विशेष
काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावमा आफ्नो हारका लागि डेमोक्रेटिक पार्टीकी उमेदवार हिलारी क्लिन्टनले अमेरिकाको संघीय जाँच ब्युरो (एफबीआई) का निर्देशक जिम्मेवार भएको आरोप लगाएकी छन् ।
हिलारीले चुनावभन्दा केही दिन अगाडि मात्र एफबीआई निर्देशक जेम्स कुमीले उनको इमेल प्रकरणको पुनः जाँच भएको भन्ने अभिब्यक्तिले चुनाव प्रचार अभियानमा उनीप्रति बढ्दै गएको माहोलमा धक्का पुगेको बताएकी हुन् ।
हिलारीले आफ्ना चुनाव प्रचार अभियानका लागि सबैभन्दा धेरै दान दिने दाताहरुसँग फोनमा गरेको कुराकानी मिडियाबाट ‘लिक’ भएपछि यो अभिब्यक्ति सार्वजानिक भएको हो ।
क्लिन्टन बिरुद्ध अमरिकाको विदेशमन्त्री हुँदा उनले आफ्नो सरकारी इमेलहरु निजी सर्भरमार्फत पठाएको आरोप थियो । जसको छानविनपछि एफबीआईले सफाइ दिएको थियो । तर चुनाव आउने ११ दिन अगाडि क्लिन्टनको निजी सर्भर प्रयोगका विषयमा थप नयाँ तथ्य प्राप्त भएको भन्दै पुनः छानविन गरेको सार्वजानिक गरेको थियो । तर, मतदान हुने २ दिन अगाडि त्यसमा पनि केही नभेटिएको भन्दै हिलारीलाई सफाइ दिएको थियो ।
तर दुई दिन अगाडि दिएको सफाइले पनि झन् नकरात्मक माहोल सिर्जना गरेको उनले बताएकी छन् ।
हिलारीले उनको प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पले अमेरिकी प्रणाली नै भ्रष्ट र धाँधलीपूर्ण रहेको भन्ने तर्कलाई यसले बल पुर्याएको र माहोल आफू बिरुद्ध गएको बताएकी छन् ।
यसैबीच, नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्प बिरुद्ध विरोध प्रदर्शनहरु भइरहेकका बीबीसलिे जनाएको छ । न्युयोर्कमा करिब दुई हजार मानिसले ट्रम्प टावर नजिक विरोध प्रदर्शन गरेका छन् । उनीहरुले ‘नट माइ प्रेसिडेन्ट’ लेखेका प्लेकार्ड बोकेर प्रर्दशन गरेका थिए ।
ट्रम्प राष्ट्रपति निर्वाचित भएको घोषणा पछि उनको नीतिको आलोचना गर्दै लगातार चार दिनमा अमेरिकामा ९० भन्दा बढी विरोध प्रदर्शनहरु भैसकेका छन् ।
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७३ ०९:३३
प्रतिक्रिया दिनुहोस्