
सुर्खेत । कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । गए राति पलाँता गाउँपालिका–२, बुडाडाँडानजिक दुर्घटना भएको हो । पलाँता–९, थिर्पुबाट पलाँता–४, छलतर्फ खाद्यान्न, खुद्रा सामान लिएर जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले कालीकोटले जनाएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा ट्याक्टरका चालक मुगुको खत्याड गाउँपालिका–५, कवाका २५ वर्षीय चन्द्रप्रकाश रोकाय, कालीकोटको पलाँता–४ का २१ वर्षीय रवीन्द्र विक, सोही स्थानका ३२ वर्षीया सदु बुढा र पलाँता–५, सल्लीकोटकी २५/२६ वर्षीया अम्बा शाही छन् । घटनास्थलमै उनीहरूको मृत्यु भएको कालीकोट प्रहरी प्रमुख टेकबहादुर रावतले जानकारी दिए ।
उनका अनुसार, दुर्घटनाग्रस्त ट्याक्टर सडकभन्दा तल अप्ठ्यारो भीरमा अड्किएको छ । शव भने सडकभन्दा करिब २०० मिटर तल भेटिएको थियो ।
प्रहरी सहायक निरीक्षक भीमबहादुर सुनारको कमान्डमा प्रहरी टोली राति नै घटनास्थल पुगेको थियो । रासस