विशेष
अमेरिकामा ‘सिभिल राइट्स एक्ट १९६४’ द्वारा समाजमा रहेका सबै किसिमका विभेद अन्त्यको घोषणा गरिएको थियो । कानुनी रूपले सबै अमेरिकी समान भएको ५० वर्ष बितिसकेको छ तर पनि अमेरिकी समाज आजपर्यन्त रंगभेद र जातीय विभेदका घटनाले आक्रान्त छ । रंगभेद र जातीय विभेदका घटना बढिरहेका छन् । सन् २०१५ मा अरु वर्षभन्दा बढी रंगभेदी घटना भएका थिए । यस्ता घटनामा अश्वेतमात्रै होइनन्, श्वेत, ल्याटिन अमेरिकी, एसियन र मुस्लिम समुदाय पनि सिकार हुन पुगेका छन् ।
अमेरिकी साहित्यमा मात्रै होइन, राजनीतिक तथा विभिन्न सामाजिक क्षेत्रमा रंगभेद र जातीय विभेदका मुद्दाले प्रवेश पाएका छन् । फेरि एकपटक अमेरिकी समाज ध्रुवीकृत हुँदै गएको देखिन्छ । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी प्रचार–प्रसार अभियानमा रंगभेदी अभिव्यक्ति दिएको आरोप लागेको थियो । उनी अमेरिकामा रहेका अश्वेत, मुस्लिम, स्पेनिस र एसियन समुदायप्रति असहिष्णु रहेको आरोप लाग्ने गरेको छ । कतिपयले त यसैलाई उनको जितको कारणका रूपमा समेत अथ्र्याएका छन् । उनको अप्रत्याशित जितपछि अमेरिकी समाज झनै ध्रुवीकरणतर्फ जाने त होइन भन्दै कतिपय लेखक तथा राजनीतिक विश्लेषकले चिन्ता व्यक्त गर्न थालेका छन् ।
त्यसो त अमेरिकाले दुई पटक अश्वेत राष्ट्रपति चुन्यो तर पनि अमेरिकी समाजमा रहेको रंगभेद र जातीय विभेदका अवशेषहरू पखालिन सकेनन् । सत्रौं शताब्दीमा युरोपेलीहरूले अमेरिकालाई उपनिवेश बनाएपछि अमेरिकामा जातीय विभेद तथा असहिष्णुता बढेको थियो । युरोपेली शासकहरूले अफ्रिकी मुलुकहरूबाट मानिसहरूलाई सिक्रीले बाँधेर दासको रूपमा भित्र्याएपछि अमेरिकामा छालाको रंगका आधारमा मानिसलाई विभेद गर्न थालिएको थियो । युरोपेलीहरूले सुरु गरेको विभेदपूर्ण व्यवहार अमेरिकीहरू स्वतन्त्र भएको दुई शताब्दी नाघिसक्दा पनि कायमै छ । त्यसैले पनि अमेरिकी साहित्यमा रंगभेद र जातीय विभेदका मुद्दा महत्वपूर्ण विषयका रूपमा आउने गरेका छन् ।
ह्यारिएट बिचर स्टाउको ‘अंकल टम्स क्याबिन’ होस् वा मार्क ट्वेनको ‘हकलवेरी फिन’ होस्– रंगभेद र जातीय विभेदका मुद्दा नै उठाइएको छ । समयक्रममा आएका विभिन्न परिवर्तनसँगै विभेदका प्रकारहरू फेरिएको अवश्य हो तर विभेदको अन्त्य नै चाहिँ भएको छैन । कतिपयले अमेरिकामा रंगभेदको समस्या नभएको समेत भन्दै अमेरिकी समाजलाई ‘पोस्ट रेसियल सोसाइटी’का रूपमा समेत व्याख्या गर्ने गरेको पाइन्छ । विभेदमा आएको परिवर्तनसँगै त्यसको साहित्यमा हुने प्रतिनिधित्वमा पनि परिवर्तन आउनु जरुरी छ ।
उपन्यास ‘सेलआउट’का लागि २०१६ को उपन्यासतर्फ ‘म्यान बुकर’ पुरस्कार जितेका अमेरिकी अश्वेत लेखक पल बिटीले उपन्यास तथा कवितामा यस्तै मुद्दा उठाउने गरेका छन् तर फरक किसिमले । उनले आफ्ना कृतिहरूमा व्यंग्यात्मक शैलीमार्फत रंगभेदबारे बडो मार्मिक ढंगले विषय उठाउने गरेका छन् । ‘म्यान बुकर’ पुरस्कार प्राप्त गरेसँगै एकाएक चर्चामा आएका बिटीलाई सटायर विधाका चर्चित लेखक जोनाथन स्विफ्ट र मार्क ट्वेनसँग तुलना गर्न थालिएको छ ।
आफूलाई अफ्रिकी अमेरिकीभन्दा पनि ‘अश्वेत’ भन्न मन पराउने पल बिटीले अमेरिकी समाजमा रहेका विसंगति र विकृतिलाई व्यंग्यमार्फत प्रस्तुत गर्ने गरेका छन् । उनका व्यंग्य फगत पाठकलाई मनोरञ्जन दिलाउने मात्रै होइन, समाजमा रहेका असंगतिपूर्ण व्यवहारका बारेमा पाठकलाई गम्भीर भएर सोच्न बाध्य बनाउँछन् । बिटीको व्यंग्यात्मक लेखनको प्रशंसा गर्दै कमेडियन सारा सिल्भरम्यान भन्छिन्, “पल बिटीले व्यंग्यलाई यसरी प्रयोग गरेका छन् कि जसरी सर्जनले एनेस्थेसियाको प्रयोग गरेको हुन्छ, जसरी एउटा जादुगरले हातको खेल देखाउँछ, जसरी पाकेटमारले तपाईंलाई झुक्याउँछ । दुई मिनेटपछि तपाईंलाई महशुस हुनेछ कि तपाईंको प्यानक्रियाज अपरेसनद्वारा हटाइएको कुरा, तपाईंलाई बीचमा चिरिएजस्तो र तपाईंको पर्स गायब भएको कुरा । तर यो सन्दर्भमा भने तपाईंले थाहा पाउनुभन्दा पहिले जस्तो मास्क लगाएका हुन्थे, त्यस्तै नै हुनेछन् मानिसहरू ।”
बिटी मनोविज्ञानका विद्यार्थी भएकाले होला– उनका लेखहरूमा मानव मनोविज्ञानमाथि कलम चलाएको पाइन्छ । त्यसो त उनले रंगभेद, इतिहास, आदिवासीका विषयमा पनि कलम चलाएका छन् । उनका सुरुवाती केही कविता र पहिलो उपन्यास ‘द ह्वाइट् ब्वाय शफल’ले वैकल्पिक साहित्यको क्षेत्र स्थापित गर्न चाहने लेखकहरूका लागि बाटो खोलिदिएको मान्छन् कतिपय समीक्षक ।
धेरै लेखकहरू समाजको वास्तविक चित्रण गर्न डराउँछन् । उनीहरू ‘कम्फर्ट जोन’भन्दा बाहिर निस्केर आफूलाई प्रस्तुत गर्न हिच्किचाउँछन् वा समाजबाट बहिस्कृत हुने डरले जोखिम लिन चाहँदैनन् । जबसम्म कुनै लेखक ‘कम्फर्ट जोन’बाट निस्कँदैन, तबसम्म उसको लेखनमा समाजको सही चित्रण हुनै सक्दैन । पल बिटीले केही हदसम्म भए पनि त्यस्तो जोखिम लिन चाहेको देखिन्छ ।
उनले आफ्नो चौथो उपन्यास ‘सेलआउट’मा अमेरिकामा कायम रहेको रंगभेदी व्यवहारलाई देखाउन दासप्रथालाई प्रस्तुत गरेका छन् । अमेरिकामा दासप्रथा नभएपनि विभेद कायमै छ । त्यसैलाई देखाउन पनि होला– बिटीले उपन्यासमा काला र गोराहरूको छुट्टा–छुट्टै समाजलाई व्यंग्यात्मक रूपमा प्रस्तुत गरेका छन् । क्रिस ज्याक्सनसँगको अन्तर्वार्तामा उनले केही हदसम्म खतरा मोलेको बताउँछन्, “मैले थोरै भए पनि खतरा मोल्ने प्रयास गरेको छु । अमेरिकी सिभिल राइट्स मुभमेन्टका केही विषयको आलोचना गर्नु भनेको खतरा मोल्ने काम नै हो । मेरो मतलब, तपाईं कसरी सिभिल राइट्स मुभमेन्टलाई सम्मान नगरी बस्न सक्नुहुन्छ ? यस्तोमा म आफैं उदांगिने डर पनि हुन्छ । कहिलेकाहीँ यस्तो भइदिन्छ कि व्यंग्यले सबैलाई झुक्याउन सक्छ र मेरो पक्षधरतामा पाठकहरू झुक्किन सक्छन् ।” कहिलेकाहीँ पाठकहरूले आफ्नो लेखनलाई व्यंग्यमात्रै ठानिदिएर गम्भीर विषयवस्तुमाथि नजरअन्दाज गरिदिन सक्ने चिन्ता व्यक्त गर्छन् बिटी ।
बिटीले महत्त्वाकांक्षा र असफलतालाई प्रस्तुत गर्न व्यंग्य महत्वपूर्ण माध्यम हुने बताउँछन् । स्यामुयल बेंकेटले ‘वेटिङ फर गोदोत’मा मानिसको विसंगतिपूर्ण जीवन र महत्त्वाकांक्षा प्रस्तुत गर्न व्यंग्यकै सहारा लिएका थिए । त्यस्तै जोनाथन स्विफ्टले ‘आउरल्यान्ड’को राजनीतिक परिस्थितिलाई बुझाउन ‘अ मोडेस्ट प्रपोजल’मा व्यंग्यकै सहारा लिएका थिए ।
बिटीले आफूलाई अफ्रिकी अमेरिकीभन्दा पनि अश्वेत भनेर सम्बोधन गरिँदा आफ्नो पहिचान झल्किएको महसुस हुने बताउँछन् । अफ्रिकी अमेरिकी भनिँदा आफ्नो पहिचान अमेरिकीभन्दा पनि अफ्रिकी हुने उनको तर्क छ । उनी कालो हुनु नै आफ्नो पूर्णकालीन काम भएको भन्छन्, “कालो हुनु नै फुलटाइम काम भएको छ, कहिले तपाईं देखिँदै देखिनुहुन्न, कहिले एकदमै देखिनुहुन्छ । कहिले तपाईंलाई स्वागत गरिन्छ, कहिले गरिँदैन ।”
पछिल्ला वर्षहरूमा रंगभेदी घटना बढेको बताउँछन् उनी । प्रहरीको अत्याचार बढिरहेको र कारण जेसुकै भए पनि यसले दुनियाँको ध्यानाकर्षण गरेको भन्छन् उनी । अमेरिकामा विभेदपूर्ण व्यवहारको चक्र घुमिरहेको लेख्छन् उनी ।
‘सेलआउट’ उपन्यासका लागि ५० हजार पाउन्डको ‘म्यान बुकर’ जित्ने पहिलो अमेरिकी लेखक बनेका पल बिटी सुरुमा प्रकाशकहरू आफ्नो उपन्यास छाप्न नमानेको बताउँछन् । तीन वर्षअघि मात्रै विश्वका सबै देशका लेखकले ‘म्यान बुकर’ पुरस्कार पाउन सक्ने नियम बनाइएका थियोे । यसअघि बेलायती र कमनवेल्थ देशका लेखकमात्रै यो पुरस्कारका लागि योग्य ठहरिन्थे । तर, अहिले पनि उपन्यास अंग्रेजीमा लेखिएको र बेलायती प्रकाशकले छापेको हुनुपर्ने नियम छ । बिटी आफ्नो उपन्यास ‘सेलआउट’को पाण्डुलिपि बोकेर कम्तीमा पनि १८ प्रकाशकसमक्ष पुगेको बताउँछन् । अन्तिममा एउटा सानो स्वतन्त्र प्रकाशन गृह ‘वनवल्र्ड’ले उनको उपन्यास छापेको थियो । यो प्रकाशन गृह एक दम्पत्तीद्वारा सन् १९८६ मा मात्रै स्थापना भएको थियो । यसै प्रकाशन गृहद्वारा प्रकाशित जमैकाली लेखक मारलोन जेम्सको उपन्यास ‘अ ब्रिफ् हिस्ट्री अफ् सेभेन किलिङ्स्’ले सन् २०१५ को ‘म्यान बुकर’ पुरस्कार प्राप्त गरेको थियो ।
बेलायती प्रकाशन गृहहरूबाट झन्डै अस्वीकृत बिटीको उपन्यासले इतिहास त रच्यो नै, अमेरिकी समाजमा रहेको विसंगतिलाई प्रस्तुत गर्दै आफूलाई अब्बल अमेरिकी लेखकका रूपमा उभ्याउन सफल पनि भए ।
‘सेलआउट’मा बिटी एउटा अफ्रिकी–अमेरिकी युवकको कथा भनेका छन् । उपन्यासको कथावाचक पाठकसामु प्रस्तुत हुँदा अमेरिकी सर्वाेच्च अदालत अगाडि गाँजा तान्दै बसिरहेको हुन्छ । उसले प्रहरीलाई बताएअनुसार उसले ‘रेसिज्म’ शब्द उच्चारण गर्नु नै उसको अपराध मानिएको थियो । उसले मानिसहरूलाई दासको रूपमा राखेको पनि थियो । उसले सार्वजनिक यातायातका साधन र विद्यालयलाई पुनः पहिलेजस्तै काला र गोरालाई अलग–अलग गरी छुट्टयाएको थियो । उपन्यासको पहिलो अनुच्छेदले नै उपन्यासको व्यंग्यात्मक प्रस्तुतिलाई इंगित गर्छ । कथावाचक मीले भन्छ, “यो विश्वास गर्न कठिन हुनेछ कि म कालो भइकन पनि केही चोरेको छैन । मैले कहिल्यै कर छलेको छैन ।”
उपन्यासमा यस्ता व्यंग्यात्मक प्रस्तुति थुप्रै भेट्न सकिन्छ । प्रमुख पात्र क्यालिफोर्नियाको डिकेन्स सहरमा बस्छ । उपन्यासको बडापत्रमा भनिएको छ, “डिकेन्स सहर चिनियाँ, स्पेनी र फ्रान्सेली नागरिकरहित हुनेछ ।”
सहरमा अफ्रिकी–अमेरिकी र ल्याटिनोहरूको बाहुल्यता छ । कथावाचक सहरमा चर्चित छ र उसले गाँजा बेचेर राम्रै पैसा कमाएको हुन्छ । जब कथावाचकको मनोवैज्ञानिक बुवा प्रहरी अधिकारीहरूद्वारा मारिन्छ, बुवाको सम्पत्ति आफ्नो नाममा ल्याउँछ । तर, डिकेन्स सहर नै नक्साबाट हटाइन्छ । डिकेन्स सहरको अस्तित्व गुमेपछि कथावाचक मिको साथी हामिनी जेन्किन्स चिन्तित हुन्छ । ऊ उपन्यासभित्र पनि काल्पनिक पात्र हुन्छ । ऊ टीभी कार्यक्रम ‘लिटिल ¥यास्कल’मा अफ्रिकी–अमेरिकीको भूमिकामा खेलेको थियो । होमिनी सहरमा एकदमै प्रसिद्ध थियो तर उसलाई सहरको अस्तित्व समाप्तिसँगै आफ्नो प्रसिद्धि पनि गुम्ने डर थियो । त्यसैले उसले कथावाचक मीसँग आफूलाई दास बनाउन आग्रह गर्छ । मी र होमिनी मिलेर डिकेन्स सहरलाई पुरानै रूपमा फर्काउने प्रयास गर्छन् । सडक चिन्हलगायतका संरचना बनाउँदछन् । उनीहरू समुदायमा विभेदकारी नीति सुरु गर्छन् । उपन्यासको एक पात्र चेसायरले मार्क ट्वेनको ‘हकलवेरी फिन’को पुनर्लेखन सुरु गर्छ । उपन्यासका कथाहरू अनौठा लागे पनि यसले अमेरिकी समाजको यथार्थलाई मार्मिक किसिमले प्रस्तुत गरेको छ ।
‘म्यान बुकर’ पुरस्कार छनोट समितिकी प्रमुख रहेकी इतिहासकार अमान्डा फोरम्यानले ‘उपन्यासले वर्तमान अमेरिकी समाजको प्रतिनिधित्व गर्ने र जोनाथन स्विफ्ट र मार्क ट्वेन पछाडि बिटीजस्तो अरु लेखक नदेखेको’ बताएकी छन् । उपन्यासले वर्तमान समाजको जटिलतालाई सम्बोधन गरेको उनको भनाइ छ ।
कोलम्बिया विश्वविद्यालयमा क्रियटिभ राइटिङ पढाउने बिटीले ट्राजेडी र कमेडीको सन्तुलित मिश्रण गरेका छन् । उनले बु्रकलिन विश्वविद्यालयबाट क्रियटिभ राइटिङमा मास्टर्स गरेका थिए । उनी चर्चित बिट कवि एलेन गिन्सबर्गका विद्यार्थी थिए । समसामयिक विषयवस्तुमाथि व्यंग्य प्रहार गर्दै समाजको चित्रण गर्न नडराउने बिटीका ‘टफ’, ‘स्लम्बरल्यान्ड’ र ‘द ह्वाइट ब्वाय शफल’ समेत गरी चार उपन्यास प्रकाशित छन् । हरेक छ–सात वर्षमा एउटा उपन्यास लेख्ने बिटीले आम लेखकले डर मान्ने विषयवस्तुमाथि कलम चलाउँछन् ।
प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७३ १०:५०
प्रतिक्रिया दिनुहोस्