विशेष
सधैं प्रहरीको डरले भागाभाग भइरहेका बेला एकरात माओवादीले भेट्टाए । उनीहरूले गाउँका युवाहरू जम्मा गर्दै रहेछन् । म पनि त्यही हुलमा परें । युवाहरूमाथि एकातिर प्रहरीको ज्यादती र त्रास त छँदै थियो– अर्कोतिर माओवादीले पनि हामीलाई नै निशाना बनाइरहेका थिए । जतिसक्यो युवा विद्यार्थीहरूलाई आफ्नो सम्पर्कमा ल्याउने र प्रहरीबाट टाढिने वातावरण तयार पार्ने । अर्थात् घरमा बस्ने वातावरण नभएपछि युवा विद्यार्थीहरू बाध्य भएर जनयुद्धमा पूर्णकालीन रूपमा हिँड्छन् भन्ने उनीहरूको बुझाइ थियो र त्यही अनुसार काम गरिरहेका थिए ।
माओवादीले जे भन्यो, हामीले त्यही मान्नुपर्ने बाध्यता थियो । कतै धान कब्जा गर्न लैजान्थे, कसैको जग्गा–जमिन र गाविस कार्यालय कब्जा गर्न । पार्टीको देउसी–भैलोदेखि एक ठाउँबाट अर्को ठाउँसम्म अघिपछि सेन्ट्री बसाल्थे ।
एकरात माओवादीले राजाको धान कब्जा गर्ने योजना बनाएछन् । धान बोक्न धेरै मान्छे चाहिने भएकाले उनीहरू गाउँमा हामीजस्तै आममान्छे खोज्दै हिँडिरहेका रहेछन् ।
हाम्रो गाउँको पश्चिम उत्तरतिरको पूर्णागाउँ भन्ने डाँडामा राजा थिए दिव्यविक्रम शाह । उनी काठमाडौंको राजपरिवारका नजिकका राजा थिए । अर्थात् राजदरबारका तत्कालीन सचिव विवेककुमार शाहका अंकल । विवेकका बुवा ध्रुवविक्रम शाह बाँफीकोट गाविसमा बस्थे भने भाइ हाम्रो गाउँमा ।
माओवादीको निशानामा यस्तै मानिसहरू थिए । धान कब्जाका लागि माओवादीले गाउँका अधिकांश युवालाई पछि लगाए । हामीलाई राजाको घरमा पु¥याउँदासम्म उद्देश्यबारे हामी अनभिज्ञ थियौं । साथमा डोको नाम्लो बोकेर आउन भनेका थिए । कतै प्रहरी चौकी आक्रमण गर्न लैजान थालेको हो कि भन्ने डर त्यत्तिकै थियो । एक घण्टा जति विभिन्न घुमाउरो बाटो हिँडाएपछि हामीलाई राजाको दरबारमा पु¥याए ।
त्यहाँ पुगेपछि मात्र हामीलाई कामबारे बताए । हामी पनि राजाको दरबारभित्र पहिलोपटक पस्न पाउने भयौं । माओवादी नेता र केही छापामारहरू अघि बढे, राजारानीलाई के–के भनेर घरबाहिर निकाले । सामन्ती, पुँजीपती राजाको धान कब्जा गर्न थालेको भनेर भाषण दिए अनि भकारी फोडेर सबैलाई भारी पुग्ने गरी बोकाइदिए । धान बोक्नेको लामै लस्कर थियो । त्यसपछि हामीलाई रातारात जंगलको बाटो कता–कता घुमाउँदै अर्को गाउँ लगे । एउटा घरमा लगेर धान राख्न लगाए अनि हामीलाई घरतिर पठाइदिए ।
जंगलमा सुत्नुको साटो त्यो रात माओवादीसँगै धान बोकेर बित्यो । अब बिहानपख घर फर्कने कि के गर्ने भन्ने चिन्ता भयो । गाउँमा राजाको धान कब्जा भएको कुरा प्रहरीले थाहा पाइसकेको होला भन्ने डरले मुटु काम्यो । फेरि प्रहरीले आएर उपद्रोह गर्ने होला भन्ने त्रासले घर बनायो । अब घर जानु खतरा हुन्छ भन्ने लागेपछि त्यो दिन पनि जंगलतिरै बिताउने योजना बन्यो । केही मानिसहरू डोको बोकेर उतैबाट घाँस काट्न हिँडे । केही जे त होला भनेर घरतिरै लागे । म भने जंगलतिरै बरालिएँ । रातभर हिँडेर थाकिएको थियो, पुसको महिना बिहानपख जाडो त्यत्तिकै थियो । खानेकुरा केही थिएन ।
पानीका मुहान खोज्दै जंगलतिर उकालो लाग्नुको विकल्प थिएन । पानी खाएर ज्यान बचाउनुपर्ने भयो । गाउँमा पुलिसले माओवादी खोजिरहेको थियो । माओवादी भेटिने कुरा भएन । केही भेटिएका सर्वसाधारणले कुटाइ खाइरहेका थिए । माओवादी लुकेका छन् कि भनेर हाम्रा धानका भकारी फोडिदिएका थिए । अब केही दिन घरमा फर्किने अवस्था नभएपछि जंगल र छिमेकी गाउँतिर बरालिँदै दिनरात बिताउनुपर्ने भयो । कतै खाजा त कतै रोटी मागेर भोक मेटियो ।
केही दिनपछि अवस्था अलि सामान्य हुँदै गएपछि फेरि घर गएँ । माओवादीले प्रहरीमाथिको आक्रमण तीब्र बनाइरहेका थिए । ठाउँठाउँमा प्रहरी चौकी आक्रमण, प्रहरी गस्तीमाथि एम्बुस र सीआईडीको आरोपमा हत्याका घटना बढिरहेका थिए । यसपछि प्रहरी झनै आक्रामक बन्दै गएको थियो ।
त्यसपछि प्रहरीले गाउँमा मेलगैरीपछिका दुई ठूला सामूहिक हत्याकाण्ड ग¥यो । राति गाउँ पसेर भेटिएका चार युवालाई पक्राउ ग¥यो । अनि ०५६ साउन ६ गते बिहान ८ बजेतिर पीपल–७ झाँक्री सल्ला अर्थात रुखावाङ भन्ने जंगलको छेउमा लगेर गोली हान्यो । मारिनेहरू पिपल–७ का सत्यबहादुर नाथ, कृष्णबहादुर नाथ, खलबहादुर नाथ र कविराम नाथ थिए । उनीहरू सबै सामान्य किसान थिए । माओवादी राजनीतिमा कोही पनि सक्रिय थिएनन् । कोही एमाले समर्थक थिए त कोही राजनीतिमा चासै नभएकाहरू थिए ।
हाम्रो गाउँ पूरै रणभूमि जस्तो भयो । प्रहरीले आफ्नो रिस नमर्दासम्म मान्छे पक्रने र मारिरहने गर्न थाले । अनि माओवादीले सीआईडीको आरोपमा मान्छे कुटपिट गर्ने र मार्ने । सर्वसाधारणलाई बसीनसक्नु थियो । कता जानु, के गर्नु ? कोही रातारात भारततिर पसिरहेका थिए । कोही माओवादीको सम्पर्क खोज्दै भूमिगत भइरहेका थिए । दिनदिनै माओवादीको संख्या बढिरहेको थियो । हामीजस्ता भारत पनि पस्न नसक्ने, माओवादीसँग भूमिगत पनि भएर हिँडन् नसक्ने मान्छेको हालत खराब थियो ।
दिनदिनै कुन बेला मरिन्छ भन्ने सोचेर बस्नुपथ्र्यो । राम्ररी सुत्न नपाएको धेरै वर्ष भइसकेको थियो । ०५२ सालयता सुताइ र खानपिन पूरै प्रभावित थियो । कसरी ज्यान बचाउने भन्नेमात्रै ध्यान थियो । पढ्नेलेख्ने, राम्रो खाने, लाउने कुरा त प्राथमिकताको विषय बन्नै सकेन । गाउँमा हरेक वर्ष घटनाहरू बढिरहेका थिए ।
रुखाबाङमा चार जना मारेको दुई वर्षपछि फेरि सदरमुकाम मुसिकोटबाट एउटा संयुक्त सुरक्षा फौजको टोली हाम्रो गाउँमा पुग्यो । रातभर गाउँ सर्च ग¥यो । अनि ६ युवाहरूलाई भेटायो । पक्राउ गरेर मुसिकोट लैजान थाल्यो । स्यालापाखा गाविसबाट मुसिकोटतर्फ उकालो लगाउँदै गर्दा माओवादीले वारिपारि नाराबाजी गर्न थाले । ‘हत्यारो पुलिस सर्वसाधारण जनतालाई दुःख नदे’, ‘सक्छस् भने हामीसँग लड्’ भन्ने नाराबाजी गर्दै होहल्ला गरे । कतै ढुंगा लडाउन थाले । त्यसपछि सुरक्षाफौजले पक्रेर लगेका ६ युवालाई मुसिकोट नपु¥याएर ०५८ वैशाख १८ गते दिउँसो स्यालापाखा–४ गिलवाङमा बाटोमै लाइन लगाएर गोली हान्यो । भुइँमा लडाइसकेपछि उनीहरूको शरीर छियाछिया हुनेगरी गोली हानिएको थियो । रिस कम नहुँदासम्म गोली हानियो । उक्त घटनामा मारिने पिपल–४ का कलबहादुर खत्री, चन्द्रबहादुर खत्री, यामबहादुर खत्री र धनबहादुर (नवीन) केसी तथा पिपल–५ का चन्द्रबहादुर विक र कलबहादुर विक थिए । नवीन मेरो आफ्नै अंकलको छोरा थियो ।
यति घटना हुँदासम्म माओवादीको पनि पारो चढिसकेको थियो । माओवादीको आक्रमण र हत्या पनि तीब्र रूपमा बढिरहेको थियो । सीआईडी गरेको भन्दै गाउँकै कविराम बस्नेतलाई जिउँदै खाल्डो खनेर गाडे भन्ने हल्ला थियो । माओवादीले एक जना मार्दा प्रहरीले ६ जना मारिसकेको हुन्थ्यो । गाउँमा प्रहरी र माओवादीको मान्छे मार्ने प्रतिस्पर्धा जस्तै थियो । यी दुबैथरीको निशानामा रहेर गाउँमै बाँच्नु साह्रै कठिन थियो ।
प्रहरीले युवाहरूलाई दुःख दिएपछि माओवादीलाई पनि युवाहरू आफूतिर आकर्षित गर्न सजिलो भइरहेको थियो । सके पूर्णकालीन भएर हिँड्ने, नसके आफ्नो अभियानमा केही समयका लागि प्रयोग गर्ने योजनामा माओवादी थिए । हामीलाई पनि गाउँघरमा बसेर असुरक्षित हुनुभन्दा माओवादीसँगै केही अभियानमा हिँड्दा बढी सजिलो हुन थाल्यो । अब दैनिकजसो माओवादीले काममा लगाउन थाले । एकदिन हामीले हाइस्कुल पढ्ने गरेको ठाउँ अर्थात पोखरा गाविसको कार्यालय कब्जा गर्ने योजना बनेछ । माओवादीले हामीलाई रातारात दुई घण्टा हिँडाएर पोखरा पु¥याए ।
गाविस कार्यालय बाटोछेउमै थियो । एक्कासि प्रहरी गस्ती आउने खतरा थियो । मनमा डर लागिरहेको थियो । डराइरहेका बेला माओवादीले गाविस कार्यालय कब्जा गर्न थालिहाले । ढोका फोडे, गाविसका सबै कागजात र सामानहरू नियन्त्रणमा लिए । सामानहरू हामीलाई बोक्न दिए । सामान सबै निकालिसकेपछि फायरिङ गरे, माओवादीका पक्षमा नाराबाजी गरे र अन्तिममा गाविस कार्यालयमा आगो लगाएर हिँडे । गाउँभरि कुकुर भुकिरहेका थिए । मानिसहरू डरले बाहिर निस्कन सकेका थिएनन् ।
कब्जा गरिसकेपछि माओवादीले हामीलाई त्यहाँबाट पूर्व, पूर्वबाट दक्षिण सानीभेरी किनारैकिनार हुँदै पश्चिम लगे । धेरै लामो समयसम्म पश्चिम हिँडेपछि फेरि उत्तरतिर हिँडाए । उत्तरतिर गाउँ र जंगल हुँदै टाढाको गाउँ लगेर गाविसबाट ल्याएका कागजात र सामान राख्न लगाए । त्यसपछि फर्केर गाउँ जानु झनै खतरा थियो । तैपनि नगई नहुने । कि त भूमिगतै भएर माओवादीको पूर्णकालीन छापामार हुनुप¥यो कि जोखिम मोलेर घर जानुप¥यो ।
अब दिनानुदिन माओवादीले हामीजस्ता अप्ठ्यारोमा परेकालाई काममा लगाउन थाल्यो । एकरात माओवादी छापामारलाई एक गाउँबाट अर्को गाउँसम्म पु¥याउन अघिपछि सेन्ट्री गरिदिनुपर्यो भनेर हामी दुई युवालाई भने । अंकल भद्रबहादुर र ममात्रै गाउँमा बाँकी थियौं । अर्को साथी रामबहादुर पूर्णकालीन भएर माओवादीमा हिँडिसकेको थियो ।
साउनको महिना पानी परिरहेको थियो । माओवादी छापामारले हामीलाई अघि हिँड्न भने । हामी १५ मिनेटजतिको फरकमा अघि–अघि हिँड्यौं । त्यसपछि उनीहरू हिँडे । कतै प्रहरी देखिए या भेटिए हामीले कराएर संकेत गर्नुपर्ने भनिएको थियो । प्रहरी भेटिएको त्यसको पहिलो शिकार हामी नै बन्ने पक्का थियो । पछाडिका छापामार त सुरक्षित भइहाल्थे ।
निकै लामो बाटो हिँड्दा पनि गन्तव्य भेटिएन । प्लास्टिकको बर्षादीले धेरैबेर छेकेन । पानीले भिजेर जाडो हुन थाल्यो । कपडा निचोर्दै हिँड्यौं । बिहानपख मात्र उनीहरू पुग्ने ठाउँ भेटियो । त्यसपछि हामीलाई घर फर्काइदिए । यसपछि माओवादीले यस्ता ढाल बन्ने काममा धेरैपटक हामीलाई प्रयोग गरे । कहिलेकाहीँ गाउँको अगाडि मशाल जुलुस गर्न आउँथे । त्यतीबेला पनि मशाल तयार पार्ने, मट्टितेल खोज्ने र आगो लगाउने काममा हामीलाई नै लगाउँथे । डाँडाभरि मशाल गाड्न लगाउँथे अनि सबैमा आगो लगाएर बन्दुक पड्काउँदै नाराबाजी गरेर हतार–हतार भाग्थे । त्यसपछि हाम्रो बेहाल हुन्थ्यो । दौडेर तत्काल घरमा जाऊँ भने प्रहरी आएर मार्ला भन्ने डर । बाहिर भागौं भने कता जानू ? माओवादी एक दिशातिर भाग्थे भने हामी अर्को दिशातिर भागेर जंगलतिर पस्थ्यौं ।
भगवान भरोसा ज्यान बाँचिरहेको थियो । माओवादीले पनि हामीलाई सताएर युद्धमा हिँड्न बाध्य पार्ने रणनीति लिइरहेका थिए । त्यतिबेलासम्म हाम्रा अधिकांश साथी पढाइ छोडेर पूर्णकालीन भूमिगत कार्यकर्ता भइसकेका थिए । हामी बचेका एक–दुई जना उनीहरूको निशानामा थियौं र हरेकजसो कार्यक्रममा हामीलाई एक्सपोज गर्न खोज्थे । हामीलाई पनि माओवादीका रूपमा चिनाउन उनीहरू लागिरहेका थिए । हामीलाई प्रहरी र माओवादीको निशानाबाट बच्न गाह्रो भइरहेको थियो ।
प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७३ १३:१४
प्रतिक्रिया दिनुहोस्