site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जग्गा
मेरो मनले मेरो मनलाई नै हो त्यतिबेला प्रश्न गरेको, “किन निर्जीव चिजहरूको माया लाग्नुपर्ने होला ?”
धेरै बेर घोत्लिएपछि मैले नै पछि उत्तर निकालेँ, “किनकि निर्जीव चिजहरूसँग पनि भावना जोडिन्छ, सम्झना टाँस्सिन्छन् अनि मुटुको छेवैमा गएर बस्छन् ।”
मैले कहिल्यै सोचेको थिइनँ मालपोतमा गाउँको जग्गा बेच्दा उसलाई यति पीडा हुनेछ भनेर । किनकि काठमाडौंमा दसैंमा लिंगे पिङ ठडिएको देख्दिनँ, माली गाई ड्वाँड्वाँ गर्दै कराएको सुन्दिनँ । अनि सुर्ती मोल्दै कप्तान काकाले गरेका गफहरू सुन्न पाइँदैन ।
बूढी छोराछोरी पढाउन भनेर काठमाडौंतिर लागिसकेको करिब एक महिनाजति भो । म त्यही जग्गाको कामले अल्झिएँ । बाहिर जाने भन्नेबित्तिकै पैसाको जोहो गर्न हतारो । हुन त त्यो जग्गा १५ लाखजति जानुपर्ने हो । तर, म हतारमा बेच्न खोज्दै थिएँ । चाँडो बेच्ने भनेपछि जग्गाको भाउ पाइएन । गाउँकै नामुद जग्गा दलालले १ लाख दिए १० लाखमा जग्गा बेचिदिने आश्वासन दिए । ९ लाख अन्त भाउ नपाएको मलाई त्यो पनि हुन्छ भन्न कर लाग्यो । मैले केही नसोची टाउको हल्लाइदिएँ ।
मेरी बूढीको सपना भने म फर्केर आएपछि काठमाडौंमै जग्गा किन्ने भन्ने छ । छोराछोरीलाई पढाउन पनि सजिलो । गाउँमा न स्कुल राम्रा छन्, न छेवैमा हस्पिटल छ ।
कहिलेकाहीँ थाकेर आउँदा पनि बूढी गनगन गरिदिन्छे, “सानो ज्वरो आए नि दबाई खोज्न तीन घण्टा हिँड्नुपर्ने असत्ती ठाउँ ! जाऊँ, सहर नै जाऊँ !”
म सामान्यतया बूढीको गनगन नसुने जस्तो गरेरै टारिदिन्छु । आगोलाई हावा किन थपौं म ? झन् बल्छ, दन्किन्छ । रात थोरै छिप्पेपछि म खुसुक्क बूढीको पेटतिर हात घुसार्थें । उसलाई अघि चुप बसेको अझै बिझी नै रहेको हुन्थ्यो, अनि ठुस्किदिन्थी, “के गरेको, छोराछोरी उठ्छन् !”
म भने कोल्टे फर्किंदै सोच्थेँ, “अब बन्ने घरमा छोराछोरीको लागि अलग्गै कोठा बनाउनैपर्छ ।”
सपना पनि तीन तले घरमाथि बार्दलीमा बसेर चिया खाएको देख्थेँ । बिहान माली गाई ड्वाँ गरेर कराउँथ्यो । मेरो सपनाको अवसान त्यहीँ हुन्थ्यो ।
० ० ०
मलाई अझै झझल्को आउँछ मालपोतबाहिरको त्यो झुप्रो, जसमा तीनचोटि पाकिसकेको चियापत्तीमा दूध हालेर एउटा बूढा मान्छे चिया बनाउँदै थिए त्यो दिन । अरुको आँखा त्यो दिउरेमा परेको थिएन । तर, किन–किन मेरो आँखा भने त्यहीँ प¥यो । कालो भइसकेको, कटकटिएको अनि त्यही चियापत्तीको थुप्रो । मैले सुस्तरी आग्रह गरेँ, “नयाँ चियापत्ती हाल्नू न !”
बूढाले खिसिक्क हाँस्दै चियापत्ती मिल्काएका थिए तल भुइँमा । पिच्च थुकिएको खैनी जस्तो आकृति थियो चियापत्तीको ! थोत्रो टेबल अनि तलको भुइँ । टेबलका खुट्टा लरखराउँथे चिया चलाउँदा पनि, कुनै बूढो मान्छेको हातखुट्टा लरखराएजस्तो । आयुले कति फरक पार्छ आकृतिमा ! टेबल पनि आफ्नो आयुअनुसारकै आकृति देखाउँदै थियो शायद !
पिउँदा खासै स्वाद नलागेको चिया । कमी केमा थियो त ? चियापत्ती नयाँ, चिनी हालेर उम्लेकै थियो, बूढा बाले थोरै मरिच पनि हालिदिएकै थिए ! तर शायद मेरो जिब्रो त्यो दिन निदाएको थियो, स्वाद लिने रहर नै थिएन । पूरै नसिध्याई गिलास राखिदिएँ मैले । अनि खिस्रिक्क पाँचको नोट लम्क्याउँदा बूढाले भनेका थिए, “बाबु, चियाको दाम बढेको धेरै भो, १० पुग्यो !”
१० रुपैयाँ बुझाउँदै गर्दा मनमनै ध्यान आयो– महँगी कति साह्रो बढेको । अस्ति भर्खरैजस्तो लाग्छ चार आनामा बरफ पाइन्थ्यो । हामी खाएर खुसी हुन्थ्यौँ ।
० ० ० 
“तपाईंलाई कति दिनुपर्ने रे कमिसन ? एक लाख हैन त ?”
पैसाको बिटो बुझाउँदै गर्दा दलालको हात हेरेँ मैले । तीनवटा औँलामा औँठी अनि टिलिक्क टल्केको घडी । मनमनै सोचें– मेरी बूढीलाई नि छड्के तिलहरी लाउने खुबै रहर थियो, मेरो हैसियत थिएन अनि म भन्ने गर्थेँ, “त्यो सुन लगाएर कोही ठूलो होइन्न हेर ।”
ऊ चुप लाग्थी ।
दलालका तीनवटा औँलाका औँठी हेर्दै गर्दा भने मनमा नआओस् भन्दा नि पापी लोभ आउँछ, मन चिच्याएर कराउँछ, “यसको जस्तो जिन्दगी भए पो ! आफ्नो त अब जग्गा बेचेको पैसा बोकेर बिदेसिनुपरेको छ !”
“नौमात्रै पाइयो ?” बूढीले लाडिँदै सोधी ।
“त्यति त मरेर पाएको !” मैले सर्ट खोल्दै जवाफ फर्काएँ । 
उसको छेवैमा ढल्किएँ । अलि परको खाटमा छोराछोरी सुतेका थिए ।
काठमाडौंको त्यो कोठाबाट म करिब एक महिनामा बिदेसिँदै छु, छोराछोरी र बूढीलाई थोरै पैसा बैंकमा राखिदिएर !
“छोराछोरी निदाए त ?” मैले उसको पेटमा हात घुसार्दै सोधेँ ।
उसले जवाफ फर्काइन ! 
० ० ०
तीन वर्षपछिको एउटा दिन–
“चिया लिऊँ न !” बूढीले चिया लिन हात अघि बढाई ।
चिया लिँदै गर्दा पनि घरको वरपरबाट आँखा हटाउन भ्याएकी थिइन । म भने चिया आग्रह गर्ने मान्छेको भुँडी हेर्दै थिएँ, बडेमानको । आफ्नो हेरें, स्याप्प सुकेको । तर, त्यत्रो भुँडी हुनुभन्दा त यही ठीक छ । भुँडी रोगको घर अरे । काम नगर्ने मान्छेको ठूलो भुँडी हुन्छ अरे ।
कोठाको कुनाको वाकिङ मेसिनमा भने उसले सर्ट झुन्ड्याएको थियो । मैले फिलिमहरूमा देखेको छु, धनीहरू त्यसमाथि हिँड्छन् एक्सरसाइजको नाममा ! धनीहरूले विदेश गएर हाम्रोजस्तो काम गर्दैनन् । त्यही भएर धनीहरूको भुँडी हुन्छ । 
कोठा शानदार थियो । टिभी नि ४० इन्चभन्दा माथिकै हुनुपर्छ । पर्दा मखमली, हेर्दै लोभलाग्दा !
“चार तलामा तीन भाडामा लाएको छु । काठमाडौंमा बाँच्न गाह्रो छ हजुर । नत्र आफ्नो घरमा मान्छे राख्यो, फोहोर पारिदिन्छन्, हल्ला गर्छन् । पैसा भए त सानो घर नै राम्रो !” भुँडीवाला मान्छेले उसको आँखा यताउता गरेको देखेर स्पष्टीकरण दियो ।
“कति भो घर बनाउनुभएको ?” मेरी बूढीले अनायसै प्रश्न गरी ।
मैले उसलाई पुलुक्क हेरेँ । उसको रहर पनि ठूलो घर होस् भन्ने छ । शायद यति ठूलो त हैन होला तर पनि ठूलो ।
“दुई वर्ष जति भो, ग्राहक पाए त बेचिदिन्छु म डेढ करोडजतिमा !”
म सकपकिएँ । हातमा भएको चियामाथि एउटा झिंगा बस्यो । मेरो भाग खोस्न आएजस्तो गरी । रिसले पर धकेलेँ । पर गएर झ्यालमा टाँसियो । त्यो झिँगा मभन्दा भाग्यमानी छ । भाडा तिर्दैन, डेढ करोडको घरमा बस्छ ।
मसँग लगभग अहिले ४० लाखजति छ, तीन वर्ष हाड घोटेपछि निक्लेको कमाइ । आउनेबित्तिकै चिनेकै गाउँको दाजुलाई अब काठमाडौंमै जग्गा किनेर घर बनाउने सुर गरेको भनेको थिएँ । जग्गा मेरो पैसाले किन्ने, ऋण बनाएर घर बनाउने अनि भाडाले ऋण तिर्ने सुझाएका थिए दाइले । तर, त्यति पैसाले रिंगरोडभित्र भने नआउने पनि भनिसकेका थिए ।
छेवैको भुँडे जग्गाकै व्यापार गथ्र्यो । दाइले चिनेको मान्छे ! जग्गाको बारेमा सोधपुछ गर्न लिएर आएका ! बूढीलाई पर्दैन सँगै जान भनेको । मानिन । भनी, “मेरो पनि त घर हो अब बन्ने । म पनि जग्गा हेर्छु !”
उसको हठको अघि मेरो केही लागेन ।
“हेर्नुस् त, आइफोन सेभेन आइसकेछ !” भुँडीवाला मान्छेले पत्रिका देखायो ।
मैले भने पत्रिका हेर्दै गोजीमा भएको सामसङ फोन समातेँ । अस्ति कुन पत्रिकामा सामसङ पड्कियो भनेर पनि आयो । त्यसपछि मलाई सामसङ बोक्न डर लाग्छ ।
“म र बूढीसँग सिक्स छ, अब एउटाचाहिँ छोरालाई दिएर अमेरिकाबाट मगाऊँ कि भन्ने विचार छ ! आइफोन बोकेपछि अरु बोक्न मन लाग्दैन ! यसबाट आउने फोटोको क्वालिटी नै बेग्लै, फेसबुकमा टल्किन्छ त्यो फोटो, लाइकको त वर्षा हुन्छ !” भुँडे मान्छे धक फुकाएर हाँस्यो ।
मैले पनि मन नलागी नलागी हाँसोलाई साथ दिएँ ।
मेरो सामसङबाट त विदेशका फोटाहरू नि राम्रो आएका थिएनन् । मान्छे राम्रो देखिँदा पछिको बिल्डिङ देखिन्नथ्यो, पछाडिको बिल्डिङ देखिँदा मान्छे राम्रो देखिन्नथ्यो । फेसबुकको प्रोफाइल पिक्चर चेन्ज गर्न नपाएको समस्याले ग्रसित थिएँ । बूढीको फेसबुकमा भने हामी दुईको फोटो राखेकी छे । तर, फोटो असाध्यै मधुरो छ । फोटोको फोटो खिचेकी । म त चिनिँदा नि चिनिन्न त्यसमा !
“चिया लिऊँ न हजुर, सेलाइसक्यो !” भुँडेले फेरि आग्रह ग¥यो ।
मैले चिया फेरि सुरुप्प पारेँ ।
“रिंगरोडभन्दा थोरै बाहिर वनस्थलीतिर एउटा जग्गा छ । हेर्नुस् यो चारपाटो यति मिलेको, रुमालजस्तो जग्गा त्यति चाँडो पाइन्न । अनि पारिलो पनि छ !”
“हामीसँग पैसा त्यति धेरै छैन, त्यही भएर बाहिर खोजेको !”
“त्यो जग्गा चार आनाको ६० लाख त कहाँ बढी हो र हजुर !” उसले आफ्नो छाती कन्यायो । छातीमा सिक्रीसँगै रौँ नि देखिए– काला बाक्ला !
दाइले पुलुक्क मतिर हेरे । मसँग जवाफ छैन । मैले बूढीलाई हेरेँ, ऊ होमवर्क गर्न नसक्दाका मेरा छोराछोरीजस्तै छटपटाई । मनमनै मसँग सहयोग मागेजस्तो लाग्यो । उसका लाचार आँखाहरू हेरिरहन सकिनँ । म केही गर्न सक्दिनँ । अब ६० त मैले आफैंलाई बेचेमात्रै हो ।
“हामीसँग चालिसजस्तो छ !” दाइले मुख फोरे ।
मैले पनि हो भनेजस्तो लाग्ने गरी टाउको हल्लाइदिएँ । गएको हप्तादेखि मलाई खासै बोल्न मन लाग्न छोडेको छ । 
“काठमाडौंमा ४० मा कहाँ जग्गा पाउनुहुन्छ ? फेरि दुई आना लिएर नि भएन । भुइँचालोपछि घर बनाउन पनि स्ट्रिक्ट गरेको छ !” उसले छाती कन्याइरह्यो । हामी केही बोलेनौँ ।
“हेर्न जौँ त ?” उसले कर गर्यो ।
“भैगो !”
म उठेँ । तीन वर्ष मैले गलत हिसाब गरेछु । आज आएर उत्तर नमिलेको पत्तो भो । दाइले चियाको गिलासको अन्तिम सुरुप लिए स्वाद गरेर !
बूढी र म कोठा फर्कियौँ । मैले चुरोट सल्काएँ । 
“एउटा झ्यालमात्रै छ, भित्र चुरोट नखानु भनेको नि लाग्दैन !” ऊ अचानक झर्किई । मैले हत्तपत्त निभाइदिएँ । छेवैको भित्ता ग्यासको रापले कालो भएको छ । खोइ किन किन मेरो भविष्य पनि समस्याले पोलेर त्यसरी नै कालो हुँदै गए जस्तो लाग्छ आजकल !
० ० ०
एक हप्तापछि... 
“अनि छोराछोरीको पढाइ ?” बूढीको अनुहार मलिनो नै थियो ।
“मैले बुझेँ, कप्तान काकासँग मोबाइलमा कुरा भएको थियो । काकाकै घर भाडामा लिएर राम्रो बोर्डिङ पनि खोलेको छ रे ! एसएलसीमा सबै फस्र्ट डिभिजन आएका रे त्यो स्कुलबाट,” मैले सम्झाउने प्रयास गरेँ ।
ऊ केलाउँदै गरेको चामल हेरेर घोत्लिरही ।
“यहाँ भाडामा बस्नुभन्दा त त्यही ठीक हैन र ?” मैले थोरै जिद्दी गरेँ ।
“खोइ ! तैपनि !”
“हामीले छोडेपछि बाटो नि पुग्यो, बरु एउटा बाइक जोहो गरेर किनौँला !”
“कहाँबाट गर्नुहुन्छ जोहो ?” ऊ ठुस्किई ।
“गरौँला नि केही !”
“भनेपछि तपाईंले फर्किने मन बनाइसक्नु भो ?” उसले पुलुक्क हेरी, “अनि जग्गाचाहिँ कहाँ हो ?”
“हामीले बेचेभन्दा दुई घर तल !”
“कति रै’छ दाम ?”
“दुई लाख कमिसन दिए चालिसमा मिलाइदिन्छु भनेको छ !” मैले सुस्तरी जवाफ फर्काएँ ।
छेवैको किचनको भित्ता हिजोभन्दा आज अलि बढी कालो भएको छ ।
 
machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७३  ०९:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro