विशेष
केही समयअघि कामको सिलसिलामा रुकुम जाने अवसर मिल्यो । राजनीतिशास्त्रको विद्यार्थी भएकोले रुकुमको घाउ, पीडा भनौं वा आशा हेर्न र खोज्न मन थियो । १० वर्षे लामो माओवादी विद्रोहको एउटा गढ, डर–त्रासले निलेको ठाउँ, विद्रोहले बिगुल फुकेको ठाउँ ! नेपाली राजनीतिक इतिहासमा सधैं सम्झिइने रुकुमबारे केही लेख्न मन लागिहाल्यो ।
धेरैजसो ठाउँको नाम पछाडि ‘कोट’ लाग्ने रहेछ, जस्तै– रुकुमकोट, मुसिकोट, बाँफिकोट, गोतामकोट । टाकुरे राजाहरू बस्ने भएकाले कोट भनिएको रहेछ । त्यसैले यो जिल्लाभित्रै धेरै राज्य थिए भन्ने जनाउँछ । नेपाल राज्य एकीकरणमा पनि यो जिल्लाले आफ्नै किसिमको महत्व बोकेको छ ।
सुनिएअनुसार यो जिल्लामा ५२ पोखरी, ५३ ताल छन् रे ! त्यसैले पनि यो ठाउँको विशेषता आफ्नै किसिमको छ । पहिलो त मैले सोचेभन्दा धेरै भिन्न पाएँ मैले मध्यपश्चिमको यो जिल्ला । निकै विकट क्षेत्र र मानिसहरू धेरै नै पिछडिएका छन् भन्ने पूर्वाग्रही सोचबाट मलाई मुक्त गरायो । मैले सुन्ने गरेको पछौटेपन, भोकमरी, गरिबी, अशिक्षा धेरै देख्नै परेन । यी सबै मैले २ दिनको बसाइबाटै बुझें ।
मोटर बाटोले धेरै ठाउँ छोइसकेछ । त्यहाँका बासिन्दाहरू १० वर्षमा रुकुमले मुहार फेरेको दाबी गर्छन् । बाटोले विकासको मुहान खोलेको बताउँछन् । पछिल्लो विकासक्रमले उत्साहित हुँदाहुँदै कता–कता विगतले धेरै पछाडि धकेलेको पीडा भने उनीहरू लुकाउन सक्दैनन् । उनीहरूको मुहारमा युद्ध पीडा अझै महसुस गर्न सकिन्छ ।
राजनीतिक जागरुकता राम्रै पाएँ रुकुममा । राजनीतिक बहस गर्नेहरू कुना–कुनामा भेछिन्छन् । २–४ ठाउँमा चिया खान पस्दा पनि राजनीतिक बहस नै सुनें । बहस बढीजसो देशको राजनीतिक सरगर्मीमै केन्द्रित पाएँ । छिटै मन्त्रीस्तरका माओवादी नेता आउँदै थिए त्यहाँ । यो ठूलो चासोको विषय थियो । के–कस्ता माग राख्ने भन्ने छलफल चर्को थियो । बनिसकेको बाटोलाई कालोपत्रे गराउन नेतालाई भन्ने छलफल गर्दै थिए । भर्खरै सकिएको कांग्रेस महाधिवेशनको प्रभाव देखिन्थ्यो बजारमा । चारतारे झन्डा बाटोमा देख्ने आशा गरेको थिइनँ मैले । तर, देख्दा लाग्यो– मानिसहरू मज्जाले एक–अर्काको राजनीतिक अस्तित्व स्वीकार्न थालेछन् ।
राजनीतिप्रतिको आकर्षण र निराशा दुवै देख्न पाइन्छ । जनयुद्धमा हजारौँले ज्यान गुमाए । सरकारी तथ्यांक पत्याउँदैनन् यहाँ । रुकुममा मात्रै हजारभन्दा बढी मारिएको बताउँछन् उनीहरू ।
माओवादीको ऐतिहासिक चुनवाङ बैठकको साक्षी जिल्ला र युद्धमा गोली सुनेको, खाएको जिल्ला । यो जिल्लालाई बिर्सन नदिने धेरै कारणहरू छन् । एकजना दाइ भन्थे, “रुकुममा बच्चाबच्चालाई थाहा छ, कुन पार्टीले के गर्छ ।”
अनि नेताहरूको नाम पनि लगभग थाहा छ रे ! हुँदाहुँदा चुनावमा पालैपालो झन्डा बोकेर हिँड्छन् रे !
रुकुमको राजनीतिक गतिशीलता अब आएर एउटा इतिहासको साक्षी बनेको छ । यही राजनीतिक घटनालाई आधार बनाएर राज्यले पर्यटन प्रवद्र्धन गर्न ‘रुकुम वर्ष भ्रमण’को पहल ग¥यो र विशेषगरी ‘गुरिल्ला ट्रेक’को प्रवद्र्धन गर्यो, जसलाई ‘वार टुरिजम’ पनि भनिन्छ । युद्ध पर्यटन भियतनाम, बोस्निया र जर्मनीजस्ता देशमा सफल भएको छ, हेरौं रुकुममा के हुन्छ । यो गुरिल्ला ट्रेकमा अझै पनि युद्धको आधार क्षेत्र, शिविर, राज्य र माओवादीबीच भएको दशक लामो द्वन्द्वका अंश भेटिन्छन् । द्वन्द्वले तहसनहस गरेका संरचना र भग्नावशेषका साथै मान्छेहरूको कठिनाइ र पीडा सुन्न पाइन्छ । यो जिल्लाका हरेक घरले रक्तपातको कथा देखे–भोगेका छन् ।
‘गुरिल्ला ट्रेक’माथि पनि राजनीति नभएको भने हैन । किनभने परिवर्तन भइराख्ने सरकारले यसलाई दिने प्राथमिकता खहरे खोला जस्तो छ । हालसम्म उल्लेखनीय पर्यटकहरू आएका पनि छैनन् । स्थानीयको कुरा मान्ने हो भने करोडौँ रुपैयाँ आइसकेको तर प्रभावकारी ढंगले खर्च भएको छैन । त्यो पैसा भागबन्डा भइसकेको दाबी उनीहरू गर्छन् ।
यति भन्दाभन्दै युद्धको पीडाबाहेक पनि अरु धेरै कुराहरू छन्, जसलाई बेच्न सक्छ रुकुमले । त्यहाँका ताल, प्राकृतिक सौन्दर्य, स्थानीय कला–संस्कृति धेरै निधि छन्, जसलाई पर्यटनसँग गाँस्न सके रुकुमले छिटै समृद्धिको बाटो समाउनेछ ।
यार्चागुन्बुजस्तो जडिबुटीको खानी जिल्ला आर्थिक हिसाबले अगाडि बढ्न धेरै उपाय छन् जस्तो लाग्छ । तर, केही स्थानीयले गैरकानुनी रूपमै जडिबुटी कारोबार गरिरहेको पनि सुनियो ।
एकसाँझ चिया खाने क्रममा एक पूर्वमाओवादी लडाकुसँग भेट भयो । उनले आफैंले कुरा सुरु गरे र आफ्नो कथा सुनाए । उनी लडाकु बन्न घर छाड्दा उमेर १४ वर्ष थियो रे ! बन्दुक बोकेर हिँड्ने मान्छेहरू फिल्मको हिरो जस्तो लागेर युद्धमा होमिएका रहेछन् । कसैले कान समातेर पढाएको भए वा परिवारले सहरतिर पठाएको भए पढ्ने ठूलो इच्छा रहेछ । सिस्नेमा सेनाको गोली लागेर घाइते भएपछि माओवादी छाडेका रहेछन् । त्यसपछि शान्ति सम्झौता नहुँदासम्म उनी रुकुम फर्किएनन् । भन्दै थिए, “अहिले सम्झिँदा दुःख लाग्छ । रगतको होली खेल्नुपरेकोमा मलाई मनमा शान्ति छैन । देशमा गणतन्त्र आयो, हाम्रो पार्टीले भनेको संविधानसभा चुनाव भयो र संविधान पनि आयो । अब देशले कोल्टे फेर्छ कि !”
यति भन्दाभन्दै उनी गम्भीर देखिए । युद्धको पीडाबाट कतिपय अझै उम्किन नसकेको देखेर उनलाई पोल्दो रहेछ । तेस्रो कप चिया सुरुप्प पार्दै उनले भने, “कति मान्छे त युद्धले दिएको पीडाले अझै पनि उस्तै दुःखमा छन् ।”
राज्य र विद्रोही पक्ष दुवैले जनतालाई दुःख दिएको स्वीकारे उनले । युद्धपछि निस्केका छर्राको असर होला, जसले यीजस्तै पूर्वलडाकुलाई समाजमा पुनस्र्थापित हुन भएको कठिनाइलाई प्रष्ट झल्काउँथ्यो ।
उनका दुई जना दाइलाई राज्यले कता गायब पार्यो, अझै थाहा छैन । आफू युद्धमा होमिएकै कारण दाइहरूलाई बेपत्ता पारिएको उनी बताउँछन् । भन्छन्, “युद्धले धेरै कुरा बिगा¥यो तर परिवर्तन र विकासका लागि नेपालमा हतियार उठाउनु जरुरी थियो । हतियार उठेर मान्छे सहिद भए, ज्यानको बाजी त्यसै लगाइएको पक्कै हैन । सबैले बुझेर हामीलाई अपनाइदिए कति राम्रो हुन्थ्यो ।”
यति भनेर उनी आफ्नो बाटो लागे । उनी हिँड्नेबित्तिकै चिया बनाउने दिदीले आफ्नै व्यथा सुनाइन् । उनका छोरालाई माओवादीले घरबाट लिएर गएका रहेछन् पुलिसको सुराकी भनेर । ज्यानचाहिँ लिएनन् । त्यसपछि छोरोलाई खाडी पठाइन् ।
“अब देश र गाउँको स्थिति सुध्रेको छ, छोरो आउँछ कि भनेर पर्खिएकी छु,” उनले भनिन् ।
युद्धबाट सबैभन्दा धेरै प्रभावित रुकुमजस्ता ठाउँमा राज्यले नै केही रचनात्मक कदम चाल्नु जरुरी छ । यी त दुई प्रतिनिधि पात्रमात्र हुन्, यस्ता हजारौं अरु पनि छन्, जसलाई युद्धले नमेटिने घाउ दिएको छ । युद्ध सकिएको १० वर्षसम्म पनि यति अन्योल हुनु उनि निको होइन । राजनीतिक नेतृत्वले छिटै घाउमा मल्हम लगाउनुपर्छ ।
तर, धेरैका आँखामा आशा देखिन्छ । भत्किएका संरचनाहरूले नयाँ रूप लिइसकेको छन्, बन्दुक पड्किँदैनन् । कसैले घरको ढोका ढकढक्यायो भने डर लाग्दैन रे अचेल !
दुःखको कुराचाहिँ– गाउँमा युवाहरू छैनन् धेरै । कोही काठमाडौं, कोही वैदेशिक रोजगारी त कोही नजिकैको बजारतिर छन् । हुन पनि दशक लामो युद्ध र रक्तपात भोगेको ठाउँमा युवाहरू टिक्लान् भन्ने आशा नगर्दै ठीक होला ।
व्यापार र बजारले बिस्तारै ठाउँ पाउँदैछ रुकुममा । विकासे संघसंस्थाहरू पुगेका छन्, जसले केही स्थानीय रोजगारी बढाएको पनि छ । साथै केही निजी क्षेत्रहरूले पनि लगानी सुरु गरेका छन् । सम्भवतः त्यहीँकै बासिन्दाले सोचेभन्दा भिन्न किसिमले अगाडि बढ्दैछ रुकुम हरहिसाबले । र, त्यसको मापन जग्गा भाउबाटै गर्न सकिन्छ ।
रुकुममा देखिएका आशाका किरण अझै झमल्ल हुँदै जानेछन् भन्ने विश्वास छ !
प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७३ ११:४८
प्रतिक्रिया दिनुहोस्