थप हौस्याएको छ । नेपाली राष्ट्रिय महिला टोली साफ च्याम्पियनसिपको तयारीमा जुटेको छ । त्यही प्रतियोगिताका लागि अनुले कडा मिहिनेत गरिरहेकी छिन् । झन्डै डेढ दशक फुटबलमा बिताएर करियरको उत्तरार्धमा रहेकी अनुको फुटबल यात्रा भने सहज छैन ।
नेपाली समाजमा प्रचलित ‘हुने बिरुवाको चिल्लो पात’ भन्ने उखानजस्तै अनुले पनि सानैदेखि खेलाडी हुने लक्षण देखाएकी थिइन् । २०४४ सालमा मकवानपुरको धियालमा जन्मिएकी अनु सात सन्तानमध्ये साइँली हुन् । मकवापुरमा जन्मिए पनि उनी सिन्धुली मामाघरमा हुर्किइन् । मामाघरमा गाउँका दाइहरुसँग मोजाको बल खेल्न कुदिहाल्थिन् । पाँच वर्षको उमेरदेखि फुटबल खेल्न थालेकी अनु परिवारसँगै मकवानपुरबाट बसाइँ सरेर रौतहट पुगिन् । कहिल्यै विद्यालय नगएकी अनु सिधै कक्षा दुर्ईमा भर्ना भइन् । त्यसपछि उनलाई खेल्न झनै सहज भयो ।
“सानो बेलाको त्यो पल निकै रमाइलो थियो । टोलीमा म एक्लै केटी हुन्थेँ । मलाई बल पास दिने सबै भाइहरु हुन्थे,” सानोमा खाली खुट्टा बल खेलेको सम्झिँदै अनुले थपिन्, “दाइहरुले खेल्ने प्रतियोगितमा पनि सहभागी हुन्थेँ । घरमा थाहै नदिई भागेर खेल्न जान्थेँ । अरुले घरमा कुरा लगाइदिन्थे । घरमा फर्कदा गाली खान्थेँ ।”
पढाइमा खास रुची नभएकी अनुको फुटबलमा लगाव बढ्दै गयो । अनु १६ वर्षकी हुँदा रौटहटमा शेरबहादुर दर्लामीमगरले फुटबल प्रशिक्षण गराउन थाले । अनुलाई ढुंगा खोज्दा देउता मिले जस्तो भयो । अनुले प्रशिक्षण शुरु गरिन् । प्रशिक्षण लिने २० जनामा अनु उत्कृष्ट थिइन् । “गुरु निकै राम्रो हुनुहुन्थ्यो । खुट्टा समातेर बल हान्न लगाउनु हुन्थो । त्यहाँबाट मेरो खेल सुधारिँदै गयो,” अनुले भनिन् ।
अनुले पहिलो पटक कैलालीको धनगढीमा रौतहटबाट क्षेत्रीय प्रतियोगिता खेलिन् । त्यसपछि काठमाडौंमा आयोजित दिपेन्द्र आमन्त्रित फुटबल प्रतियोगितामा सहभागि भइन् । प्रतियोगितामा पाँच गोल गरेकी अनुलाई तत्कालीन एन्फा अध्यक्ष रमा सिंहले ५ हजार रुपैयाँसहित ट्रयाक र बुट पुरस्कार दिएकी थिइन् । त्यो नै अनुले खेलेर पाएको पहिलो पुरस्कार हो । दिपेन्द्र आमन्त्रित प्रतियोगितामा गरेको प्रदर्शनबाट अनुले यु–१९ टोलीमा स्थान बनाइन् । २००४ मा १७ वर्षको उमेरमा अनुले चीनमा सम्पन्न यु–१९ एसिया कप छनोट खेलिन् ।
एपीएफको जागिरले खेल्न सहज
२०६३ सालमा एपीएफले महिला फुटबल टिम बनायो । त्यतिबेला अनु रौतहटमा थिइन् । एपीएफले अनुलाई पत्र पठायो । पत्र पाएको चार दिनपछि अनुसँगै यु–१९ एसिया कप छनोट खेलेका तेजकुमारी र शोभाकुमारी पनि काठमाडा आए । करिब २ महिनाको प्रशिक्षणपछि कात्तिक ३ गते अनु एपीएफको जागिरे भइन् । मकवानपुरकी दीपाले अनुसँगै चीनमा एसिया कप छनोट प्रतियोगिता खेलेकी थिइन् । एपीएफमा फुटबल टिम नभएका कारण दीपा बक्सिङमा भर्ति भएकी थिइन् । पछि फुटबल टिम बनाउने कुरा भयो । दीपाले एन्फाका विराटजंग शाहीलाई उपलब्ध हुने खेलाडीबारे सोधिन् । शाहीले दीपालाई अनु लगायतका खेलाडीको सूची दिए । त्यहीँबाट अनुको खेल जीवनले नयाँ मोड लियो ।
राष्ट्रिय टोलीमा डेब्यू
२०१० मा बंगलादेशको ढाकामा सम्पन्न ११औं दक्षिण एसियाली खेलकुद (साग) मा अनुले राष्ट्रिय टोलीबाट डेब्यु गरिन् । उमेर समूहमा यु–१९ टोलीबाट खेलेकी अनुले सिनियर टोलीबाट पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै ५ गोल ठोकिन् । त्यसपछि उनले राष्ट्रिय टोलीमा निरन्तर स्थान बनाइन् ।
सर्वाधिक गोलकर्ता
अनु नेपाली महिला फुटबलमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन् । उनले अहिलेसम्म २४ अन्तर्राष्ट्रिय खेलमा ३५ गोल गरिसकेकी छिन् । ११औं सागमा ५ गोल गरेकी अनुले २०१० मै बंगलादेशमा सम्पन्न महिला साफ च्याम्पियनसिपमा ११ गोल गरिन् । २०१२ को साफ च्याम्पियनसिपमा अनुले ५ गोल गरिन् । २०१४ को साफ च्याम्पियनसिपमा कप्तानको जिम्मेवारी पाएकी अनुले ५ गोल गरेकी थिइन् । २०१६ मा भारतमा भएको १२औ सागमा अनुले २ गोल गरिन् । कतार भएकोे मैत्रीपूर्ण खेलमा अनुले १ गोल गरेकी थिइन् । चोटका कारण अनुले २०१६ मा भारतको सिलगुढीमा सम्पन्न साफ च्याम्पियनसिप गुमाउनुपर्यो ।
मिसनमा हुँदा ढुंगामा फुटबल
सशत्र प्रहरी बलका जागिरे अनु २०१४ मा शान्ति सेनाका लागि लाइबेरिया गएकी थिइन् । त्यहाँ गएपछि अनुले केही दिन बल छुन पाइनन् । तर अनुलाई फुटबलको लतले छोडेन । “प्रत्येक दिन प्रशिक्षण गरिरहेको बानी भएका कारण त्यसै बस्न नसकिने रहेछ । उता हुँदा ढुंगामा पनि फुटबल खेल्यौं,” अनुले मिसनमा हुँदाको क्षण सम्झिन्, “विभिन्न देशबाट मिसनमा आएकाहरुबीच टोली बनाएर प्रतियोगिता हुन्थ्यो । म दाइहरुसँग मिलेर खेल्थेँ । ७ महिना मिसनमा हुँदा यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडीको अवार्ड जितेको थिएँ । त्यो समय नेपालमा हुने सेनापति कपबारे समाचार पढ्दाचाहिँ निकै मिस हुन्थ्यो । कहिले नेपाल फर्किएर खेलुँ जस्तो हुन्थ्यो ।”
कप्तानको जिम्मेवारी
नेपाली महिला टोली पाकिस्तानमा हुने तेस्रो साफ च्याम्पियनसिपको तयारीमा थियो । छनोटका लागि अनुले दुई दिनमात्र अभ्यास गर्न पाएकी थिइन् । त्यसैले अनु टिममा पर्छु कि पर्दिन भन्ने दोधारमा थिइन् । उनीसँग लाइबेरियाबाट फर्किएका अन्य दुईजना साथी छनोट भएनन् । त्यही प्रतियोगिताका लागि अनुले कप्तानको जिम्मेवारी पाइन् ।
“देशले कप्तानको जिम्मेवारी दिएको छ । किन मेरै कप्तानीमा उपाधि नजित्ने भन्ने लागेको थियो तर दुर्भाग्य फाइनलमा हार्यौं,” अनुले भनिन्, “पाकिस्तान जानुअघि घुँडा सुन्निएको थियो । खेल्न सक्दिन कि भन्ने लागिरहेको थियो । तर देशका लागि योगदान दिने बेला चुक्नु हुँदैन भन्ने लाग्यो । भुटानविरुद्ध २ गोल गरेँ ।”
भारतविरुद्ध उपाधिका लागि खेलेको नेपाल ६–० ले पराजित भयो । चोटका बाबजुद खेलेकी अनु भन्छिन्, “मलाई प्रशिक्षकले ननिकालेको भए जेपनि हुनसक्थ्यो । त्योबेला भारत अहिलेजस्तो थिएन । १८ मिनेटसम्म खेल्दा नेपालले गोल खाएको थिएन । म बाहिर आउनेबित्तिकै नेपालले गोल खायो । टिममा धेरै अनुभवी खेलाडी थिएनन् । कप्तान नै नहँुदा उनीहरु आत्तिए । त्यो पल सम्झँदा अझै पनि नरमाइलो लाग्छ ।”
कहिले नभुल्ने भदौ १७
भदौ १७ गते अनु लामाका लागि विशेष दिन हो । आफ्नो जन्मदिन विशेष नहुने कुरै भएन । तर त्यही भदौ १७ अनुका बिर्सनै नसकिने कालो दिन बन्यो । चौथो प्रधानसेनापति कपको तयारी भइरहेको थियो । मिसनबाट फर्किएपछि अनु पहिलो पटक क्लबबाट प्रधानसेनापति कप खेल्ने तयारीमा थिइन् । अभ्यास खेलमा एक्कासि लडेकी अनुको खुट्टा सिधै भएन ।
“अब मेरो खेल जीवन सकियो जस्तो लाग्यो । तर हिम्मत भने हारिन । बलम्बुस्थित एपिएफ अस्पतालमा जाँच गराए । डाक्टरले ३ हप्तापछि सुन्निएको हराउँछ, एमआरआइ गराउनु भनेर पठाइदिए । त्यसपछि ब्लु क्रस अस्पतालमा एमआरआइ गरेर बलम्बुमा लगेर देखाएँ । खुट्टाको एसियल र मिनीस्कस गएको डाक्टर बताए,” त्यो पल सम्झँदै अनु भन्छिन्, “मलाई चित्त बुझेन, ग्रान्डी अस्पताल गएँ । वरिष्ठ हाडजोर्नी विशेषज्ञ चक्रराज पाण्डेले शल्यक्रिया गर्न सुझाव दिए । एक महिनापछि शल्यक्रिया भयो । डाक्टरले ९ महिनापछि खेल्न सक्ने बताएका थिए । चार महिनापछि हल्का कुद्न थालेँ । ६ महिनापछि हल्का बल हान्ने कोसिस गरेँ । दुई वर्षपछि साउनमा महिला लिग खेलेँ ।”
सन्यास योजना
झण्डै डेढ दशक फुटबलमा बिताएकी अनु अब युवा खेलाडीलाई स्थान दिने सोचमा छिन् । राम्रो खेल्ने युवा खेलाडीहरु आइरहेकाले ठाउँमात्र ओगटेर बस्ने नहुने अनु बताउँछिन् । “साफपछि अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिन्छु । तर घरेलु प्रतियोगिता भने खेल्छु,” शरीरले साथ दिएसम्म खेल्ने योजना बनाएकी ३१ वर्षे अनुले थपिन्, “सन्यासपछि पनि म फुटबलबाट टाढा हुन सक्दिन । चटक्कै छाड्न निकै गाह्रो छ । ‘सी’ लाइसेन्स लिइसकेको छु । सायद प्रशिक्षणतिर लाग्छु ।”
फुटबलले अनुलाई सबथोक दिएको छ । त्यसैले उनलाई फुटबल खेलेर कुनै गुनासो छैन । “मलाई यो अवस्थामा आइपुग्न एउटा बलको निकै ठूलो भूमिका छ । फुटबलले धेरै कुरा सिकायो । रौतहट पुग्दा सबैले माया र सम्मान गर्छन्,” आफ्नो करियर सम्झँदै अनुले भनिन्, “फुटबल नै मेरो भाग्य हो । कुनैबेला आमामार्फत् मलाई गाली गर्न लगाउने समाज आज घर पुग्दा गौरव महसुस गर्छ । तर मेरो खुसीमा रमाउने बेला आमाबुबा स्वर्गबास हुनुभयो । यही कुराले मलाई दुःखी बनाउँछ ।”