- सुरज सुवेदी
अरूका लागि भोकै बस्न
कठिन रहेछ !
सुनेर पनि नसुनेझैं गरिरहेछन्
भोगेर पनि नभोगेझैं गरिरहेछन्
देखेर पनि नदेखेझैं गरिरहेछन्
हात बाँधेर आफ्नो
केवल हेरिरहेछन् कतै
र खोजिरहेछन्
आफ्नै नाभिको कस्तूरी !
चारैतिर शून्यता चलेका बेला
आवाज निकाल्न
ठूलै शाहस चाहिने रहेछ !
सानो हुँदा सिकाए–
सज्जन हुनू
ठूलो भएपछि पनि भनिरहे–
पेसामा निष्ठावान् हुनू
तिनका लागि लड्नू, जसलाई साँच्चै जरूरी छ !
सपथ लिएको पनि एकै हो–
सेतो लुगामा कहिल्यै कालो लगाउने छैनौं ।
मलाई कहिल्यै थाहा भएन
निष्ठाको परिभाषा कसरी फरक-फरक हुन्छ ?
कालो र सेतोको अनुहार उस्तै-उस्तै कसरी बन्छ ?
आफ्नै लडाइँ लड्न किन डराउँछन् मान्छे ?
किन हराउँछन् देशलाई चाहिएको बेला ?
लड्दा–लड्दै बेथितिविरूद्ध
म पागल भएँ
तर,
सज्जनहरूको बहुमतमा
पागल हुन त झनै कठिन रहेछ ।
अब एउटै डर छ-
मेरो मृ्त्युपछि
यी म्युट चेतनाहरूले
मलाई सहिद भनिदेलान् !